हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

राजनीतिक निर्णय चाहियो

किरण पाण्डे

भारतीय आयल निगमले बक्यौता रकम नतिरेको भन्दै नेपाल पठाउने पेट्रोलियम पदार्थको परिमाणमा ४० प्रतिशत कटौती गरेपछि उपभोक्ताहरूले फेरिे तेलको अभाव झेल्नु परेको छ। २८ वैशाखमा प्रम गिरिजाप्रसाद कोइरालाले आयात नियमित गरेर लोकतान्त्रिक सरकारलाई सहयोग गर्न भारतलाई अनुरोध गरेका छन्। तर बारम्बार आउने तेल सङ्कटको दीर्घकालीन समाधानका लागि आठै दलको पहल हुनु आवश्यक देखिएको छ।

यसअघि नेपाल आयल निगमले २७ वैशाखमा सरकारसँग तेल आपूर्ति सुचारु गर्न मासिक रु.२४ करोड निकासाको माग गरेकोमा अर्थ मन्त्रालयले त्यसरी रकम निकासा गर्न नसकिने जनाएको थियो। निगमले २८ वैशाखमा भारतीय आयल निगमलाई नियमित आयातबापत रु.१ अर्ब तिरेपनि अझै आपूर्ति नियमित हुने स्थिति छैन।

केही वर्षदेखि नेपाल आयल निगम आर्थिक रूपमा धरासायी बन्न पुगेको छ। अहिले निगमले भारतीय आयल निगमलाई रु.५ अर्ब ९२ करोड तिर्न बाँकी छ। निगमका प्रवक्ता इच्छाविक्रम थापा वर्षौँदेखि तेलको मूल्यनिर्धारणमा हुँदै आएको राजनीतिक हस्तक्षेपले यस्तो स्थिति सृजना भएको बताउँछन्। भन्छन्, “अन्तर्राष्ट्रिय मूल्य महिनामा दुई पटक घटबढ हुन्छ, तर हामी एउटै दाममा, त्यो पनि बढी मूल्यमा किनेर कममा, बेच्न बाध्य छौँ। सरकारले मूल्य बढाउन पनि दिँदैन, भारतलाई तिर्ने पैसा पनि दिँदैन।”

खरिद–बिक्री मूल्यबीच तालमेल नभएकाले आफूलाई अहिले मासिक रु.२५ करोड घाटा हुने गरेको र गत भदौ–असोजमा त यो घाटा अझ रु.८३ करोड रहेको निगमले जनाएको छ। त्यतिबेला निगमले गरेको मूल्यवृद्धिको निर्णयको चर्को विरोध भएका कारण सरकारले सो निर्णय तत्काल फिर्ता लिएको थियो। थापा भन्छन्, “भारतमा हस्तक्षेप छैन र अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य घटबढ भइरहन्छ। गएको अगस्तमा भन्दा अहिले त्यहाँ मूल्य कम छ।”

नेपाल आयल निगमले इण्डियन आयल निगमलाई तिर्नुपर्ने रकमको साढे ९ प्रतिशत व्याज मात्र मासिक रु.४ करोड हुने गरेको छ। भारतीय आयल निगमले बक्यौता रकम मासिक रु.२४ करोडको किस्तामा तिरेमा चाहिने जति आपूर्ति गर्ने जनाए पनि निगमसँग तिर्ने पैसा छैन। निगमलाई हाल मासिक रु.३ अर्बको पेट्रोलियम पदार्थ भारतबाट ल्याउनु पर्दछ। तर, बढी मूल्यमा किनेको तेल कम मूल्यमा बिक्री गरिने हुनाले उसलाई हाल आयात भइरहेको रकम तिर्नै धौ–धौ छ। निगमका अनुसार अहिले उसले प्रति लिटर पेट्रोलमा रु.६.५५, डिजलमा रु.३.३५, मट्टितेलमा रु.२.३५ र एलपी ग्यासमा प्रति सिलिण्डर रु.२६५ घाटा व्यहोर्नु परिरहेको छ। हवाई इन्धनबाट चाहिँ प्रतिलिटर रु.१६.८५ नाफा छ।
नेपालमा वार्षिक करिब ८० करोड लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको छ, जसमा १२ करोड लिटर पेट्रोल, ३५ करोड लिटर डिजल, २२ करोड लिटर मट्टितेल र ८ करोड ५० लाख लिटर हवाई इन्धन तथा केही परिमाणमा फर्नेस आयल र लाइफ डिजल आयल (एलडीओ) छन्। देशभर वार्षिक १ लाख १० हजार मेटि्रक टन एलपी ग्यासको खपत छ। उपत्यकामा मात्र दैनिक सरदर १ लाख ८० हजार लिटर पेट्रोल, १ लाख ८० हजार लिटर डिजल र २ लाख ५० हजार लिटर मट्टितेल खपत हुन्छ।

नेपाल पेट्रोलियम डिलर एशोशिएसनका महासचिव शरदकुमार भण्डारीका अनुसार आयल निगमले २५ वैशाखदेखि निजी पम्पहरूलाई तेल नदिएकोले उपत्यकाका ११४ निजी पेट्रोल पम्प बन्द हुन पुगेका छन्। निगमलेे सेना, प्रहरी र साझाका पम्पबाट मात्र तेल वितरण गरिरहेको छ। भण्डारी भन्छन्, “आठदलको बैठकले राजनीतिक निर्णय नलिई केही नहुने भएकाले तुरुन्तै समस्या समाधान होलाजस्तो लाग्दैन।”

डम्बरकृष्ण श्रेष्ठ


जुम्लाका प्रजिअलाई गाडी

सडक यातायातले भरखरै मात्र छोएको कर्णाली अञ्चलको सदरमुकाम जुम्लामा पहिलो पटक सरकारी मोटर पुगेको छ। गृह मन्त्रालयले निर्वाचन प्रयोजनका लागि भनेर जुम्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको लागि दिएको 'महिन्द्रा बलेरो' जीप कर्णालीकै पहिलो सरकारी गाडी भएको छ। २३२ किमी लामो सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) को ठूलो अंश निर्माण गर्ने ठेक्का लिएको सेनाले गत ३० चैतमा बाटो खोल्ने काम सिद्ध्याएपछि निजी गाडीहरू जुम्ला जान थालेपनि सरकारी गाडी पुगेका थिएनन्। जुम्लाका सहायक प्रजिअ उमाकान्त अधिकारी भन्छन्, “अब जुम्लामै सरकारी मोटर चढ्न पाइने भो।” केही समयअघिसम्म जुम्लाका प्रजिअलाई आफ्नै गाडीमा जिल्ला घुम्नु सपनाजस्तै थियो। २५ वैशाख २०६४ मा नेपालगञ्जबाट हिँडेको बा १ झ ७३१५ नम्बरको जुम्ला जिल्ला प्रशासनको गाडी २६ वैशाखसाँझ सदरमुकाम पुगेको हो। गृहमन्त्रीको गाडी चलाउने चालक मोहम्मद सहिदले काठमाडौँदेखि चलाएर सो मोटर जुम्ला पुर्‍याएका हुन्।

छिट्टै सेना, प्रहरी र अदालतका गाडी पनि जुम्ला पुग्ने भएका छन्। सरकारी र केही व्यापारीका गाडी पुगेपनि कर्णालीवासी चढ्ने गाडी अझै जुम्ला पुगेका छैनन्। सडकको सबै ठाउँमा एकचरण निर्माण सकिएपनि नियमित यातायात चल्ने फराकिलो बाटो बनिसकेको छैन। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले दशैँअगाडि जुम्लासम्म बस सञ्चालन हुने बताएका छन्। नेपालगन्ज र सुर्खेतबाट यात्रु बोकेर बस जुम्ला पुगेपछि मात्रै कर्णालीवासीको मोटर चढ्ने सपना साकार हुनेछ।

रामेश्वर बोहरा, नेपालगञ्जमा


गाउँ विकट स्कूल आकर्षक

केही वर्षअघिसम्म घाँसदाउरा र गोठालो जान रमाउने काभ्रे, भोटेकोशीपारिका बालबालिकाहरू अहिले रमाई–रमाई पढ्न जान थालेका छन्। बालबच्चालाई घरेलु काममा लगाउन रुचाउने अभिभावकहरू खुशीसाथ स्कूल पठाउन प्रेरित भएका छन्। ध्यान दिएर नपढाउने शिक्षक–शिक्षिकाहरू स्तरीय शिक्षामा जोड दिन थालेका छन्।

यस क्षेत्रका जीर्ण र सुविधाविहीन विद्यालय भवनहरू पुनर्निर्माण र सुविधा वृद्धि भएर आकर्षक बनेपछि यस्तो कायापलट भएको हो। भोटेकोशीपारिका १७ गाविसमा यस्तो परिवर्तन ल्याउन योगदान गरेको छ– लामो समय शिक्षण पेशामा विताएर नेपाल घुम्न आएका जापानी नागरिक ताकियो हातुरीको पहलमा जापानीहरूको हातुरी समूहले।

हातुरी समूहले कोशीपारिको शिक्षा क्षेत्रमा करिब रु.१ करोड लगानी गरिसकेको छ। कात्तिके देउराली, मादनकुडारी र पोखरीचौरी गाविसका विद्यालय भवनलाई सुविधासम्पन्न बनाउनुका साथै गरिब र पिछडिएका बालबालिकालाई कापी–कलम–पुस्तक किनिदिएर स्कूल जान प्रेरित गरेको छ। शिक्षकको कमी भएका विद्यालयहरूमा शिक्षकको व्यवस्था गरेको छ।

स्थानीय समाजसेवी सन्त लामाको माध्यमबाट कोशीपारि पुगेका हातुरीले त्यस क्षेत्रका विद्यालयहरूलाई जापानी स्कूलसरह बनाउने अठोट गरेका छन्। पहिलो नेपाल भ्रमणका क्रममा लुम्बिनी पुगेका हातुरीले त्यहाँको शिक्षा क्षेत्रमा सहयोग गर्न चाहेका थिए। तर, आफूलाई त्यसको निम्ति सहयोग गर्ने नेपाली नभेटेपछि उनी लामालाई साथ लिई काभ्रेको कोशीपारि आइपुगेका हुन्। उनी आफ्ना जापानी चेलाहरूलाई लिएर हरेक वर्षजसो नेपाल आई स्कूल भवनहरू बनाउने गर्दछन्। सन्त लामा भन्छन्, “उनी विद्यालय मात्रै बनाउँदैनन्, कसरी बालबच्चालाई राम्रो शिक्षा दिनुपर्छ भनेर अभिभावकहरूलाई सम्झाउँछन् पनि।”

केही महिनाअघि नेपाल आएका ८० नाघिसकेका हातुरी झोलाभरी छेउछाउका गाउँका अन्य विद्यालयका अभिभावकले सहयोगका लागि दिएको निवेदन लिएर जापान फर्किएका छन्।

खगेन्द्र भण्डारी, काभे्र


सत्तारोहणपछिको अपेक्षा

भारतको सबैभन्दा बढी, १८ करोड, जनसङ्ख्या भएको राज्य उत्तर–प्रदेशको मुख्यमन्त्री पद काङ्ग्रेस (आई) को भावी अध्यक्षका रूपमा प्रस्तुत राहुल गान्धीको आक्रामक प्रचारशैली र मुख्यमन्त्री मुलायमसिंह यादवको 'सत्ता–शक्ति' को भरपूर प्रयोगलाई परास्त गरेर मायावती 'बहनजी' ले हातपारेकी छन्। दलित, मुस्लिम र उत्पीडितहरूको दलको रूपमा चिनिएको 'बहुजन समाज पार्टी' (बसपा) की नेतृ मायावती चौथोपटक उक्त राज्यको मुख्यमन्त्री बन्दैछिन्।

चुनावमा विजयपछि आयोजित पत्रकार सम्मेलनमा 'यूपीमा भूमाफिया र अराजक तत्वलाई संरक्षण दिने समाजवादी दलको जङ्गलराज अन्त्य भएको' भन्नेजस्ता कडा टिप्पणी गरेर मायावतीले अपराध, भय र भ्रष्टाचारमुक्त लोकतान्त्रिक शासन स्थापित गर्ने प्रतिबद्धता जाहेर गरेकी छन्। उनको यस्तो प्रतिबद्धताले नेपालको समेत टाउको दुखाएको सीमापार अपराधमा कमी आउने सम्भावना छ। तर त्यहाँ कडाई गरिएपछि उताका अपराधीहरूले नेपालमा आश्रय लिनसक्ने डर पनि उत्तिकै छ। नेपालको पश्मिाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका धेरै जिल्लासँग सिमाना जोडिएको उत्तरप्रदेशमा हुने राजनीतिक निर्णय र गतिविधिले नेपालमा पनि प्रभाव पारिरहेका हुन्छन्।

नेपालको मधेश आन्दोलनमा कट्टरपन्थी हिन्दूहरूको घूसपैठले अराजक स्थिति सृजना गरेको छ भन्ने भनाइमा सत्यता छ भने मायावती सरकार आएपछि उत्तरप्रदेशमा त्यस्ता शक्तिको चलखेल पनि कम हुने अपेक्षा गरिएको छ। बसपामा बौद्ध र मुस्लिम समुदायको वर्चस्व रहेकाले पनि मायावतीमाथि यस्तो दबाब पर्ने पक्का छ। त्यसले नेपाली राजनीतिलाई पनि प्रत्यक्ष प्रभाव पार्नेछ।

यसअघि बाहुन र भूमिहार जस्ता उच्च जातिहरूको भोट नपाउने बसपाले यसपटक यी समुदायलाई पनि विश्वासमा लिएपछि बहुमत पाएको विश्लेषण गरिएको छ। यसले कुनै खास जाति, भाषा, धर्म र क्षेत्र एक्लैले भन्दा सबै मिलेर समावेशी रूपमा जाँदा राजनीतिक विजय सुनिश्चित हुने सन्देश पनि दिएको छ।

उत्तरप्रदेशको ४०३ सदस्यीय विधानसभामा बसपाले २०६ स्थान हासिल गरेर १६ वर्षपछि एकमना सरकार बनाउँदैछ भने सन् १९९० सम्म वर्चस्व कायम गर्दै आएको काङ्ग्रेस (आई) ले यसपटक राम्रो स्थान ल्याउने विश्लेषकहरूको अनुमान गलत सावित भएको छ। ऊ यसअघिको २५ बाट पनि खुम्चिएर २२ सीटमा झरेको छ। त्यसैगरी निवर्तमान मुख्यमन्त्रीको दल समाजवादी पार्टीले पनि १४३ बाट ९७ सीटमा चित्त बुझाउनु परेको छ।

 


अपहरण र हत्या जारी

राजेन्द्र मानन्धर
काठमाडौँमा विष्टको अन्त्येष्टि।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) ले २८ वैशाखमा सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट अध्ययन भ्रमणमा निस्किएका ३५ जनाभन्दा बढी प्राविधिकलाई नियन्त्रणमा लिएर तीमध्ये एक नवराज बिष्टलाई गोली हानी हत्या गरेको छ। विश्व ब्याङ्कका प्रतिनिधिसहितका प्राविधिकहरूको सो टोलीलाई लहानमा भएको एक तालिमपछि अध्ययन भ्रमणका लागि सिरहाको सखुवा–१ मा पुग्दा उक्त समूहले कब्जामा लिएको थियो।

मोर्चाले अरूलाई सामान्य पुछताछपछि छाडेर जिल्ला प्राविधिक कार्यालय उदयपुरका इन्जिनियर नवराज बिष्ट, इन्जिनियर मुरलीगोपाल रञ्जितकार, वाई.पी. कन्स्ट्रक्सनका प्राविधिक टेकबहादुर लामा र चालक रामनाथ यादवलाई नियन्त्रणमा लिएको र चालकलाई केही क्षणपछि रिहा गरेर बाँकी तीनलाई अज्ञातस्थलतर्फ लगेको थियो। अपहरित बिष्टको शव त्यसै दिन भेटिएको थियोभने अन्य दुईको स्थिति अझै अज्ञात छ। घटनाको निन्दा गर्दै जिल्लाका आधादर्जन मानवअधिकारवादी संस्थाले अपहरण गरिएकालाई तत्काल छाडिदिन आग्रह गरेका छन्।
केही समययता मधेशमा अपहरण र हत्याका घटना बढ्दै गएका छन्। १२ वैशाखमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह समूह) का कार्यकर्ताले नेपाल ब्याङ्कका अवकाशप्राप्त कर्मचारी अम्बिका उप्रेतीलाई घरै अगाडि गोली हानेर हत्या गरे। सो समूहले ८ वैशाखमा सिरहा नगरपालिका–२ का घुरन ठाकुर र शम्भु महासेठलाई तथा १७ वैशाखमा भवानीपुरका सगमलाल महतोका १२ वर्षीय छोरा कृष्णकुमार महतोलाई अपहरण गरेका थिए। मामाघर मेदनीपुर गइरहेको अवस्थामा अपहरित कृष्णलाई २४ वैशाखमा मुक्त गरिएको छ।

सुनीलकुमार साह, लहान


मृत्युमा मिठाई!

सामान्यतः मृत्युले सबैलाई शोकमग्न बनाउँछ, तर २६ वैशाखमा मान्छे मारिएको खुशियालीमा वीरगञ्जमा मिठाई बाँडियो। सीमावर्ती क्षेत्रमा अपहरण आतङ्कका पर्याय बनेका बिहार जेलमा सजाय काटिरहेका छोटेलाल साहनी मारिएपछि वीरगञ्जका व्यवसायीहरूले लड्डु बाँडेका छन्। जेलबाटै बारा, पर्सा र वीरगञ्जका उद्यमी व्यापारीहरूको अपहरण गराउने, रिहाइको लागि फिरौती उठाउने र हत्या समेत गराउने साहनी मारिएपछि पीडितहरूले नाचगान र मिठाई वितरण गरेर खुशियाली मनाए। साहनीबाट सताइएका बारा, कलैयाका व्यापारी विनोदप्रसाद साह
(तस्बिरमा लड्डु बाँड्दै) भन्छन्, “उसलाई जसले मारेपनि मेरो कोटि कोटि नमस्कार छ।”

साहनी गिरोहले वीरगञ्जका उद्योगपति रमेशकुमार केडिया, रतनलाल अग्रवाल र भिखमचन्द्र अग्रवाललगायतका व्यक्ति माथि सांघातिक हमला गरेको थियो। यही समूहले कलैयाका व्यापारी अभिमन्यु कुमार साह (मुन्ना) को गोली हानी हत्या गरेको थियो। भारतमा मात्र हत्या, अपहरण, साङ्घातिक हमलालगायत तीन दर्जन मुद्दा खेपिरहेका साहनीको डरले बारा र पर्साका धेरैजसो उद्योगपति–व्यापारी पलायन नै भएका तथा कैयौँ भूमिगत बसिरहेका थिए।

बिहार, पूर्वी चम्पारनको पिपराकोठी निवासी साहनीलाई प्रतिद्वन्द्वी गिरोहका नाइके राजुंिसंह राठौरले हत्या गरेका हुन्। पेशीको लागि अदालत लैजाँदै गर्दा अदालत परिसरमै हानिएको गोली टाउकोमा लागेर उनको तत्कालै मृत्यु भएको थियो। हत्यापछि राठौरले प्रहरीसामु आत्मसमर्पण गरेका छन्। चार वर्षअघि आफ्नै गिरोहका नाइके विनोद सिंहको हत्या गरेर नाइके बनेका साहनीको अन्ततः विनोदकै सहयोगी राठौरलेे हत्या गरेपछि आतङ्कको एउटा अध्याय सकिएको छ।

वीरेन्द्र साह, पर्सा