हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

यो पक्षमा

१ फागुन ०६४ः टेलिकमद्वारा प्रिपेड, पोस्टपेड र सीडीएमए फोनको शुल्कमा कटौती। 


४ फागुन ०६४ः नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) सात दल गठबन्धनबाट बाहिर। पार्टी अध्यक्ष सिंहद्वारा संसद् सदस्यबाट राजिनामा दिएको घोषणा। 


५ फागुन ०६४ः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच नेपालगञ्जमा झाडप हुँदा नेपालगञ्ज―१६ बेलासपुरका ३५ वर्षीय गुलजार खानको मृत्यु।

जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूहद्वारा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ११ भुजौलीस्थित दाउन्ने पोल्ट्री ब्रिडिङ फर्ममा कार्यरत भुवन थापाको गोली हानी हत्या। फर्ममा आगजनी।

इन्टरनेट सेवा प्रदायक संस्था मर्कन्टाइल नेपालका संस्थापक एवं समाजसेवी गोपाल राजभण्डारीको ८७ वर्षको उमेरमा सिङ्गापुरमा निधन।


६ फागुन ०६४ः संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चाद्वारा कपिलवस्तुमा माओवादीका जिल्ला कमिटी सदस्य प्रेम परियारको सीमावर्ती गाउँ तिर्तिर्खीमा गोली हानी हत्या।


७ फागुन ०६४ः सरकारले राज्यका प्रमुख सार्वजनिक निकाय र क्षेत्रको सुरक्षाको जिम्मा नेपाल सेनालाई दिएपछि देशका प्रमुख भन्सार नाकाहरुमा सेना परिचालन शुरु। सेनाको जिम्मामापरेका निकाय र क्षेत्रमा केन्द्रीय सचिवालय सिंहदरबार, सीमा, भन्सार, विमानस्थल, विद्युत्गृह, टेलिफोन टावर, राष्ट्रिय निकुञ्ज, आरक्ष र विशिष्ट व्यक्ति। 


८ फागुन ०६४ः संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताहरुद्वारा झाापाको लक्ष्मीपुरमा पत्रिका बोकेको कान्तिपुर पब्लिकेसन्सको बा ३ च ३९३३ नम्बरको गाडीमा आगजनी। 

संयुक्त थारू राष्ट्रिय मोर्चाका कार्यकर्ताद्वारा कैलालीको चिसापानीमा दुई ट्रक र एक मोटरसाइकलमा आगजनी।


९ फागुन ०६४ः निर्वाचन आयोगद्वारा संविधानसभा चुनावका लागि समानुपातिकका निम्ति उम्मेद्वारको बन्दसूची बुझााउने समय चार दिन थप। 

पूर्वमन्त्री नारायणसिंह पुनको ५९ वर्षको उमेरमा मिर्गौलासम्बन्धी रोगका कारण नयाँदिल्लीमा निधन। 

भट्टराईको ८४ औं जन्मदिनमा होटल हिमालयमा आयोजित भोजमा राजा ज्ञानेन्द्र, कोमल, पारस र हिमानीसहित विभिन्न व्यक्तित्वहरुको जमघट। भट्टराईद्वारा समारोहमा आफू एक सय वर्षभन्दा बढी बाँच्ने र संवैधानिक राजतन्त्र अझ्ौ तीन सय वर्ष टिक्ने विश्वास व्यक्त।


१० फागुन ०६४ः विजय गच्छदार, चित्रलेखा यादव, शरतसिंह भण्डारी, रामजनम चौधरी, मंगलप्रसाद थारू, लक्ष्मणप्रसाद मेहता, ज्ञानु केसी, हरिनारायण चौधरी, नागेन्द्रप्रसाद राय, वीरेन्द्र कनौडिया र अजय चौरसियासहित ११ जना सांसदहरुद्वारा तराईमा आन्दोलनमार्फत अभिव्यक्त मधेशी समुदायको भावनाको सम्मान गर्दै तत्काल शान्तिपूर्ण निकास खोज्न सरकारसमक्ष आग्रह।

थारू कल्याणकारी सभाद्वारा 'एक मधेश एक प्रदेश' अमान्य हुने घोषणा।


१२ फागुन ०६४ः 'एक मधेश एक प्रदेश'को माग कार्यान्वयन नगर्न सरकारलाई खबरदारी गर्दै थारू संघसंस्थाद्वारा राजधानीमा प्रदर्शन।


१३ फागुन ०६४ः संविधानसभाको चुनावका लागि उम्मेदवारी दर्ता गराउने क्रममा भएको झाडपमा प्रहरीको गोलीबाट सप्तरीमा सर्वसाधारण गुल्टेन दासको मृत्यु।

सुनसरीको इनरुवामा सशस्त्र प्रहरीका हवल्दार शुक्रलाल माझाी चौधरीको ज्वालासिंह समूहको गोलीबाट मृत्यु। 


राज ज्योतिष

बिजुली थिएन। टिभी हेर्न पाइएन। मित्रवर बन्धुले हेरेछ, “कर्फ्यु र बन्दको समाचार आइरहेको बेला एउटा सुखद समाचार हेरियो। किसुनजीले ८४ आँै जन्मदिन मनाएछन्। सब नेताहरू पुगेका रहेछन्, चियापान कार्यक्रममा। मजा आयो।”

“तिमीलाई केको मजा आयो?”

“धेरै दिनदेखि ग्यास, मट्टीतेल केही थिएन। बासी पाउरोटीले ज्यान पालिरहेको थिएँ। बडेमानको केक देख्न पाएँ। आँखाले हेरेर भए पनि मुखको स्वाद फेरियो।”

जुनबेला भट्टराईजी जन्मदिनको केक काट्दैथिए, त्यहीबेला तराई कर्फ्यु र बन्दको आगोमा जलिरहेको थियो। पहाडी जिल्लामा खाद्यान्न अभाव भइरहेको थियो। नेताहरू किसुनजीलाई बधाई दिँदैथिए। बधाई दिन जानेमा ज्ञानेन्द्रको खलक पनि थियो। ज्ञानेन्द्र जानु स्वाभाविक थियो। किसुनजी र उनमा समानता पनि छ। संविधानमा ज्ञानेन्द्रको जे हैसियत छ नेपाली काङ्ग्रेसमा किसुनजीको त्यही स्थान छ। चियापानमा प्रचण्ड र गिरिजा सहभागी भएनन्।

एक दशकअघि किसुनजीले माओवादीलाई इङ्गित गर्दै भनेका थिए, “गोलीको जवाफ गोलीले दिनुपर्छ।” त्यही कुरा सम्झ्ेर पनि प्रचण्ड नगएका हुनसक्छन्।

“गिरिजा चाहिँ किन नगएका होलान्?” बन्धुले सोध्यो।
मैले भनेँ “गिरिजा किसुनजीभन्दा दुई वर्ष जेठा छन्। यसबाट मनोवैज्ञानिक दबाब पर्न सक्छ।”
तैपनि बन्धुको चित्त बुझ्ेन, “जे भए पनि जानुपर्दथ्यो। किसुनजी काङ्ग्रेसका संस्थापकमध्ये एक हुन्।”
गिरिजा किसुनजीलाई आदर गर्छन्। उनी चाहन्थे किसुनजी नेता मात्रै बनिरहुन्। प्रधानमन्त्रीको बोझ् नउठाउन्। बरु त्यो कष्ट आफैँ भोगौँला। किसुनजी दुईपटक चुनाव हारे। मदन भण्डारी र विद्या भण्डारीले उनलाई चुनाव हराएका थिए।

धन्य, उनीहरूका छोरीहरू चुनाव लडेनन्। तेस्रोपटक पर्साबाट चुनाव जिते। चुनाव मात्रै जितेनन्; प्रधानमन्त्री पनि भए। तर करारमा। म्यादी प्रहरी जस्तो। तर म्याद नसकिँदै गिरिजाले अवकाश दिए। तर किसुनजीले डण्डा चलाउन धक मानेनन्। गिरिजालाई लडाएर शेरबहादुर प्रधानमन्त्री बने। यसअघि पनि गिरिजा र किसुनजीलेे एकले अर्कोलाई पालोपैँचो तिरेका थिए। आम निर्वाचनमा हारेबापत किसुनजीले आफ्नै पार्टीको बहुमतको सरकार ढालिदिएका थिए। गिरिजाले मध्यावधि निर्वाचनमा हराएर पैँचो तिरे। गिरिजाको नेतृत्वको काङ्ग्रेस गणतन्त्रवादी भयो। त्यसको पैँचो तिर्दै काङ्ग्रेसका संस्थापक नेता किसुनजीले पार्टी नै त्यागिदिए। 

मैले यिनै कुरा बन्धुलाई सम्झाएँँ, “उनीहरूको सिद्धान्त मिल्दैन। गिरिजाको सिद्धान्त हो पार्टी आफ्नो कब्जामा राख्नु। किसुनजीको सिद्धान्त हो पार्टी आफ्नो हिसाबमा चलाउन पाउनु। गिरिजा गणतन्त्रवादी भएका छन् त्यसैले किसुनजी राजतन्त्रवादी। उनले चियापान कार्यक्रममा नेपालमा राजतन्त्र तीन सय वर्ष रहने भविष्यवाणी पनि गरे। सिद्धान्तकै कारणले गिरिजा किसुनजीको चियापानमा सहभागी नभएका होलान्।”

किसुनजीलाई पहिले सन्त मानिन्थ्यो। अब उनलाई राज ज्योतिष भनेर सम्मान गरिनुपर्छ।

योगीशकृष्ण