रिपोर्ट मधेश आन्दोलन
तारोः भन्सार, स्कूल र एम्बुलेन्स

मनोज श्रेष्ठ
|
| विराटनगर |
• ३ फागुन राति सिरहाको लहानबाट बिरामी लिएर पूर्वतिर गएको मे १ च ७०४ नम्बरको एम्बुलेन्सलाई सप्तरीको कल्याणपुर–२, बिसनपुर चोकमा आन्दोलनकारीले तोडफोड गरी क्षति पुर्याए। त्यसैगरी ६ फागुन राति १० बजे विराटनगरमा नेपाल टेलिकम वर्कर्स युनियनको को १ च २७१७ नम्बरको एम्बुलेन्स तोडफोड गरियो।
• एसएलसीको मुखमा तराईका जिल्ला शिक्षा कार्यालयहरूमा तालाबन्दी गरिएको छ। भैरहवाका विद्यालय सञ्चालकहरूले बन्दको अवज्ञा गर्दै ८ फागुनमा स्कूल खोल्दा आन्दोलनकारीले धम्की दिएर बन्द गर्न बाध्य पारेका थिए। कतिपय विद्यालयमा टेष्ट परीक्षाको नतिजा प्रकाशन हुनसकेको छैन। एसएलसी र अन्य परीक्षाको तयारी प्रभावित भएको छ। बन्द र कर्फ्युकै बीचमा विद्यार्थीहरू स्नातकोत्तर तहको परीक्षा दिइरहेका छन्।
• आन्दोलनकारीले ५ फागुनदेखि विराटनगर भन्सार कार्यालयमा नाकाबन्दी गरेकाले राजस्व सङ्कलनमा असर परेको छ। दैनिक रु.२ करोड राजस्व उठ्ने सो कार्यालयमा त्यस दिन रु.५ हजार मात्र जम्मा भएको थियो।
महन्थ ठाकुरको तराई–मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको नेपाल सद्भावना पार्टी र उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमको गठबन्धन 'संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा'ले आत्म–निर्णयको अधिकारसहित एक मधेश, एक प्रदेशको नाराका साथ शुरु गरेको आन्दोलनका कारण तराईको जनजीवन कष्टप्रद हुँदै गएको छ। आन्दोलनकारीले भन्सार, स्कूल, एम्बुलेन्सलाई मुख्य तारो बनाएका छन्। आन्दोलनका कारण दैनिक उपभोगका वस्तुको आपूर्तिमा गम्भीर असर परेको छ।

राम सर्राफ
|
| वीरगञ्ज |
मधेश आन्दोलनका कारण विराटनगरका सयौं उद्योग बन्द छन्। मोरङ व्यापार संघले एक दिनको बन्दबाट जिल्लाको उद्योग–व्यवसाय क्षेत्रमा रु.२५ करोडभन्दा बढीको नोक्सान भइरहेको हिसाब निकालेको छ। आन्दोलनबाट विराटनगर औद्योगिक करिडोरका ५०० भन्दा बढी उद्योग प्रभावित भएका छन्। सरकारसँग सुरक्षाको माग गरेर सुनसरीको खनार र मोरङको टंकिसिनबारीका केही उद्योग मात्र चलिरहेका छन्। बन्दबाट विशेषगरी जुट, चाउचाउ, धागो, प्लाष्टिक, राइस मिल, साबुन र बिस्कुट उद्योगहरू प्रत्यक्ष मारमा परेका छन्। ऊखुको ढुवानीमा भने बाधा पुर्याइएको छैन। उद्योग बन्द भएपछि नेपाल विद्युत् प्राधिकरणले पूर्वी क्षेत्रमा लोडसेडिङको समय घटाएको छ।
सामान्य अवस्थामा १७ सय साना–ठूला यात्रुबाहक बस गुड्ने पूर्वाञ्चलका यातायात व्यवसायीहरू दैनिक रु.५ करोडको नोक्सानी व्यहोरिरहेको बताउँछन्। आन्दोलनबाट हवाई यात्रा पनि अछुतो छैन। विराटनगरमा काठमाडौं, सुकेटार, तुम्लिङटार, लामीडाँडा, रुम्जाटार, भोजपुर र खाँदबारी जाने उडानको टिकट नपाएर सयौं यात्रु अलपत्र परेका छन्। आन्दोलनकारीले हवाईसेवा समेत चल्न नदिने धम्की दिएका छन्।
७ फागुनमा सिरहा, विष्णुपुर–४ का राजेश ठाकुरको ज्यान गएको छ भने धेरै घाइते भएका छन्। आन्दोलनको शुरुका दिन राजविराजका केही विद्यालय खुले पनि प्रदर्शनकारीले नखोल्न धम्की दिएपछि बन्द छन्। राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल र सिरहा अस्पतालमा औषधिको अभाव शुरु भएको छ। ५ फागुनमा चितुवाको आक्रमणमा परेर अञ्चल अस्पतालमा ल्याइएका सप्तरी, भगवतपुरका ६ जना घाइतेलाई दिने रेविजविरुद्वको सुई निजी अस्पतालबाट किनिएको थियो। अस्पतालमा प्रसूति सामग्रीहरूको पनि अभाव छ। उपभोग्य सामग्रीको अभाव चुलिएको छ। दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाहरू झ्न् पीडित भएका छन्।

मुकेश पोखरेल
|
| भैरहवा |
बन्दले जनकपुरलाई पनि ठप्प पार्यो। उद्योग र कलकारखाना बन्द रहे। बैंकहरू बन्द भएकाले आर्थिक कारोबार रोकियो। विद्यार्थीहरूको एसएलसीको तयारीमा असर परेको छ। टेष्ट परीक्षाको नतिजा अझै सार्वजनिक नहुँदा कैयौँ विद्यार्थी अन्योलमा छन्। सरस्वती उच्च माध्यमिक विद्यालयका छात्र दीपक झा पढाइ बर्बाद भएकोमा दुःखी छन्। स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र कर्मचारीहरूको कमी भएकोले गर्दा बिरामीले औषधोपचार पाउन छाडेका छन्। जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह) बाट विद्रोह गरेर राजन मुक्तिको नेतृत्वमा खडा भएको अर्को समूहले जनकपुरमा उडान भर्ने विमानका कर्मचारीलाई धम्की दिएपछि १२ फागुनदेखि हवाईसेवा बन्द भएको छ।
वीरगञ्जको जनजीवन झ्नै कष्टकर बनेको छ। वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको गण्डकदेखि जीतपुरसम्मका बन्द १०० उद्योगमा कार्यरत पाँच हजार मजदुरको रोजीरोटी खोसिएको छ। जीतपुरदेखि उत्तरतर्फ सिमरासम्मका उद्योग चले पनि बाटोमा तेर्स्याइएका ठूल्ठूला अवरोधका कारण कतै जान सकिने अवस्था छैन। दूध ढुवानी हुनसकेको छैन। रिक्सा चालक र दैनिक ज्यालादारी गरेर खाने मजदुरहरू प्रत्यक्ष प्रभावित भएका छन्। १२ वर्षदेखि वीरगञ्जमा रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका रौतहटका बिगुदास तत्मालाई आन्दोलनले ऋण बोकाइदिएको छ। उनी रिक्सा चलाउन नपाए पनि साहुलाई दैनिक रु.४० बुझाउँछन्। अर्का रिक्साचालक अजय साहको हालत पनि उस्तै छ। अभिभावकहरू छोराछोरीलाई पढ्न काठमाडौं र भारत पठाउन थालेका छन्। डा. दीपक शाक्य भन्छन्, “बन्द, हड्ताल र असुरक्षाका कारण २५ प्रतिशत विद्यार्थी विदेशिएका छन्।”
आन्दोलनकारीले भैरहवाका विभिन्न स्थानमा तोडफोड गरेर लाखौंको क्षति पुर्याएका छन्। ३ फागुनमा रुमालले मुख छोपेर आएका आन्दोलनकारीले बुद्धचोकका आशा र सम्झ्ना होटेल तोडफोड गर्दै रु.४० हजार लुटेका थिए। शान्तिपूर्ण भनिएको मधेश आन्दोलन हिंसात्मक भएपछि स्थानीय बासिन्दा त्यसको प्रतिरोधमा उत्रिन पनि थालेका छन्। भैरहवामा सधैँ झै भएका साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास दल र नागरिक समाजको सचेतताका कारण सफल हुन पाएन। प्राध्यापक भरत पोख्रेलका अनुसार बन्दको दोस्रो दिन भैरहवामा मोटरसाइकल खोसिनु, होटेल र पानपसल लुटिनु त्यसैको सङ्केत थियो। तर राजनीतिक दलहरूको आग्रहमा प्रशासनले तुरुन्तै कर्फ्यु लगाएकाले तत्कालको सङ्कट टर्यो। ६ फागुनमा राजनीतिक दल र नागरिक समाजले सद्भाव र्याली समेत निकाले।
 अजित तिवारी
|
| जनकपुर |
ऊखु किसानका गाडी पनि तोडफोड भएपछि नवलपरासीको एकतिहाई ऊखु बिक्री भएको छैन। ऊखु उत्पादक किसान संघ, नवलपरासीका प्रवक्ता प्रेमचन्द्र गुप्ता तौल केन्द्रमा बेच्न लगिएको ऊखु मात्र होइन, खेतको ऊखु पनि सुकेर काम नलाग्ने भएको बताउँछन्।
हड्तालबाट नेपालगन्ज पनि पूरै प्रभावित छ। यातायात, व्यापार, शिक्षण संस्था र स्वास्थ्यसेवा ठप्प छन्। केही सरकारी विद्यालयले आफ्नै जोखिममा स्कूल खोल्ने तयारी गरिरहेका बेला १२ फागुन बिहानै बाँके जिल्ला शिक्षा कार्यालयमा बम विष्फोट भएपछि कसैले हिम्मत गरेनन्। एक प्रधानाध्यापक भन्छन्, “ज्यानकै खतरा भएपछि पढाइको के कुरा भयो र?”
यातायात बन्द हुँदा सयौं यात्रुको बिचल्ली भएको छ। भारतबाट फर्केका पहाडी जिल्लाका सयौं मजदुर नेपालगञ्जमा अलपत्र परेका छन्।बजारमा सामानको अभाव त्यत्तिकै चर्को छ। नेपालगञ्ज उद्योग वाणिज्य संंघका अध्यक्ष दामोदर आचार्य भन्छन्, “सामान नपाएर उपभोक्ताले व्यापारीलाई खाउँला झै गर्न थालिसके। ग्राहक मात्रै होइन, व्यापारी समेत भोकभोकै मर्ने अवस्था आइसक्यो।”
त्यसैगरी बर्दिया, कैलाली र कञ्चनपुरमा संयुक्त थारू राष्ट्रिय मुक्तिमोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दले जनजीवन कष्टकर पारेको छ। माओवादीबाट विद्रोह गरेर गठन भएको मोर्चाले एक मधेश एक प्रदेशको विरोध र तराईका धरतीपुत्र थारूलाई आत्मनिर्णयको अधिकारसहित छुट्टै संघीय राज्यको माग गर्दै आह्वान गरेको बन्दका कारण स्वास्थ्यसेवा, शिक्षण संस्था, बजार बन्द छन्। भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा अक्सिजनको अभाव शुरु भएको छ।
बन्दका कारण तराईका विभिन्न भागमा खाना पकाउने ग्याँस, मट्टीतेल र अन्य उपभोग्य सामग्रीहरूको अभाव भएको छ। विराटनगर, वीरगञ्ज, जनकपुर, भैरहवा, सिरहालगायतका स्थानमा उपभोग्य वस्तुको चर्को मूल्यवृद्धि भएको छ। त्यसैगरी किसानले उत्पादन गरेका तरकारीहरू बजारसम्म पुर्याउन नसक्दा कुहिन लागेका छन्।
प्रेसजगत पनि आन्दोलनकारीको निशाना बनेको छ। मोर्चाका कार्यकर्ताले ५ फागुनमा आन्दोलनको समाचार नछापेको भन्दै परासीमा कान्तिपुर, मेचीकाली, जनसंघर्ष, नयाँ सत्ता, नयाँ भावना र लुम्बिनी दैनिक जलाए। आन्दोलनको समाचार नलेखेको भन्दै ४ फागुनमा विराटनगरका शम्भु पोखरेल र विजय पाठकलाई आन्दोलनकारीले दुर्व्यवहार गरेका थिए।
विवाहका लगनहरूमा पनि असर परेको छ। जनकपुरका ज्योतिष कुसुम झा शास्त्रीले बिहेको लागि समय उपयुक्त भएपनि यसपटक धेरै कम विवाह भएको बताए। सिरहा, कल्याणपुर–१ का राजेश साहकी छोरी सुनैनाको बिहारको केटासँग निश्चित भइसकेको विवाह हुनसकेन। आन्दोलनकारीले नवलपरासीको सुनवल–बर्दघाट सडकखण्डको वसाहामा विवाहको गाडीमाथि आक्रमण गरेकालेे ३ फागुनमा भैरहवाबाट नारायणघाट हुँदै काठमाडौँ जानुपर्ने एउटा विवाहको जन्तीलाई दोब्बर लामो बाटो प्रयोग गरेर पोखरा हुँदै लगिएको र दुलाहा गजेन्द्रमान श्रेष्ठलाई दुई दिनअघि नै पठाइएको थियो।
जनपद र सशस्त्र प्रहरीलाई संविधानसभाको निर्वाचनमा प्रयोग गरिने भएकोले उनीहरूले सम्हाल्दै आएका विमानस्थल, भन्सारजस्ता संवेदनशील क्षेत्रको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। पहिलो चरणमा पूर्वी पृतना मुख्यालय, इटहरी, सुनसरीले विराटनगर, झापाको चन्द्रगढी र ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा सेनाले सुरक्षा दिन शुरु गरेको पृतना स्रोतले जनाएको छ।
मनोज श्रेष्ठ विराटनगर,
श्रवणकुमार देव राजविराज,
अजित तिवारी जनकपुर, रवि दाहाल वीरगञ्ज, मुकेश पोखरेल भैरहवाबाट।
सद्भाव
बिथोलिँदैछ
मधेश आन्दोलनका क्रममा पश्चिम तराईमा साम्प्रदायिक सद्भाव विथोल्ने हदैसम्मका प्रयास भइरहेका छन्।
• रामेश्वर बोहरा, नेपालगन्जमा

रामेश्वर बोहरा
|
| आन्दोलनमा अराजक समूहको घुसपैठ पनि साम्प्रदायिक द्वेष बढाएर हिंसा भड्काउने षडयन्त्रको अर्को कडी बनेको छ। |
तराई बन्दका क्रममा ५ फागुनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच नेपालगञ्जमा झ्डप भएपछि अशान्त बनेको पश्चिम तराई अझै सामान्य भइसकेको छैन। सरकारी कार्यालय बन्द गराउँदै हिँडेका मोर्चाका कार्यकर्ता तोडफोड र आगजनीमा उत्रिएपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगायो। तर, कर्फ्युकै बीच पनि हिंसा भड्काउने प्रयास भए। विभिन्न व्यक्ति र समूहले एसएमएसबाट समेत साम्प्रदायिक सद्भाव भड्काउने र हिंसा फैलाउने प्रयास गरे। जानेर वा नजानेर त्यो पंक्तिमा केही नाम चलेकै 'अधिकारकर्मी' समेत मुछिए।
प्रहरीसँगको झ्डपमा मारिएका ३४ वर्षीय गुल्जार खानको मृत्युलाई अतिरञ्जित गरेर देशभर 'प्रहरीले १० वर्षे मधेशी बालकलाई गोली हानेर मार्यो' भन्ने एसएमएस पठाइयो। साम्प्रदायिक सद्भाव विथोलेर हिंसा भड्काउने उद्देश्यले एक वर्षअघि ११ पुस २०६३ मा साम्प्रदायिक दङ्गाको रुप दिन 'सीडी–काण्ड' नै रचिएको थियो। त्यही सीडीले अन्ततः नेपालगञ्जमा मात्र नभएर पूर्वी र मध्य तराईमा समेत हिंसा फैलाउन मद्दत पुर्याएको थियो। त्यो सीडी बनाउने र त्यसको प्रचारप्रसार गर्ने काममा केही 'अधिकारकर्मी' र माओवादी समेत लागेका थिएभने अहिले हिंसा भड्काउने प्रयास पनि त्यस्तै प्रकृतिको छ। पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालेका मानवअधिकारकर्मी भोला महत भन्छन्, “विभिन्न समुदायको संवेदनासँग खेल्दै दङ्गा भड्काउने प्रयास भइरहेको छ।”
बढ्दैछ साम्प्रदायिक द्वेष
मधेशमा शुरु भएको आन्दोलन आन्दोलनकारीहरूकै शब्दमा 'मधेशको अधिकार र मुक्ति'का लागि हो। 'एक मधेश एक प्रदेश'को नारासहित आन्दोलनको अगुवाई गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तराईमा आन्दोलन र काठमाडौंमा वार्ता एकसाथ गरिरहेको छ। तर, त्यही आन्दोलन पश्चिम तराईमा एकदमै भिन्न छ। फागुनको शुरुदेखि नेपालगञ्जका घटनाक्रम र त्यसले विभिन्न समुदायमा पारेको असरले देखाउँछ, आन्दोलनले साम्प्रदायिक रूप लिन थालेको छ। आन्दोलनमा अधिकारको पक्षमा भन्दा पनि समुदाय विरोधी नारा लागेको छ। आन्दोलनकारीमध्येबाटै साम्प्रदायिक नारा लाग्न थालेको छ। फलतः फरक फरक समुदाय र एउटै समुदायका फरक फरक समूहका मानिसहरूबीच अविश्वास र आशङ्का बढ्दो छ।
नेपालगञ्जमा मधेशी समुदायको बाहुल्य भएको क्षेत्रमा पहाडी र पहाडी समुदायको बसोबास भएका ठाउँमा मधेशीहरू जान सशङ्कित हुन थालेका छन्। शहरदेखि क्रमशः गाउँ पुग्न थालेको आन्दोलनमा प्रस्ट रूपमा साम्प्रदायिक द्वेष देखिएको छ। बाँके काङ्ग्रेसका सभापति कृष्णमान श्रेष्ठ गाउँगाउँमा मधेशी–पहाडीको सद्भाव भाँड्ने काम भइरहेको बताउँदै भन्छन्, “सामाजिक सद्भाव र संरचना नै ध्वस्त बनाउने षड्यन्त्र भइरहेको छ।”
एसएमएसबाट हिंसा फैलाउन खोज्ने समूहले शहरदेखि गाउँसम्म साम्प्रदायिक द्वेष फैलाउने काम गरेका छन्। धेरै भीड जम्मा गर्न आन्दोलनका आयोजकहरू त्यस्तै व्यक्ति र समूहलाई प्रश्रय दिन्छन्। प्रहरी प्रशासन मूकदर्शक छ। तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सत्यवती कुर्मी साम्प्रदायिक द्वेष बढ्नुमा राज्य दोषी रहेको आरोप लगाउँदै भन्छिन्, “संस्थापनले नै मधेशी–पहाडीबीच द्वेष बढाउने काम गरेको छ।”
नेपाल–भारत सीमा नजिकैको जयसपुर गाउँमा ८ फागुनमा भएको प्रहरी–आन्दोलनकारी झ्डपलाई अतिरञ्जित गरेर हिंसाको अर्को बीउ रोप्ने प्रयास गरियो। प्रहरीले मस्जिदमा ताकेर गोली चलाएको, घरघरमा पसेर मधेशी महिलामाथि दुर्व्यवहार गरेको, मधेशीलाई खोजीखोजी दमन गरेको जस्ता हल्ला फैलाएर केही अधिकारकर्मीले नै स्थितिलाई उत्तेजित बनाउने प्रयत्न गरे। त्यस्ता हल्ला चिर्न र आपसी सद्भाव जोगाइराख्न नागरिक अगुवाहरूले ठूलै पहल गर्नु पर्यो। शान्ति र सद्भावका लागि गठित नागरिक समितिका संयोजक सतिशचन्द्र अग्रवाल भन्छन्, “आन्दोलनकारी र प्रशासन कोही संयमित छैन, दुवै हिंसा भड्काउन सक्रिय देखिन्छन्।”
आन्दोलनमा देखिएको अराजक समूहको घुसपैठ पनि साम्प्रदायिक द्वेष बढाएर हिंसा भड्काउने षडयन्त्रको अर्को कडी बनेको छ। ५ फागुनको प्रदर्शन र झ्डपमा सहभागी धेरै मानिसले अनुहारमा सेतो पोतेका र नकाब लगाएका थिए।
आन्दोलनकारीहरूबाट हतियारको प्रयोग र सरकारी कार्यालयभित्रै छिरेर आगजनी गर्ने काम समेत भए। आन्दोलनकारीबाट प्रहरीमाथि गोली चलाइएको र त्यसमा प्रयोग भएको पेस्तोल बरामद भएको प्रहरीको दाबी छ। अनुहारमा सेतो पोतेका केही पक्राउ परेपनि उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन।
मोर्चाका बाँके प्रवक्ता तथा मधेशी जनअधिकार फोरमका जिल्ला अध्यक्ष सर्वदेव ओझा घुमाउरो भाषामा आन्दोलनमा अराजक समूहको घुसपैठ भएको स्वीकार्दै भन्छन्, “घुसपैठ छ भने तिनलाई समातेर कारबाही गर्न प्रशासनले किन सकेन?” तर, अपरिचित र संदिग्ध मानिसहरू देख्दादेख्दै पनि मोर्चाले उनीहरू आफ्ना कार्यकर्ता नभएको प्रस्ट पार्न आवश्यक ठानेको छैन। प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा घुसपैठ भएको थाहा पाएरै प्रशासनले ५ फागुनको जुलुसमा हस्तक्षेप गरेको बताउँदै भन्छन्, “हामीले समयमा एक्सन नलिएको भए ठूलो दुर्घटना हुनसक्थ्यो।”
प्रहरी–प्रशासनबाट पनि स्थितिलाई उत्तेजक बनाउने काम भएका छन्। एकाएक उत्तेजित बन्ने, आवेशमा आएर अत्यधिक बल प्रयोग गर्ने र दमन गर्ने प्रहरीको रवैयाबाट त्यसको पुष्टि हुन्छ। ९ फागुनमा नेपालगन्जको बीपीचोकमा यात्रुबस तोडफोड भइरहँदा मूकदर्शक बनेको प्रहरी त्यसको केही बेरपछि सडकमा हिँडिरहेका बटुवामाथि अनाहकमा खनियो। जनमोर्चा केन्द्रीय सदस्य आइपी खरेल प्रहरी प्रशासनभित्रकै कतिपय मानिसहरू स्थितिलाई उत्तेजित बनाउन उद्यत रहेको, प्रशासनबाटै मान्छेको रंग हेर्ने र आन्दोलनकारीलाई आक्रोशित बनाउने काम भएको बताउँछन्। घटनाक्रमलाई अनुगमन गरिरहेको राष्ट्रिय मानवअधिकार आयोगका मध्यपश्चिम क्षेत्रीय निर्देशक वेदप्रसाद भट्टराई भन्छन्, “आन्दोलनकारी मात्रै होइन, प्रहरीमा पनि घुसपैठ छ। प्रशासनबाटै स्थिति उत्तेजक बनाउने काम भएको छ।”
सीमापारिको सहानुभूति बटुल्ने प्रयास
संयुक्त मधेशी मोर्चाका नेता–कार्यकर्ता १२ फागुनमा सीमावर्ती भारतीय बजार रुपैडियाबाट 'नेपाल सरकार मुर्दावाद'को नारा लगाउँदै जुलुस निकालेर नेपालगञ्ज छिरे। त्यसअघि उनीहरूले भारतीय बजारमै लामो बैठक गरेका थिए। अघिल्लो दिन साँझ् मोर्चाका केही नेता भारतीय प्रहरीसँग शरण माग्न पुगेका थिए। तिनले नेपाल सरकारले आफूहरूलाई लखेटेको भन्दै भारतीय भूमिमा शरणार्थीको दर्जा माग गरेका थिए। एक भारतीय प्रहरी अधिकारी भन्छन्, “हामीलाई नेपालबाट लखेटियो, शरण दिनुस्, यहीँबाट आन्दोलनको तयारी गर्छौं भन्दैथिए।” रुपैडियाका पत्रकार सन्तोष शुक्लाले २५ जना नेता 'यहीँ बस्छौं र आन्दोलनको तयारी गर्छौं' भन्दै शरण माग्न आएको बताए।
संयोगवश सोही दिन रुपैडिया आएका बहराइच जिल्लाका डीएम र बहराइच प्रहरी एसपीले नेपाली सुरक्षा अधिकारीहरूसँग सम्पर्क गरी यथार्थ त्यस्तो नभएको जानकारी पाएपछि उनीहरूलाई शरणार्थीको मान्यता दिन अस्वीकार गरेका थिए। मोर्चाका नेताहरूले आफूलाई नेपालमा शरणार्थी बनाई लखेटिएको बताएर भारतमा नेपालको हालत बिग्रेको देखाउने र भारतीयको सहानुभूति बटुल्ने प्रयास गरेपनि त्यो सफल हुन सकेन।
भारतीय हिन्दू अतिवादी सङ्गठन शिव सेनाले ११ फागुनमै मधेश आन्दोलनमा ऐक्यबद्धता जनाएको थियो। सोही दिन मोर्चाका नेताहरू भारतीय भूमिमा शरण माग्न जानु र भोलिपल्ट त्यहीँ लामो बैठक गरेर जुलुससमेत निकाल्नु संयोग मात्र नहुन सक्छ।
|