हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

रङ्गमञ्चकी सरिता

तस्बिरः किरण पाण्डे

काठमाडौँकी सरिता गिरी, नेपाली रङ्गकर्ममा एक सुपरिचित नाम। अग्निको कथा, जात सोध्नु जोगीको, बाघभैरव, आरूका फूलका सपना, तारावाजी लै लै, मायादेवीको सपना लगायतका चर्चित नाटकहरूबाट उनले आफ्नो अभिनय क्षमता देखाइसकेकी छन्।

एमआर्ट थिएटरमा नृत्य सिक्दा–सिक्दै जागेको रङ्गकर्मप्रतिको आकर्षणले सरितालाई २०५६ सालको पश्चिमाञ्चल नाटक महोत्सवमा नवोदित प्रतिभा र राष्ट्रिय नाटक महोत्सव २०५७ मा उत्कृष्ट अभिनेत्रीको पुरस्कारसमेत दिलायो। यही सफलताले सरितालाई गुरुकुलमा पनि प्रवेश गरायो। त्यसो त त्यहाँ आउनुअघि नै सरिताले रङ्गकर्मी सुनिल पोख्रेलसँग आरूका फूलका सपना मा काम गरिसकेकी थिइन्।

भन्छिन् “नाटकमै लाग्छु भनेर शुरुमा सोचेकी थिइनँ, तर, अहिले रङ्गकर्म नै सबथोक भएको छ।” हालसम्म दुई सय भन्दा बढी सडक नाटक तथा डेढ दर्जन नाटकमा अभिनय गरेकी सरिताले भारत, बङ्गलादेश, पाकिस्तानदेखि नर्वे, डेनमार्क र रूससम्म पुगेर आफ्नो प्रतिभा प्रस्तुत गरेकी छन्। यो यात्राले रङ्गकर्मप्रतिको मोह र परिपक्वता अझै बढाएको उनी बताउँछिन्। अभिनयसँगै रङ्गमञ्च–व्यवस्थापनका विविध विधामा समेत प्रशिक्षित सरिता पछिल्लो समयमा रङ्गमञ्चप्रति दर्शकहरूको बढ्दो आकर्षणबाट दङ्ग छिन्। भन्छिन्, “अहिले रङ्गकर्मलाई समाजले सकारात्मक रूपमा हेर्न थालेकाले आशा जागेको छ।”

अनुशील


रमझम रिपोर्ट

बन्दूकसगै सिर्जना

अहिलेका लाहुरे कविहरूले भर्ती हुनुअघि नै साहित्यको रस चाखिसकेका हुनाले पल्टनको व्यस्ततामा पनि उनीहरूको सिर्जना रोकिएको छैन।

डम्बरकृष्ण श्रेष्ठ .

चित्र संयोजनः सुरेशराज न्यौपाने

..हामी वीर छौँ तर, बुद्धू छाँै,
हामी बुद्धू छौँ र त हामी वीर छाँै...

कवि भूपि शेरचनलेे दुई दशकअघि हामी कवितामा वीर गोर्खालीको उपमा प्रयोग गर्दै नेपालीहरूलाई यसरी बुद्धू को विशेषण भिराएका थिए। तर, आजका लाहुरेहरूले साहित्य, कलाप्रति देखाएको लगाव र सिर्जनशीलतासँग भूपिको कविता मेल खाँदैन। कवि तथा गीतकार भूपाल राई भूपिको कविताले सङ्केत गरेजस्तै आजका लाहुरे बुद्धू नभएको बताउँछन्। भन्छन्, “लाहुरेहरूका पुराना पुस्ता बढी अशिक्षित थिए, बियर पिउनमै बढी खर्च गर्दथे अहिले जस्तो साहित्य सिर्जना र पुस्तक प्रकाशन गर्ने माहोल नै थिएन।”

लाहुरेको रेलिमाई फेशनै राम्रो,
रातो रुमाल रेलिमाई खुकुरी भिरेको...

लाहुरेसम्बन्धी अति नै चर्चित यो गीत दोस्रो विश्वयुद्ध समेत लडेका ब्रिटिश सेनाका सिपाही मित्रसेन थापामगरले तयार पारेका थिए। मित्रसेनको यो गीतबाट पुराना लाहुरेहरूले साहित्य सिर्जनाका लागि राम्रो वातावरण नपाए पनि केहीले भने आफ्नोे प्रतिभा त्यसबेलै पनि देखाएको पुष्टि हुन्छ। त्यसो त नीलो चोली नामक बहुचर्चित उपन्यास लेख्ने सुवास भारतीय सेनाका पूर्व सैनिक तथा हालको दार्जीलिङ गोर्खा पार्वत्य परिषदका अध्यक्ष सुवास घिसिङ हुन्। हाल बेलायतमा रहेका ६० वर्षीय पूर्व सैनिक नोर्देङ तेञ्जिङ भोटिया राम्रा गीतकार र सङ्गीतकार हुन्। उनले साथीहरूसँग मिलेर खोलेको हिमालय ब्याण्डको मुसुमुसु हाँसिदेउ न लै लै... गीत आज पनि युवाहरूको मुखमा झुण्डिएको छ। भारतीय चलचित्र प्यार मे कभी कभी मा प्रयोग भएपछि यो गीतले भारतीय फिल्मी सङ्गीतमा समेत चर्चा पाएको थियो।
पछिल्लो समयमा शिक्षित युवाहरू पनि भर्ती भएकाले यस्ता युवाहरू बढी साहित्यकर्ममा लागेको र लाहुरेहरूको नेपाली साहित्यमा उत्साहजनक सहभागिता भएको पाइन्छ। कवि विक्रम सुब्बा पहिले ४/५ कक्षा पढेर लाहुर गएकाहरूमा शिक्षाको कमीका कारण पनि आफ्ना भोगाइ कवितामा पोख्ने क्षमताको अभाव भएको बताउँछन्। भन्छन्, “अहिलेकाहरू यहीँ कविताको रस चाखेर गएका छन्, त्यसमाथि इण्टरनेट र प्रविधिको विकासले देश र यहाँको जनजीवनसँग पनि उत्तिकै घुलमिल हुन पाएका छन्।”

पल्टनमा साहित्य

१८ वर्षे उमेरमा धरानको घोपा क्याम्पबाट ब्रिटिश सेनामा भर्ती भई ११ वर्षअघि अवकाश प्राप्त गणेश राई (४५) साहित्य क्षेत्रमा मजैले लागिपरेका छन्। विद्यालय पढ्दैदेखि कविता, निबन्ध लेखनमा रुचि राख्ने राईले लाहुरे जीवनमा पनि साहित्य सिर्जना गरे। राइफलको नालबाट जीवन नियाल्दा संस्मरण–उपन्यास र राइफलले फलाकेको जिन्दगी कविता सङ्ग्रह प्रकाशित गरेका राई राईफल सैन्य जीवनको प्रतीक भएकाले त्यो शब्द समेट्दै पुस्तकको नाम राखेको बताउँछन्। सन् १९८२ को फकल्याण्ड युद्धमा लडेका उनका सिर्जनामा पनि लाहुरे जीवनका आरोह–अवरोह र भोगाइहरू समेटिएको पाइन्छ। ब्रिटिश सेनाको गोर्खा ब्रिगेडले प्रकाशन गर्ने पर्वते र अन्य पत्रपत्रिकामा फुटकर रचना छापिए पनि राईले दुवै पुस्तक अवकाशपछि प्रकाशन गरेका हुन्। उनका पालामा पल्टनभित्र निक्कै कडाइ हुन्थ्यो, सिर्जनाको मूल्याङ्कन हुन्नथ्यो, कसैले पनि पुस्तक प्रकाशन गर्दैनथे। भन्छन्, “फौजी परिवेशमा साहित्य बुझ्ने थोरै र नबुझ्ने धेरै हुन्छन्, सेनामा हुँदा लेख्थे तर त्यहाँको सीमित घेरामा विचारमा स्वतन्त्रता नहुँदा सार्थक लेखाइ थिएन।”

तर, आज सैनिक जीवनमा रहँदै पुस्तक प्रकाशन गर्ने लाहुरे साहित्यकारहरू निक्कै छन्। विश्वासदीप तिगेला, जगत नवोदित, मिजास तेम्बे जस्ता धेरै युवाहरू अहिले एक हातमा बन्दूक र अर्को हातमा कलम लिएर साहित्य सिर्जनामा समेत सक्रिय छन्। दुई वर्षअघि गृहयुद्धको पीडा यात्रा संस्मरण प्रकाशन गरेर धनकुटाका विश्वासदीप तिगेला (३०) ले नेपाली साहित्य क्षेत्रमा निक्कै प्रशंसा बटुले। द्वन्द्वले आफ्नै देश आक्रान्त बनिरहेको बेला तिगेलाको कलमले इराक, अफगानिस्तान, पूर्वीटिमोरलगायतका युद्धग्रस्त देशका आफ्ना भोगाइ कोरिरहेको थियो। सैनिक सेवामै रहेर उनले साहित्यसम्बन्धी वेबसाइट खोल्नेदेखि प्रवासी वेदनाका आवाजहरू नामक साहित्यिक पत्रिकाको प्रकाशनसमेत प्रारम्भ गरेका छन्। उनका जनमुक्ति अभियान र परदेशीका कोसेली कविताहरू नामक पुस्तक पनि प्रकाशित छन्।

त्यसो त, लाहुरे साहित्यकारहरूमा रक्ष राई, दयाकृष्ण राई, मुलवीर राई आदिका कृतिहरूले पनि निक्कै चर्चा पाएका छन्। कथा र कवितामा रक्ष राईको राम्रो दख्खल देखिन्छ। उनका सिपाहीकी आमाको लास र बालुवामा अर्को नेपाल कथा सङ्ग्रह तथा देश दुखेको छ कविता सङ्ग्रह प्रकाशित भएका छन्। मुलवीर राईको उपन्यास मृत शहर ले २०६१ सालको पन्त स्मृति प्रतिष्ठान पुरस्कार जितेको थियो। उनका विसाइत र हरियो पर्खाल उपन्यास र शब्द र सङ्गीतमा खबर अल्बम समेत निस्किएको छ। दयाकृष्ण राईका लाहुरेको कथा जापानको व्यथा र ईश्वरको मलामी कविता सङ्ग्रह प्रकाशित छन्।

बन्दूकसँगै साहित्यः मिजास तेम्बे र विश्वासदीप तिगेला।

नेपाली भाषामा साँघुरी र बूढासुब्बा र लिम्बू भाषामा समेत कविता सङ्ग्रह प्रकाशन गरेका लाहुरे कवि टङ्क वनेम अहिले पल्टनमा सिर्जनशीलहरूका लागि राम्रो साहित्यिक वातावरण हुने बताउँछन्। भन्छन्, “सेनाको अनुशासनभित्र रहेर पनि सिर्जनामा लाग्न त सकिहालिन्छ नि!” देश, गाउँघर र आफ्नो परिवार छाडेर प्रवासमा बस्दाको पीडा लाहुरे साहित्यकारका कलममा बढी व्यक्त हुने गरेका छन्। अवकाशपछि बेलायतमा बस्दै आएका वनेम भन्छन्, “धेरै लाहुरे कवि–साहित्यकारहरूले आफ्नै दुःख, देश, घर र मायालुसँगको विछोडका पीडा पोखेका छन्।” जङ्गलमा ड्युटी पर्दा पनि कागजका टुक्रामा कविता लेखेर ब्यारेक आएर डायरीमा सारेको उनी सुनाउँछन्। भन्छन्, “जङ्गल अभ्यास एकदमै कडा हुन्थ्यो। ब्रुनाई, बेलिजका जङ्गलमा २/३ हप्ता विताउँदा कहिले त दुई रूखमा डोरी बाँधेर झुण्डिएर सुत्नुपर्थ्यो, त्यस्तो अवस्थामा पनि कविता चाहिँ फुर्ने रहेछ।”

ब्रिटिश सेनामा कार्यरत मिजास तेम्बे र नरशेमणि काङवाङको सम्पादनमा २०६३ सालमा प्रकाशित सीमाहीन बिम्बहरू कविता सङ्ग्रहमा १७ जना लाहुरे कविहरूको सिर्जना समेटिएको छ। जसमा रक्ष राई, मुलवीर राई, नवराज राई, कुमार इस्बो, जगत नवोदित, दयाकृष्ण राई, भरतमणि चोङवाङ, टङ्क वनेम, आनन्द 'रानोहोछा' राई, प्रेम राई, केदार सुनुवार, विश्वासदीप तिगेला, डुगेन्द्र तामाङ, काङमाङ नरेश, यादव वान्तवा, ईश्वर चाम्लिङ, टङ्कबहादुर थेबे (मिजास) रहेका छन्। सीमाहीन बिम्बहरू बाट सिर्जनामा लागिपरेका लाहुरेहरूको एक झल्को पाउन सकिन्छ।

प्यासको नजर गजल सङ्ग्रह र आफ्ना शब्दमा उद्गार गीति अल्बम निकालेका मिजास तेम्बे साहित्यमा लागेका लाहुरेहरूका लागि पल्टनमा पहिलेभन्दा अहिले सहज वातावरण भएको बताउँछन्। भन्छन्, “हाम्रो पुस्ताका लाहुरेहरूले साहित्य सिर्जनामा निक्कै खुल्लापन पाएका छाँै। अहिले लेख्ने, पढ्नेदेखि साहित्यका बारेमा खुल्ला रूपमा छलफल हुन्छ।” खोटाङका जगत नवोदितका जीवन अनुभूति र अक्षय आकृति नामक कविता, गजल र मुक्तकको सङ्ग्रह प्रकाशित भएको छ भने उनका केही कविताले पुरस्कार समेत पाएका छन्। साहित्य र जीवनको सम्बन्ध नङ र मासु जस्तै भएको उनी बताउँछन्।

पाँच दशकको यात्रा

ब्रिटिश सेनामा नेपालीहरूको प्रवेश भएको झण्डै २०० वर्ष भएपनि लाहुरेहरू साहित्य सिर्जना र लेखनतर्फ प्रत्यक्ष देखिएको पाँच दशक मात्रै हुँदैछ। सन् १९४९ देखि ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजले रोमन लिपिमा नेपाली भाषा लेखेर प्रकाशन गरेको पर्वते नामक पत्रिकाले नेपालीहरूको मनभित्र गुम्सिएका सिर्जनालाई फाट्टफुट्ट रूपमा बाहिर ल्याउने काम गरेको थियो। त्यस्तै साढे तीन दशकअघि शुरु भएको ब्रिटिश फोर्सेस बोर्डकाष्टिङ सर्भिस (बीएफबीएस) समेत सिर्जनशील लाहुरेहरूका लागि साहित्य प्रस्फुटनको राम्रो माध्यम बन्दै आएको छ।
५८ वर्षअघिदेखि प्रकाशन भएको पर्वते हाल रोमन तथा देवनागरी दुवै लिपिमा पढ्न पाइन्छ। पर्वते मा नियमित रूपमा कथा, कविता, गीत, गजल, मुक्तक, संस्मरणहरू लेखेर र बीएफबीएस रेडियोमा वाचन गरेर लाहुरेका सिर्जनाले ब्यारेकबाट बाहिरसम्म पुग्ने क्रम अहिले पनि छ। एक दशकयता भने बेलायत र ब्रुनाईमा प्रवासी नेपाली साहित्य समाज स्थापना गरेर र विभिन्न साहित्यिक कार्यक्रम, प्रतियोगिता तथा नियमित रूपमा पुस्तक, पत्रपत्रिका प्रकाशित गरेर लाहुरे साहित्यमा नयाँ जग नै बसाइसकेका छन्।

कवि भूपाल राई भने लाहुरे साहित्यकारहरूमा औंलामा गन्न सकिनेले मात्र राम्रो सम्भावना देखाएको बताउँछन्। भन्छन्, “धेरैले स्तरीयता पक्रन सकेका छैनन्। नेपाल छाड्नुको पीडा र कुण्ठा पोख्ने काम बढी भएका छन्।” लाहुरेहरूसँग प्रशस्त पैसा भएकाले सिर्जनामा स्तरीयता नभए पनि खर्चिलो पुस्तक प्रकाशन गर्ने गरेको राई बताउँछन्। भन्छन्, “स्तरीय लेख्ने गैर लाहुरेहरू पनि यहाँ धेरै छन्, तिनले पैसा नहुँदा पुस्तक निकाल्न पाएका छैनन्। तर लाहुरेहरूसँग पैसा पनि छ, पैसा भएपछि लेख्नु मात्र त ठूलो कुरा नै भएन।” लाहुरे साहित्यकारहरूले लगातार पुस्तकहरू प्रकाशन गर्दै आए पनि गुणस्तरको हिसाबले अझै सुधार गर्न आवश्यक भएको विक्रम सुब्बा बताउँछन्। भन्छन्, “पुस्तकमा सम्पादनको अभाव छ, भाषामा धेरै त्रुटि भेटिन्छन् र सिर्जनाका लागि पनि विचार र शैलीमा धेरैको परिपक्वता आउन बाँकी छ तर, विस्तारै यसमा पनि सुधार आउला।”


रमझम विविध

लोक्ता र कार्डबोर्डमा कला

रातो, पहेँलो र नीलो रङसँग खेल्न बढी रुचाउने कलाकार गजेन्द्रका चित्रहरूमा सुनौलो र चाँदी रङको सिर्जनात्मक प्रयोग पाइन्छ भने कार्डबोर्ड, पुराना पत्रिका र भित्तेपात्रो आदिका टुक्राटुक्री टाँसेर कलालाई नयाँ रुप दिन्छन्, गौरव।

गौरवको मोमेन्ट्स अफ प्यासन शृङ्खलाका चित्रहरू।

माछाको विषयमा केन्द्रित रहेर बनाइएका गजेन्द्रमान श्रेष्ठका चित्रहरू ४ वैशाखदेखि एक महिनाका लागि ठमेलको सोन्जा आर्ट ग्यालरीमा प्रदर्शनीका लागि राखिएका छन्। प्राथमिक रङका रूपमा चिनिने रातो, पहेँलो र नीलो रङसँग खेल्न बढी रुचाउने कलाकार गजेन्द्रका चित्रहरूमा सुनौलो र चाँदी रङको सिर्जनात्मक प्रयोग पनि पाइन्छ। गजेन्द्र भन्छन्, “मैले चित्रहरूलाई नेपाली लोक्ता कागजमा बनाएको छु। सबै एक्रेलिक चित्र हुन् र एक्सप्रेसनिष्ट विधातिर बढी झुकेका छन्।”

समाजमा शान्ति र समृद्धिको आवश्यकतालाई प्रदर्शनीका चित्रहरूले विभिन्न प्रकारले झल्काएका छन्। वेभ्स अफ इको (ध्वनिको तरङ्ग) को दोस्रो शृङ्खलाको रूपमा आयोजना गरिएको यो प्रदर्शनीमा ३१ चित्रहरू राखिएका छन्। ७५ सयदेखि १८ हजारसम्म मोल तोकिएका प्रदर्शनीका चित्रहरूमध्ये करिब आधा बिक्री भइसकेको गजेन्द्र बताउँछन्। सोह्रौं पटक एकल चित्र प्रदर्शनी गरेका गजेन्द्रका अनुसार नेपाली र विदेशीले उनको काम उत्तिकै मन पराएका छन् र किनेका पनि छन्।

रमझमदेखि युद्धबाट शान्तितर्फको यात्रा जस्ता विविध विषयमा बनाइएका गौरव श्रेष्ठको चित्रहरूको पनि छुट्टै विशेषता छ। उनी साधारण क्यानभासमा नभएर कार्डबोर्डमा चित्र कोर्छन् भने पुराना पत्रिका, भित्तेपात्रो आदिका टुक्राटुक्री टाँसेर नयाँ रुप दिन्छन्।

गजेन्द्रको ध्वनिको तरङ्ग

चित्रकलामा रङको प्रमुख भूमिका हुने भए पनि उनको काममा रङभन्दा अरू सामग्री महत्त्वपूर्ण हुन्छन्। कोलाज पेन्टिङमा विगत आठ वर्षदेखि काम गरिरहेका गौरव भन्छन्, “नगरपालिकाले गर्ने काम मैले गरिरहेको छु। पुराना खेर जाने सामानबाट राम्रो सिर्जना हुन्छ भने किन प्रयोग नगर्ने?” गौरवका अनुसार कोलाज पेन्टिङमा झञ्झट धेरै हुन्छ, त्यसैले यसका लागि धेरै धैर्य चाहिन्छ।

२३ वैशाखदेखि १ जेठसम्म गौरवका मोमेन्ट्स अफ प्यासन शृङ्खलाका चित्रहरू दरबारमार्गको द आर्ट शपमा प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीबाट राम्रो प्रतिक्रिया पाइरहेका गौरव भन्छन्, “साधारण दर्शक पनि आर्टसम्बन्धी चासो राख्ने भइसक्यो त्यसैले पेन्टिङ बेच्न विदेशीमै भर पर्नुपर्ने अवस्था छैन।” गौरवका चित्रहरूको मूल्य ३५ सयदेखि १७ हजारसम्मका छन्।

गजेन्द्रमान र गौरव।

चित्रमा परेको मेहनत वा समय भन्दा पनि आफूलाई मन परेको चित्रको मोल बढी तोक्ने गरेको उनी बताउँछन्। प्रदर्शनीका चित्रहरू रिएलिसम, मोर्डन, अब्स्ट्रयाक्ट, सेमी अब्स्ट्रयाक्ट जस्ता विभिन्न विधाका छन्। पेशाले फन्ट डिजाइनर गौरव भन्छन्, “म कलाको कुनै वादमा बाँधिएर बस्दिनँ। मेरा चित्रले जुन फर्म पनि लिन सक्छन्।”

शैली बस्नेत