हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट जनस्वास्थ्य

तरकारीमा विष

धेरै फलाउन र राम्रो देखाउन तरकारीमा बिना होसियारी अनियन्त्रित रूपमा कडा विषादीको प्रयोग हुने गरेको छ। तर, यसको असर एवं जोखिमबारे कोही गम्भीर देखिँदैनन्।

जनक अर्याल, चितवनमा

किरण पाण्डे

बजारमा काउली, बन्दा, गोलभेँडा, काँक्रो, बोडी, करेला, फर्सी, लौका, मूला जस्ता तरकारी इच्छाअनुसार जहिले पनि किन्न पाउनु सामान्य भइसक्यो। तरकारी तथा फलफूल सहकारी संघ नेपालका अध्यक्ष पूर्णदत्त भूषाल भन्छन्, “प्रायः व्यावसायिक किसानहरूले बेमौसमी तरकारी खेती गर्ने भएकाले यो सम्भव भएको हो।”

काठमाडौँ उपत्यका र वरपरका जिल्लामा सबैभन्दा बढी बेमौसमी तरकारी खेती हुनेगर्छ। उपत्यकाको बढ्दो मागलाई ध्यानमा राखेर काभ्रे, धादिङ, मकवानपुर, चितवन, बारा, पर्सा आदि जिल्लामा व्यावसायिक तरकारी खेती बढेको छ। पाँच वर्षदेखि यस्तै तरकारी खेती गरिरहेका चितवनको रत्ननगर, मोहोनाका नारायण महतो र उनकी श्रीमती सावित्री चौधरी एक बिघा जग्गाबाट वर्षमा एक–डेढ लाख रुपैयाँ कमाउँछन्। यही कमाइबाट महतो दम्पतीले दुईकोठे पक्की घर बनाइसकेका छन्।

व्यावसायिक र बेमौसमी तरकारी खेतीले गर्दा किसानलाई मात्र होइन, उपभोक्तालाई पनि फाइदा छ। उनीहरूले अपेक्षाकृत सस्तैमा आफूलाई मनपर्ने तरकारी किन्न पाएका छन्। तर यस्तो खेतीमा अनियन्त्रित तवरले भइरहेको कडा र हानिकारक विषादीको प्रयोगबाट उत्पन्न हुनसक्ने जोखिमबारे भने धेरैलाई चिन्ता छैन। त्यसको असरबारे गहिरो अध्ययन–अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउनेतर्फ सरकारी वा गैरसरकारी क्षेत्रले पनि त्यति ध्यान दिएको देखिँदैन। कृषि अनुसन्धान केन्द्रको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी विषादी काठमाडौँं उपत्यका भित्र प्रयोग हुन्छ। यसबाहेक काभ्रे, धादिङ, बारा, पर्सा, चितवन, मकवानपुरलगायतका जिल्लामा पनि विषादीको खपत बढी छ।

कैयौँ किसानले नजानेर पनि हानिकारक विषादी प्रयोग गरिरहेका छन्। मकवानपुर, टिष्टुङका किसान शरण वलामीले तीन रोपनी जग्गामा बन्दा लगाएका छन्। विषादी र पम्प किन्न ओखरबजार झरेका वलामीलाई कुन विषादी कस्तो हुन्छ, त्यसको प्रयोगमा के सावधानी अपनाउनुपर्छ भन्नेबारे खासै जानकारी छैन। उनी भन्छन्, “पसलमा गएर सोध्छु, जे दिन्छन् त्यही छर्छु।” यसले किसानले सामान्य रोगका लागि पनि कडा विषादी प्रयोग गर्ने सम्भावना रहन्छ। त्यस्तै भएको पनि छ। पालुङका जेटीए इन्द्रदेव यादव भन्छन्, “सामान्य विषादीले मर्ने कीराको लागि फ्युराडन, थाइमेड, फोरेट जस्ता कडा र हानिकारक विषादीको प्रयोग भइरहेको छ।”

किसानहरू विषादी छर्कँदा आफू सुरक्षित हुनुपर्छ भन्नेमा पनि ध्यान दिँदैनन्। नारायण र सावित्रीलाई मुखमा मास्क, शरीर ढाक्ने कपडा र हातमा पञ्जा लगाउनुपर्छ भन्ने थाहा छ, तर उनीहरू त्यसो नगरिकनै छर्छन्। सावित्रीतिर हेर्दै नारायणले भने, “मुख छोप्ने झन्झट कसले गरोस्। थोरै भएको बेला म एक्लै र अलि धेरै भए उनले पनि सघाउँछिन्।” सावधानी नअपनाउँदा विषादीले छाला वा आँखामा असर पार्न सक्ने नेपाल कृषि अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक यज्ञ गिरीको कथन छ।

खासगरी काठमाडौँमा तरकारीको ठूलो माग छ। कालीमाटीमा तरकारी र फलफूलको थोक व्यापार गर्ने रामहरि प्याकुरेल भन्छन्, “बजारभाउ घटबढ हुनु अर्कै कुरा हो, तर काठमाडौँ आइपुगेको तरकारी नबिक्ने कुरै छैन।” उपत्यकाको ठूलो मागलाई ध्यानमा राखेर किसानहरू स्तरीय भन्दा पनि कसरी सकेसम्म छिटो, धेरै तरकारी उत्पादन गर्ने भन्ने ध्याउन्नमा हुन्छन्। जेटीए यादव भन्छन्, “किसानहरूको ध्यान सधैँ बजारभाउतिरै हुन्छ। आफूले खाने होइन क्यारे भनेर उनीहरू जस्तोसुकै विषादी प्रयोग गर्न पनि तयार हुन्छन्।”
उत्पादनलाई राम्रो र ताजा देखाउन पनि विषादीको प्रयोग हुन्छ। जस्तै, काउली फुस्रो देखियो भने थुङ्गा भिज्ने गरी 'थायोडान' झोल छर्किने, दुई–तीन दिनमा राम्रो चमक देखिन्छ अनि बजार पुर्‍याउने, टिपेको गोलभेँडालाई 'डाइथिनेम' नामक विषादीको झोलमा डुवाएर प्याकिङ गर्ने, परवललाई हरियो देखाउन अखाद्य रङ हाल्ने आदि।

तरकारी खेती गर्ने किसानलाई विषादीले आफू र उपभोक्तालाई पुर्‍याउने हानिबारे सजग गराउँदै कसरी कम विषादी प्रयोग गर्ने र बढी उत्पादन लिने भन्ने जानकारी दिनु आवश्यक रहेको विशेषज्ञहरू बताउँछन्। तर भर्खरै व्यावसायिक तरकारी खेतीमा लागेका नेपाली किसानहरूलाई यसबारे पर्याप्त ज्ञान छैन। वैज्ञानिक गिरी भन्छन्, “विषादी छरेपछि पर्ने असर अनुसार केही समयसम्म त्यस्ता तरकारी खानुहँुदैन। तर किसानहरू तुरुन्तै बजार पुर्‍याइहाल्छन्।”

एक सिजनमा १० पल्ट!

जनक अर्याल
भन्टाखेतीमा विषादी छर्कंदै चितवनकी सावित्री चौधरी।

तरकारीमा विषादीको प्रयोग व्यापक छ। त्यसमध्ये पनि बेमौसमी तरकारीमा अझ बढी। धादिङ, जीवनपुरका किसान रामजी कँडेल भन्छन्, “यो वर्ष तीन रोपनीमा ५५ किलो काँक्रा फल्यो, मौसमले साथ दिएन। यस्तो हुन थालेपछि धेरै विषादी र भिटामिन छर्नुपर्छ, खर्च उठाउनै गाह्रो।” माघको तेस्रो साता रोपेको काँक्रोमा उनले १० पटक विषादी छरेका थिए। भन्छन्, “उम्रेर केही ठूलो भएपछि दुईपटक 'डाइथिन' छरेँ। फूल फुल्नुअगाडि दुईपटक 'रोगार', फुल्न र फल्न शुरु भएपछि 'नुभान' हालेँ। अहिले पनि हप्ताको सरदर दुई पटक छर्छु।”
कडा विषादीको गलत प्रयोगका कारण बिरुवामा नयाँ रोगहरू पनि देखापर्न थालेका छन्। गत वर्ष पालुङको काउली र बन्दा खेतीमा देखापरेको गाँठे रोगले त्यहाँका किसानको ठूलो नोक्सानी गरायो। नियन्त्रण हुन नसकेको यही रोगको डरले यस वर्ष पालुङ क्षेत्रका किसानले काउली–बन्दाको साटो गोलभेँडा, आलुलगायत अन्य तरकारीको खेती गरे। शिखरकोटकी माइली लामा भन्छिन्, “रोगले गर्दा काउली र बन्दा हुनै छाड्यो, यसपटक त आलु लगाएँ।”

सरकारले १२ किसिमका कडा विषादीको किनबेच र प्रयोगमा प्रतिबन्ध लगाएको छ– क्लोरडेन, डीडीटी, डाइएल्डिन, एन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, बीएचसी, लिन्डेन, फस्फामिडन र अर्गानो मरकरी कम्पाउण्डस्। तर व्यवहारमा यस्ता विषादीहरूको पनि प्रयोग भएको पाइन्छ। एक विषादी बिक्रेताका भनाइमा, “अहिले पनि खुला सीमाका कारण लुकाईछिपाई प्रतिबन्धित विषादीहरू आइरहेकै छन्।”

व्यवस्थित तरिकाले खेती गर्न सके विषादी कम प्रयोग गरे पनि हुन्छ। लहरे प्रजातिका तरकारी खेती टाँड वा थाक्रोमा गरेमा कम विषादी प्रयोग गरेर पनि धेरै उत्पादन लिन सकिने कतिपय किसानहरूको अनुभव छ। तरकारी तथा फलफूल सहकारी संघ नेपालका अध्यक्ष पूर्णदत्त भूषाल भन्छन्, “टाँडमा लगाएको तरकारीमा दाग लाग्दैन, एकै साइजमा गोडमेल गर्न र टिप्न सकिन्छ। विषादी पनि थोरै भए पुग्छ।”
कीटविज्ञ प्रोफेसर रेशमबहादुर थापा भन्छन्, “चेतना र दण्डहीनताका कारण जथाभावी विषादीको प्रयोग भइरहेको छ। हामीसँग विषादी प्रयोगका लागि नियम र सुपरीवेक्षण गर्ने निकाय छ। तर, सुपरीवेक्षण छैन।” कीटविज्ञ थापा नेपालमा विषादी नियन्त्रण गर्न त्यति गाह्रो नभएको बताउँछन्। उनको भनाइ छ, “मुलुकको अधिकांश भागमा परम्परागत खेती नै छ,तराई र केही सुगम क्षेत्रमा मात्र विषादीको प्रभाव परेको हो। त्यति नियन्त्रण गर्न किसानलाई सचेत र दक्ष बनाउनुपर्छ। त्यसका लागि सरकारले लागू गरेको कृषक पाठशालालाई व्यापक बनाउनुपर्छ।”

कृषक पाठशाला
पछिल्लो केही वर्षयता चितवनमा विषादीको प्रयोग घट्न थालेको छ। कृषक पाठशालाको प्रभावकारिता र विषादीबारे बढ्दो चेतनाकै कारण यस्तो भएको अनुमान कृषि विकास कार्यालय, चितवनका बाली संरक्षण अधिकृत सुरेन्द्रप्रसाद पोखरेलको छ। उनी भन्छन्, “आ.व. २०६१/६२ मा चितवनमा करिब ५० मेटि्रक टन विषादी खपत भएको थियो, ०६२/६३ मा ४१ मेटि्रक टनमा झरेको छ।” चितवनलगायत नेपालका ६६ जिल्लामा अहिले कृषकलाई मल, बीउ, विषादीबारे चेतना जगाउने कृषक पाठशाला कार्यक्रम लागू भएको छ।

प्राङ्गारिक खेती प्रणालीले मात्रै विषादीको प्रयोग कम हुने विज्ञहरूको धारणा छ। पर्यावरणीय सेवा केन्द्रका कार्यकारी निर्देशक वसन्त रानाभाट भन्छन्, “प्राङ्गारिक खेतीले वातावरण जोगाउँछ। माटो र हावापानी अनुसारको बाली लगाउँदा रोग पनि कम लाग्छ। यस्तो खेती गर्दा कम खर्च लाग्ने र उत्पादन महँगोमा बिक्ने भएकोले फाइदा पनि बढी हुन्छ।”