समरण
डा. गुरुङसँग शैक्षिक यात्रा
धेरैजसो जलविद्युत् परियोजना तर्जुमा गर्दा
परियोजना क्षेत्रमै बसेका जनजातिहरूको भन्दा शहरी र समतल क्षेत्रमा
बस्ने सौखिन व्यक्तिहरूको भलाइलाई विचार गरिएको हुन्छ।
• जगत बस्नेत
 |
| डा. हर्क गुरुङ |
| कर्णालीको एउटा रैथाने जाति राजी समुदायका
वासिन्दा। |
“आजको हाम्रो
बास यही जङ्गलमा होला जस्तो छ। २० वर्षअघि यो बाटो हिँड्दा मैले एउटा
पानीको मूल भेटेर तिर्खा मेटेको थिएँ। त्यतिबेला यहाँ कुनै वस्ती थिएन,
अहिले दैलेख र जाजरकोटबाट आएका भैँसी गोठालाहरूले दहीको दोकान खोलेका
छन् भन्ने सुन्छु।”
साँझको यात्रालाई निरन्तरता दिन र जङ्गल पस्न उत्साहित गर्दै हाम्रो
अध्ययन टोलीका नेता स्वर्गीय डा. हर्क गुरुङले भनेका कुरा हुन्यी।
हामी त्यो साँझ सुर्खेतको बाङ्गेसिमलदेखि कर्णाली नदीसम्म दुई दिन
लाग्ने अनकण्टार जङ्गलको बाटो हिँड्दै थियौँ। नेपाल अधिराज्यकै सम्पूर्ण
भू–बनोटको ज्ञान भएका डा. गुरुङको पछि लाग्न हामीलाई कुनै हिच्किचाहट
थिएन। अगाडि बढ्दै जाँदा एक–दुई वटा मगर वस्ती भेटिए। तर तिनको सहृदयी
र निस्वार्थ अतिथि सत्कारमा रमाएर बसिरहने समय हामीसँग नभएकाले ठाडो
उकालो–ओरालो हुँदै सुर्खेत, दैलेख र अछामको सिमानामा पर्ने कर्णाली,
भेरी, सेती र बूढीगङ्गा मिलेर बनेको संयुक्त कर्णाली नदीमा पुग्यौँ।
सुदूरपश्चिम र मध्यपश्चिम विकास क्षेत्रलाई छुट्याउँदै
उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली नेपालको सबैभन्दा लामो नदी हो।
यसै नदीमा प्रस्तावित कर्णाली–चिसापानी जलविद्युत् परियोजनाको डुवान
क्षेत्रभित्र के कति असर पर्न सक्छ भन्ने अध्ययन गर्न एक दशकअघि हामी
डा. गुरुङको नेतृत्वमा त्यहाँ पुगेका थियौँ। सन् १९६५ को आधारभूत नक्सा
अध्ययन गरिसकेपछि उनले हामीलाई सचेत गराउँदै जलयात्राको लागि तयार
हुन भने– “यो नदीका विभिन्न खण्डहरू ज्यादै डरलाग्दा र खतराजन्य छन्।
यहाँदेखि ७४ किमी तल ठूलीगाड दोभानसम्म नदी ठाडै तल फराल्दै बगेकोले
हामी मुश्किलमा पर्न पनि सक्छौँ।”
जलयात्रा निकै खतरापूर्ण थियो। ठाउँ ठाउँमा विशाल भँगाला,
ठूला भुमरी, गहिरा खाडल, ठूला छाल र दोभानहरू थिए भने कहीँ अजङ्गका
पत्थर, बगर र पहिरोद्वारा उत्पन्न जल–प्रकोपहरू आउँथे। नदी कतै साँघुरो
खोँचबाट बगेकोे, कहीँ पहरा भित्र छिरेकोे, गल्छेडोबाट निस्केकोे, गौँडो
परेर गुजुल्टिएको, फनक्क घुमेको र तटबन्दमा ठोक्किन पुगेको थियो भने
कहीँ दायाँ–बायाँबाट आउने अन्य शाखा–प्रशाखा नदीले ल्याएका भेल–बाढीलाई
समेट्दै झन् बेगले बगेको थियो। अध्ययन टोलीका सदस्यहरूलाई ढाडस दिँदै
डा. गुरुङले भनेका थिए– “तपाईँहरू सुन्दर प्रकृतिको अनुभव गर्न, पृथ्वीको
गर्भगृहमा छिर्न र हालसम्म कसैले प्रदूषित गर्न नसकेको पृथ्वीको लुप्त
भाग छुन चाहनुहुन्छ भने त्यस्तो यात्रा कहिल्यै सरल र सहज हुन सक्दैन।
तर, परम आनन्ददायक र ज्ञानबर्द्धक हुन्छ।” उनले हामीलाई जलयात्रीले
ख्याल राख्नुपर्ने कतिपय सुरक्षित विधिहरू पनि सिकाए। जस्तै, डुङ्गा
पल्ट्यो भने सकेसम्म भङ्गालो र भुमरीहरूलाई छल्ने प्रयास गर्नुपर्छ,
किनभने भङ्गालाहरूपछि लगत्तै आउने जलखण्ड फिँजैफिँजले भरिएर बन्ने
र भुमरीहरूमा पानीको वेग प्रबल रूपले घुमेर भित्र छिर्ने हुँदा त्यस्तो
ठाउँमा 'लाइफ ज्याकेट' ले पनि तैराइराख्न सक्दैन, पानी भित्र पसिन्छ
र चाहिने भन्दा बढी पानी पिउन पुगिन्छ।
जलयात्राको पहिलो आधा भाग प्राकृतिक छटाले भरिपूर्ण
र सुन्दर थियो। नदी बेतोडले बगिरहेको थियो। हामी दायाँबायाँ किनाराका
प्राकृतिक छटाहरूको अध्ययन–अवलोकन गर्दै सीमित गतिमा डुङ्गा चलाइरहेका
थियौँ। हाम्रो स्वागतमा कसैले माला झुण्ड्याएर राखिदिए जस्तै गरी माथिबाट
तल पानीसम्मै लहराहरू लत्रेका हुन्थे। पहरामा हजारौँ वर्षदेखि चुनपानी
खस्दा खस्दा बनेका 'स्ट्यालाक्टाइट' भनिने गाईको थुनजस्ता चुनढुङ्गाका
आकृतिहरू झुण्डिरहेका देखिन्थे। त्यसरी नै तल जमिनमा चुनका कणहरू थुप्रिँदै
गएर 'स्ट्यालग्माइट' भनिने शिवलिङ्गजस्ता आकृति बनेका थिए।
पहरामा भीरमौरी, अरिङ्गाल र बारुलाका गोला हुने भएकाले
त्यसतर्फ पनि विचार गर्नुपर्थ्यो। कहिलेकाहीँ खैरो प्वाँख भएको पानीभित्र
बस्ने एक प्रकारको कीराको हुल हामीलाई स्वागत गर्न आउँथ्यो। वसन्त
ऋतु, अर्थात् मे महिनामा पानीबाट निस्केर सामूहिक रतिक्रीडा गर्ने
र पुनः पानीभित्र बिलाउने हुँदा ती कीराहरूलाई 'मे–फ्लाई' भनिँदोरहेछ।
तिनीहरू विषालु त थिएनन्, तर हाम्रो शरीरभरी बसेर हामीसँगै पानीमा
बग्न मन पराउने हुनाले हटाउन घरीघरी पानी भित्र डुबुल्की लगाउनुपर्थ्यो।
हामीलाई कहिलेकाहीँ माटेकोरी, खोलेढिकुर, बट्टाई र हुट्टिट्याउँ
जस्ता चराका फूल तथा चल्ला भएका गुँडनजिकै भएर जानुपर्नेहुनाले तिनीहरू
डराउँदै यताउति उडेका देखिन्थे। तर 'बि–इटर' भन्ने चरालाई चाहिँ माथि
पहरामा गुँड भएकोले होला कुनै चिन्ता भएको देखिँदैनथ्यो। चैखैरे भन्ने
चरा बिहान बिहान 'बीउ–कुहियो' भन्ने आवाजले कराउँदै छेउछाउका किसानलाई
सतर्क गराउँथ्यो भने हाम्रा लागि बिहानको अलार्म घडीको काम गर्थ्यो।
यहाँका मगर गोठालाहरू कालिजका चल्ला समातेर घरमा पाल्ने गर्दछन्। कालिजका
बच्चा वनमै जन्मे–हुर्केका भए पनि घरमा ल्याएर पाल्यो भने जङ्गलमा
फर्केर जाँदैनथे। यसरी साना चल्ला समातिँदा तिनीहरूको बचाउ गर्न नजिकै
आउने भाले कालिज मारिन्छन्। तर यति हुँदा पोथी कालिज भने आफ्ना भाले
र बच्चाहरूलाई रणभूमिमा एक्लै छोडेर भाग्छे। यसबाट कालिज, अर्थात्
वन–कुखुराहरूमा आमालाई बच्चाहरूको कम माया हुँदोरहेछ भन्ने बुझिन्छ।
 |
| डा. हर्क गुरुङ |
| कर्णालीको बालुवामा सुन छानिरहेकी एक महिला
। |
बलौटे किनार र जङ्गल आसपासमा देखिने विभिन्न पदचिन्ह,
खुइलिएका रौँ, झरेका कत्ला र छोडिएका गुँडहरूले अध्ययन क्षेत्रमा प्रसस्तै
स्थलचर, जलचर, नभचर र वृक्षचर जीवजन्तु छन् भन्ने जनाउँथे। कल्लीमारा,
ठूलीगाड र सोल्टाका खुला जमिनमा हजारौँ वर्ष पुराना मानव तथा अन्य
जीव–अवशेषहरू (फोसिल्स) देखिन्थे। भू–धरातलमा भेटिने सामान्य पत्थर
र फोसिल्सबीचको अन्तर छुट्याउन डा. गुरुङ विछट्टै सिपालु थिए। उनका
अनुसार, नदी किनारमा पाइने फोसिल्सको बाहिरी स्वरुप हावापानीले बिगारिदिने
हुनाले कुन जनावरका र कति पुराना हुन् भनेर नाङ्गो आँखाले यकिन गर्न
गाह्रो पर्छ भने प्राचीन गुफामा पाइने फोसिल्स हजारौँ वर्षदेखि जमिनभित्र
विभिन्न तहमा सुरक्षित रहने हुँदा कुन पुरानो, कुन नयाँ किटान गर्न
सजिलो हुन्छ र 'जियोलजिकल सुपरपोजिसन' को नियमअनुरुप जति गहिराइमा
उत्खनन् गरेर निकाल्यो त्यति प्राग–ऐतिहासिक मानिन्छ।
जलयात्रामा भेटिएका स्थानीय वासिन्दामध्ये कर्णाली र
भेरीको दोभानलाई आफ्नो उद्गम थलो मान्ने राजीहरू एकदमै भिन्दै प्रकारका
जनजाति थिए। माछा मार्ने र डुङ्गा चलाउने बाहेक उनीहरूको जीविकोपार्जनको
अरू कुनै उपाय थिएन। संयुक्त परिवारमा सबै एउटा मात्र कोठा भएको छाप्रोमा
बस्ने र व्यक्तिगत गोप्यता नहुने हुँदा नवविवाहित जोडीहरू राति नदी
किनारमा बस्न जाँदा रहेछन्। त्यहाँ चिहान भएकै ठाउँमा सुत्यो भने पनि
आफूलाई माछा मार्ने जालले छोपेको छ भने भूतप्रेतले तर्साउँदैन भन्ने
उनीहरूको विश्वास रहेछ।
कर्णाली–चिसापानी परियोजना लागू भयो भने जलविद्युत्,
बाढी नियन्त्रण, सिंचाई तथा अन्तर–प्रादेशीय जलमार्गमा देशलाई बहुआयामिक
फाइदा हुन सक्छ। हाम्रो देशमा सम्भावना छ भन्ने गरिएको ८३ हजार मेगावाट
जलविद्युत्को करिब १२ प्रतिशत यही कर्णाली–चिसापानीबाट पूरा हुने अनुमानित
आकलन छ। यसबाट अपार आर्थिक लाभ होला, तर यसका नकारात्मक पक्षलाई पनि
बिर्सिन सकिँदैन। यसको डुवान क्षेत्रका सुन्दर प्राकृतिक छटा, जैविक
विविधता, वनजङ्गल, करिब ४० हजार मानिसका वस्ती र भौतिक पूर्वाधारहरू
सदाको लागि पानीभित्र विलिन हुनेछन्। कर्णाली–भेरी दोभानलाई आफ्नो
उद्गम सम्झने र नदीकिनार छोड्न नचाहने राजी जातिको अवस्था झन् दुःखदायी
हुनेछ। किनभने उनीहरू कुनै एक ठाउँमा सिकार पाइन छोडेपछि अस्थायी छाप्रो
भत्काएर तुरुन्तै अर्को ठाउँमा बसाइँ सरिहाल्ने आसपासका राउटे जस्ता
थिएनन्।
देशको भौगोलिक सम्पदा र जनजातिहरूको मानसिक र भौतिक
सम्बन्धबारे डा. गुरुङको विश्लेषण मननयोग्य थियो। उनका अनुसार, नेपालका
जलविद्युत् परियोजना क्षेत्र प्रायः राजी जस्ता जनजातिको जन्मथलो भित्रै
पर्दछन्। भौगोलिक र ऐतिहासिक दुवै हिसाबले पहाड, कन्दरा, खोला र खोल्साहरू
नै नेपालका आदिवासी जनजातिहरूका उद्गमथलो हुन्, समतल जमिन खोज्दै हिँड्ने
बसाइँ सरेर आएका अन्य नयाँ जातिहरूका होइनन्। तर हालसम्म कार्यान्वयन
गरिएका जलविद्युत् परियोजना तर्जुमा गर्दा शहरी र समतल क्षेत्रमा बस्ने
सौखिन व्यक्तिहरूका लागि विशेष विचार गरिएको, तर परियोजना क्षेत्रभित्र
बसेका जनजातिहरूको भलाइका सम्बन्धमा केही विचार नगरिएको देखिन्छ।
हुर्कीको मूल होस् वा बडीचौरको मगर र घाटगाउँको राजी
बस्ती, कर्णालीका छाल हुन् वा टटालीघाटका बलौटे चिहान; जहाँ भए पनि
वातावरणीय प्रभाव अध्ययनका लागि डा. गुरुङले देखाएका मार्गदर्शन हाम्रा
लागि अत्यन्त ज्ञानबर्द्धक र व्यावहारिक छन्। प्रकृतिलाई अवलोकन गर्ने
उनको विधि, प्राग्–ऐतिहासिक वस्तुहरूको समालोचनात्मक अध्ययन गर्ने
तरिका, जनावरहरूको आनीबानी विश्लेषण गर्ने क्षमता, आदिवासी जनजातिहरूका
नैसर्गिक अधिकार केलाएर हेर्ने खुबी र भौगोलिक सम्पदाहरूसँग अन्तरक्रिया
गर्दा उत्पन्न हुनसक्ने संभाव्य खतराबाट बच्ने उपायहरू वातावरणीय अध्ययनका
लागि निकै उपयोगी छन्। आज डा. हर्क गुरुङ हामीबीच नभए पनि उनले सिकाएका
यी कुरा हाम्रो मानसपटलबाट कहिल्यै ओइलाएर जाने छैनन्। र, त्यसैमा
उनी हाम्रो हृदयमा अजर अमर भएर रहने छन्।
(बस्नेत न्यूएरामा अनुसन्धान अधिकृत छन्।)
|