हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण/रिपोर्ट

'हामीलाई घेराबन्दी गर्न खोजिएको छ'

पासाङ, केन्द्रीय सदस्य, नेकपा माओवादी

तपाईँहरू माथि त चौतर्फी आक्रमण हुन थाल्यो नि?
हामीले 'गणतन्त्र' को कार्ड अगाडि ल्याएपछि अन्य दलहरूप्रति जनताको विश्वास गुम्ने भएकाले देशीविदेशी शक्तिकेन्द्र हामीविरुद्ध खनिएका हुन्। युद्धमोर्चा छाडेर नयाँ मोर्चामा आएकाले जटिलता र समस्या आउनु स्वाभाविक हो। तर, यथास्थितिवादी, प्रतिगामी र विदेशी शक्तिकेन्द्रविरुद्धको मोर्चाबन्दी सहज छैन।

संसदबाट गणतन्त्र घोषणाको प्रस्तावमा किन कसैको साथ पाउनुभएन?
घोषणा गर्न सकिन्छ भन्ने लाग्यो, बोल्यौँ। सबैले मान्नैपर्छ भन्ने छैन। सहमतिमा आए जान सकिन्छ भन्ने हो। तर, गणतन्त्रको घोषणा गर्दा माओवादीले नेतृत्व गर्छ भनेर राजतन्त्र बचाउन चाहनेहरूले यसलाई हाउगुजी बनाउन खोजिरहेका छन्।

पार्टीमा किन विद्रोहको लहर चल्न थालेको?
जनयुद्धको लामो र कठिन यात्रामा कति आउँछन्, कति जान्छन्। केही उक्लन्छन्, झर्छन् र कतिपय पलायन हुन्छन्। पछिल्लो पटक पलायन भएका लक्ष्मण थारूको विभिन्न प्रतिगामी र अन्य शक्तिकेन्द्रहरूसँग उठबस थियो। कार्वाही गर्ने–नगर्ने बारे छलफल भइरहेका बेला उहाँ निस्कनुभएको हो।

भारतसँग सम्बन्ध किन चिसियो?
हामीले राष्ट्रियताको अडान लिन थालेपछि भारत हामीविरुद्ध खनिएको हो। त्यसपछि हामीले सिक्किमीकरणको कुरा उठायौँ। त्यसपछि मधेश आन्दोलनको नाममा हामीविरुद्ध उत्रियो। ऊ नेपाललाई भुटानीकरण गर्न खोज्दैछ। हामीले भारतसँग दुश्मनीपूर्ण कुरा गरेका हैनौँ। तर उसले पनि हाम्रा अप्ठ्याराहरू बुझिदिनुपर्दछ।

सत्तामा गएर केही परिवर्तन गरेजस्तो लागेको छ?
पुरानो सत्तामा वर्चस्व जमाएर बसेको 'कर्मचारीतन्त्र' समूल नफेरिँदासम्म धेरै गर्न सक्छौँ भन्ने विश्वास हामीलाई हिजो पनि थिएन, आज पनि छैन। संविधानसभाको निर्वाचन गराउन र सम्भव भए संसदबाट गणतन्त्र घोषणा गर्न हामी सत्ता र संसदमा गएका हौँ, भएन भने दुवै छोडेर नयाँ किसिमले अघि बढ्नेछौँ।

शिविरमा हज्जारौँ नाबालक छापामार छन् रे?
राष्ट्रसंघ सम्वद्ध मिडियाहरूले नौ हजार नाबालक छन् भनेर हावादारी प्रचार गरिरहेका छन्। इयान मार्टिनले पनि यसमा सीमा नाघ्न खोज्नुभएको छ। अभिभावकको भूमिका निभाउने राष्ट्रसंघले जथाभावी बोलिदिँदा शान्ति प्रक्रियामा असर पर्न सक्छ। त्रिपक्षीय सम्झौताको मतलब नगर्ने हो भने राष्ट्रसंघको बारेमा हामी पनि बोल्न सक्छौँ। त्यहाँ कस्ता, कुन लवीका कसको पैसाले चलेका मान्छे छन् र शान्ति प्रक्रियाका नाममा कस्ता सेनाहरू भित्रिएका छन् भन्ने हामीलाई पनि थाहा छ।

हतियार प्रमाणीकरणमा किन अवरोध खडा गर्नुभएको?
रसदपानी नदिए शिविरका छापामार खान नपाई पलायन हुन्छन् र वैचारिक विचलन आई विद्रोह गर्छन् भनेर हामीलाई घेराबन्दी गर्न खोजिएको छ। युद्धको नयाँ रणनीति हो, यो। हलो अड्काएर गोरु चुट्न खोजिँदैछ। त्यसैले हामी हैन शिविरको व्यवस्थापन गर्न नचाहने गृह, अर्थ र शान्ति मन्त्रालय प्रमाणीकरणका प्रमुख बाधक हुन्।

जेबी पुन