| • ऋतुराज |
 |
ऋतुविचार
जय जय शिवशङ्कर!
जय जय शिवशङ्कर
काँटा लगे ना कङ्कर
प्याला तेरे नामका पिया
गिर जाउँगी, मर जाउँगी
गर तुमने थाम ना लिया।।
क्या गीत थियो किशोर कुमारले गाएको हिन्दी चलचित्र 'आप की कसम' मा। त्यस गीतमा नाचेका थिए उसबेलाका सुपरस्टार राजेश खन्ना र उसबेलाकी चहेती अभिनेत्री मुमताजले। सुपरहिट भएको थियो त्यो गीत उसबेला। उसबेला माने आजभन्दा केही नभए पनि ३०–३२ वर्षअघि।
अहिले घरी–घरी त्यही गीत याद आइरहेछ। शिवरात्रि नजिक आइरहेछ त्यसैले पनि होला। शिवरात्रिको अवसरमा शिवको नाम नलिएर कसको पो लिने?
देवाधिदेव महादेवका अनेक नाम छन्। अनेक नामले पुकारिन्छन् उनी। शिव उनैको नाम हो। शङ्कर पनि उनैको नाम हो। कहिले कहिले दुवै नाम एकसाथ जोडिएर शिवशङ्कर पनि कहलाउँछन्।
उसो त शिवको आधिकारिक निवास कैलाशपर्वत हो भन्छन्। तर उनी फक्कड तालका भगवान भएकाले जता पनि घरजम गरिदिन्छन्, जहाँ मन लाग्यो त्यहाँ डेरा जमाइदिन्छन्। काठमाडौंमा उनी पशुपतिनाथका नामले श्लेष्मान्तक वनछेउ बागमती नदीको किनार बसेका छन्। भक्तहरू जय भोलेबाबा, जय शम्भो, जय शिवशङ्कर भनी पुकार्दै आ–आफ्नो सङ्कट मोचनका लागि पशुपतिनाथको मन्दिर धाउँछन्।
यो त भयो भगवान शिवशङ्करको महिमा।
उता मानव शिवशङ्कर छन्, जसको आधिकारिक निवास लैनको ठूलो गिर्दाले घेरिएको ठाउँमा छ। अचेल चल्तीफिर्ती त यिनै मानव शिवशङ्करको छ। यिनको प्रताप प्रबल छ। निजी सङ्कट समाधानका लागि मानिस दौडेर भगवान शिवशङ्करकहाँ आर्तनाद गर्न जाँदा हुन्। तर राष्ट्रकै सामु सङ्कट आइपर्यो भने हुल बाँधेर यी मानव शिवशङ्करकहाँ हायलकायल हुँदै जानुपर्छ। अनि जसरी राजेश खन्ना र मुमताजले भाङ खाएर फिलिममा दोहोरी गाएका थिए, त्यसरी नै यिनको प्राङ्गणमा दोहोरी खेल्नुपर्छ।
धन्य हो शिवशङ्कर! यी मानव शिवशङ्करले हाम्रो असली औकात देखाइदिए। हामी कहाँ उभिएका रहेछौं त्यो ठाउँ बताइदिए। हामी ६४ सालमा पुगेकै रहेनछौं १४ सालमै रहेछौं त्यो बुझाइदिए। हाम्रा परिपालक, सञ्चालक, अभिभावक उनी नै रहेछन् त्यो हेक्का दिलाइदिए। हाम्रा पालनहार, खेवनहार उनी नै रहेछन् त्यो सम्झाइदिए। 'त्वमेव माता च पिता त्वमेव' भनी स्तुति गर्न लायक उनी नै रहेछन्।
यति गुढ ज्ञान प्राप्त भएपछि स्वाभाविक हो महिमा गान आफ से आफ मुखरित हुनु। अनि किन सम्झ्ना नहोस् त यस नादानलाई जय जय शिवशङ्कर भन्ने गीत?
नयाँ बोतल, पुरानो ठर्रा
भोट नखसालेको जुगौंजुग भइसक्यो। चुनाव भए पो भोट खसाल्ने! सिमसिमे बाजेका पालामा भने जस्तो चुनाव भएको थियो। त्यसपछि त लन्ठ्याङ मन्ठ्याङमै यतिका वर्ष बिते। यसपालि पनि के हो के हो। हुन त चुनावको तिथिमिति पनि तोकिएको छ। उम्मेदवारहरूको नामको बन्दी खाम पनि दाखिल भइसकेको छ। चुनाव भइ पो हाल्ला कि भन्ने छनक दिएको छ।
तर जुन उम्मेदवारहरूको नामावली प्रकाशमा आएको छ त्यो हेर्दा भने चुनाव भइहाले पनि भोट दिन जाने जाँगर चाहिँ बाँकी रहला नरहला भन्न गाह्रो छ। खुला नाम त त्यसै खुला भइहाले। बन्दी खामका नाम पनि अब बन्द रहेनन्, जगजाहेर भइसके। के गरम पार्टी, के नरम पार्टी सबैमा द्विजत्व हावी छ। मगराँत प्रदेश होस् या किराँत प्रदेश, तमुवान होस् या थरुवान; सर्वत्र द्विज कुलका व्यक्तिहरू नै अगाडि छन्। कुहेगलेका र म्याद गुज्रेकाहरू उत्तिकै छन्।
भन्नलाई लोकतन्त्र र के के भन्ने। नयाँ नेपालको नक्सा कोर्ने कुरा गर्ने। अनि उम्मेदवारहरू चाहिँ उही घिसेपटेका अनुहार खडा गर्ने? यिनैले नयाँ नेपालका लागि नयाँ संविधान बनाउने? नयाँ बोतल पुरानो ठर्रा भन्थे। त्यो भनेको यही हो कि क्या हो?
ट्राफिक प्रहरी र सरकार
फूटबल खेलमा एक जना गोलकिपर हुन्छ जसको काम फूटबललाई गोलपोष्टमा छिर्नबाट रोक्ने हुन्छ। ऊ त्यो गोलपोष्ट छाडेर कतै जान पाउँदैन। बललाई खुट्टाले खेलाएर वा प्रतिद्वन्द्वीलाई झ्ुक्याएर आफ्नो कौशल देखाउन सक्दैन। उसले दौडिहिँड्न पनि मिल्दैन। विरोधीले ताकेर बल हिर्कायो भने अरू खेलाडीले झै उसले छल्न मिल्दैन। छल्यो भने त उसको गल्ती पो हुन्छ। उसले त छाती फुटाउने गरी आएको भए पनि बललाई समात्नु पर्छ। पेनाल्टीमा उसैले बलको सामना गर्नुपर्छ। गोल गरेमा फरवर्ड वा मिडफिल्डरले वाह वाही पाउँछ। गोलकिपरले गोल रक्षा गरेकामा त्यस्तो प्रशंसा केही पाउँदैन। उसको कामै त्यही हो कुन ठूलो काम गर्यो र भन्ने हुन्छ। बरू बल छाड्यो भने चाहिँ सत्तोसराप पाउँछ। बडो अपजसे काम छ त्यो गोलकिपर भन्नेको।
अरू सबै खेलाडीले बल खेलाउन पाउँछन्, छलाउन पाउँछन्, हिर्काउन पाउँछन्, दौडन पाउँछन्, गोल गर्न पाउँछन्। त्यसो गरेर मजा लिन्छन्। तर गोलकिपर भने किला गाडिए जस्तो एक ठाउँमा गोलपोष्ट रुँघेर बस्दछ। यस अनाडीले कहिल्यै बुझ्ेन कोही किन गोलकिपर भई खेल्न चाहन्छ भन्ने।
अचेलभरि ट्राफिक प्रहरीको काम हेर्दा त्यही गोलकिपरको याद आउँछ। विचरा! सडकमाझ्मा उभिएको हुन्छ ट्राफिक सञ्चालन गर्न भनेर। ट्राफिक राम्रोसित चल्यो, उसको कामै त्यही हो भन्छन्। जाम पर्यो, सबै धारे हात लगाउँछन्। सिठी त बजाउँछ, खटनपटन पनि गरिटोपल्छ तर सुन्ने कोही होइन। पहिले पहिले सेतो रङको प्लेट र हरियो रङ पोतेको सवारीले मात्रै ट्राफिक प्रहरीलाई वास्ता गर्दैनथे। अचेल सबैले गन्दैनन्। झ्न्डावाल डन्डावालको कुरै भएन। उनीहरूलाई नै सलाम ठोक्नुपर्छ। अरूलाई सर भन्नुपर्छ कसुरदार नै भए पनि। कसको पहुँच कहाँ छ कसले भन्न सक्छ? भाडाका सवारी चालकहरूलाई लौ न गुरुजी भनेर खुसामद गर्नुपर्छ। छिरिक्क केही भयो गाडी तेर्स्याइहाल्छन्। बरा त्यसैले बायाँतिर समस्या पर्यो भने दायाँतिर हेर्छ ट्राफिक प्रहरी नामको त्यो निरीह प्राणी। कस्तो जागिर होला, किन खान परेको होला?
अहिलेको सरकार पनि त्यही ट्राफिक प्रहरी झै लाग्छ। मुखको सिठी घरि–घरि बजाइटोपल्छ। तर कसैले बाल टेर्ने होइन। आश्चर्य लाग्छ, किन उभिएको होला बुख्याँचा जस्तो सडकमाझ्मा?
|