हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

पाका विद्यार्थीको ताजा अठोट

किरण पाण्डे

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको नयाँ भवन, कोठा नम्बर १११। ६–७ जना युवा साथीहरूसँग स्नातकोत्तर तह प्रथम वर्षमा राजनीतिशास्त्र पढ्दैछन् ब्रिटिश सेनाका पूर्र्व लेफ्टनेन्ट ५५ वर्षीय नरेन्द्र काम्वाङ। स्वार्थमा डुबेका नेता र पढ्न मन नगर्ने विद्यार्थीका अघि धन कमाउनुभन्दा ज्ञान आर्जन गर्नु राम्रो हो भन्ने उदाहरण पेश गर्न राजनीतिशास्त्र रोजेको बताउँदै पाँचथर–नाघीका काम्वाङले भने, “म पार्टी राजनीति भने गर्दिनँ, खालि राजनीतिशास्त्र पढ्छु।”

२०२७ सालमा एसएलसी, २०३० मा आइए र २०६० मा राजनीतिशास्त्र र नेपालीमा स्नातक गरेका काम्वाङलाई २७ वैशाखमा 'मोडर्न पलिटिकल एनालाइसिस' पढाउँदै थिए, प्रा.डा. अनन्तराज पौडेल। उनका शब्दमा, “राजनीति–शास्त्रको अध्ययन कक्ष भन्नु नै समाज हो। र, समाजका विविध विषयवस्तुलाई वैधानिक तरिकाले केलाउन लागिपरेका असल विद्यार्थी हुन् नरेन्द्र।” हुन पनि काम्वाङ परिवारका अधिकांश सदस्य अहिले विद्या आर्जनमा व्यस्त छन्। श्रीमतीसहित ३ छोरी र छोरा–बुहारीका अभिभावक नरेन्द्रका जेठी छोरी समाजशास्त्रमा स्नातकोत्तर, कान्छी 'प्लस टू', छोरा एमबीए गर्दैछन् भने बुहारी वातावरण विज्ञानमा एमएस्सीको परीक्षा दिएर बसेकी छन्। अलि हस्यौलो पारामा उनी भन्छन्, “श्रीमती घरधन्दा गर्छिन्, म चाहिँ विद्यार्थी भइहालेँ।” २४ वर्ष ब्रिटिश सेनामा बिताएका यिनले बेलायत जाने अवसर पाउँदा पनि नगएर परिवारसहित यतै बस्ने निधो गरेका छन्। राजनीतिशास्त्रका यी पाका विद्यार्थी नेपालका नेताहरू सिङ्गापुरका ली क्वान युजस्तै देश र समाजप्रति समर्पित होउन् भन्ने चाहन्छन्।

शब्द/तस्वीरः कुमार सु्ब्बा


मगन्तेहरूकी आमा

दिउँसो घरघर चहारेर भीख माग्ने र राति प्लाष्टिकका स–साना छाप्राका आडमा सडक छेउछाउमै खाने, सुत्ने जनकपुरधामका मगन्तेहरूको दिनचर्यामा अहिले ठूलै परिवर्तन देखिएको छ। सडक विभाग र नगरपालिकाका कर्मचारीको लखेटाइसँग सधैँ सन्त्रस्त उनीहरूले अहिले खानबस्नका लागि एउटा पक्की घर नै पाएका छन्। खानेपानीका लागि समेत भौँतारिनुपर्दैन। ६० वर्षीया महिला जमिरियादेवी ले यो सुविधा जुटाइदिएपछि जनकपुरधामका अशक्त मगन्तेहरूले अभिभावक भेटेको अनुभूति गरेका छन्।

जनकपुरधाम–रामजानकी विवाहमण्डप पछाडिकी बासिन्दा जमिरियालाई यस्तो काममा केले प्रेरित गर्‍यो त? उनकै शब्दमा, चार वर्षअघि अन्तःगृह परिक्रमाको मुखैमा नगरपालिकाले यस्तै मगन्तेहरूका छाप्रा अनाचक भत्काइदियो। फगुवाको रमझम आफ्नै समूहमा मनाउने उनीहरूको योजनासमेत भताभुङ्ग भयो। कहाँ बस्ने, कहाँ खाने भन्दै रुँदै, कराउँदै बजार पसिरहेका लुलालङ्गडाहरूको विचल्ली देखेर जमिरियाले उनीहरूका निम्ति घर बनाइदिने अठोट गरिन्। सहयोगका लागि अनुरोध गरिन् अनि, जनकपुर नगरपालिका–७ मा पाँच कठ्ठा जमिन किनिन् र रु.१८ लाख खर्चिएर २४ कोठाको भवन नै बनाइदिइन्। अब त्यहाँ बिजुलीको उज्यालो पुर्‍याउने अभियानमा जुटेकी छन् जमिरिया।

बास मिलेपछि यसअघि असहाय, अशक्त जीवन बिताइरहेका मगन्तेहरूमा आ–आफ्ना सन्ततिको भविष्य सुरक्षित पार्नका लागि नागरिकता प्रमाणपत्र लिने रहर पलाएको छ। यो देखेर दङ्ग छिन् जमिरिया। पति, सन्तान कोही नभएकी सामाजिक कार्यकर्ता जमिरियादेवीलाई अहिले धेरैले उद्धारक मात्र हैन, मगन्तेकी आमा भन्न थालेका छन्।