हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

• यस्तै कार्टुन आओस्

हिमाल (मुहूर्त/१–१५ फागुन) मा प्रकाशित रविन साय्मिको 'लाल सलाम' कार्टुन हृदयस्पर्शी र समयसापेक्ष छ। भविष्यमा पनि माओवादीलगायत अन्य पार्टीलेे प्रदर्शन गर्ने अहम् विरुद्धका कार्टुनहरूलाईमहत्वपूर्ण पृष्ठमा नै स्थान दिनुहुनेछ भन्ने आशा लिएको छु।

रमेशप्रसाद गौचन 
महाराजगञ्ज, काठमाडौं


• हामी कम नै छौं 

'हामी कहाँ कम छौं' (१–१५ फागुन) त्यति यथार्थपरक लागेन। विश्वका विफल मुलुकहरूसँग नेपाललाई तुलना गरेर आशावादी हुने ठाउँ छैन। पहिला एउटै हैसियत भएका देशले मारेको फड्कोसँग तुलना गर्ने हो भने मात्र हामीले आफ्नो वास्तविक धरातल थाहा पाउन सक्छौँ। एकाध क्षेत्रमा आएको परिवर्तनले समग्र देशको चेतनास्तरको प्रतिनिधित्व गर्न सक्दैन। नेपाली महिलाको पीडा कुनै अफगानी महिलाको भन्दा कम छैन। दाइजो नल्याएको निहुँमा बुहारी घरबाहिर निकालिँदै छन्। अनि बोक्सीको आरोपमा कुटिँदै छन्। 

मानव रावल
कैलाली


• कुन सभ्यता नेपालको?

'सांस्कृतिक भूमण्डलीकरण' (१–१५ फागुन) शीर्षकको अङ्ग्रेजी भाषाका लेखक अरुण गुप्तोको नेपाली लेख रोचक लाग्यो। गुप्तोलाई आउँदा दिनमा पनि हिमाल खबरपत्रिका मा यस्तै सांस्कृतिक सिद्धान्तका विषयमा लेख्न आग्रह गर्दछु। 

लेखमा भूमण्डलीकरण आम आप्रवासन र विद्युतीय सञ्चारमाध्यमका दुई जुम्ल्याहा शक्तिका कारण सम्भव भएको उल्लेख छ। शहरी जनजीवनमा भूमण्डलीकरणको प्रभाव देखिनुमा सञ्चारमाध्यमकोमहत्वपूर्ण भूमिका होला तर ग्रामीण क्षेत्रमा त्यसको प्रभाव केही समयपश्चात् पर्छ किनभने ग्रामीण इलाकाका मानिसहरूमा सूचना तथा सञ्चारमाध्यमको पहुँच एकदम न्यून छ। सञ्चारमाध्यमको पहुँच नहुनु भनेको सांस्कृतिक भूमण्डलीकरणबाट अलग रहनु पनि हो भन्ने मेरो बुझाइ छ। सांस्कृतिक भूमण्डलीकरणको प्रभावका अगाडि स्थानीय संस्कृतिको शुद्धतालाई जोगाउनु असम्भव कुरा हो।

पवन पौडेल
आरआर क्याम्पस


• उपयोगी भाइरस

ऋतुराजद्वारा अभिव्यक्त 'जेसिज भाइरस' (१६–२९ माघ) ले यथार्थ वस्तुस्थिति चित्रण गर्न नसकेको भान भयो। जेसिज अन्तर्राष्ट्रिय संस्था अवश्य नै हो यसमा दुईमत छैन। तर यसको ध्येय व्यापार व्यवसाय अभिवृद्धि गर्नु मात्रै नभई हरेक मान्छेको व्यक्तित्व विकास गर्दै नेतृत्व सम्हाल्न योग्य बनाउनु नै हो। यसैले जेसिजलाई युवाले पाठशालाको रूपमा लिई केही न केही सकारात्मक परिवर्तन गर्ने थलोको रूपमा अङ्गीकार गरेका छन्। 

जेसिजका कार्यक्रमहरू बडो औपचारिक हुन्छन् भन्नुभएको रहेछ। अवश्य नै हो औपचारिक भन्दा पनि अनुशासित, सौहार्दता एवं अरूलाई सम्मान दिन कन्जुस नगर्ने प्रवृत्तिका हुन्छन्। कहिलेसम्म छाडातन्त्र, अमर्यादित र मपाइँको पर्यायवाची बन्ने हो त नेपाली समाजका कार्यक्रमहरू? सभापतिको मालालाई लङको सङ्ख्या दिनुभएको रहेछ, त्यो त पदमा बसेपछिको पदीय कर्तव्यबोधको चिह्न मात्र हो। 

आसनग्रहणको कुरालाई पनि व्यर्थरूपले परिभाषित गरिएको छ। अवश्य नै हो जो मान्छेले दिलोज्यान दिएर काम गरेको छ उसले बदलामा सम्मानको पनि इच्छा राख्दछ। नेपाली समाजमा व्याप्त दुई/चार जना ठूलाबडाले मात्र सम्मान पाउनुपर्ने परम्परालाई आफ्नो पहिचान सम्झ्नेलाई 'जेसिजको सम्मान' अस्वाभाविक लाग्न सक्छ। तर जेसिजको सम्मान आफूले सम्मान पाउनको लागि अरूलाई पनि सम्मान गर्न सक्नुपर्दछ भन्ने पाठको सारांश मात्र हो। 

एउटै कार्यक्रममा बसेर अरूका कुरा धैर्यसाथ सुनिसकेपछि विश्लेषण गरी आफ्ना भनाइ राख्नु परेकोमा गुदी जति अरूलाई बोक्रा आफ्नो हातमा परेको महसूस हुनसक्दछ।

रोशन सोती
तौलिहवा, कपिलवस्तु


• अन्योलपूर्ण भविष्य 

हिमाल को फलोअप 'सर्वाेच्चमा भ्रष्टाचार, छताछुल्ल भए विकृति' (१–१५ माघ) पढेपछि देशको दयनीय न्यायपालिका सम्झ्ेर धेरै दुःख लाग्यो। जनताका नाममा स्थापित व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आफैँ कलङ्कित बन्छन् भने देश र जनताको उन्नति कसरी हुन्छ? देशको यस्तो अवस्थामा सुधार ल्याउन हाम्रा राजनीतिक दलहरू समयमा नै सचेत एवं जागरुक हुनुपर्छ। हामी युवा पुस्ताको भविष्य सुधारका लागि पनि सरकार गम्भीर हुनुपर्छ नत्र हाम्रो भविष्य नै अन्योलमा पर्छ। 

इन्द्रकुमार श्रेष्ठ
कमलाकुन्ज, ओखलढुङ्गा


• 'अपराधी होइनौं'

'अपराध पेशा बन्दैछ' (१६–२९ माघ) शीर्षक अन्तर्गत विविध खालका जघन्य अपराध तथा अपराधीहरूसँग विशाल नेपाल निर्माण गर्ने उद्देश्यबाट प्रेरित राष्ट्रिय मुक्ति सेना नेपाललाई मुछिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो राजनीतिक सङ्गठन मूल रूपमा नेपाल र नेपालीको हित र समुन्नत विकासको लागि स्थापित भएको हो। यसर्थ, यस खालका सामग्रीले एउटा राष्ट्रवादी शक्तिलाई भविष्यसम्म दूरगामी रूपमा प्रभावित तुल्याउन सक्छ। सङ्गठनले आपराधिक क्रियाकलाप सञ्चालन गरेकै छैन र गर्दैन पनि। हामीलाई जुन आशय र विषयसँग जोड्न खोजिएको छ, त्यो अत्यन्तै खेदजनक छ। सङ्गठनबाट अन्य खालका कुनै पनि आपराधिक गतिविधि नभएको कुरा सबैमा जानकारी गराउन चाहन्छौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनमानसको मन जित्न सफल पत्रिकामा यसरी प्रकाशित सामग्री कतै अन्तर्राष्ट्रिय तत्वहरूबाट प्रेरित भएर तयार पारिएको त होइन भन्ने गम्भीर प्रश्न र आशङ्का उब्जिएको छ।

विज्ञान
प्रमुख, राष्ट्रिय मुक्ति सेना


• बाधक नबनौँ

संविधानसभा निर्वाचनको मिति जति नजिकिँदैछ, त्यति नै मुलुक असहज र कठिन मोडतिर धकेलिँदैछ।

सरकार र राजनीतिक दलहरू संविधानसभा निर्वाचन जसरी पनि गराइछाड्ने दृढ विश्वासका साथ कार्यकर्ता र जनतालाई आश्वासन बाँडिरहेका छन्। तर संयुक्त मधेशी मोर्चाले आफ्ना माग पूरा नभए निर्वाचन हुन नदिने रणनीति अख्तियार गरेको छ। यस्तो अवस्थामा मुलुकले कसरी निकास पाउला? अत्यन्तै गम्भीर प्रश्न उठेको छ।

जुन कुरा वर्तमान अन्तरिम सरकारले दिन सक्दैन, त्यही कुरालाई मागका रूपमा अगाडि तेर्स्याएर आन्दोलन गर्नुको आशय के हुनसक्छ? अहिले नै अनुमान गरिहाल्न नसकिएला। तर, संविधानसभाको निर्वाचनका माध्यमबाट जनताले निर्णय गर्नुपर्ने विषयलाई पनि अन्तरिम सरकारले पूरा गर्नै पर्छ भनेर संयुक्त मधेशी मोर्चाले देखाएको हठलाई न्यायसङ्गत मान्न सकिँदैन।

आत्मनिर्णयको अधिकार र 'समग्र मधेश एक प्रदेश'को माग संयुक्त मधेशी मोर्चाले जसरी उठाएको छ, नबुझ्ेर उठाएको होला भन्न सकिँदैन। यी दुई प्रमुख माग एउटा राष्ट्रको सार्वभौमसत्ता र अखण्डताको लागि अत्यन्तै संवेदनशील कुरा हुन् भन्ने कुरा मोर्चाका नेताहरूले पनि नबुझ्ेका हैनन्। यति संवेदनशील कुरा कसैले मागेर पाइने र दिएर दिइने होइन। तसर्थ यदि त्यो प्राप्त गर्ने हो भने जनतामाझ् जानुपर्दछ। जनतामाझ् जाने माध्यम भनेकै संविधानसभा निर्वाचन हो। मधेश आन्दोलनको नेतृत्व गरिरहेकाहरूले यसतर्फ ध्यान दिनु जरुरी छ।

सन्तोष न्यौपाने
बाणगंगा–१ पिपरा कपिलवस्तु


हिमाल को अनुरोध

तपाईंलाई हिमाल को यो अङ्क कस्तो लाग्यो? आगामी दिनहरूमा तपाईं कस्ता खाले सामग्रीहरूको अपेक्षा गर्नुहुन्छ? आफूलाई लागेको कुरा हामीलाई लेखिपठाउनोस्। 
चिठीपत्र र प्रतिक्रियाहरू इमेल– hkp[at]himalmedia.com वा हिमाल को हुलाक ठेगाना पो.ब.नं. ७२५१, काठमाडौँमा पठाउनुहोला।