| •
रघु पन्त |
 |
टिप्पणी
दश वर्षको अन्तर
अप्रिल
१९१७ मा कार्यनीति सम्बन्धी एउटा लेखमा लेनिनले उद्धृत गरेको वाक्य
मदन भण्डारी पटक–पटक आफ्ना भाषणहरूमा उल्लेख गर्नुहुन्थ्यो। त्यो वाक्य
थियो– 'मेरा साथी, सिद्धान्त खैरो हुन्छ। तर, जीवनको शाश्वत वृक्ष
हरियो हुन्छ।' विश्वप्रसिद्ध साहित्यकार गेटेको प्रख्यात नाटक कृति
फाउस्ट का नायक मेफिस्टोफेलको सम्वाद थियो यो। गेटेको यो वाक्य मन
परेर लेनिनले आफ्ना लेखहरूमा उद्धृत गरेझैँ मदन भण्डारीले पनि यसलाई
पटक–पटक उल्लेख गर्नुभएको छ।
मदन भण्डारी रचनात्मक चिन्तन भएको सिर्जनशील नेता हुनुहुन्थ्यो।
जडताले उहाँलाई अल्झाउन सक्दैनथ्यो। उहाँ जडतालाई तोड्दै र सङ्कीर्णतालाई
भत्काउँदै हिँड्ने सामर्थ्य राख्नुहुन्थ्यो। ५ कात्तिक ०४७ मा टुँडिखेलको
खुलामञ्चबाट भाषण गर्दै उहाँले भन्नुभएको थियो, “सिद्धान्त सिद्धान्तको
निम्ति होइन, सिद्धान्त जीवनका निम्ति हो। ... त्यसोहुँदा जीवन जहिले
पनि अघि बढ्छ र सिद्धान्तले त्यसलाई पछ्याउनुपर्छ। भाषा जहिले पनि
अघि बढ्छ, व्याकरणले पछ्याउनुपर्छ।” मदन भण्डारीले यो कुरा केवल भाषणमा
मात्र भन्नुभएन, जीवनमा पनि लागू गरेर देखाउनुभयो। ०४९ माघमा पार्टीको
पाँचौँ महाधिवेशन भइरहेको बेलामा उहाँले अघिसार्नुभएको 'जनताको बहुदलीय
जनवाद' को विचारलाई पार्टीभित्र र बाहिर व्यापक रूपमा आलोचना गरियो।
तर, उहाँ पछि हट्नुभएन र अन्ततः उहाँको विचारलाई महाधिवेशनले पारित
गरेरै छाड्यो।
 |
संविधानको सर्वाेच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको
सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक
निर्वाचन र कानूनको शासन जस्ता विषयहरूलाई आफ्नो मान्यतामा समाहित
गरेर उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रप्रति प्रतिबद्ध
बनाउनुभयो। स्थापनाकालदेखि नै नेपाल कम्युनिष्ट पार्टीले लोकतन्त्रका
लागि गरेको सङ्घर्षलाई अझ प्रभावशाली ढङ्गले अघि बढाउन पार्टीलाई समेत
पूर्ण लोकतान्त्रिक अभ्यासमा लैजानुभयो।
जीवनलाई सूत्रहरूमा होइन, यथार्थमा बुझ्ने र जिउने क्षमता
राख्नुहुन्थ्यो– मदन भण्डारी। मतभिन्नतालाई नियन्त्रण र दमनले होइन,
प्रतिस्पर्धाले पराजित गर्न चाहनुहुन्थ्यो उहाँ। आफ्नो परिकल्पनालाई
प्रभावकारी भाषा र शैलीमा अभिव्यक्ति दिनसक्ने राम्रो खुबी थियो उहाँमा।
आफ्नो सपना र कल्पनालाई अरूको मन–मस्तिष्कमा समेत प्रभावकारी ढङ्गले
स्थापित गर्नसक्ने क्षमता थियो उहाँमा। त्यसैले जुनबेलासम्म उहाँ जीवित
रहनुभयो, लोकप्रिय रहनुभयो। लामो भूमिगत जीवनबाट बाहिर आएर सार्वजनिक
भएपछि उहाँ नेपाली राजनीतिक क्षेत्रको सर्वाधिक चर्चित र प्रभावशाली
नेताका रूपमा देखापर्नुभयो। उहाँ समकालीन राजनीतिमा छाउनुभयो र नेपालको
कम्युनिस्ट आन्दोलन वैचारिक रूपले उहाँको मान्यताका वरिपरि घुम्न थाल्यो।
मदनले शान्तिपूर्ण सङ्घर्ष र राजनीतिको माध्यमबाट संसदभित्र दोस्रो
ठूलो दलको रूपमा आफ्नो पार्टीलाई उभ्याउन सफलता पाउनुभयो। जनताको बहुदलीय
जनवादमाथि कतिपय कम्युनिष्ट समूहले आक्रमण गरे पनि तीसँग प्रभावकारी
रूपमा जुध्दै उहाँले जनताको बहुदलीय जनवादलाई नेपाली कम्युनिस्ट आन्दोलनको
एउटा प्रमुख वैचारिक धारका रूपमा स्थापित गराएरै छाड्नुभयो।
मदन भण्डारीको यही सन्तुलित वैचारिक धारका कारण नेकपा
(एमाले) राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा लोकतान्त्रिक शक्तिका रूपमा
देखापर्न सफल भयो। जनताको बहुदलीय जनवादको बढ्दो लोकप्रियतासँगै यसमाथिको
उग्रवामपन्थी आक्रमण तीब्र भयो। त्यो धारले सङ्गठनात्मक रूपमा आफूलाई
एकत्रित र सूत्रीकरण गर्ने क्रममा नै नेकपा (माओवादी) को जन्म भयो।
कम्युनिस्ट आन्दोलन विश्वका कतिपय देशमा विघटनको क्रमबाट गुजि्ररहेको
बेलामा नेपालमा मदन भण्डारीको अगुवाईमा कम्युनिष्ट आन्दोलन लोकप्रिय
र विस्तारित भैरहेको थियो। जुनबेला संसदभित्र नेपाल कम्युनिष्ट पार्टी
(एमाले) सबैभन्दा ठूलो दलको रुपमा थियो, नेकपा (माओवादी) जनयुद्धको
घोषणा गरेर जङ्गल पस्यो।
माओवादी जनयुद्धको घोषणा जनताको बहुदलीय जनवादको बढ्दो
प्रभाव र लोकप्रियता विरुद्ध उग्रवामपन्थी हठवादको अभिव्यक्ति थियो।
शास्त्रीयढङ्गले मात्र मार्क्स, लेनिन र माओलाई बुझ्ने, तिनका वैचारिक
सारतिर नभएर शब्दका पछि दगुर्ने र आफ्नो युगका विशिष्टताहरूलाई बुझ्न
नचाहेर बन्दूकलाई नै सबैथोक ठान्ने दुस्साहसवादी युवा जोशकै प्रतिक्रिया
थियो– माओवादी पार्टीको जन्म र जनयुद्धको घोषणा। जनयुद्धका नाममा हिंसा
र हत्याको जुन लहर चल्यो त्यसले मुलुकलाई सबै क्षेत्रमा कमजोर पार्यो
र जन–धनको व्यापक क्षति गरायो। १० वर्षको हिंसा र द्वन्द्वको अराजक
शृङ्खलापछि बल्ल बन्दूक निर्णायक नहुने र युद्धमा पूरै नहारे पनि जित्न
भने नसकिने निष्कर्षमा माओवादी नेताहरू पुगे।
मुलुकको विशिष्ट वस्तुस्थितिलाई बिर्सेर बन्दूक उठाएका
माओवादीहरू १० वर्षको जनयुद्धपछि अन्ततः त्यहीँ आइपुगे, जहाँ मदन भण्डारी
र नेकपा (एमाले) एक दशकअघि नै पुगिसकेका थिए। मदन भण्डारीले ०४९ सालमा
बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीका मान्यतालाई अङ्गीकार
गर्नुभएको थियोभने ०६० जेठमा पारित 'एक्काइसौैँ शताब्दीको जनवाद' नामक
दस्तावेजमा माओवादी 'राज्यसत्ताको संवैधानिक सीमाभित्र राजनीतिक प्रतिस्पर्धा
सङ्गठित गरी कम्युनिस्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण
अनिवार्य हुने परिस्थिति निर्माण गरिनुपर्दछ' भन्ने निर्णयमा पुग्यो।
यो दस्तावेजले अर्काे क्रान्तिकारी पार्टी वा नेतृत्वलाई राज्यसत्तामा
पुर्याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत गरेर जनताको सेवामा
जनवादी राजनीतिक प्रतिस्पर्धा गर्न द्वन्द्वात्मक सम्बन्धमा जोड दिइनुपर्दछ
भनेर बहुदलीयतालाई स्वीकार गरेको देखिन्छ।
१–१५ फागुन ०६२ मा हिमाल खबरपत्रिका ले नेपालीमा छापेको
भारतीय दैनिक द हिन्दू मा प्रकाशित प्रचण्डको चर्चित अन्तर्वार्तामा
उहाँले 'तीन वर्षअघि राजनीतिक प्रतिस्पर्धामा जानुपर्ने पनि हामीले
ठेगान गर्यौँ किनभने प्रतिस्पर्धा नहुँदा अव्यावहारिक र यान्त्रिक
हुने हामीले देख्यौँ' भन्नुभएको छ। प्रचण्डका भनाइहरू जनताको बहुदलीय
जनवादले बोकेको राजनीतिक स्वरुप र सारसँग मिल्छन्। यसरी जनताको बहुदलीय
जनवादलाई दक्षिणपन्थी भन्ने आरोप लगाउँदै शुरु भएको जनयुद्ध अन्ततः
त्यसैले अङ्गीकार गरेको राजनीतिक निष्कर्षमा आइपुगेको छ।
माओवादीमा देखापरेको यो वैचारिक परिवर्तनले पनि मदन
भण्डारीमा रहेको वैचारिक दूरदर्शिता देखाउँछ। एकदलीयता, निरङ्कुशता
र अधिनायकत्वको युग समाप्त भएको तथ्यलाई जति छिटो मदन भण्डारीले बुझ्नुभयो,
त्यो बुझ्न प्रचण्डलाई १० वर्ष लाग्यो। धेरै रगत र आँशु बगेपछि जुन
निष्कर्षमा आज प्रचण्ड आइपुग्नुभयो, त्यो निष्कर्षमा १० वर्षअघि नै
मदन पुग्नुभएको थियो।
|