हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आजका महिला सम्बन्धविच्छेद

बदलिँदो मानक

जस्तोसुकै परिस्थितिमा पनि घरझ्ागडा बाहिर नल्याउने परम्परागत नेपाली महिला हिजोआज श्रीमानको 'यौन दुर्बलता' लाई समेत अदालतमा पुर्‍याएर सम्बन्धविच्छेद गरिरहेका छन्।

जेबी पुनमगर

सहवासको पहिलो रातमै सँगै बस्न नसकिने निर्णयमा पुगेकी राधा शर्मा (२२, नाम परिवर्तन) लाई उनका नातेदार र कानून व्यवसायीले धेरै सम्झ्ाउने प्रयास गरे। समाज, इज्जत र नैतिकताको पाठ पढाइयो। तर उनले कुनै पनि मूल्यमा श्रीमानसँग बस्न नसकिने बताएपछि अदालतबाट सम्बन्धविच्छेद गराइयो। अधिवक्ता शिव गौडेलको भनाइमा भारतमा बस्दै आएकी नेपाली मूलकी ती महिलाले श्रीमानको कमजोरी बखान गर्दा उनको मुहारमा कुनै लज्जा थिएन।

राम्रो आर्थिक अवस्था भएको उच्च शिक्षित लोग्नेसँगै राम्रो नोकरी गरिरहेकी श्रेया गौतम (३५, नाम परिवर्तन) ले अदालतमा खुलेरै परपुरुषसँग यौन सम्बन्ध राखेको बताउँदा त्यहाँ रहेका धेरैले जिब्रो टोकेको सम्झ्न्छन्, त्यसदिन त्यहाँ रहेका एक कानून व्यवसायी। उनको भनाइमा महिला यतिविघ्न 'बोल्ड' हुनसक्छन् भन्ने उनले सोचेका थिएनन्। 

बेडदेखि बेञ्चसम्म

सङ्गीता घलेले आफ्ना श्रीमान चन्द्रसिंह घलेबाट यौन सन्तुष्टि नपाएको उल्लेख गरी २०४३ मा कास्की जिल्ला अदालतमा दिएको सम्बन्धविच्छेदको उजुरीलाई त्यतिखेर 'क्रान्तिकारी' मानिएको थियो। तर अहिले यस्ता उजुरी सामान्य हुन थालेका छन्। नेपाली समाजमा अत्यन्त गोप्य मानिने लोग्ने–स्वास्नीबीचको ओछ्यानको असन्तुष्टि केही समययता छताछुल्ल भएको मात्र छैन, यस्ता मुद्दा लिएर महिलाहरूले अदालतको ढोका समेत ढक्ढक्याउन थालेका छन्। यसले परिवर्तन हुँदै गइरहेको सामाजिक आयामलाई इङ्गित गर्दछ। बढ्दै गएको चेतना, शैक्षिक अवस्था, महिलावादी गैरसरकारी संस्थाहरूको भूमिका, इन्टरनेटको पहुँच र विश्वव्यापीकरणको कारण आजका नेपाली महिला परम्परागत पारिवारिक मूल्य र सामाजिक मानक तोडिरहेका छन्। 

पतिभक्ति त मर्दैन, पापी पति भए पनि
देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि

सम्बन्धविच्छेदः बढेको बढ्यै
२०५५/५६ ०६३/६४ (साउन यता)
बाँके–२२ बाँके–९९
रुपन्देही–३५ रुपन्देही–५१
कास्की–८७ कास्की–१२८
काठमाडौं–२०२ काठमाडौं–७९४
सुनसरी–४९ सुनसरी–५१

बालकृष्ण समले ६८ वर्षअघि 'मुकुन्द–इन्दिरा' मा देखाएको नेपाली महिलाको आदर्श टुट्दै गएको दृष्टान्त पछिल्लो समय देशभरिका जिल्ला अदालतमा दर्ता भएका सम्बन्धविच्छेदका मुद्दाहरू हुन्। आर्थिक वर्ष २०६२–६३ मा मात्र देशभरिका जिल्ला अदालतमा दुई हजार ५३१ वटा सम्बन्धविच्छेदका मुद्दा परेका थिए। सबैभन्दा बढी ६४० मुद्दा काठमाडौँ जिल्ला अदालतमा परेको देखिन्छ भने अछाम र मनाङ जिल्लामा सम्बन्धविच्छेदको कुनै मुद्दा परेको छैन। आर्थिक वर्ष २०६३–६४ को सात महिनामा मात्र ७९४ मुद्दा परेबाट काठमाडौँमा यस्ता मुद्दाको सङ्ख्या निकै बढेको पुष्टि हुन्छ।

हिमाल खबरपत्रिका ले २०५७ सालमा गरेको एक अध्ययन अनुसार आ.व. २०५५–५६ मा काठमाडौँमा सबैभन्दा बढी २०२ सम्बन्धविच्छेदका मुद्दा परेका थिए। माथिका दृष्टान्तले देशका प्रमुख शहरी क्षेत्रमा सम्बन्धविच्छेदका मुद्दा बढी पर्ने गरेको देखिन्छ भने, पश्चिमभन्दा पूर्वमा यस्ता मुद्दा अधिक परेको तथ्याङ्क पनि पाइन्छ। केही वर्षअघिसम्म परम्परागत संस्कार र संस्कृतिबाट निर्देशित महिलाहरू पछिल्लो समय पतिको यौन दुर्वलतालाई समेत सार्वजनिक गरी अदालतबाट सम्बन्धविच्छेद गराउन तम्सिएका देखिन्छन्। अधिवक्ता टीकाराम भट्टराई भन्छन्, “सम्बन्ध–विच्छेदका मुद्दाको वृद्धि महिलाहरू आफ्नो अधिकारप्रति सचेत भएको सूचक हो।”

बदलिएको मानक
सात जिल्लालाई आधार बनाएर हिमाल ले गरेको संक्षिप्त अध्ययनमा काठमाडौँ, पोखरा, धरानजस्ता ठूला शहरमा यौन असन्तुष्टिका कारण श्रीमानसँग छुट्टिन चाहने महिलाहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ। बाँके र सप्तरीजस्ता मधेशका जिल्लामा भने घरेलु हिंसाका कारण अदालत पुग्ने महिला बढी छन्। सम्बन्धविच्छेद गर्ने महिलाहरूमा पोखरा, धरान र रोल्पामा जनजाति बढी देखिन्छन् भने काठमाडौँमा नेवार, बाहुन र क्षेत्री अगाडि छन्। तर २०५७ को अध्ययनमा सम्बन्धविच्छेदका लागि अदालत जानेमा बाहुन–क्षेत्री महिलाहरू अगाडि थिए। 

रोजगारीको सिलसिलामा विदेशिएका श्रीमान्को अनुपस्थितिमा पर–पुरुषसँग सम्बन्ध राखेको कारण धेरै सम्बन्धविच्छेद भएको अध्ययनबाट देखिन्छ। यस्तो सङ्ख्या लाहुरे संस्कृति भएको जनजाति समुदायमा बढी देखिए पनि पछिल्लो समय द्वन्द्वले बढाएको वैदेशिक रोजगारमाथिको आश्रयले अन्य समुदाय पनि त्यतिकै प्रभावित भएको पाइन्छ। सशस्त्र द्वन्द्वले विदेश जाने नेपालीको सङ्ख्या ह्वात्तै बढाइदिएको छ। वैदेशिक रोजगार व्यवसायी संघको अनुमान अनुसार झ्ण्डै १५ लाख नेपाली भारतबाहेक तेस्रो मुलुकमा रोजगारीका लागि गएका छन्। पोखरामा सम्बन्धविच्छेदका मुद्दा हेरिरहेका अधिवक्ता सुकदेव गौतम भन्छन्, “अन्य भन्दा वैदेशिक रोजगारमा जानेहरूको सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेका छन्।” 

समाज अध्येताहरूका अनुसार विवाह गरेर वर्षौँ लोग्नेसँग छुट्टिएर बस्ने हिजोका महिला आज त्यस्तो 'पतिधर्म'को रुढ मान्यतामा बस्न रुचाउँदैनन्। महिलाहरूमा बढ्दै गएको संचेतना, आत्मनिर्भरता र अधिकारप्रतिको सजगताले घरेलु हिंसा र यौन असन्तुष्टिका कारण छुट्टिन उपयुक्त ठान्ने मानसिकता वृद्धि हुँदै गइरहेको छ। महिलाले बाल्यकालमा बाबुको, यौवनकालमा पतिको र वृद्ध कालमा छोराको अधीनस्थ रहनुपर्ने पुरातन मान्यता टुट्दै गइरहेको छ। हप्तामा एउटा सम्बन्धविच्छेदका मुद्दा हेर्ने गरेको बताउने अधिवक्ता सपना मल्ल प्रधान भन्छिन्, “महिलाले शरीरमाथिको आफ्नो अधिकार बुझन थालेपछि यस्तो देखिएको हो, जुन स्वाभाविक हो।”

लिङ्ग सानो भएर सन्तुष्ट नभएको, श्रीमानसँग असन्तुष्ट भएर परपुरुषसँग सम्बन्ध राखेको कुरा समाजका अगाडि धक फुकाएर बोल्न सक्ने आँट महिलामा कसरी आयो भन्ने अध्ययन कतै भएको पाइँदैन। तर समाजशास्त्रीहरू यसलाई समाज विकासकै उपज मान्छन्। “सामन्तवादबाट पूँजीवादतर्फ उन्मूख भइरहेको नेपाली समाजमा देखिएको महिलाहरूको रुपान्तरणको प्रक्रियाको एउटा सूचक हो, बढ्दो सम्बन्धविच्छेद” समाजशास्त्री सुरेश ढकाल भन्छन्, “समाज परिवर्तनका क्रममा महिलाहरूमा देखिएको यो साहस स्वाभाविक हो।”

तर महिला अधिकारकर्मी डा. रेणु राजभण्डारी त्यसको जस महिलाहरूमा बढ्दै गएको राजनीतिक चेतनालाई दिन्छिन्। माओवादी सशस्त्र विद्रोहले पनि महिलालाई सबल र सुदृढ बनाएको ठान्ने राजभण्डारीको विचारमा महिलाहरू आर्थिक रूपले आत्मनिर्भर बन्दै गएपछि हिंसा प्रतिरोधक भएका हुन्। उनी भन्छिन्, “नेपाली नारीले आफ्नो असन्तुष्टि सम्बन्धविच्छेदको हदसम्म प्रकट गर्नु एक किसिमको विद्रोह नै हो।”

जनगणना २०५८ अनुसार आर्थिक रूपले सक्रिय कुल जनसङ्ख्याको ५८.२ प्रतिशत जनशक्तिमध्ये पुरुष ६७.६ प्रतिशत छन् भने महिला ४८.९ प्रतिशत। नेपाली महिला आर्थिक रूपले सक्षम हुँदै गएका छन्। नवौँ योजनामा महिला साक्षरता दर ३० प्रतिशत रहेकोमा भर्खर सकिएको दशौँ योजनामा त्यो बढेर ३४.६ प्रतिशत पुगेको छ। २०५८ सालको जनगणनाले सयमा ४३ जना महिला र ६५ पुरुष साक्षर भएको देखाउँछ। 
शैक्षिक र आर्थिक आधारलाई चेतनाको मापक मान्ने हो र सम्बन्धविच्छेदलाई अधिकारसँग जोड्ने हो भने बढ्दै गएको सम्बन्धविच्छेदका मुद्दालाई सशक्तताको अभिव्यक्तिका रूपमा पनि लिन सकिन्छ। सपना प्रधान भन्छिन्, “पहिला लाञ्छनाको रूपमा हेर्ने गरिएको पारपाचुकेलाई अहिले महिला सशक्तिकरणसँग जोडेर हेर्न थालिएको छ।”

मधेशमा यादव, चौधरीलगायत मुस्लिम समुदायका महिलासमेत सम्बन्धविच्छेदका लागि अदालत पुगेको देखिन्छ। चालू आर्थिक वर्षमा सुनसरीमा परेका यस्ता ८८ मुद्दामा १० प्रतिशत मुस्लिम समुदाय देखिन्छन्। तराईमा हुने घरेलु हिंसा विरुद्ध महिलाहरूले अदालतको ढोका ढक्ढक्याउन थालेका दृष्टान्त हुन् यी। सप्तरीमा गत आर्थिक वर्षमा घरेलु हिंसाका कारण जिल्ला प्रहरी कार्यालयमा ११८ उजुरी परेका थिए भने चालू आर्थिक वर्षको सात महिनाको अवधिमै ५१ वटा छन्। २०६४ साउनयता सप्तरी जिल्ला अदालतमा १५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको नायव सुब्बा मणिराज पोखरेल बताउँछन्। मधेशीको तुलनामा पहाडे महिला सम्बन्धविच्छेदका लागि अदालत जाने गरेका घटना बढी छन्। यस्तो उदाहरण सुनसरीमा पनि देख्न सकिन्छ। चालू आर्थिक वर्षको आठ महिनामा सुनसरी जिल्ला अदालतमा परेका सम्बन्धविच्छेदका मुद्दामध्ये पहाडे ६३ र मधेशी ३१ प्रतिशत छन्।

सम्बन्धविच्छेदको अर्को कारण बहुविवाह मानिए पनि आ.व. २०६२/६३ मा देशभर जम्मा १३० वटा मात्र यस्ता मुद्दा दर्ता गरिएका छन्। अधिवक्ता कृष्ण दाहाल भन्छन्, “अन्य कारणभन्दा घरेलु हिंसा र यौन असन्तुष्टिका कारण सम्बन्धविच्छेद बढेको देखिन्छ।” 

दुरुह बाटो
पछिल्लो समय यौन असन्तुष्टिका कारण बढ्दै गएको सम्बन्धविच्छेदका घटनाले समाज र परिवारलाई नै विखण्डित पार्ने हो कि भन्ने भय पनि व्यक्त गरिँदैछ। क्षणिक असन्तुष्टिले छुट्टिने प्रवृत्ति बढ्दै जाँदा समाजमा नराम्रो दूरगामी असर पर्ने हुँदा सम्बन्धविच्छेदलाई प्रोत्साहित गर्न नहुने कतिपयको तर्क रहेको पाइन्छ। तर समाज र नैतिकताको नाममा उत्पीडन सहेर बस्नुभन्दा सम्बन्धविच्छेद गरेर स्वतन्त्र हुनु श्रेयष्कर ठान्नेहरूको जमात बढ्दै गइरहेको विश्व परिस्थितिमा नेपाली महिला चाहिँ परम्परागत मान्यतामा रहिरहन्छन् भन्ठान्नु सही हुँदैन। त्यसैले नेपाली समाजमा बढ्दो सम्बन्धविच्छेद विश्वव्यापीकरणकै एउटा प्रभाव हो। सुरेश ढकाल भन्छन्, “समाजमा सकारात्मकसँगै नकारात्मक परिवर्तन पनि हुन्छन्, तर समयको सङ्क्रमणक्रममा नकारात्मकभन्दा सकारात्मक पक्ष बलियो हुने गर्छ।”

                    साथमा रामेश्वर बोहरा, नेपालगञ्ज रविन गिरी, धरान; श्रवण देव, राजविराज र हीरा घर्ती रोल्पामा।


'सुनको पिँजडा तोडें'

रविना

मलाई लाग्थ्यो, विवाह गरेपछि मेरो जीवन सुखी हुनेछ, श्रीमानको न्यानो माया पाइनेछ र जीवनको नयाँ अनुभूति गर्न पाइनेछ। तर मेरो सोचाइ कोरा कल्पना मात्रै भयो। विवाह गरेको केही समयमा नै श्रीमान कमाउन भनेर हङकङ गए। त्यसपछि म विवाह हुनुअघि भन्दा पनि एक्लो महसूस गर्न थालें। साथीहरूको पनि विवाह भइसकेको थियो। साथीहरूसँग बजार जाँदा र उनीहरूले परिवारको बारेमा कुरा गर्दा मेरो मन भड्किन्थ्यो। घरमा एक्लै बसेर टेलिभिजन हेर्दा देखिने प्रेमालापका दृश्यहरूले मलाई उत्तेजित बनाउँथे। सबैभन्दा बढी श्रीमान चाहिने उमेरमा उनी नभएपछि प्रेमको कुनै अनुभूति थिएन। श्रीमान बिनाको उनको घर मलाई सुनको पिँजडा जस्तो लाग्न थाल्यो।

अन्ततः मैले त्यो घर त्याग्ने निर्णय गरेँ र माइत गएर बस्न थालेँ। माइतमा घरमा जस्तो निगरानी थिएन। म त्यो खुला वातावरणलाई उपयोग गर्न थालेँ। मलाई झ्न् आफ्नो श्रीमानप्रति अनास्था बढेर आयो र म ऊसँग नबस्ने निर्णयमा पुगें। सम्पत्ति त केही होइन रहेनछ भन्ने मलाई लाग्यो। बैंसको चरम बिन्दुमा एउटी स्त्रीले पतिसुख पाउन सक्दिनँ भने उससँग भएको सम्पत्ति के काम? श्रीमान हङकङबाट मलाई लिन माइतीमा आउँदा सीधै सम्बन्धविच्छेदको माग गरेँ। एकछिन उनी आत्तिए। मैले तपाइँसँग एकछिन पनि बस्न सक्दिनँ भनें र अदालतमा मुद्दा दायर गरेँं। त्यसपछि हाम्रो औपचारिक रूपमै सम्बन्धविच्छेद भयो। 

हङकङको लाहुरे लोग्ने छोडेकी भनेर अहिले मेरो कुरा काट छन्। तर त्यसमा मलाई कुनै पश्चाताप छैन। मानसिक सन्तुष्टि छैन भने सम्पत्ति मात्रै भएर के गर्नु, मरेर लैजाने होइन।  

                          त्रिभुवन पौडेल, पोखरा