![]() |
| पूर्णाङ्क २१३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
रमझम
दुई महिनाअघि निस्केको भुपेन्द्र खड्काको शब्द र विजु बज्रको सङ्गीतको शीर्षगीत रहेको अल्बम मै ठूली भैछु'रे! ले रेश्मालाई दर्शक–श्रोताको मनमा बसाएको हो। २०५६ सालमा गाउन थालेकी रेश्मा पाँच वर्षअघिको पहिलो अल्बम रेश्मा बाट चाहेजस्तो सफलता नपाएपछि केही समय निराश पनि भएकी थिइन्। उनी भन्छिन्, “अहिलेको अल्बम पनि नचलेको भए शायद गाउनै छाडिदिन्थें।” गायनप्रति केही आशा जागेपनि यही क्षेत्रमा लागेर जीवन चल्छ भन्नेमा चाहिँ उनी ढुक्क छैनन्। उनले भनिन्, “देशको अवस्थामा सुधार आए केही होला, नत्र भविष्य देख्दिनँ।” समाजशास्त्रमा स्नातकोत्तर पनि गरिरहेकी रेश्मालाई गायिकाको रूपमा मान्छेले चिन्न थालेपछि आफू साँच्चै ठूली भएछु भन्ने लागेको छ। गीतमा 'आइदेऊ घुम्टो ओडाइदेऊ' भने पनि वास्तविक जीवनमा रेश्माले सानैमा घुम्टो ओढिसकेकी रहिछन्। उनले भनिन् “नौ कक्षा पढ्दै लभ पर्यो र घुम्टो ओढिहालेँ, अब कसैले त्यस्तो हिसाबले मन पराओस् भन्ने छैन, श्रोताको माया पाए पुग्छ।” सुरका मिस्त्री
पाटन कृष्णमन्दिर पछाडिको एउटा साँघुरो गल्लीको छिँडीमा साठी वर्षदेखि बेसुरा हार्मोनियममा सुर भर्न व्यस्त छन्― ७६ वर्षीय मोहनलाल बाराही। बाबु जीतबहादुरको पेशालाई निरन्तरता दिएका मोहनलालकहाँ हार्मोनियम बनाउन प्रायः भजनमण्डलीका मानिसहरू आउने गर्दछन्। नेेपालका थोरै हार्माेनियम मिस्त्रीमध्ये एक उनी नयाँ बाजा
आविष्कारक र नामी शास्त्रीय गायक पनि हुन्। उता सुर मिस्त्री तथा सङ्गीतज्ञ स्वर्गीय माइला तण्डुकार (हार्माेनियम माइला)का छोरा जी एल तण्डुकार पनि काठमाडौँ, खिचापोखरीस्थित पुरानो हार्माेनियम म्युजिकल्समा बाबुको विरासत थामिरहेका छन्। बाजाहरूको उत्पादन, वितरण र संरक्षणमा लागेका उनका बाबु राणाकालीन समयका उस्तादहरू नन्दलाल जोशी, बाला प्रसाद, रामबहादुर तण्डुकार, झ्ुमकलाल मिश्र, यज्ञराज शर्मा, गणेशलालले रुचाएका हार्मोनियम ट्युनर थिए। असन, न्हैकन्तलामा हरेराम साह, रुपनारायण साह, सीताराम साह, तेजनारायण साह र बालकृष्ण साहले हार्मोनियमको 'वर्क–शप' चलाएका छन्। हार्माेनियम मिस्त्री ठाका साहका पाँच भाइ छोरामध्ये अलि बढी चिनिएका हरेराम आफ्नै नाममा हरेराम म्युजिक सेन्टर र रुपनारायणसहित अन्य चार भाइ चाहिँ बाबुले स्थापना गरेको कृष्ण म्युजिक इम्पोरियमलाई नै चलाइरहेका छन्।
वर्षको एक हजार हार्माेनियममा सुर भर्ने नौ कक्षासम्म पढेका हरेरामले आफ्नो सीपलाई मर्मतमा मात्र सीमित नराखी शास्त्रीय सङ्गीतको साधनामा पनि ढालेका छन्। मञ्चमा चढेर शास्त्रीय सङ्गीतको एकल प्रस्तुति गर्ने धोको राखेका उनीकहाँ अम्बर गुरुङ, होमनाथ उपाध्याय, नातिकाजी, नारायण गोपाल, गोपाल योञ्जनहरू आउँथे। ०५४ सालसम्म महिनामा मुश्किलले एकदर्जन हार्मोनियम मर्मत हुने कृष्ण म्युजिक इम्पोरियममा अहिले झ्ण्डै ५० वटा पुग्छन्। शास्त्रीय सङ्गीतमा रुचि बढ्दै गएको, सङ्गीत बजार र पाठशालाहरूको वृद्धि भएको तथा सबैजसो विद्यालयमा सङ्गीत कक्षा सञ्चालन हुनथालेकोले अहिले हार्मोनियम मर्मत फस्टाएको हो। राजधानीका झ्ण्डै १०–१२ जना सुर मिस्त्रीहरू हार्माेनियम मर्मत गरेरै राम्रोसँग जीविका चलाइरहेका छन्। रुपनारायण भन्छन्, “पैसाभन्दा पनि देशभरका सङ्गीतकर्मीले चिनेका छन्, खोज्दै आउँदा खुशी लाग्छ।” नेपालमा पाइने रु.२५ सयदेखि रु.२६ हजारसम्मका हार्मोनियम मर्मत गर्ने सुर मिस्त्रीहरू ज्याला चाहिँ काम हेरेर रु.१०० देखि रु.२५ सयसम्म लिन्छन्। नियमित कमाइ दैनिक कम्तीमा रु.५०० र मासिक रु.२५ देखि रु.३५ हजार हुन्छ। चनाखो भएर वाद्यवादन र शास्त्रीय गायनलाई नियालिरहेका सुर मिस्त्रीहरू पछिल्लो समय सुगम सङ्गीतको सङ्ख्या बढे पनि गुणस्तर कम भएको तथा गहन सङ्गीतको मर्म घट्दै गएको अनुभव सुनाउँछन््। • अनमोलमणि रुसीहरुका आँखामा नेपाल
मस्कोबाट नताल्या जाइत्सेभा–बोरिसोभा र सुरेन आइभाज्यानको नेतृत्वमा नेपालको तीनहप्ते भ्रमणमा आएको १० जना प्रशिक्षार्थी रूसी कलाकारको टोली काठमाडौँ, पाटन, भक्तपुर, धुलिखेल र पोखराका चित्र कोरेर तथा देशको जनजीवन र परिस्थितिबारे धेरै कुरा बुझ्ेर फर्केका छन्। नताल्या र सुरेनले नेपालमा बनाएका केही चित्रहरूको प्रदर्शनी पनि गरे, जुन काठमाडौँको कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा १९ फागुनसम्म रहनेछ। अर्मेनियाली मूलका सुरेन आफ्नो नाम नेपालीसँग मिल्दोजुल्दो भएकोमा मख्ख छन्। उनलाई चित्र बनाउँदा नेपालको पहाड, प्रकृति, आकाश र घमाइलो मौसमले बहुतै प्रभावित बनाएछ। नेपाली जनता पनि निक्कै मन परे रे। भन्छन्, “तीन हप्ताको समय पनि पुगेन, फेरि आउन मन लागेको छ।” यति रमाइलो मुलुक र मैत्रीपूर्ण मानिसहरू भएका ठाउँमा घरिघरि विरोध प्रदर्शन, ट्राफिक जामहरू देख्दा चाहिँ उनलाई आश्चर्य पनि लागेछ। दुई वर्षअघि नेपालमै लामो समय बसेर चित्र बनाएकी र नेपाल–रूस दौत्य सम्बन्ध स्थापनाको स्वर्ण वार्षिकोत्सवमा काठमाडौँमा प्रदर्शनी समेत गरेकी नताल्या किन घरिघरि नेपाल आउन मन गर्छिन्? उनलाई नेपाल, यहाँको प्रकृति, हिमालय, मठमन्दिर, विभिन्न धर्म–संस्कृतिको सहअस्तित्वबाट ठूलो आत्मिक सन्तुष्टि मिल्छ। ट्राफिक जाम, तेलको अभाव, लोडसेडिङ र अस्थिर वातावरणले चाहिँ सुरेनलाई जस्तै नताल्या र उनका प्रशिक्षार्थीहरूलाई पनि पिरोलेछ। तर सबैले यसलाई पनि रमाइलै मानेर झ्ेलेको उनी सुनाउँछिन्। • बद्री पौड्याल चलचित्रको चाड हलिउड र बलिउडमा एकैसाथ छाएको 'ओस्कर' र 'फिल्म फेयर अवार्ड'को सरगर्मी भर्खरै सकिएको छ।
चलचित्र क्षेत्रमा विश्वकै सर्वोत्कृष्ट मानिने ओस्करको ८० औं संस्करण अमेरिकाको लस एन्जल्समा र भारतीय चलचित्रजगतमा ठूलोमहत्व राख्ने फिल्म फेयर अवार्डको ५३ औं संस्करण मुम्बईमा यसै साता सम्पन्न भयो। यस पटकको फिल्म फेयर अवार्डमा तारे जमीन पर ले पाँच वटा पुरस्कार पाएर वर्षकै सर्वोत्कृष्ट भारतीय चलचित्रको उपाधि पायो। उता, हलिउडमा भने नो कण्ट्री फर ओल्ड मेन चार विधामा सर्वश्रेष्ठ हुन पुग्यो। बाल–मनोविज्ञानमा आधारित तारे जमीन पर का निर्देशक अमिर खान पनि सर्वश्रेष्ठ निर्देशक घोषित भए, यद्यपि उनी पहिले झै पुरस्कार लिन समारोहमा उपस्थित भएनन्। सर्वोत्कृष्ट निर्देशकका लागि 'क्रिटिक्स अवार्ड' चाहिँ चक दे इण्डिया का शमित अमिनले पाएका थिए। भारतीय चलचित्र इतिहासमै पहिलो पटक तारे जमीन पर मा मुख्य भूमिका निर्बाह गर्ने नौ वर्षीय बालक दर्शिल सफारीको सर्वश्रेष्ठ अभिनेताका लागि शाहरूख खान, अभिषेक बच्चन, शहीद कपुर र अक्षयकुमार जस्ता वयस्क नायकहरूसँग प्रतिस्पर्धा भएको थियो। अन्ततः शाहरूख खान चक दे इण्डिया का लागि सर्वश्रेष्ठ अभिनेता घोषित भए भने 'क्रिटिक्स अवार्ड' प्रदान गरेर दर्शिलको अभिनयको पनि कदर गरियो। सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जब वी मेट मा चुलबुले केटीको भूमिकामा देखिएकी करिना कपुरले पाइन्। सो अवार्डका लागि उनको प्रतिस्पर्धा ऐश्वर्या राय, दीपिका पादुकोण, माधुरी दीक्षित, रानी मुखर्जी र विद्या वालनसँग भएको थियो। सर्वश्रेष्ठ नव अभिनेत्रीको अवार्ड ओम शान्ति ओम बाट दीपिका पादुकोणले र नव अभिनेताको पुरस्कार सावरिया बाट रणवीर कपुरले पाए। सर्वश्रेष्ठ सहायक अभिनेता तथा अभिनेत्रीको पुरस्कार भने चलचित्र लाइफ इन मेट्रो बाट इरफान खान र कोकण सेन शर्माको पोल्टामा पर्यो। सर्वोत्कृष्ट कथाको पुरस्कार पनि तारे जमीन पर कै अमोल गुप्तेले पाए भने यसै चलचित्रको मा मुझ्को पता है ना... बोलको गीतका लागि प्रसुन जोशी सर्वश्रेष्ठ गीतकार ठहरिए। चलचित्र गुरु बाट ए आर रहमानले सर्वोत्कृष्ट सङ्गीतकारको पुरस्कार पाए भने गायिका श्रेया घोषाल वर्षो रे मेघा... गीतको लागि सर्वश्रेष्ठ गायिका बनिन्। सर्वश्रेष्ठ गायकको उपाधि सावरिया को जब से तेरे नैना... गीतबाट शानले प्राप्त गरे।
त्यसैगरी कोरियोग्राफीमा गुरु बाट सरोज खान, पटकथामा लाइफ इन मेट्रो बाट अनुराग वासु, संवादमा जब वी मेट बाट इम्तियाज अलि, छायाँँकारमा चक दे इण्डिया बाट सुदिप चटर्जी तथा कस्ट्युम डिजाइनमा गान्धी माइ फादर बाट सुजता शर्मा सर्वोत्कृष्ट घोषित भए। भारतीय चलचित्र उद्योगमा सर्वोत्कृष्ट योगदान पुर्याएबापत दिइने 'लाइफ टाइम अचिभमेण्ट अवार्ड' चाहिँ अभिनेता ऋषि कपुरले पाए। उता हलिउडमा सर्वश्रेष्ठ घोषित हत्यारा मनोरोगीको कथा समेटेको अमेरिकी चलचित्र नो कण्ट्री फर ओल्ड मेन का निर्देशक दाजुभाइ जोएल र एथेन कोनले उत्कृष्ट निर्देशकका साथै उत्कृष्ट पटकथाको पुरस्कार पनि हात पारे। यसै चलचित्रमा प्रमुख भूमिकामा देखिएका जेवियर बार्डेमले सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार पाए। सर्वोत्कृष्ट अभिनेताको पुरस्कार देयर विल बि ब्लड चलचित्रमा तेल व्यापारीको भूमिकामा देखिएका बेलायती कलाकार डैनियल डे लुइसले र अभिनेत्रीको उपाधि ला विया रोज मा गायिकाको भूमिकामा देखिएकी फ्रान्सेली नायिका मारियम कोर्टिलाडले पाए। पुरस्कार थापेपछि मारियमले खुशी व्यक्त गर्दै सञ्चारमाध्यमलाई भनेकी थिइन्, “मसँग खुशी व्यक्त गर्न कुनै शब्द नै छैन, यो शहरमा पक्कै पनि कुनै ईश्वरको बास छ।” सहअभिनेत्रीको पुरस्कार माइकल क्लाण्टन बाट बेलायती कलाकार टिल्डा स्विण्टनको हातमा पर्यो। चलचित्र जुनो का कथाकार डियाबलो कोडीले सर्वश्रेष्ठ पटकथा लेखकको पुरस्कार पाए। २० लाख अमेरिकी डलरको हीरा जडेको जुत्ता लगाएर पुरस्कार थाप्न पुगेका कोडी सबैको आकर्षणका केन्द्र बनेका थिए। ओस्करमा सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रको पुरस्कार यसपटक अष्ट्रियाको द काउण्टर फिटर ले पायो। त्यस्तै छोटो चलचित्रको उपाधि फ्रिहेल्ड ले र वृत्तचित्रको टेक्सी टु द डार्क साइड ले पाए। समारोहमा चलचित्र क्षेत्रमा पुर्याएको योगदान बापत वृद्ध कला निर्देशक रोबर्ट बायललाई ओस्कर सम्मान प्रदान गरिएको छ। • अनुशील | |||||||||||||