हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
डा. रेणु राजभण्डारी

विचार आजका महिला
 


परिवर्तन सोच र व्यवहारमा

नेपाली महिला देशमा राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरणको नेतृत्व गर्न सक्षम छन्।

नेपाल अहिले रूपान्तरणको प्रक्रियामा छ। नेपालको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिकलगायत हालसम्मका सम्पूर्ण नीति, कानून, संरचना र पद्धतिहरूको पूर्ण रूपान्तरण नेपालीहरूको चाहना बनेको छ। यस प्रकारको रूपान्तरण मात्रै दिगो शान्तिको आधार हुनेछ। नेपाली जनताको चाहना अनुरूप पूर्ण रूपान्तरणका लागि पार्टी, नागरिक समाज, सरकारलगायत राष्ट्रका सबै निकाय, वर्ग, समूहमा पनि वस्तुपरक र आत्मपरक परिवर्तन आवश्यक हुन्छ।

अहिलेसम्मका हाम्रा मूल्यमान्यता, सोच, व्यवहार र संरचनागत ढाँचाहरूमा आमूल परिवर्तनले यो प्रक्रियामामहत्वपूर्ण भूमिका राख्दछ। यस क्रममा देशको आधाभन्दा बढी जनसङ्ख्या र उत्पादनशील जनशक्तिकोमहत्वपूर्ण अंश– महिलाहरूबारे विद्यमान मूल्य, मान्यता, सोच र व्यवहारमा आमूल परिवर्तनको खाँचो छ।

विद्यमान समाज र राज्य तथा तिनले सिर्जना गरेका मूल्यमान्यता र नियमकानूनहरूले महिलालाई निरीह, परनिर्भर, प्रजनन्का साधन र निम्न तहको काम मात्रै गर्न सक्ने व्यक्तिका रूपमा स्थापित गरेका छन्। महिलाहरूलाई आफ्नो शरीर, बुद्धिविवेक र काममा आफ्नै नियन्त्रण राख्ने अधिकारसम्म छैन। यस प्रकारका नीति र मूल्यमान्यताले महिलाहरूलाई त पछाडि पारेकै छन्, साथसाथै देशको शान्ति र विकासलाई पनि पछाडि धकेलेका छन्। नेपाललाई अति कम विकसित देशहरूको पंक्तिमा उभ्याउने कारक तत्व यिनै हुन्।

आजका नेपाली महिला देशमा आवश्यक राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरणको नेतृत्व गर्न सक्षम छन्। वर्तमान नेपाली महिलाको क्षमता, दक्षता र लगनशीलतालाई पन्छाउन खोज्नु हत्केलाले सूर्यलाई छेक्न खोजेजस्तै असफल प्रयासबाहेक अरू केही हुनसक्दैन। नेपाली महिला सक्षम छन् भन्ने प्रस्ट पार्न टाढा जानुपर्दैन, आफ्नै वरपर वषार्ंैदेखि भइरहेको परिवर्तनलाई राम्ररी केलाएर हेरे मात्रै पुग्छ।

संसारभर चर्चित नेपालको सामुदायिक वनलाई हेरौं। पुरुषप्रधान सोचका कारण सामुदायिक वनको नेतृत्व तहमा बहुसङ्ख्यक पुरुषहरू नै हुने गरेता पनि व्यवस्थापन पक्षमा निर्णायक सहभागिता महिलाको छ। त्यसैले नेपालको सामुदायिक वनको व्यवस्थापन सफल छ। त्यस्तै अर्को उदाहरण लिन सकिन्छ― देशभर सञ्चालित लघुवित्तीय कार्यक्रमको, जसबाट ऋण लिने समूहहरूमा इमान्दारिताका साथ समयमा पैसा बुझाउने महिला समूह नै छन्। बढ्दो शहरीकरण र बसाइँसराइको क्रममा पुरुषहरू धेरै बाहिरिएको अवस्थामा गाउँघरमै, खेतबारीमा काम गरेर देशको कृषि क्षेत्रलाई अहिलेसम्म थाम्ने पनि नेपाली महिला नै हुन्। हाम्रोजस्तो उद्यमविहीन देशको अर्थव्यवस्था धान्ने अनौपचारिक क्षेत्रका अरू थुप्रै काम पनि छन्, जहाँ बहुसङ्ख्यक नेपाली महिलाहरू सहभागी भई देशको अर्थतन्त्रलाई टेवा दिइरहेका छन्। नेपालको मातृ मृत्युदरमा आएको तीब्र कटौती देशले गर्व गर्ने अर्को उपलब्धि हो, जुन भोक–प्यास नभनी निरन्तर निःस्वार्थ भएर लागिरहेका ५० हजारभन्दा बढी महिला स्वयंसेविकाको मेहनत र लगनबाट मात्रै हासिल हुन सकेको हो।

महिलाहरूले देशको राजनीति कसरी थामेका छन् भन्ने यथार्थ कसैबाट छिपेको छैन। काखे बच्चालाई पिठ्युँमा बोकेर समेत घरघरमा पुगी पार्टीले लिएको विचारलाई धेरै जनामा प्रवाहित गर्ने महिला कार्यकर्ता र घण्टौं लाममा बसेर भोट दिने बहुसङ्ख्यक महिला मतदाताहरूले नै अहिलेका नेताहरूलाई स्थापित गराएका हुन्। माओवादी सेनामा बन्दुक बोकेर र युद्ध लडेर पार्टीलाई स्थापित गराउने महिलाको सङ्ख्या एवं बहादुरी कसैबाट लुकेको छैन। आजका नेपाली महिला नयाँ नेपाललाई डोर्‍याउन, हाँक्न र शान्तिपूर्ण गन्तव्यमा पुर्‍याउन सक्षम छन् भनी पुष्टि गर्ने यस्ता सयौं उदाहरणहरू हामीस145ग छन्। महिलाहरूलाई सही ढङ्गले हेर्ने दृष्टिकोण, पहिचान गर्ने क्षमता र विश्लेषण गर्ने विवेकको मात्र कमी छ।

अहिले पनि नेपाली महिलालाई चाइनिज र क्लार्क जुत्ता, रस निकालेको जुनारको बोक्राजस्ता उपमाले चिनाउनुुलाई पौरख ठान्ने पुरुषहरू समेत देखिएका छन् नेपाली समाजमा। तर आजका नेपाली महिलाहरूले यस्ता सोचाइ र विचार मानसिक विक्षिप्तताका परिणति मात्र हुन् भन्ने बुझुसकेका छन्। उनीहरूको लगन, विवेक र देशलाई शान्तिपूर्ण मुलुकमा रूपान्तरित गरेरै छाड्ने निष्ठालाई यस्ता धारणाले विचलित पार्न सक्दैनन्। यस्ता सोच र विचार देशको पूर्ण रूपान्तरणका बाधक हुन् भन्ने कुरा महिला हुन् वा पुरुष सबै सचेत, विवेकी र मानवअधिकारको सम्मान गर्ने नेपालीले बुझ्ेका छन्। यस्ता विचारलाई त्याग्न सकेमात्र देशमा शुरु भएको रूपान्तरणको क्रम पूरा हुन्छ र दिगो शान्ति स्थापना हुन सक्छ।

देशमा राजनीतिक रूपान्तरणको प्रक्रिया शुरु हुनु निश्चय पनि आशलाग्दो कुरा हो। तर यो रूपान्तरणको प्रक्रिया राजनीतिक संरचना र विचारका साथै अहिलेसम्मका मक्किएका मूल्यमान्यता, विचार र दृष्टिकोणमा परिवर्तन आएमात्र पूर्ण र दिगो हुनेछ।