तन्नेरी
शिखरतिर पाइला
हिमाल, पहाड, तराईका दश तन्नेरीको 'प्रथम समावेशी महिला सगरमाथा आरोहण दल' शिखर चुम्न अग्रसर हुँदैछ।
• डम्बरकृष्ण श्रेष्ठ

किरण पाण्डे
|
| बायाँबाट क्रमशः पुजन, शैली, आशा, चुनु, सुस्मिता, माया, निम्डोमा र पेमा। |
तीन वर्षअघि सगरमाथाको ८ हजार ८०० मिटरसम्म पुगेकी काठमाडौंकी सुस्मिता मास्केले यसपटक शिखर चुम्ने लक्ष्य लिएकी छिन्। गत वर्ष मात्रै ८ हजार ५०० मिटरको साउथ समिटसम्म पुगेर फर्केकी कैलालीकी उषा विष्टको सगरमाथा विजय गर्ने चाहना मरेको छैन। हिमाल आरोहणका अनुभवी सुस्मिता र उषासहित कहिल्यै हिमाल नचढेका अरू ८ जना तन्नेरीको एउटै सपना छ– सर्वोच्च शिखर चुम्ने।
महोत्तरीकी आशा सिंह दनुवार, दोलखाकी पेमा दिक्की शेर्पा, निम्डोमा शेर्पा, पुजन आचार्य, सिन्धुपलाञ्चोककी माया गुरुङ, ताप्लेजुङकी नवाङ फुट्टी शेर्पा, काठमाडौंकी शैली बस्नेत, चुनु श्रेष्ठ सबै शिखरमा पुग्न कस्सिएका छन्। १७ देखि ३१ उमेरका दश जनाको यो प्रथम समावेशी महिला सगरमाथा आरोहण दल २००८ अहिले आरोहणको अन्तिम तयारीमा जुटेको छ।
आरोहण दल संयोजक सुस्मिताका अनुसार ८ महिनाअघि विश्व कीर्तिमानी सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पाले महिला आरोहण दलको सोच ल्याएपछि पर्वतारोहण प्रशिक्षक दागम्बु शेर्पासँग मिलेर समावेशी महिला आरोहण दल तयार पारिएको हो। त्यस लगत्तै पर्वतारोहणमा इच्छुकहरूका लागि दलमा संलग्न हुन आह्वान गरियो। यसरी बनेको दश जनाको टोलीमा पर्वतारोहणको अनुभव नभएकाहरूले नेपाल पर्वतारोहण संघबाट ४५ दिने पर्वतारोहण तालिम लिए।
६ महिनादेखि आरोहणको तयारीमा जुटेको आरोहण दल आगामी चैतको तेस्रो साता काठमाडौंबाट सगरमाथा आधार शिविर पुग्नेछ, जहाँबाट उनीहरूको परीक्षाको घडी शुरु हुनेछ। यतिबेला उनीहरू सात पटक सगरमाथा आरोहण गरेका पेम्बा दोर्जे र दागम्बु शेर्पाको प्रशिक्षण, साथ र सहयोगमा काठमाडौंको बन्द शिविरमा छन्। बिहान स्वयम्भुमा व्यायामपछि उनीहरू दिउँसोको समय आर्थिक सहयोग जुटाउने र साँझ्मा नेपाल पुलिस क्लबमा तालिममा सहभागी हुने गर्छन्। त्यसेपछि सबैजना मिलेर आरोहणसम्बन्धी चलचित्र हेर्ने गर्छन्। शनिबारको दिन भने हाइकिङ, साइकिलिङ, रक क्लाइमिङ, शारीरिक व्यायाम आदि अभ्यासहरूमा उनीहरू व्यस्त रहन्छन्। शारीरिक तयारी त छँदैछ आरोहणका बारेमा अझ् अभ्यस्त हुन अनुभवी आरोहीहरूको अनुभवसँगै आरोहण सम्बन्धी पुस्तक, पत्रपत्रिका तथा वेबसाइट अध्ययन पनि गरिरहेका छन्।
हिलारी र तेन्जिङले आरोहण गरेको लगभग ६० वर्ष पुग्न लाग्दा र पासाङ ल्हामुले इतिहास रचेको चौध वर्षपछि पनि उनीलगायत सात नेपाली महिलाले मात्र सगरमाथाको शिखर चुम्न सकेका छन्। पर्वतारोहणमा महिला रोजगारीको प्रशस्त संभावना भए पनि जानकारी तथा अवसरको कमीका कारण यस क्षेत्रमा महिलाको सङ्ख्या नगण्य छ। यस क्षेत्रमा महिलाका लागि अवसरको खोजी टोलीको अर्काे उद्देश्य हो।
दलले बढी नैमहत्वाकांक्षी भएको आरोप पनि खेपिरहेको छ। तन्नेरी महिलाहरूको प्रयासमा यस्तो प्रतिक्रिया आउनु स्वाभाविक भएको र आफूहरू निरुत्साहित भने नहुने सुस्मिता बताउँछिन्। भन्छिन्, “तालिम नलिएका र अनुभव नभएका विदेशीहरूले त सगरमाथा आरोहण गरिरहेका छन् भनेहामीले तालिम लिएका छौं र तयारी पनि राम्रो छ।”
खाँचो आर्थिक सहयोगको
आरोहण टिमलाई आर्थिक सहयोग जुटाउन निकै गाह्रो भएको छ। आरोहण दलको कुल खर्च रु.१ करोड ६ लाख २६ हजार अनुमान गरिएकोमा अहिलेसम्म आधा जति सङ्कलन भएको सहभागीहरू बताउँछन्।
थप सहयोग उठ्न नसकेमा टोलीका प्रत्येक सदस्यले आफ्ना लागि चाहिने टेक्निकल सामग्री किनेर पनि रु.२ लाख ५० हजार निजी रूपमा व्यहोर्नुपर्ने अवस्था छ। सहयोग नजुटे सहभागीको आर्थिक अवस्था कमजोर रहेकाले खर्च जुटाउन ऋण लिने उनीहरूको योजना छ। टोली थप सहयोग जुटाउन विभिन्न सरकारी, गैरसरकारी संघ–संस्था, उद्योगी–व्यवसायीहरूकहाँ धाइरहेको छ। संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमले ४० हजार अमेरिकी डलर, काठमाडौं जिल्ला विकास समितिले रु.३ लाख, एभरेष्ट डी कार्गोले रु.२ लाख ५० हजार र अन्य संघ–संस्था, उद्योगी–व्यवसायीले पनि आर्थिक सहयोग गरिसकेका छन्। धेरैले सहयोगको वचन दिएका छन्।
सहयोग जुटाउने सिलसिलामा टोली प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, अर्थमन्त्री रामशरण महत, पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङदेखि सबै राजनीतिक दलका प्रमुख नेताहरू, उद्योगपति, ब्याङ्कहरू, विदेशी दूतावास र अन्तर्राष्ट्रिय संस्थाहरूकहाँ पुगिसकेको छ। तर, अधिकांशबाट उनीहरूले आश्वासन मात्रै पाएका छन्। “सरकारले सहयोग गर्छौं भनेको छ तर के कति सहयोग गर्ने अझै निश्चित छैन”, सुस्मिता भन्छिन्, “सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् तर ठोस सहयोग पाइएको छैन।” मनोरञ्जनात्मक कार्यक्रमका लागि लाखौँको प्रायोजन गर्ने उद्योगी व्यवसायीबाट महिला सगरमाथा आरोहण दलले सोचे जति सहयोग पाएको छैन। “सहयोग जुटाउने सक्दो प्रयत्न गरिरहेका छौँ नभए ऋण काढ्नुको विकल्प छैन”, उनले भनिन्। परिचित अनुहार र पहुँच नभएका कारण आर्थिक सहयोग जुटाउन गाह्रो भइरहेको उनको भनाइ छ।
सुस्मिता मास्के (२७)
 |
आइल्याण्ड पिक, याला पिक, मेरा पिकलगायतका देशभित्रैका विभिन्न शिखर चुमिसकेकी काठमाडौं बसन्तपुरकी सुस्मिताको मन हिमालतिर तानिएको पाँच वर्ष भयो। यसअघि पनि सगरमाथामा टेक्नबाट मात्र ४८ मिटरले चुकेकी सुस्मिता यसपटक पूरै आत्मविश्वासका साथ त्यसतर्फ लम्कँदै छिन्।
उषा विष्ट (२२)
गत वर्ष हातको बूढीऔँला गुमाउँदै शिखर नजिकैबाट फर्केको पीडा सँगालेकी पथ्थरैया, कैलालीकी उषामा यसपटक मौसम र स्वास्थ्यले साथ दिए बाँकी ३४८ मिटर छिचोलेरै छाड्ने दृढता छ। आमादब्लमको सफल आरोहण गरिसकेकी उषा भन्छिन्, “जोखिम त हुन्छ नै तर पनि यसपटक चढ्छु भन्ने लागेको छ।”
आशाकुमारी सिंह (२२)
दनुवार समुदायकी आशाले सगरमाथा चढ्ने खबर उनको महोत्तरीस्थित मेखरौल गाउँमा पुग्दा धेरैले अचम्म माने। बुबा–आमाले पनि सम्झाए खतरा हुन्छ भनेर। तर चार वर्षअघिदेखि आरोहणको तालिममा संलग्न आशाको आँट पटक्कै घटेको छैन। आशा भन्छिन्, “हिमाल चढ्ने अवसर बल्ल जुर्दैछ, अब चढेरै देखाउनु छ।”
शैली बस्नेत (२४)
पत्रकारितामा सक्रिय काठमाडौं, वनस्थलीकी शैली रिपोर्टिङकै क्रममा महिला आरोहण दलकी सदस्य बन्न पुगिन्। हिमाल खबरपत्रिका की सम्वाददाता शैलीले ८ महिनाअघि रिपोर्टिङका क्रममा आरोही सुस्मिता मास्केलाई भेटेपछि यस्तो आरोहण हुँदैछ भन्ने थाहा पाएकी थिइन्। सानैदेखि साहसिक खेलप्रति झ्ुकाव राख्ने शैलीमा सगरमाथा चढिछाड्ने आत्मविश्वास तालिमका क्रममा लाङटाङ पुगेपछि त झ्नै बढ्यो।
चुनु श्रेष्ठ (२७)
काठमाडौं, बसन्तपुरको झ्ोंछे टोलकै सुस्मिताको सङ्गतले चुनुको पाइला सगरमाथातिर लम्केको हो। सगरमाथा चढ्ने उनको निर्णयप्रति अचम्म मान्नेहरूको कमी छैन। उनी भन्छिन्, “तालिमहरू लिँदै जाँदा म पनि चढ्न सक्छु भन्ने लाग्न लागेको छ।”
निम्डोमा शेर्पा (१७)
हिमाल हेर्न र चढ्न विदेशीहरू मात्रै आउँछन् तर हामी आफ्नै आँगनलाई पनि वास्ता गर्दैनौँ भन्ने लागेर सगरमाथा चढ्ने साहस गरेकी हुन्, दोलखाकी निम्डोमाले। परिवार ट्रेकिङ क्षेत्रकै भएकाले सहज भएको बताउँदै उनी भन्छिन्, “अनुभवी प्रशिक्षक र आरोहीहरूको साथ भएकाले हाम्रो आँट बढेको छ।”
माया गुरुङ (२७)
घरले अनुमति नदिएपछि भागेरै आरोहणदलमा सामेल भएकी हुन्, सिन्धुपलाञ्चोककी माया गुरुङ। आरोहणको तालिमसँगै उनले अहिले आत्मविश्वास र परिवारको विश्वास पनि आर्जन गरेेकी छिन्। बलिङ खेलकी राष्ट्रिय खेलाडी मायाले आरोहण दलमा सामेल हुनुलाई ठूलै अवसर ठानेकी छिन्। भन्छिन्, “यसले करिअरको नयाँ बाटो खोल्छ भन्ने लागेको छ।”
पेमादिक्की शेर्पा (२०)
अंकुपञ्चर नर्सको रूपमा कार्यरत पेमालाई दुई वर्षअघि गोसाइँकुण्ड ट्रेकिङ जाँदै हिमाल चढ्ने चाहना बढेको थियो। महिला आरोहण दलमा सहभागी हुने इच्छा व्यक्त गर्दा ट्रेकिङ व्यवसायमै संलग्न उनको परिवारले नाइँनास्ति गरेन। पुर्ख्यौली घर दोलखा भएपनि काठमाडौं, कपनमा बस्ने उनी अब चाहना पूरा हुनेमा विश्वस्त छिन्।
पुजन आचार्य (२३)
च्छो–रोल्पा घुमेर आएपछि दोलखास्थित एक मानव–अधिकार संस्थामा कार्यरत पुजनलाई हिमाल चढ्ने रहर लागेको हो। हिमाल खबरपत्रिका मा शैलीको रिपोर्टिङ पढेर यो आरोहण दलमा सामेल हुन पुगेकी पुजन परिवारबाट आर्थिक सहयोग नपाए पनि मानसिक सहयोग पाइरहेको बताउँछिन्।
नवाङफुट्टी शेर्पा (२५)
गाउँमै रहेका बुबा–आमाले नजान भने पनि ताप्लेजुङ, ओलङ्चुङगोलाकी नवाङ–फुट्टी यो आरोहण दलमा समावेश भएरै छाडिन्। ९ वर्षदेखि काठमाडौं बस्दै आएकी नवाङफुट्टी भन्छिन्, “सगरमाथाबाट फर्केपछि ट्रेकिङमै लाग्ने सोच बनाएकी छु।”
|