हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ संक्षेप

ढुङ्गा र गिट्टीको अवैध कारोबार

बाँके जिल्लाको वन क्षेत्र र नदीनालाबाट विगत तीन वर्षदेखि अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा सङ्कलन तथा ओसारपसार भइरहेको छ। त्यसरी सङ्कलन गरिएको ढुङ्गा र गिट्टी बर्सेेिन भारतमा निकासी हुने गर्छ।

वन क्षेत्रको जिल्ला वन कार्यालय र नदीनाला तथा खोलाको ढुङ्गा, गिट्टी र बालुवा सङ्कलन तथा ओसारपसारका निम्ति जिल्ला विकास समितिसँग अनुमति लिनुपर्ने हुन्छ। अनिवार्य रूपले गराइनुपर्ने वातावरणीय परीक्षण र टेण्डर प्रतिस्पर्धासम्म नगराई वन कार्यालयले गिट्टी, बालुवा र ढुङ्गा सङ्कलन र बिक्रीका लागि आठ वर्षदेखि अनुमति दिइरहेका छन्। बाँकेका जिल्ला वन अधिकृत अशोक ढुङ्गाना भन्छन्, गिट्टी, बालुवा र ढुङ्गा सङ्कलन र बिक्रीमा भद्रगोल छ।

ढुङ्गा, गिट्टी र बालुवा सङ्कलन गर्दा पुलदेखि ५ सय मिटर तथा नदी तथा खोलाको किनारा भन्दा १० मिटर टाढाबाट सङ्कलन गर्नुपर्छ। तर वन तथा जिविसले अनुगमन नगर्दा व्यवसायीहरूलेे जथाभावी ढङ्गले आफूखुसी सङ्कलन तथा ओसारपसार गर्ने गरेकाले पुल जोखिममा पर्ने, नदीको बहाव क्षेत्र परिवर्तन हुने, खेतीयोग्य जमिनमा बर्सेनि नदी कटानमा वृद्धि हुने र वन विनाश हुने क्रम बढ्दोे छ।
सङ्कलनस्थलमै वन कर्मचारीहरूले चेकजाँच गर्नुपर्ने नियम भएपनि वनका कर्मचारीहरू फिल्डमा नगई सडकमा रहेका चेकपोष्टमै बसेर सङ्कलनको अनुमति दिने र कर लिने गर्छन्।

अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन गरी भारतमा निकासी गर्ने कार्य तीब्र भएपछि भविष्यमा आवश्यकता परेको बेलामा नेपाललाई नै ढुङ्गा, गिट्टी, बालुवाको अभाव हुनसक्ने बताउँछन् वन अधिकृत ढुङ्गाना। बाँके जिल्लामा करिब ८ अरबको लगानीमा सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य शुरु भएको छ। त्यसका लागि आवश्यक पर्ने ढुङ्गाको अभाव हुनसक्नेतर्फ समयमै सचेत हुनुपर्ने उनी बताउँछन्।
राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ बाँकेका अध्यक्ष शालिकराम डाँगी जथाभावी ढुङ्गा बालुवा निकाल्दा नदीको बहाव बढ्दै गएका कारण खासकुश्मा, वैजापुर, फत्तेपुर कम्दी, हालिया लगायत धेरै गाउँ कटानको चपेटामा परेको बताउँछन्।

कृष्ण अधिकारी