रिपोर्ट
सुरक्षा
दश मिनेटमा प्रहरी
राजधानीमा शान्तिसुरक्षासम्बन्धी कुनै समस्या
पर्ने वित्तिकै १०० नम्बरमा फोन गर्नुस्, १० मिनेटमै महानगरीय प्रहरीको
'कन्ट्रोल रुम भेइकल्स' को गाडी तपाइँलाई मद्दत गर्न आइपुग्छ।
• ध्रुब सिम्खडा
 |
| किरण पाण्डे |
करिब
३० लाख मानिस बस्ने काठमाडौँ उपत्यकामा असामाजिक तथा आपराधिक क्रियाकलाप
बढिरहेका बेला शान्तिसुरक्षाको अनुभूति दिलाउन सक्रिय भएर आएको छ,
नेपाल प्रहरीको नयाँ सङ्गठन– महानगरीय प्रहरी। त्यसनिम्ति उपत्यकाका
विभिन्न स्थानमा चौबीसै घण्टा 'कन्ट्रोल रुम भेइकल्स (सीआरभी)' परिचालन
गरिएको छ। चाँडै नै महानगरका सात ठाउँमा 'क्लोज सर्किट टेलिभिजन' (सीसीटिभी)
राख्ने तयारी पनि भइरहेको छ।
तत्काल घटनास्थल पुग्न र अपराधी समात्न सकियोस् भनेर
महानगरीय प्रहरीले १ चैत २०६३ देखि उपत्यकामा शहरका विभिन्न ठाउँमा
७० वटा टाटा मोवाइल गाडी तम्तयार राख्न थालेपछि आपराधिक गतिविधिमा
कमी आएको प्रहरीको दाबी छ। महानगरीय प्रहरी कार्यालयहरूमा चोरी, लुटपाट,
गुण्डागर्दीलगायतका मुद्दाको सङ्ख्या बढ्न थालेको छ। पहिलो महिना,
चैत २०६३ मै कार्यालयहरूमा २९० वटा उजुरी दर्ता भए, जसमध्ये ११५ सार्वजनिक
अपराधसम्बन्धी थिए। अघिल्लो महिना फागुनमा दर्ता भएका २७७ उजुरीमध्ये
सार्वजनिक अपराधका केस ९७ वटा थिए।
यसरी उजुरी बढ्नुलाई महानगरीय प्रहरीले आफ्नो सक्रियता
र आफूप्रति नगरवासीहरूमा बढेको विश्वासको परिणाम ठानेको छ। प्रहरीमा
नागरिकको पहुँच बढेको स्पष्ट गर्दै महानगरीय प्रहरी आयुक्त, प्रहरी
अतिरिक्त महानिरीक्षक दीपकसिं थाङ्देन भन्छन्, “सीआरभी परिचालन भएपछि
चोरी र लुटपाटका घटनामा कमी आएको छ। बदमासहरूलाई नियन्त्रणमा लिने
प्रयास प्रभावकारी हुन थालेको छ।”
भारत सरकारबाट विभिन्न प्रयोजनका लागि नेपाललाई सहयोगस्वरूप
प्राप्त २५५ गाडीमध्ये ७० वटा महानगरीय प्रहरीले पाएको हो। सबै सेतो
रङका ती गाडी अहिले काठमाडौँमा ४०, भक्तपुरमा १०, ललितपुरमा १० र ट्राफिकसँग
१० वटा छन् भने काठमाडौँको थानकोटलगायतका केही ग्रामीण भेकका लागि
अझै १० वटा आउन बाँकी छन्।
उपत्यकाका सम्पूर्ण सीआरभीको परिचालन रानीपोखरीस्थित
महानगरीय प्रहरी मुख्यालयमा रहेको नियन्त्रण कक्षबाट हुन्छ। नागरिकले
१०० नम्बरमा फोन गरेर घटनाबारे जानकारी गराएको करिब १० मिनेटमै प्रहरी
घटनास्थलमा पुगिसक्ने एआईजी थाङ्देन बताउँछन्। मुख्यालयका अनुसार,
सीआरभीले १६ वैशाख बिहान ९ बजेदेखि १७ वैशाख बिहान ९ बजेसम्म २४ घण्टामा
४८८ कल पाएको थियो। यसले राजधानीवासीलाई प्रहरी सेवाको कति जरुरत छ
भन्ने देखाएको छ। यस्तै आवश्यकतालाई दृष्टिगत गरेर कामनपाका केही संवेदनशील
ठाउँमा सीसीटिभी पनि राखिने भएको छ।
तर, उपत्यकाका शहरी क्षेत्रमा अपराध नियन्त्रणका लागि
बढेको प्रहरी क्रियाशीलता चक्रपथ बाहिर छैन। बाटोघाटोको अभाव र ठाउँ
पहिचान गर्न कठिनाई त्यहाँका मुख्य समस्या हुन्। भू–उपग्रहमार्फत्
स्थान पहिचान गर्ने जियोग्राफिकल इन्फर्मेशन सिस्टम (जीआईएस) र ग्लोबल
पोजिसनिङ् सिस्टम (जीपीएस) जस्ता नयाँ प्रविधि लागू भएपछि यी समस्या
पनि समाधान हुने प्रहरीको अपेक्षा छ। महानगरीय प्रहरीको विशेषज्ञ टोली
र निजी क्षेत्रको एक सफ्टवेयर कम्पनी दुई–तीन महिनामा यो काम पनि पूरा
गर्ने अभियानमा लागेका छन्। त्यसपछि भने उपत्यकाभरि आवश्यक परेका ठाउँमा
चौबीसै घण्टा सीआरभी पुग्न र नियन्त्रण कक्षलाई घटनाबारे अवगत गराउन
सफल हुने विश्वास व्यक्त गर्छन् आयुक्त थाङ्देन।
महानगरीय प्रहरीको औचित्य
 |
| मीन बज्राचार्य |
सरकारले राजधानीलगायत मुलुकका ठूला शहरमा साधनसुविधा
र अधिकारसम्पन्न बनाएर प्रहरी परिचालन गर्न विदेशका ठूल्ठूला शहर र
राजधानीको सिको गर्दै ६ महिनाअघि महानगरीय प्रहरी निकायको गठन गरेको
हो। संसदको राज्यव्यवस्था समितिमा ऐनको व्यवस्था नगरी नयाँ सुरक्षा
व्यवस्था गर्न नहुने आवाज उठे पनि सरकारले अहिले नेपाल प्रहरीको पुरानै
ऐनअन्तर्गत महानगरीय प्रहरी परिचालन गरिरहेको छ। १३ हजार ७५२ जनाको
जनशक्ति चाहिने महानगरीय प्रहरीको सङ्ख्या अहिले ८७६० छ।
महानगरीय प्रहरीलाई असामाजिक क्रियाकलापको नियन्त्रण
र शान्तिसुरक्षासम्बन्धी सबै कुराको समन्वय, आदेश–निर्देश, व्यवसाय
दर्ता र कार्यान्वयन गर्ने–गराउने तथा अर्ध–न्यायिक निकायको रूपमा
मुद्दा समेत हेर्ने अधिकार प्रदान गरिएको छ। महानगरीय प्रहरीले यस्ता
काम थालेपछि प्रहरीलाई अपराध अनुसन्धानमा सजिलो भएको छ। यसअघि उपत्यका
अपराध अनुसन्धान महाशाखा, हनुमानढोकामा केन्द्रित रहेको अपराध अनुसन्धान
र नियन्त्रणको काम महानगरका विभिन्न स्थानबाट हुन थालेपछि महानगरवासीले
सुरक्षित महसूस गर्न थालेका छन्। लैनचौरका सुजित अधिकारी भन्छन्, “महानगरीय
प्रहरीको सेतो गाडी बस्न थालेपछि हाम्रो टोलको वातावरण नै अर्कै भएको
छ, चोरी र लुटपाट घटेको छ।” यद्यपि, सबै काम एउटै निकायले गर्न थालेपछि
त्यो निकाय निरङ्कुश हुने, त्यसभित्र अनियमितताको सम्भावना बढ्ने आशङ्काहरू
पनि उठेका छन्।
महानगरीय प्रहरीका चार तह छन्– मुख्यालय, जिल्लास्तरीय
परिसर (रेञ्ज), वृत्त (सर्कल) र प्रभाग (सेक्टर)। मुख्यालय, अर्थात्
आयुक्तको कार्यालय, मा एक आयुक्त (एआईजी) र विभिन्न महाशाखा हेर्ने
नौ वरिष्ठ प्रहरी उपरीक्षक हुन्छन्। परिसरमा प्रहरी उपरीक्षक, वृत्तमा
नायव प्रहरी उपरीक्षक र प्रभागमा निरीक्षक प्रमुख हुने गर्दछन्। हाल
प्रभागअन्तर्गत राखिएका पहिलेका चौकी र इलाका प्रहरी कार्यालयहरूको
स्तर वृद्धि गरेर वृत्तसरह साधन–स्रोत सम्पन्न बनाउने योजना छ। यसबाहेक,
पहिलेको उपत्यका ट्राफिक कार्यालयलाई महानगरीय प्रहरी ट्राफिक महाशाखाको
रूपमा परिचालन गरिएको छ भने महिला तथा बालबालिकासम्बन्धी गतिविधि हेर्ने
जिम्मेवारी महिला प्रहरी निरीक्षकको नेतृत्वमा महिला तथा बालबालिका
सेवा केन्द्रलाई दिइएको छ। यसैगरी महानगरीय प्रहरीले ट्राफिक र बजार
व्यवस्थापनमा काठमाडाँै महानगरपालिकाको महानगर प्रहरीसँग पनि सहकार्य
गरिरहेको आयुक्त थाङ्देनले बताए।
कम छैनन् समस्या
महानगरीय प्रहरीलाई विदेशका ठूला शहरमा झैँ चुस्तदुरुस्त बनाउने काम
त्यति सजिलो भएको भने छैन। कतिपय ठाउँमा ट्राफिक जामले सीआरभी परिचालनमा
कठिनाई हुने गरेको छ। चक्रपथ बाहिर बाटोघाटोको समस्या छ। जथाभावी पार्किङ,
अत्यधिक भीडभाड र गाडी छिर्नै नसक्ने साँघुरा गल्लीका कारण पनि सीआरभीलाई
तुरुन्त सर्वसाधारणले भनेको स्थानमा पुग्न समस्या भइराखेको छ।
सीआरभी भएर मात्र महानगरीय प्रहरीको प्रभावकारिता बढ्ने
होइन, त्यसका लागि आम नागरिकबाट घटनाबारे तत्काल खबर पनि हुनुपर्छ।
सीआरभी परिचालन भएको केही दिनमै गोङ्गबुको एउटा फाइनान्स कम्पनीबाट
रकम लुटियो। प्रहरी निरीक्षक अङ्गुर जिसी भन्छन्, “प्रहरीको गाडी त्यहीँ
थियो, तत्काल पुग्न र लुटेरालाई नियन्त्रणमा लिन सकिन्थ्यो। तर प्रहरीले
ढिलो खबर पाएकाले उनीहरू भाग्न सफल भए।” यो अभियानमा पर्याप्त साधनस्रोत,
सुविधादेखि आकस्मिक मद्दतको लागि 'ब्याकअप फोर्स' पनि आवश्यक पर्छ।
सीआरभी सञ्चालनमा मात्र सिपाहीदेखि सईसम्मका १३६० जना प्रहरी खटिएका
छन्। एउटा सीआरभी टोलीमा सई वा असई को कमाण्डमा ६ जनासम्म प्रहरी हुन्छन्।
महानगरीय प्रहरीसँग ट्राफिक–अवरोध अर्थात् 'हाजार्ड'
हटाउने र्याकर वा क्रेन पनि छैन। महानगरभित्रका कतिपय दुर्घटनामा
गाडीभित्र च्यापिएको अवस्थामा उद्धार हुन नसकी मानिसहरूको मृत्यु भएका
थुप्रै उदाहरण छन्। करिब ६ महिनाअघि कलङ्कीमा दुर्घटनाग्रस्त गाडीभित्र
च्यापिएका एक यात्रुलाई तत्काल निकाल्न नसक्दा रुँदा–रुँदै उनको मृत्यु
भएको थियो। तर अब त्यस्तो नहुने बताउँदै महानगरीय ट्राफिक महाशाखा
प्रमुख भीष्म प्रसाई भन्छन्, “पहिले ट्राफिक प्रहरीसँग वुड कटर, आयरन
कटर, एम्बुलेन्स केही थिएनन्; अहिले एउटा आयरन कटर र एम्बुलेन्स आउनुका
साथै सञ्चार पनि सुदृढ भएकोले पाँच–सात मिनेटमै दुर्घटनास्थल पुगेर
मानिसको ज्यान बचाउन सकिने भएको छ।”
अपराध नियन्त्रणलगायत महानगरवासीको जीउधनको सुरक्षामा
रातदिन खट्ने प्रहरी निकायलाई समयअनुसार अझै सुविधासम्पन्न बनाउनुपर्ने
खाँचो छ। तर, उपयुक्त कानुनी व्यवस्था र पर्याप्त स्रोतसाधन एवं सुविधा
नहुँदा पनि महानगरीय प्रहरीको 'दश मिनेटमा प्रहरी' को सङ्कल्पले राजधानीवासीमा
नयाँ आशा र भरोसा भने जगाइदिएको छ।
प्रहरीको गाडी बस्ने स्थान
काठमाडौँ
जनसेवा प्रभागः १.
परोपकार स्कूल २. पुरानो नगरपालिका ३. न्युरोड गेट।
दरबारमार्ग प्रभागः ४. गैरीधारा
लैनचौर प्रभागः ५. लैनचौर मोड ६. खुसिबु टाउनप्लानिङ ७. धोवीचौर।
सिंहदरबार प्रभागः ८. मैतीदेवी चोक ९. बबरमहल चोक १०. थापाथली मोड।
कमलपोखरी प्रभागः ११. विशालनगर १२. चारखाल।
स्वयम्भु प्रभागः १३. सीतापाइला चोक १४. चागल शिक्षा कार्यालय।
कालीमाटी वृत्तः १५. कुलेश्वर १६. कलंकी चोक १७. बल्खु चोक १८. टेकू
भन्सार १९. वाफल २०. त्रिपुरेश्वर चोक।
थानकोट प्रभागः २१. थानकोट चोक।
कीर्तिपुर प्रभागः २२. पाँगाचोक २३. चोभार गेट। बालाजु वृत्तः २४.
वनस्थलीचोक २५. वाईपासचोक
महाराजगञ्ज वृत्तः २६. बसुन्धरा चोक २७. गङ्गालाल अस्पताल २८. बालुवाटार
चोक २९. गोङ्गबु चोक ३०. धुम्बाराही चोक
बूढानीलकण्ठ प्रभागः ३१. खोरेत पशु अस्पताल, बूढानीलकण्ठ।
नयाँबानेश्वर वृत्तः ३२. नयाँबानेश्वर चोक ३३. बुद्धनगर ३४. लाखेचौर
३५. जडिबुटी
गौशाला प्रभागः ३६. चावहिल चोक ३७. सिनामङ्गल चोक ३८. पुरानो बानेश्वर
चोक ३९. गौरीघाट बौद्ध वृत्तः ४०. जोरपाटी चोक।
ललितपुर
१. जावलाखेल २. टौखेल चोक ३. भैंसेपाटी चोक ४. मङ्गलबजार ५. नख्खुचोक
६. ईनार मोड (पुल्चोक) ७. बालकुमारी चोक ८. महालक्ष्मीस्थान ९. चापागाउँ
बसपार्क १०. सानेपा चोक।
भक्तपुर
१. लोकन्थली २. ब्यासी (चाँगुमोड) ३. सल्लाघारीचोक ४. कमलविनायक चोक
५. सूर्यविनायक चोक
६. बोडेचोक ७. बालकुमारीचोक ८. सानोठिमी चोक ९. जगाती चोक १०. खरिपाटी
चोक
|