हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

स्वास्थ्य

मिर्गौला प्रत्यारोपण नेपाल नै तयार छ 

सरकार लागिपरे नेपालमै मिर्गौला प्रत्यारोपण हुनसक्छ।


देशमै प्रत्यारोपण नहुँदा विदेशमा गएर मिर्गौला बेच्ने क्रम बढिरहेको छ।

विश्वमा मिर्गौला प्रत्यारोपण भएको पाँच दशक बितिसक्दा पनि नेपालका मिर्गौला रोगीहरूले यो सेवाका लागि भारत वा अन्य मुलुक पुग्नु पर्दछ। यस क्रममा मिर्गौलाको किनबेच, ठगी र गैरकानूनी प्रत्यारोपण पनि हुने गरेको छ। भारतीय मिर्गौला व्यापारी डा. अमितकुमार नेपालमा समातिएको, उनले आफ्नो धन्दा नेपालका गाउँघरमा समेत फैलाएको र यहाँ अस्पताल खोल्न समेत खोजेको कुराले धेरैलाई झ्स्काएको छ। देशमै प्रत्यारोपणको व्यवस्था भए यस्ता गैरकानूनी कार्य निरुत्साहित हुने चिकित्सकहरू बताउँछन्।

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ र मिर्गौला प्रत्यारोपण नियमावली २०५८ ले प्रत्यारोपणको कानूनी बाटो खुला गरेपनि नेपालमा यो सेवा शुरु हुनसकेको छैन। कानूनअनुसार प्रत्यारोपणसम्बन्धी प्रक्रिया मिलाउने र अुनमति–इजाजत दिने जिम्मेदारी पाएको अङ्ग प्रत्यारोपण समन्वय समितिमा पदाधिकारी नभएको दुई वर्ष हुँदा पनि सरकारले कुनै ध्यान दिएको छैन। राष्ट्रिय मिर्गौला केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्ले भन्छन्, “सरकारी वेवास्ताकै कारण केही हुन नसकेको हो। सरकार बिरामीलाई विदेश पठाउन बर्सेनि करोडौँ रुपैयाँ सहयोग गर्छ, विदेश जानुपर्दा विरामीको पनि धेरै खर्च भइरहेछ। तर स्वदेशमै प्रत्यारोपणको व्यवस्था गर्न ध्यान दिइँदैन। सरकारले समिति मात्र बनाइदिए, बाँकी सबै काम त्यसैले गर्दथ्यो।”

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले समिति बनाउन ढिलो भएको स्वीकार गर्दै भने, “हुन त अहिले निर्वाचन आचारसंहिता लागू भएको छ, तर आयोगको स्वीकृति लिएर भएपनि छिट्टै समिति बनाउँछौं। आवश्यक परे प्रत्यारोपणका लागि चाहिने जनशक्ति विदेशबाट ल्याउन पनि तयार छौँ। तर, विगतको प्रयोगले सन्तोषजनक नतिजा नदिएकाले हतपतमा काम गर्नु चाहिँ हुँदैन।” सरकारबाट अनुमति पाएको वीर अस्पतालमा एक पटकको प्रत्यारोपण प्रयास विफल भएपछि अर्को प्रयास गरेको छैन। सरकारले अरू कुनै अस्पताललाई अनुमति दिएको पनि छैन। यसमा अझै पनि सके पनि, नसके पनि सरकारी अस्पतालले शुरु गरेपछि मात्र अरूलाई दिनुपर्छ भन्ने सोचाइले काम गरेको बुझुन्छ।


कुमार बुढाथोकी, काभ्रे
१ लाख २५ हजार रुपैयाँ र जागिर दिने भनी मिर्गौला झुाकेर दलालले ७५ हजार मात्रै दियो।  

हुन त केही वर्षअघि समन्वय समितिले प्रत्यारोपण सेवा शुरु गर्न इच्छुक अन्य अस्पतालबाट दरखास्त माग्दा कसैले दिएका थिएनन्। तर मिर्गौला केन्द्रका निर्देशक काफ्ले पहिले र अहिलेको अवस्था भिन्न रहेको बताउँदै भन्छन्, “यो कुनै कठिन कार्य होइन। अहिले काठमाडौँमा निकै सुविधासम्पन्न अस्पताल छन्, समिति सक्रिय हुने र अनुमति दिने हो भने धेरैले रु.४०–५० लाख थप खर्च गरेर प्रत्यारोपणको सुविधा र टीम तयार गर्न सक्छन्।” मिर्गौला प्रत्यारोपणको अनुमति लिने प्रयास गरिरहेको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. महेश खकुरेलले अस्पतालमा पूर्वाधार र दक्ष जनशक्ति सबै भएको बताउँदै हिमाल सँग भने, “हामी यसका लागि अत्याधुनिक अप्रेसन थिएटर बनाउँदैछौँैं। ६ महिनामै शुरु गर्न सक्छौँ। शुरुमा नबिग्रोस् भनेर विदेशी डाक्टरहरू पनि ल्याउँछौं।”

अहिले समिति नहुँदा पहिलेको समितिले डा. अर्जुनदेव भट्ट, डा. अशोक राना, डा. असर्फी शाह र डा. गुणकुमार श्रेष्ठलाई दिएको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सकको व्यक्तिगत इजाजत–पत्र पनि नवीकरण भएको छैन। यद्यपि यिनै इजाजत–पत्र पनि संस्था र टीमलाई ध्यानमा नराखी आफ्नै ढङ्गले प्रदान गरिएको थियो।

अमितकुमार प्रकरणपछि नेपालका गाउँ–गाउँबाट भारत लगेर मिर्गौला झुकिएको थप विवरण प्रकाशमा आइरहेको छ। नेपालमा अमितको खोजी गर्ने क्रममा उनको तस्बिर देखाउँदा काभ्रे, जोरपीपलकी ठूली तामाङले मङ्सिरमा ऊ आफ्नो गाउँ आएको बताएकी थिइन्। काभ्रेको होक्सो गाउँका मात्रै ६० जनाको मिर्गौला झुकिएको छ। ६ वर्षअघि रु.१ लाख २५ हजार र जागिरको प्रलोभनमा परेर दिल्लीको गंगाराम अस्पतालमा मिर्गौला दिएका कुमार बुढाथोकी (हे.तस्बिर) दलालले आफूलाई रु.७५ हजार मात्र दिएको बताउँछन्। कुमारका चार दाजुभाइमध्ये अरू दुईले पनि मिर्गौला बेचेका छन्। १० वर्षअघि वीरबहादुर तामाङले मिर्गौला बेचेपछि होक्सोमा मिर्गौलाको व्यापार हुनथालेको थियो।

कानूनले विरामीसँग नजिकको नातासम्बन्ध भएको व्यक्तिले आफ्ना निकट नातेदारहरूको सहमति र सम्बन्धित चिकित्सकहरूको स्वीकृतिमा मात्र मिर्गौला दिन पाउने व्यवस्था गरेको छ। यसरी मिर्गौला दिने व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्छ। किनबेच र गैरकानूनी प्रत्यारोपणमा यी सबै प्रक्रिया एवं सावधानी नअपनाइने र ढाँट–छल गरिने हुनाले यसले मिर्गौला लिने–दिने दुवैको स्वास्थ्यमा गम्भीर असर पार्ने डा. ऋषिकुमार काफ्ले बताउँछन्।  

कमलदेव भट्टराई साथमा ईश्वर रौनियार, काभ