पुस्तक परिचय
संसदीय दस्तावेज
 |
पुस्तकः संसदमा माधव नेपाल (२०६३)
सम्पादकः विष्णु रिजाल
पृष्ठः २१८+, मूल्यः रु. १५०
राजनीतिक दलका नेताले विभिन्न कालखण्डमा, त्यो पनि मुलुकको विधायिकामा
बोलेका कुराहरू सार्वजनिक भइसकेकै हुन्छन्। त्यसअर्थमा तिनलाई सङ्ग्रह
गरेर प्रकाशित गरेको पुस्तकमा खासै आकर्षण नहुनुपर्ने हो। तर, विगतलाई
तत्कालै बिर्सने आम नेपाली स्वभाव र करिब १२ वर्षका भिन्न–भिन्न परिस्थितिमा
मुलुकका एक नेताको विचार एउटै सङ्ग्रहमा पाउँदा लाग्छ– यो पनि नगरी
नहुने काम रहेछ। नयाँ र ब्रेकिङ्ग समाचार खोज्नपट्टि मात्रै हौसिने
पत्रकारको व्यावसायिक स्वभावका विपरित पुरानो कुरालाई लिपिबद्ध गर्ने
यस्तो झन्झटिलो काम गरेका छन् पत्रकार विष्णु रिजालले। उनको प्रयासमा
२१ मङ्सिर २०५१ मा तत्कालीन विपक्षी दलको नेतादेखि ४ जेठ २०६३ मा पुनःस्थापित
संसदमा नेकपा एमालेको नेताका हैसियतमा माधव नेपालले बोलेका कुराको
सङ्ग्रह संसदमा माधव नेपाल अहिले बजारमा छ।
पुस्तकमा माधव नेपालले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, विपक्षी
दलको नेता र एमाले संसदीय दलको नेताका हैसियतमा बोलेका कुराहरू छन्।
पछिल्लो एक दशकमा सरकार बनाउन र ढाल्न भएका खेलसँगै काङ्ग्रेस–एमाले
अन्तर्द्वन्द्व कुन हदसम्म थियो भन्ने फेरि एकपटक सम्झन पुस्तक सहयोगी
छ। बेलाबखत विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आउने माधव नेपालले
परराष्ट्र मन्त्रीका हैसियतले 'मानवअधिकार नेपालको विदेश नीतिको आधार
हुनसक्दैन', एमालेको महासचिवका हैसियतले राजा ज्ञानेन्द्रलाई 'सर्पको
छाला तस्करी गर्नेहरू' सम्म भनेको पढ्न पाइन्छ। समग्रमा यो एउटा कालखण्डको
राजनीतिक चित्र हो, सँगै संसदीय दस्तावेज पनि।
सिद्धान्त
र प्रयोगको चास्नी
किताबः पत्रकारिताका आयाम
लेखकः श्रीरामसिंह बस्नेत
पृष्ठः ३१०+, मूल्यः रु.१९०
प्रविधिको विकास र विश्वव्यापीकरणले पत्रकारितालाई झनै बहुआयामिक बनाइदिएका
छन्। परिणामस्वरुप हरेक वर्ष पत्रकारिताका नयाँ–नयाँ आयाम उदाउँदैछन्।
सक्रिय पत्रकारितासँगै यसैको अध्यापन गरिरहेका श्रीरामसिंह बस्नेतले
देखेका, भोगेका त्यस्तै आयामहरूको सँगालो हो, पत्रकारिताका आयाम। लेखकले
भनेका छन्, “मेरो अध्ययन, अन्तरक्रिया र अनुभवको मिश्रण हो यो किताब।”
पुस्तकले मूलतः पत्रकारिता अध्ययनका निम्ति उपयोगी सन्दर्भ
ग्रन्थको हैसियत बोकेको छ। यसमा पत्रकारिताका विश्वव्यापी अभ्यास र
प्रवृत्ति अनि नेपालमा तिनको आगमन र प्रयोगसम्बन्धी थुप्रै जानकारी
भेट्न सकिन्छ। खालिखुट्टा पत्रकारितादेखि ब्लगिङसम्म, नागरिक पत्रकारितादेखि
प्यारासुट पत्रकारितासम्म, पैरवी पत्रकारितादेखि ग्ल्यामर पत्रकारिता–
सम्मका अनेकौँ पाटाहरूबारे धेरथोर जानकारी गराउने अभीष्ट पुस्तकको
थप विशेषता हो, जहाँ लेखकले संभवतः अरू कुनै नेपाली सञ्चारकर्मीले
नऔंल्याएको यौन समाचार सङ्कलनका उपायहरूसमेत सुझाएका छन्। प्रभावशाली
पत्रकारिताका निम्ति लेखकका व्यावहारिक सुझाव क्रियाशील पत्रकारका
निम्ति मात्र हैन, आमसञ्चार तथा पत्रकारिताका अध्येता, अध्यापक सबैका
निम्ति उपयोगी लाग्छन्। छुट्टै पुस्तक बन्न सक्ने 'एक शताब्दीको साक्षी
गोरखापत्र', 'समाचार समिति पत्रकारिता' जस्ता विषय एउटै पुस्तकमा अटाउने
रहरका कारण पुस्तकका केही अध्यायले पाउनुपर्ने फैलावट पाएका छैनन्।
तथापि, पत्रकारिताप्रति जिज्ञासु धेरैका निम्ति 'गाइडलाइन' बनेको छ
यो किताब। यसलाई सिद्धान्त र प्रयोगको चास्नीसमेत भन्न सकिन्छ।
निर्भीक टिप्पणी
किताबः विचारयात्रा (२०६३)
लेखकः धनप्रसाद पण्डित
पृष्ठः २०४, मूल्यः रु.३००
राज्यव्यवस्थामा विभिन्न रूपमा भित्रिएका विसङ्गतिहरूको चिरफारसँगै
निजी अनुभूतिहरूको सँगालो हो, विचारयात्रा। राजनीतिशास्त्रका अध्यापक
धनप्रसाद पण्डितले विचारयात्रा मार्फत् आफ्ना खरा विचारलाई पाठकसामु
राख्दै विषय र प्रस्तुतिका विविध स्वाद चखाउन खोजेका छन्।
लेखहरूले मूलतः चार विधालाई छोएका छन्। पहिलो खण्डमा
बहुदलीय व्यवस्थाको पुनःस्थापना र त्यसपछि विभिन्न कोणबाट भित्रिएका
विसङ्गतिका कारण क्षीण हुँदै गएको राजनीतिक संस्कारबारे मन्थन गरिएको
छ भने दोस्रो भागमा नेपालको लथालिङ्गे शिक्षा नीतिलाई प्राथमिकतासाथ
उठाइएको छ, यसक्षेत्रमा देखिएका सकारात्मक/नकारात्मक दुवै खाले गतिविधिलाई
प्रस्ट पार्ने निर्भीक जमर्कोका साथ। पुस्तकमा नेपालको वैदेशिक मामिलाबारेका
केही लेख पनि समाविष्ट छन्। यसक्रममा उनले सबैभन्दा बढी नेपाल–भारत
सम्बन्धका कुरा लेखेका छन्। देश–देशान्तरका यात्रा विवरणले पाठकलाई
सहजताका साथ डोर्याइरहन्छन्। प्रजातन्त्रप्राप्तिका लागि भएका विभिन्न
आन्दोलनका क्रममा पटक पटक जेल बस्दाका रोचक अनुभवलाई किताबका थप आकर्षण
मान्न सकिन्छ। देशको शैक्षिक अवस्था, विदेश मामिला, देश–विदेश यात्राका
प्रसङ्गहरूका कारण पनि किताब पाठकका निम्ति खुराक हुनसक्छ।
चामलिङ चिनारी
पुस्तकः युगपुरुष डा. पवन चामलिङ (२००५)
लेखकः डम्बरकुमार गिरी
पृष्ठः २३८+, मूल्यः रु.५००
कुनै कालखण्डमा सत्ता सम्हाल्नेहरूले आफूलाई के ठान्छन् र त्यो नेतृत्वप्रति
जनताको सोचाइ के छ भन्ने कुरा बेलैमा सङ्ग्रह नगरे इतिहासमा त्यो लिपिबद्ध
हुँदैन। सिक्किमका मुख्यमन्त्री पवन चामलिङका भनाइ, उनको सरकारका नीति
र कार्यक्रम अनि सिक्किमे जनतामा त्यसको प्रभावबारे पत्रकार डम्बरकुमार
गिरीले एउटा पुस्तक नै तयार गरेका छन्– युगपुरुष डा. पवन चामलिङ।
सत्तामा बसेकाहरू आफू जनताको सेवामा बढी नै लागेको
ठान्छन्, यो ठम्याइ पुस्तकमा पनि देखिन्छ। तर भारतमा नेपाली भाषाको
विकासका लागि चामलिङले राम्रै काम गरेको भन्न हिच्किचाउनुपर्दैन। एक
व्यक्तिका बारेमा लेखिएका कारण झट्ट हेर्दा पुस्तकले व्यक्ति–पूजा
गरेको भान पर्न सक्छ। तर एउटा कालखण्डमा भारतमा नेपाली साहित्यको विकासमा
सक्रिय व्यक्तिको भूमिका थाहा पाउन कसै न कसैले यस्तो काम गर्नै पर्थ्यो।
देश चिनाउने
आँखीझ्याल
किताबः द्वन्द्व र युद्धका कथा (२०६३)
सम्पादकः गोविन्दराज भट्टराई, विष्णुविभु घिमिरे
पृष्ठः २२१+, मूल्यः रु.१७५
माओवादी विद्रोह, त्यसले निम्त्याएको द्वन्द्व अनि द्वन्द्वबाट सिर्जित
पीडाव्यथालाई केलाउँदै नेपाली लेखकहरूले थुप्रै कथा लेखेका छन्। तीमध्ये
छानिएका २५ कथा समेटिएको द्वन्द्व र युद्धको कथामा अपहरण, बेपत्ता,
पलायन, भय, पीडा, आतङ्क, मृत्युका त्रासद घटनाक्रमसँगै हिंसा र अपराधका
पराकाष्ठा, तिनको भौतिक तथा मानसिक आघातका थुप्रै अध्यायहरू छन्। नेपाली
साहित्यमा द्वन्द्वको प्रभाव देखाउने एउटा आँखीझ्याल पनि हो यो कृति।
सङ्ग्रहले रमेश विकलदेखि फूलमान बलसम्मका तीन पुस्ताका
स्रष्टाहरूको कथात्मक विश्लेषण बोकेको छ। विश्वसाहित्यको पृष्ठभूमिमा
नेपाली युद्धसाहित्यको चियोचर्चो गर्ने सम्पादकीय प्रयास समेत प्रशंसनीय
छ। 'द्वन्द्व' को विषयवस्तुमा केन्द्रित साहित्यिक सँगालोहरूको अभाव
रहेको बेला आएको यो कृति प्रकारान्तरले अतीतबाट शिक्षा लिँदै मानवसभ्यता
र भावी पिँढीलाई सबै खाले बर्बरताबाट जोगाउने प्रयत्नकै एउटा अध्याय
पनि हो।
आञ्चलिकताको
स्वाद
किताबः घुर (२०६४)
उपन्यासकारः धीरकुमार श्रेष्ठ
पृष्ठः ९८, मूल्यः रु. ७५
२०६३ सालको उत्तरार्द्धमा मधेशमा चर्केको आन्दोलनबारे सकारात्मक र
नकारात्मक दुवैथरी कुरा बाहिर आए तर मधेशी जनताको जागरण र मागलाई भने
समग्रमा सबैले जायज भने। यति हुँदाहुँदै पनि मधेशीहरूको भावनालाई आत्मसात्
गरेर नेपालका साहित्यिक सर्जकहरूले खासै चासो देखाएको पाइएन तर आफू
जन्मेर हुर्केको माटो नै आफ्नो पहिचान र सम्मान खोज्दै उद्वेलित भएको
र त्यसको साक्षी आफू बन्नुपरेको घटनाले साहित्यकार धीरकुमार श्रेष्ठलाई
भने नराम्रोसँग घच्घच्याएछ। आफ्नो जन्मभूमिमा २२ दिनसम्म मानसिक रूपले
कैद हुनुपरेको अवस्थालाई उनले सिर्जनात्मक निकास दिए र जन्म्यो आञ्चलिक
उपन्यास घुर।
घुरको बहुआयामिक उपयोगिता हुन्छ– आगो ताप्ने, लामखुट्टे
धपाउने, फोहोर डढाउने आदि। मधेशी आन्दोलनका क्रममा सिङ्गो तराई घुर
बनेको थियो। यसले कति फोहोर डढायो र कतिलाई जाडोबाट मुक्ति दिलायो
भन्ने कुराको मूल्याङ्कन अझै भइसकेको छैन, तर विभिन्न थरी तत्त्वहरूले
घुरमा अनेकौँ सद्दे पदार्थसमेत हालेर हात सेक्ने काम भने मजासँग गरे।
मूलतः यिनै प्रवृत्तिहरूको सजीव चित्रण तथा विश्लेषण गरिएको औपन्यासिक
कृति हो घुर। आत्मकथ्यात्मक शैलीमा लेखिएको घुरमा औपन्यासिक विशिष्टताभन्दा
दैनिकी लेखनको स्वरूप बढी मुखर भएको छ। लेखकले पात्रहरूको संयोजनका
दृष्टिले सबै जाति, वर्ग, लिङ्गलाई समान रूपले स्थान दिँदै समावेशीकरणको
राम्रो उदाहरण प्रस्तुत गरेका छन्। तराईलाई थप चिनाउने तथा त्यहाँका
विशिष्टता र अशिष्टतासँग पाठकलाई साक्षात्कार गराउने दिशामा यो उपन्यास
सफल रहेको छ। ठाउँ–ठाउँमा मिथिलाको आञ्चलिकतालाई आकर्षक रूपमा सजाउन
सकिएकोले उपन्यास अझ पठनीय बन्न पुगेको छ।
धीरेन्द्र प्रेमर्षि
दण्डहीनतालाई
खबरदारी
 |
किताबः अँध्यारा २५८ दिनहरू (२०६३)
लेखकः जितमान बस्नेत
पृष्ठः १९७+, मूल्यः रु.१००
एक कलमजीवीले युवावस्थामा भोगेका सबैभन्दा पीडादायी र दुर्दान्त दिनहरूको
आत्मकथा हो, यो पुस्तक। काठमाडौँ, महाराजगञ्जस्थित भैरवनाथ गणमा ९७
नम्बरको बन्दीका रूपमा राखिएका पत्रकार तथा कानून व्यवसायी जितमान
बस्नेतका भोगाइहरूको यो फेहरिस्तमा छानबिनका नाममा गोप्य सैनिक हिरासतमा
राखिएका थुप्रै बन्दीहरूको पीडा र चीत्कारसमेत भेट्न सकिन्छ। मानवअधिकार
उल्लङ्घनको पराकाष्ठालाई प्रत्यक्ष देखेका, भोगेका लेखक बस्नेतले पुस्तकका
हरेक पानामा ज्यादतीमा संलग्न सैनिक अधिकारीहरूका क्रियाकलापको पत्रपत्र
केलाएका छन् र देखाएका छन्– सुन्दा समेत आङ जिरिङ्ग हुने यन्त्रणाको
प्रभाव र परिणति। यो क्रममा जितमानले तत्कालीन ज्यादतीका थुप्रै घटना,
पात्र र प्रवृत्तिलाई उदाङ्ग पारिदिएका छन्। कतिपय प्रसङ्ग बढी भावनात्मक
र अस्पष्ट छन्। तथापि, पुस्तकमा यस्ता थुप्रै सूचनाहरू छन्, जसलाई
ज्यादतीमा संलग्न अधिकारीहरूको पहिचान गर्ने महत्त्वपूर्ण सबुत मान्न
सकिन्छ। दण्डहीनताको अन्त्यका निम्ति सम्बद्ध पक्षहरूलाई घच्घच्याउन
पनि यस्ता सूचनाहरूको उल्लेख्य भूमिका रहनेछ।
द्वन्द्वको
चित्रण
किताबः अनायिका (२०६३)
उपन्यासकारः राजेन्द्र पराजुली
पृष्ठः १३५ मूल्यः रु.१०५
द्वन्द्वको एक दशक र देशको राजनीतिको सेरोफेरोमा लेखिएको कवि तथा कथाकार
राजेन्द्र पराजुलीको पहिलो उपन्यास निस्केको छ– अनायिका। बाँच्न पाउने
अधिकारलाई सबैभन्दा ठूलो र सर्वोपरि मानवअधिकारको रूपमा वकालत गरिएको
उपन्यासमा राष्ट्रदेखि व्यक्तिसम्मले भोगेका द्वन्द्व, युद्ध र अस्थिरताको
विषम परिस्थिति, विध्वंस, पीडा, वेदना, यातना, आदिको मनोविश्लेषणात्मक
चित्रण गरिएको छ।
आफैँलाई मूलपात्र (राज) बनाएर लेखिएको कृतिमा लेखक
सामग्री जुटाउन र लेख्न द्वन्द्वग्रस्त क्षेत्रमा जान्छन्, गाडीबाट
उत्रिन नपाउँदै एउटी युवती (माला) लाई देख्छन्। बाध्यताले विद्रोही
बनेर बन्दूक बोके पनि कसैलाई नमारेकी, बरु लुकिछिपी द्वन्द्वको तस्बिर
खिचेर युद्धका त्रासद् क्षणबारे अरूलाई सचेत गराउने सोच राखेकी तिनै
पूर्वविद्रोही युवती उपन्यासकी नायिका बन्छिन्। पछिल्लो समय अपहरणमा
परेर अज्ञात अवस्थामा रहेकीले उनैलाई 'अनायिका' भनेर उपन्यासको शीर्षक
राखिएको छ।
राजधानीमा मालाको तस्बिर प्रदर्शनी र राजको उपन्यासको
पाण्डुलिपि प्रकाशकलाई हस्तान्तरण गरेर कथावस्तु सकिन्छ। त्यसपछि जोडिएको
मालाको आत्महत्याको समाचार छापिएको प्रसङ्गले उपन्यासलाई बढी वियोगान्त
बनाएको छ।
|