हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट आजका महिला
 
पहिचान बनाउँदै

आजका नेपाली महिला घरदैलो बाहिर हरेक क्षेत्रमा नेतृत्व प्रदान गर्न सक्षम देखिएका छन्।
 
डम्बरकृष्ण श्रेष्ठ


तस्बिरहरूः किरण पाण्डे
शैलजा श्रेष्ठ। 'पुरुषभन्दा के कम छु र?' भनेरै नेपाली सेनाकी उप–सेनानी बनेकी श्रेष्ठ परिआए लडाइँको मैदानमा होमिन तयार छिन्। 

'अर्काको घर जाने जात, छोरीलाई पढाएर के गर्नु?', 'छोरीको काम घर–धन्दा, चुल्हो–चौका र बच्चा स्याहार्ने हो', 'पैसा कमाउने काम पुरुषको हो' महिलाप्रतिको यस्ता नकारात्मक धारणा नेपाली समाजमा अझै व्याप्त छ। तर पुरातन मान्यतालाई चुनौती दिँदै परिवार र समाजमा आफ्नो बेग्लै र स्वतन्त्र पहिचान बनाउने महिलाहरूको सङ्ख्या पछिल्लो समय निकै बढेको छ। जसले महिलाप्रतिको परम्परावादी धारणा परिवर्तन गर्न समाजलाई बाध्य बनाउँदैछ

ज्ञानेश्वर, काठमाडौँकी शैलजा श्रेष्ठ (२६) लाई आत्मनिर्भर भई समाजमा केही गरेर देखाउने सानैदेखि इच्छा थियो। त्यही सोचलाई साकार पार्न उनले दश जोड दुई सक्ने वित्तिकै पढाउन थालिन्। निर्भिक एवं निडर स्वभावकी शैलजा सेनामा भर्ती हुन चाहन्थिन्। गैर–प्राविधिक क्षेत्रमा समेत महिलालाई भर्ना खुला गरिने वित्तिकै तीन वर्षअघि उनी सैनिक सेवामा प्रवेश गरिन्। उनी नेपाली सेनामा रहेका १ हजार ३ सय ५४ महिला सैनिकमध्येकी एक हुन्। उप–सेनानी शैलजा भन्छिन्, “समय परिवर्तन भइसक्यो, महिलाले गर्न नसक्ने काम केही छै्रन, हरेकले आफ्नो क्षमता र प्रतिभालाई चिनेर आत्मनिर्भर बन्नतिर लाग्नुपर्छ।” सेनाको कडा अनुशासनमा बन्दुकसँग अभ्यस्त हुँदै उनी रमाइरहेकी छिन्, उनको कमाइ, पहिचान र प्रतिष्ठा पनि कम छैन। 


महेश्वरी डङ्गोल। विद्यालय पढ्दै पाइलट बन्ने सपना देखेकी डङ्गोल अहिले यती एयरको हवाईजहाज उडाइरहेकी छिन्।

नेपाली महिलाले हवाईजहाज उडाउन थालेको धेरै भइसकेको छ। तर पछिल्लो समय पाइलट बन्ने होडमा निकै महिला छन्। धर्मस्थली, काठमाडौँकी महेश्वरी डङ्गोल (२२) ले फिलिपिन्समा १४ महिने पाइलट कोर्स सकेर फर्केलगत्तै यती एयरलाइन्समा काम पाइन्। हाल कार्यरत १५ नेपाली महिला पाइलटमध्येकी एक हुन् महेश्वरी। धर्मस्थली गाविसको पहिलो पाइलटको रूपमा उनको सामाजिक प्रतिष्ठा र नाम पनि छ। सानैदेखिको सपना पूरा भएकोमा प्रसन्न हुँदै उनले भनिन्, “चाहना र लगन भए महिलाले जुनसुकै काम गर्न सक्छन्।” घर नै धितो राखेर छोरीलाई पाइलट पढ्न पठाउने महेश्वरीका बुबा गणेशबहादुर डङ्गोल छोरीको प्रगतिमा दङ्ग छन्। उनले भने, “छोरी पाइलट भएपछि समाजमा मेरो इज्जत र सम्मान बढेको छ।”

युवा पुस्तामा 'पकेट–मनी'का लागि पनि काम गर्ने क्रम बढ्दो छ। सम्पन्न परिवारका छोरी–बुहारीहरू पनि घर–दैलो बाहिर निस्केर आफ्नो क्षमता अनुसारको काम गरिरहेका छन्।

आफ्नै कमाइको आनन्द


स्नेहा राणा। सम्पन्न परिवारकी राणालाई जीविकाका लागि काम गरेर दाम कमाउनु जरुरी छैन। तर, उनी 'मेकअप आर्टिष्ट'का रुपमा मुम्बईका 'फेशन विक' सम्म पुगेकी छिन्।

स्नेहा राणा (३६) लाई पैसाको लागि जागिरको आवश्यकता छैन। श्रीमान उपेन्द्र राणाले हस्तकलाको व्यापारबाट मनग्ये कमाएकै छन्, पुर्ख्यौली सम्पत्ति पनि प्रशस्तै छ। तर, ५ वर्षदेखि उनी मेकअप आर्टिष्टका रूपमा झ्म्सिखेलको आफ्नै मेकअप स्टुडियोबाट नेपालका मध्यम र उच्च घरानादेखि भारतका ग्राहकसम्म छाएकी छिन्। भारतको मुम्बईमा हुने लेक्मी फेशन विक मा काम गर्न दुईपटक पुगेकी उनको लक्ष्य मिलान फेशन विक पेरिससम्मको छ। सम्पन्न राणा परिवारकी बुहारी स्नेहा भन्छिन्, “आत्मसन्तुष्टिका लागि काम गरिरहेकी छु, तर काम गरेपछि पैसा अवश्य पाइन्छ।” केही अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनका विज्ञापनमा समेत काम गरिसकेकी स्नेहाको रुचि कलाकारितामा पनि उत्तिकै छ। पियानो बजाउन र नाटकमा अभिनय गर्न रुचाउने गीत पनि रेकर्ड गरेकी छिन्। भन्छिन्, “घरबाहिर हामी धेरै गर्न सक्छौँ।” 


अनुपमा खुजेली। नविल ब्याङ्कको हेड अफ ट्रेजरीको रुपमा कार्यरत खुजेलीको धेरै समय विश्व बजारको आर्थिक उतारचढावको अध्ययन गरी नयाँ नीति तय गर्नमै बित्छ।

विभिन्न पेशा र व्यवसायमा पौरखी महिलाहरूको पहिचान स्थापित हुन थालेको छ। ललितपुरकी अनुपमा खुजेली (३८) पनि के  कम? १६ वर्षअघि तत्कालीन ग्रीनलेज ब्याङ्कको साधारण ट्रेलरबाट शुरु गरेको कामले उनलाई नेविल ब्याङ्कको 'हेड अफ ट्रेजरी'सम्म पुर्‍याएको छ। नेपालको ब्याङ्किङ क्षेत्रमा कार्यरत झ्ण्डै ४ हजार महिलामध्येकी एक हुन् अनुपमा। उनी ब्याङ्कका २७ शाखामा आफ्नो विभाग अन्तर्गतको काम हेर्नेदेखि विश्वबजारको आर्थिक उतारचढावको अध्ययन गरेर नयाँ नीति बनाउने सम्ममा व्यस्त छिन्। राणा परिवारकै छोरी अनुपमाका श्रीमान् रवीन्द्र सेनामा डाक्टर छन्। आर्थिक रूपमा सम्पन्न भएपनि बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म काममै हुन्छिन् अनुपमा, कुनैबेला घर फर्कंदा रातको १२ पनि बज्छ। “घरको सम्पत्ति र श्रीमानको कमाइ जति भएपनि आफैँले कमाएको खर्च गर्दा आनन्द आउँछ”, अनुपमा भन्छिन्, “१३ वर्षकी छोरीले पनि आत्मनिर्भर बन्ने सोच राख्न थालिसकी।” 

लिपिष्टिक किन्ने पैसा पनि के श्रीमानसँग माग्नु भनेर काम गर्ने सोचाइ बनाएकी सिर्जना प्रसाईं कोइराला (३१) कोरियन एयरलाइन्सको नेपाल एजेण्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्सको निर्देशकको पक्षमा छिन्। श्रीमान अमित कोइराला अमेरिकन एक्सप्रेसका नेपाल प्रतिनिधिका रूपमा कार्यरत छन्। विद्यालय सञ्चालन गर्दै आएकी आमा ललिता प्रसाईंबाट प्रभावित सिर्जनाले पहिलो खुट्किलाको रूपमा शिक्षण पेशालाई रोजेकी थिइन्। 


डा. अनिता ढुङ्गेल। १७ वर्षमै बिहे गरेर छोरा हुर्किसकेपछि अङ्ग्रेजी साहित्यमा पीएचडी गरेकी डा. ढुङ्गेल त्रिविविसहित अन्य कलेजमा पनि प्राध्यापन गर्छिन्। 

पढे–लेखेका धेरै महिलालाई के काम गर्नुहुन्छ भनेर सोध्यो भने धेरैको जवाफ गृहिणी भन्ने हुन्छ। हो, पढेलेखेका धेरै महिलाहरू अझै पनि गृहिणीमा नै सीमित छन्। तर ७ वर्षअघि बङ्गलादेशबाट दन्तचिकित्सामा स्नातक गरेपछि सुनाकोठी, ललितपुरकी प्रविज्ञा सिवाकोटी (३१) लाई गृहिणीमा सीमित हुन मन लागेन। आफ्नै कमाइले कमलादीमा डेण्टल क्लिनिक खोलिन्। श्रीमान शिवेन्द्र पात्रवंश आर्किटेक्ट र सासू त्रिचन्द्र कलेजमा प्राध्यापन पेशामा रहेकाले उनलाई घर बाहिर निस्कन असहज लागेन। २,५५० नेपाली महिला डाक्टरमध्येकी एक प्रविज्ञा गर्वसाथ भन्छिन्, “कमाउँदा निर्णय पनि आफैँ गर्न सकिने रहेछ, म नयाँ व्यवसाय शुरु गर्ने या गाडी किन्ने निर्णय आफैँ गर्न सक्छु, कसैसँग माग्नुपर्दैन।” परम्परागत सामाजिक हेराइप्रति उनी तिक्तता व्यक्त गर्छिन्। भन्छिन्, “बुहारी घरैमा बसिदेओस् भन्ने सासू–ससुरा र श्रीमतीले काम गरेको मन नपराउने श्रीमानहरू हाम्रो समाजमा अझै छन्।”

ताप्लेजुङमा जन्मेकी लाहुरेकी छोरी पवित्रा लिम्बू (३९) लाई विद्यालय पढ्दा नै बाबुसँग पकेट खर्च माग्न नपरे हुन्थ्यो भन्ने लाग्थ्यो। आफ्नै खुट्टामा उभिएर अरूलाई पनि सहयोग गर्न पाए 'जिन्दगी गजबै हुन्थ्यो' भन्ने सोचकी पवित्राको चाहना आज पूरा भएको छ। १६ वर्षमै बसन्त थापासँग विवाह गरेकी पवित्रा श्रीमानसँगै शिक्षा क्षेत्रमा लागिन्। उनी अहिले राजधानीका एभ्रल एकेडेमी, मण्टेश्वरी किण्डर वर्ल्ड, मण्टेश्वरी फूलबारी, नेपाल मण्टेश्वरी ट्रेडिङ सेण्टरलगायतका आधा दर्जन संस्थाको निर्देशक तथा नेपाल इङ्गलिस टिचर एसोसिएसनको प्रशिक्षकका रूपमा क्रियाशील छिन्। उनले आफ्ना शैक्षिक संस्थामार्फत २०० जनालाई रोजगारी दिएकी छिन्। अन्तर्राष्ट्रिय शिक्षक प्रशिक्षक भएर सिङ्गापुरको मदरटङ प्रोजेक्टको निर्देशकका रूपमा तीन वर्ष काम गरिसकेकी पवित्राले नेपाल फर्केर दुई वर्ष अमेरिकन पिसकोरको शिक्षण विभागको निर्देशकको कार्यभार पनि सम्हालिन्। हङकङ, सिङ्गापुर, बेलायतमा काम र दामको अवसर छाडेर नेपालमै रमाइरहेेकी गोदावरी, ललितपुरकी पवित्रा भन्छिन्, “विदेशमा बसेको भए पैसा हुन्थ्यो तर, आत्मसन्तुष्टि हुने थिएन।”


पवित्र लिम्बू। हङकङ, बेलायत, सिंगापुरका राम्रा अवसर छाडेर लिम्बू नेपालमै मण्टेश्वरी किण्डर वर्ल्डसहित आधादर्जन शैक्षिक संस्थामा क्रियाशील छिन्।

हजुरआमा र हजुरबाको दबाबमा १७ वर्षमै विवाह गरेकी अनिता ढुङ्गेल (५०) १२ वर्षसम्म गृहिणीका रूपमा घरभित्रै बसिन्। तर मनमा केही गर्ने तीब्र चाहना र पहल भएपछि केले रोक्न सक्छ र? दुई छोरा हुर्काएपछि फेरि पढ्न थालेकी अनिताले आफ्ना समकालीनलाई चकित बनाउँदै अङ्ग्रेजी साहित्यमा विद्यावारिधि गरिन्। अहिले त्रिभुवन विश्वविद्यालय र अन्य केही क्याम्पसमा अध्यापनमा व्यस्त डा. अनिताका श्रीमान डा. सञ्जीव ढुङ्गेल नेपाल मेडिकल कलेजको मेडिसिन विभागमा कार्यरत छन्। अनिता भन्छिन्, “श्रीमानले घरबाहिर निस्कन कुनै अवरोध गर्नुभएन बरु पढ्न प्रोत्साहित गर्नुभयो।” घर बाहिरको कामले सोच्ने क्षमता बढ्ने र आर्थिक आर्जन गरेपछि महिलालाई हेर्ने दृष्टिकोण पनि बदलिने उनको ठम्याइ छ। भन्छिन्, “समाजमा आफ्नो छाप छोड्न कृति नै लेख्नुपर्छ भन्ने छैन।” शिक्षण पेशामा आवद्ध पवित्रा र अनिता देशभरका करिब ५० हजार महिला शिक्षकमध्येका हुन्।

बढ्दैछ चेतना 


डा. प्रविज्ञा सिवाकोटी। गृहिणी बनेर बसी–बसी खान नपरोस् भनेर आत्मनिर्भर बनेकी डा. सिवाकोटीले आफैं डेण्टल क्लिनिक सञ्चालन गरिरहेकी छिन्।

राजनीति, कानून, उद्योग, राष्ट्रिय र अन्तर्राष्ट्रिय सरकारी गैरसरकारी संस्थाहरूको उच्च तहमा पनि महिला सहभागिता बढ्दो छ। अनेकौँ पेशा–व्यवसाय र सरकारी निजी कार्यालय, उद्योगहरूमा साधारण कर्मचारीदेखि उच्च तहसम्म महिला कार्यरत छन्। वैदेशिक रोजगारीमा समेत महिलाले आफ्नो आर्थिक हैसियत, पहिचान र इज्जत बढाएका छन्। भारत बाहेक अन्य मुलुकमा वैदेशिक रोजगारीमा रहेका करिब १५ लाख नेपालीमध्ये ११ प्रतिशत महिला छन्। पुरुषहरू विदेसिँदा सम्पत्ति र स्वामित्वमा महिलाको पहँुच बढेको मात्र छैन, ग्रामीण भेगका स–साना उद्योग व्यवसायमा समेत महिला संलग्नता बढेको छ। सामाजिक जागरणले महिलाप्रतिको विभेद कम हुँदै गएपनि, त्यसको अन्त्य भने भइसकेको छैन। तर, महिलामा केही गरेर देखाउने र स्वतन्त्र बन्ने भावना बढ्दो छ। 


सिर्जना प्रसाई कोइराला। 'आत्मनिर्भर बने महिलालाई कसैले हेप्न सक्दैन' भन्ने प्रसाई अहिले कोरियन एयरलाइन्सको नेपाल एजेण्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्सको निर्देशक छिन्।

महिलालाई हेर्ने परम्परागत धारणामा आमूल परिवर्तन हुनुपर्ने अनुपमाको ठहर छ। उनको विचारमा महिलालाई निर्णायक तहमा पुर्‍याएर मात्र पुग्दैन पुरुषसरह शिक्षा र सम्पत्तिमा पहुँच दिएर भेदभावको अन्त्य गरिनुपर्छ। आत्मनिर्भरताले महिलाहरूको आत्मविश्वास बढ्ने सिर्जनाको ठम्याइ छ। उनी भन्छिन्, “आत्मनिर्भर हुन नसक्दा धेरै महिला श्रीमानको यातना खपेर बस्न बाध्य छन्।”

पवित्रा चाहिँ आफ्नो सफलतामा बाबुआमाकै हात रहेको बताउँछिन। भन्छिन्, “मेरो घरमा छोराछोरीमा कुनै विभेद थिएन, छोरीलाई पनि पढाउनुपर्छ भन्ने बुबाको मान्यता थियो अरू धेरै बुबाहरूले यसबाट सिक्नुपर्छ।” डा. प्रविज्ञाको बुझाइमा श्रीमानको कमाइले पनि मीठो खान र राम्रो लाउन त पुग्छ तर घरमा सीमित हुँदा आफ्नो व्यक्तिगत विकास हुँदैन र आफ्नै कमाइले दिने आत्मसन्तुष्टि पनि पाइँदैन। हवाईजहाज उडाउने क्रममा कर्णालीका विकट क्षेत्रको समेत अवलोकन गरेकी महेश्वरी शिक्षा र विकास गाउँ–गाउँसम्म पुर्‍याउन सके दुर्गम क्षेत्रका महिलाका लागि पनि आत्मनिर्भरताको बाटो खुल्ने बताउँछिन्। 

उप–सेनानी शैलजा गाउँका महिलालाई पनि घरधन्दामा मात्रै सीमित राख्नुको साटो आयआर्जन र सीपमूलक काममा संलग्न हुने मौका प्रदान गर्नुपर्ने बताउँछिन्। विस्तारै महिलाको जीवनस्तरमा सुधार आउनेमा उनी आशावादी छिन्। उनको बुझाइमा शहरकै पढेलेखेका अधिकांश श्रीमान र सासू–ससुरा छोरीले केही गरोस् तर बुहारी घरभित्रै सीमित होस् भन्ने चाहन्छन्। डा. अनिता चाहिँ पढेका बुहारीलाई घरैमा सीमित राख्ने पुस्ता बूढो भइसकेको ठान्छिन्। भन्छिन्, “अबका सासूको भूमिकामा हामी जस्ता पढेलेखेका पनि आइसकेका छौँ। हामी जस्ता सासूको सङ्ख्या बढ्दै जाँदा परम्परावादी सोच घट्दै गइहाल्छ।” आत्मनिर्भर बन्ने बढ्दो चाहनाका कारण अहिलेका केटाहरूले कामकाजी केटी नै बिहे गर्न खोज्ने र केटीले पनि आफू आत्मनिर्भर बन्ने र आफूलाई बुझन सक्ने श्रीमान खोज्ने गरेको उनी बताउँछिन्।