हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

इजरायली पर्यटकभन्दा गैबार

इजरायलीहरूलाई नेपालमा साह्रै घटिया पर्यटकका रूपमा हेर्ने गरिन्छ। हरेक कुरामा मोलभाउ गर्ने। सकेसम्म सस्तोमा सुत्न र खान खोज्ने। प्लेट सिस्टम नभएर भरपेट खान पाइने भोजनालय भए त्यहाँ सकेसम्म कोचीकोची खाने। होटेलमा एक जनाले कोठा लिएको छ भने पालैपालो सातौँ जना गएर त्यहाँको बाथरुममा नुहाउने, लुगा धुने। डेढ सय रुपैयाँ तिरेको कोठामा लस्करै चार जना पनि सुतिदिने। बिजुलीको हिटर बालेर कोठैमा खाना पकाउने। एक गिलास तातो पानी मागेर खल्तीबाट टी ब्याग र चिनी हालेर सित्तैँमा चिया खाने। खाना खाइसकेपछि पैसा नतिरी आफूले पढिसकेको किताब भिडाउन खोज्ने। स्यान्डवीच र चियाकै भरमा दिन काटिदिने। खुला स्यान्डल र कहिलेकाहीँ त हवाइचप्पल लगाएरै पदयात्रा गरिदिने। झुन्ड झुन्डमा हिँड्ने साथीका लागि कागजस्तै धुरिने। परेमा मुक्कामुक्की पनि गर्ने। कुनै भरियाले २५ किलो बोक्छु भनेर कबोलेको छ भने उसलाई जोखीजोखी त्यति नै भारी बोकाएरै छाड्ने। पैसा झिक्न भनेपछि दाँतबाट पसिना काढ्ने। साह्रै कम खर्चमा र किफायती पारामा घुम्न चाहने र सक्ने पनि। अमेरिकी र युरोपेली झोले टुरिस्टभन्दा पनि बढी झोले ठानिन्छन् इजरायलीहरू। सारौँ जस्ता बढी हल्ला गर्ने मात्र हुन् भारतीयहरू। तर तीभन्दा कता हो कता झुर मानिन्छन् इजरायली। यस्तो छ इजरायलीहरूको चालामाला र लज–होटल, रेष्टुराँ, पसल चलाउने नेपालीहरूमाझ उनीहरूको छवि। अमेरिकामा कालाहरूलाई छुट्याउने विभेदकारी कानून सक्रिय रहँदा दुकान र खाने ठाउँहरूमा 'कुकुर र कालालाई प्रवेश निषेध' भनेर लेखिएका हुन्थे 'रे। सोहीपरी नेपालमा 'इजरायलीहरूलाई निषेध' भनेर लेखिएका ठाउँहरू पनि छन्।

तर किन हो कुन्नि नेपाल इजरायलीहरूका लागि ज्यादै प्रिय छ। शायद उनीहरूका दृष्टिमा नेपाल ज्यादै सस्तो ठाउँ भएकाले होला। नेपाल घुम्न आउने इजरायलीहरू विशेषगरी तरुना हुन्छन्, भर्खर दुईवर्षे लामो अनिवार्य सैनिक तालिम सकेर फुक्का भएका।
यिनै इजरायली टुरिस्टहरूद्वारा भरिभराउ छ यस घरी पोखराको बैदाम इलाका। एकदुई दिनका लागि घुम्न आएका अरू पर्यटकहरू त लेकसाइडको एक सर्को लगाएर गइहाल्छन्। तर यिनीहरूको भने रासोबासो नै त्यहीँ छ। एकैठाउँमा लामो अवधिसम्म बस्नु पनि इजरायली टुरिस्टहरूको अर्को विशेषता हो। उनीहरूले लेकसाइडका प्रत्येक जसो साइबर क्याफेका कम्प्युटर किबोर्डमा अङ्ग्रेजीमाथि कागजको टुक्रामा हिब्रु अक्षर लेखेर टाँस्न पनि भ्याएका छन्।

उनीहरूले जतिसुकै घटिया व्यहोरा देखाए पनि एउटा कुराचाहिँ के हो भने हेर्दा उनीहरू अमि्रकाने जस्तै देखिन्छन्, गोरा जो छन्।
धेरै नेपालीका दृष्टिमा टुरिस्ट भन्नु नै गोरा मात्र हुन्छन्, अरू हुन सक्तैनन्। नेपाली त कहिल्यै पर्यटकको गिन्तीमा पर्दै पर्दैनन्, जति नै खर्च गरे पनि र खर्च गर्ने सामर्थ्य भए पनि। दुर्भाग्यवश, बैदामका कतिपय होटेल र रेष्टुराँ सञ्चालकहरूका आँखाले गोरै मात्र खोज्दछन्। कोठा माग्दा टुरिस्टका लागि मात्र छ भन्ने चलन हटेको छैन। रेष्टुराँमा खान जाँदा नेपालीलाई वास्ता नगर्ने चलन पनि छँदैछ। यसपटक स्यान्डवीच र चिया बेच्ने एउटा रेष्टुराँका धनीले त छक्कै पारे। गोरा टुरिस्ट आउँदा मालिक मालिक्नी नै अघि बढेर यो ल्याउँ कि त्यो ल्याउँ भनेर मेनु टक्य्राउने। नेपाली गएर टेबुलमा कुर्दा पनि ध्यानै नदिने। भेदभावको कानुन लागू रहँदा सन् साठीको दशकको मध्यतिर अमेरिकामा कालाहरूलाई लन्च काउन्टरमा जाँदा वास्ता नगरे झैँ देखेको नदेखेकै गर्ने। गोरालाई गिलास, कपप्लेट टिलिक्क टल्काएर उनीहरूकै सामु पुछी–पुछी दिने। नेपालीहरूलाई जस्तो–तस्तो गिलासमा चिया दिने। ती गोरा पनि अरू को भन्दा इजरायलीहरू!

इजरायली टुरिस्टभन्दा पनि नेपालीहरूलाई गैबार ठान्नु त हदै हो। भर्खर भर्खर मात्रै हो क्या रे पोखराको पर्यटन महोत्सव सकिएको। यी महोत्सवहरूबाट नेपाली पर्यटन व्यवसायीहरूले सिक्ने कुरा यही हो?

अँध्यारो पूर्णिमा

वैशाख पूर्णिमाका दिन बुटवलमै हुनु र त्यहीँ पर्तिरको लुम्बिनीको दर्शन गर्न नजानु अलिक असुहाउँदिलो नै हुनेथियो। वैशाख पूर्णिमालाई बुद्ध जयन्तीका रूपमा मनाइन्छ, देशभरि सरकारी विदा दिइन्छ। हजारौँ श्रद्धालु बुद्धको जन्मथलो मानिएको लुम्बिनीमा तीर्थ गर्न जान्छन्। लुम्बिनी नजिक पुगेर त्यस्तो ऐतिहासिक स्थलमा त्यस्तो पावन अवसरमा त्यहाँको भव्यता हेर्न किन नजानु? आखिर यस्तो सुखद् संयोग सधैँ कहाँ पर्छ र? यस्तै सोचेर बुटवलको काम सकेर लागिएको थियो अपरान्हतिर बुटवलबाट लुम्बिनीतर्फ। बाटो लागेपछि मात्र थाहा भयो बुटवल–भैरहवा सडक आवागमनका लागि अवरुद्ध पारिएको कुरा। तीन हप्ताअघि सडक दुर्घटनामा परी मर्ने व्यक्तिको परिवारलाई क्षतिपूर्ति दिलाउन सडक रोक्ने त्यो आन्दोलन गरिएको थियो। त्यसले मेला भर्न लुम्बिनी जानेहरूलाई बिजोग पारिदियो।
धन्न एउटा वैकल्पिक बाटो उपलब्ध मिल्यो, तर ज्यादै घुमाउरो, कच्ची र कष्टकर।

तन्किएको बगर छिचोल्दै विराना वस्तीहरू भएर जाने धूले बाटो हुँदै आखिर लुम्बिनी उद्यानमा त पुगियो, तर झमक्क साँझ परेपछि। दिनमा हुने रमझम त देख्न सकिएन। तैपनि आकाशमा पूर्णचन्द्रको आलोक होला, उद्यानमा चारैतिर स्पटलाइट लागेको होला, ध्यान र अर्चना गर्नेहरूको रेलापेला होला, सारा उद्यान परिसर प्रकाशले प्रदीप्त होला। यस्तै कल्पना गरिएको थियो।

तर त्यो कल्पना विपरीत मायादेवीको मन्दिर वरिपरि साबिकको बिजुलीबत्तीबाहेक तिहारमा बालिने सस्ता झिपझिपे बत्ती बलेका थिए, बस्। परिसर बाहिर एकदुई भन्तेहरू चउरमा पल्टेका थिए। भारतबाट आएका दुई बस जति तीर्थयात्रीहरू आँप र लिचीका रूखमुनि अँध्यारैमा लस्करै लडेका थिए। त्यस घरी बादलले पनि जूनलाई केही छोपिदिएकोले पूर्णिमाको उज्यालो त्यहाँ पटक्कै थिएन।
केही निराश र विस्मित भएर फर्कँदा आफ्नै मनमा प्रश्न उब्जियोेः वैशाख पूर्णिमामा पनि लुम्बिनी किन अँध्यारो?