| • ज्योति प्याकुर्याल |
 |
व्यक्तित्व
दिदी!
अब त बिउँत...
शैलजा आचार्यले राजदूत बन्न नपाएकोमा होइन, आफ्नो जीवनभरको बलिदानको अपमान भएकोमा आँसु बगाएकी हुन्।

किरण पाण्डे
|
२०३६ सालको प्रसङ्ग हो। काठमाडौँ मित्रपार्कस्थित सान्दाजु (बीपी) बसेको घर। मङ्सिर महिनाको कलिलो घाममा सान्दाजु चौरको एउटा कुर्सीमा बसेका थिए। काङ्ग्रेसका नेता र कार्यकर्ताहरू डफ्फा डफ्फामा बाँडिएर चौरभरि छरिएका थिए। ब्वाइज कट हेयर स्टाइलकी एउटी फुर्तिली युवती गुलाबी रंगको सुतीको साडी फर्फराउँदै लमक्क लमक्क अगाडि बढेको वाल्ल परेर हेरिरहेकी थिएँ। मलाई उनको पहिरन, आत्मविश्वास र फुर्ती असाध्यै मन पर्यो। चौरमा बसेको एउटा डफ्फामा यी महिला को हुन् भनेर खुसुक्क सोधेँ। एकजनाले आश्चर्य मानेर लामो जवाफ दिए, “थाहा छैन? शैलजा आचार्य उनै हुन्। पार्टीमा उनको ठूलो योगदान र इतिहास छ। २०१७ सालमा राजा महेन्द्रको कदम विरुद्ध कालो झ्ण्डा देखाएको उनैले हो। त्यसपछि धेरै वर्ष उनी प्रवास र जेलमा बसिन्। तिमीहरू पनि शैलजा बन्नुपर्छ।”
उनको भनाइले म १८ वर्षकी युवालाई छुनु स्वाभाविक थियो। त्यसपछि ममा शैलजाप्रतिको आकर्षण र प्रभाव झ्न्–झ्न् बढ्दै गयो। हृदयमै गडेको प्रभाव यस्तो हुँदोरहेछ― कुनै वाद वा प्रतिवाद, समयको परिवर्तन वा अपरिवर्तनले मेट्नै सकेन। एउटा दिदीको सम्मानसहित शैलजासँग मेरो सङ्गत बढ्दै गयो। मैले उनको स्वभाव पनि थाहा पाउँदै गएँ। उनलाई सधैँ राम्रो लाउनु र मीठो खानुपर्ने। खानामा दही र मासु अनि खानापछि एकटुक्रा भएपनि मिठाई चाहिने।
२०४८ मा पहिलोपटक मन्त्री हुँदा पनि शैलजासँग मेरो निरन्तर कुराकानी भइरहन्थ्यो। उनी सधैँ भन्थिन्, “दरबार र विदेशी शक्तिबाट देशलाई ठूलो खतरा छ। यो देशको राष्ट्रियता हामीले जोगाउनुपर्छ।” उनको यो ऊर्जामा बीपी कोइरालाको प्रतिविम्ब र सुगन्धको आभास हुन्थ्यो। उनी अत्यन्तै इमान्दार राजनीतिक संस्कार भएकी नारी थिइन्। उनका केही खास निकटहरू थिए, अम्बिका पन्त, चित्रलेखा यादव र उमा अधिकारी जो अहिले आ–आफ्नो ठाउँमा उच्च ओहोदामा छन्।
२०५० पछिका वर्षहरूमा शैलजासँग मेरो आक्कलझ्ुक्कल मात्र भेट भयो। २०५६ मा मोरङ–७ बाट उनले चुनाव हारिन्। त्यसको एक वर्षपछि म चावहिलस्थित उनको निवासमा पुगेकी थिएँ। उनी सुतिरहेकी थिइन्। उठेर पानी पिइन् अनि कुराकानी शुरु भयो। उनले अलि निराश पारामा मसँग भनिन्, “हेर मैयाँ, काङ्ग्रेस प्रतिबन्धित हुँदा मेरो अवस्था जस्तो थियो आज बहुदल आए पनि त्यस्तै छ। म एक्लो व्यक्तिको कुरा कसैले नसुन्ला तर अहिले पनि देश खतरामा छ, पार्टी पनि खतरामा छ। नेपाली काङ्ग्रेसलाई सिध्याउन बाह्य र आन्तरिक दुवै शक्ति लागेका छन्।” त्यस्तो खतरा कोबाट छ र त्यसको सामना गर्ने रणनीति काङ्ग्रेसले बनाएको छ कि छैन भनेर सोध्न खोज्दैथिएँ, काङ्ग्रेस कार्यकर्ताहरूको एउटा समूह आएपछि हाम्रो कुराकानी रोकियो।
 |
त्यसपछि एकैचोटि दोस्रो जनआन्दोलनको क्रममा पद्मकन्या कलेजमा आयोजित एउटा कार्यक्रममा शैलजासँग मेरो भेट भयो। यही कलेजमा पढ्दा २०१७ सालमा राजाको कदमविरुद्ध कालो झ्ण्डा देखाउँदा शैलजा पक्राउ परेकी थिइन्। त्यस दिन पनि प्रदर्शन गर्ने क्रममा कलेजको ढोका बाहिर निस्कने बित्तिकै शैलजालगायत हामी सबैलाई पक्राउ गरेर सशस्त्र प्रहरी क्याम्प हलचोक लगियो। त्यहाँ मैले उनलाई अब के होला भनेर सोधेँ। उनले भनिन्, “भीडको आधारमा गरिने राजनीतिको स्वरुप र परिणाम थाहा हुँदैन, माझ्ीबिनाको डुङ्गामा बसे झै हुन्छ।”
त्यसपछि जनआन्दोलनसँग जोडेर शैलजाका बारेमा विवादास्पद कुराहरू प्रचारमा आए। उनलाई यसरी घेरा हाल्ने को को थिए भन्ने मलाई अहिलेसम्म थाहा छैन। तर बीपीले राष्ट्रिय मेलमिलापका सन्दर्भमा भनेका कुराहरू नै शैलजाले त्यसबेला दोहोर्याएकी थिइन्। समय र सन्दर्भ अनुसार अरू नेताहरूले पनि विवादास्पद कुराहरू बोल्दै आएका छन्। तर शैलजालाई मात्रै किन तारो बनाइयो? उनलाई आफ्नो अभिव्यक्ति प्रस्ट पार्ने मौका पनि नदिएर किन 'महाभियोग'
लगाइयो? देश र प्रजातन्त्रका लागि जीवनभर इमान्दारीको लडाइँ लड्ने योद्धालाई संसदमा लगी धरधर आँसु खसालेर माफी माग्न लगाउने ती सांसदहरूको राजनीतिक उचाइ नै कति छ? शैलजा आचार्यले राजदूत बन्न नपाएकोमा होइन, आफ्नो जीवनभरको बलिदानको अपमान भएकोमा आँसु बगाएकी हुन्। संसदमा शैलजाको त्याग, बलिदान र आस्थालाई जसरी नङ्ग्याइयो, त्यो महाभारतमा द्रौपदीलाई घिच्याउँदै राजसभामा ल्याएर नङ्ग्याएभन्दा कुन हिसाबले फरक थियो र?
केही दिनअघि त्रिवि शिक्षण अस्पताल पुग्दा मैले शैलजालाई घाँटीमा प्वाल पारेर भेन्टिलेटरमा राखिएको अवस्थामा भेटेँ। प्वाल पारिएको घाँटीमा रगत लतपतिएको थियो। दाहिने आँखाबाट आँसु बगिरहेको थियो। मैले दिदीको चिसो हात समाइरहेँ। उनले एकोहोरो मलाई हेरिरहिन्। मेरो आँखा धमिलो हुँदै गयो। मनमा लाग्यो शायद समयको माग र गतिसँग आफ्नो विचार प्रस्ट राख्न नसक्नु नै उनको भूल थियो।
भगवानको नाममा जन्मिएका राम र कृष्णले त गल्ती गरेका थिए भने मानिसबाट गल्ती हुनु सामान्य हो। एक्लिएर, पिल्सिएर, निराश भएको व्यक्तिबाट झ्न् गल्ती हुनसक्छ। क्षमतावान र योग्य व्यक्तिहरूको सधैँ तेजोबोध गर्न खोजिन्छ। तर हावा भरेको बेलुनले कति उचाइ लिन सक्छ र? जे हुनु भयो। शैलजा दिदी अब बिउँतिनुपर्छ। र, एउटा प्रश्नको जवाफ दिनुपर्छ― देश र काङ्ग्रेसलाई कोबाट खतरा छ र त्यसको सामना गर्ने रणनीति के छ?
भीडले शैलजा दिदीलाई चिनेन, हामीलाई पनि चिन्दैन। भीडले नचिनेकाहरू मिलेर इमान्दार राजनीति र सार्वभौम राष्ट्रको कल्पना गरौँला। नयाँ नेपालको सङ्कल्प गरौँला। तर दिदी! तिमी फिर्ता आउनैपर्छ, नत्र पुनः द्रौपदीको चीरहरण हुनेछ। अनि नयाँ पुस्तालाई 'तिमीहरू पनि शैलजा बन्नुपर्छ' भन्ने उदाहरण दिन पाइने छैन।
'बीपीसँग
साइनाइड
मागेकी थिएँ'
 |
• आफूलाई ठीक लागेको कुरामा विरोधी खुशी हुन्छन् या बढ्छन् भनेर अडान नलिने हो भने कहिल्यै ठीक बाटो पहिल्याउन र लक्ष्यमा पुग्न सकिँदैन। म घुमाएर कुरा गर्न जान्दिनँ, जे देख्छु त्यही भन्छु। सही कुरामा अडान लिँदा कोही विरोधी बन्छन् भने बनून्, तर कोही न कोही त समर्थक पनि बनिरहेका हुन्छन्।
• पहिले म दुःखी थिइनँ। प्रजातन्त्र आएयता चाहिँ दुःखी छु। राजनीतिक रूपले म एक्लो परेँ कि भन्ने लागिरहेछ। तर यही दुःखी भावनाकै कारण मभित्र आत्मबल जागृत हुँदै आएको छ। मैले मुलुकको उत्थानका लागि केही गर्नुपर्छ भन्ने दृढता बढेको छ।
• कहिलेकाहीँ त म नारी हुँ भन्ने पनि बिर्सिन्छु, कसैले सम्झाएपछि मात्रै 'ए म त नारी पो हुँ क्यारे' भन्ने ठान्छु। मैले काङ्ग्रेसबाट टिकट पाएको पनि महिला भएकोले होइन, काङ्ग्रेस र प्रजातन्त्रका निम्ति मैले दिएको योगदानका निम्ति हो। प्रजातन्त्रका निम्ति म जीवन त्याग्न तयार थिएँ र अब यसको रक्षा एवं सुदृढीकरणका निम्ति पनि त्यत्तिकै समर्पित छु।
• २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइरालाका साथमा म पनि फर्किएकी थिएँ। बीपीले आफ्नो साथमा साइनाइड बोकेर आउनुभएको मलाई थाहा थियो। पञ्चायती सरकारले चर्को यातना दियो र सहन नसक्ने भइयो भने साइनाइड खाएर प्राण त्याग्ने उहाँको विचार थियो; मैले पनि प्लेनमा बीपीसँग साइनाइड मागेकी थिएँ तर उहाँले दिनुभएन।
• वास्तवमा म अराजनीतिक मानिस हुँ, प्रजातन्त्र स्थापना भएपछि बाध्य भएर राजनीतिक गतिविधिमा पुनः लाग्नु पर्यो। नत्र म राजनीति गर्ने खालकी मानिस नै होइन। भनिन्छ, राजनीतिमा सम्झ्ौता पनि अनिवार्य हुन्छ, तर म सम्झौता गर्नै जान्दिनँ।
(पारिवारिक मासिक विदुषी अंक २, ०५३ बाट)
|