जनता
पीएचडी शरणार्थी दाजुभाइ

नारायण
|

माधव
|
| शब्द/तस्बिरः गोपाल गड्तौला |
१७ वर्षअघि दक्षिण भुटानबाट खेदिँदा नारायण फुयाँल (३५) र माधव फुयाँल (३२) का हातमा १० कक्षा उत्तीर्ण गरेको प्रमाणपत्र मात्रै थिए, बाँकी जीवन कतातिर मोडिएला भन्ने थाहा थिएन। तर फुयाँल दाजुभाइको एउटै सपना थियो― दुःख गरेर भएपनि पढ्ने र सकेसम्म डाक्टर बन्ने। झापाको गोलधाप शिविरको ४० नम्बर छाप्रोमा बसेका यी दुई शरणार्थीले मेडिकल डाक्टरको डिग्री त हासिल गर्न सकेनन्, तर पीएचडी चाहिँ गरेरै छाडे। गत वर्ष मात्र दाइ नारायणले बैङ्गलोरबाट शरणार्थी तथा अन्तर्राष्ट्रिय कानूनमा र भाइ माधवले हैदरावादबाट अङ्ग्रेजी भाषा प्रशिक्षणमा विद्यावारिधि गरेका थिए।
अन्योलपूर्ण शरणार्थी जीवनमा अध्ययनलाई निरन्तरता दिनु यसै पनि गाह्रो काम हो। तर दुवैले हिम्मत हारेनन्, आफैँ कमाउँदै पढ्न थाले। सन् १९९१ मा शरणार्थीको रूपमा नेपाल आएपछि माधवले विर्तामोडको प्रतिभा एकेडेमीमा मासिक रु.७०० र नारायणले भारत सिलिगुडीको बोर्डिङ स्कूलमा मासिक भारु ३०० मा पढाउँदै आफ्नो अध्ययनलाई निरन्तरता दिए। त्यसै क्रममा सिलिगुडीको उत्तर बङ्गला विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका नारायणले बैङ्गलोरको नेशनल ल स्कूल अफ इण्डियन युनिभर्सिटीबाट विद्यावारिधि गरेका थिए। त्यस्तै त्रिविबाट स्नातक गरेका माधवले चाहिँ कुमाउ विश्वविद्यालय नैनितालबाट समाजशास्त्रमा स्नातकोत्तर र फरेन ल्याङ्ग्वेज इन्ष्टिच्युट हैदरावादबाट अङ्ग्रेजी भाषा प्रशिक्षणमा विद्यावारिधि गरे। झ्ण्डै सात लाख जनसङ्ख्या रहेको भुटानमा १० जना जतिले मात्र विद्यावारिधि गरेको बताउने फुयाँल दाजुभाइले त्यहीदेशका शरणार्थीहरूको शिविरबाट दुई वटा विद्यावारिधि गरेर आफ्नै प्रकारको रेकर्ड बनाएका छन्।
आफैँले भोगेको जीवनका आयाम खोतल्न विद्यावारिधिको लागि शरणार्थीकै विषय रोजेको बताउने नारायण भन्छन्, “आफूमा आत्मबल छ भने शरणार्थी जीवनका दुःख र हण्डरले प्रगतिलाई रोक्न सक्दैन।”
रङ्गमञ्चकी रश्मि

तस्बिरः साम काङ ली
|
एउटा मात्र खुट्टा भएको व्यक्तिले छमछम नाचेको कुरा धेरैलाई पत्याउन गाह्रो पर्ला, तर असम्भव ठानिने यस कामलाई सम्भव तुल्याएकी छिन् रश्मि खरेल (२३) ले। विदेशी रङ्गमञ्चहरूमा समेत अभिनय गरेर प्रगतिका लागि एउटै खुट्टा पनि पर्याप्त हुने सन्देश दिएकी रश्मि नृत्यलाई 'करिअर' बनाएर अघि बढेकी छिन्। सात वर्षको उमेरमा स्कूलबाट घर फर्किंदा बसको ठक्करबाट पछारिएकी मोरङ, विराटचोककी रश्मिलाई चालकले गाडी ब्याक गरेर मार्न खोजेका थिए। तर बसले उनको दायाँ खुट्टा मात्र किच्यो र उनी बाँचिन्। पद्मकन्या कलेजबाट प्रमाणपत्र तहको शिक्षा हासिल गरेकी रश्मिले नृत्यलाई पेशा बनाउन सक्नु चाहिँ उनको बलियो आत्मविश्वास नै हो।
पहिलोपटक नाच्न खोज्दा शरीरलाई सन्तुलित राख्न नसकेर लडेकी रश्मिले अभ्यास गर्न छाडिनन् र अन्ततः उनी सफल पनि भइन्। १८ वर्षको उमेरमा पाटन क्याम्पसमा आयोजना गरिएको नृत्य प्रतियोगितामा पहिलो पटक भाग लिएकी रश्मि त्यसपछि स्टेज कार्यक्रमहरूमा झ्न् सक्रिय भइन्। स्टेज नृत्यबाट प्रभावित भएर सवलाङ्ग युवक अच्युत बस्नेतले उनलाई मन पराए र उनीहरूबीच प्रेम विवाह भयो। जीवन एक सङ्घर्ष हो भन्ने मान्यता राख्ने रश्मि शारीरिक अशक्तता भएकाहरूका लागि आयोजित एसियाली स्तरको नृत्य प्रतियोगितामा भाग लिन गत साता कम्बोडिया गएकी छिन्। रश्मि भन्छिन्, “शारीरिक अशक्तताविरुद्ध सङ्घर्ष गरिरहेकाहरूले आफ्नो प्रतिभा देखाउन पाउनुपर्छ। उनीहरूका लागि त्यस्तो अवसर सिर्जना गर्न चाँडै नै एउटा कला स्कूल खोल्दैछु।”
|