हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१२ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

यो पक्षमा

१७ माघ ०६४ः तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला समूहका कार्यकर्ताद्वारा सागरनाथ वन विकास परियोजनाका चौकीदार कर्णबहादुर विश्वकर्माको गोली हानी हत्या।


२१ माघ ०६४ः सात दलको उच्चस्तरीय संयन्त्रद्वारा आगामी फागुन १६ गतेका लागि निर्धारण गरिएको त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन गर्ने निर्णय।


२२ माघ ०६४ः आठ वर्षअघि भएको इण्डियन एयरलाइन्सको काठमाडौं―दिल्ली उडान आई सी ८१४ अपहरणमा संलग्नता ठहर गर्दै भारतको पटियालास्थित विशेष अदालतद्वारा एक नेपालीसहित दुई जनालाई जन्मकैद। 


२३ माघ ०६४ः माओवादी आक्रमणमा पूर्व राज्यमन्त्री एवं काङ्ग्रेस नेता दिलेन्द्रप्रसाद बडूलगायत तीन जना लटिनाथ गाविस―७, रिलगाउँ दार्चुलामा घाइते। घटनामा छ प्रहरी र दुई माओवादी पनि घाइते। 

वाईसीएलको बालाजुस्थित मुख्य कार्यालय, ललितपुर र भक्तपुरका कार्यालयमा प्रहरीद्वारा राति ८ बजे एकसाथ तलासी। लगत्तै काठमाडौंका विभिन्न ठाउँमा विरोध प्रदर्शन।

वेकामे मुद्दा ल्याएर अदालतको महत्वपूर्ण समय खेर फालेको अभियोगमा सर्वोच्च अदालतद्वारा अधिवक्ता धनञ्जय खनाललाई पाँच सय रुपैयाँ जरिवाना र आइन्दा त्यस्ाप्रकारको मुद्दा लिएर नआउन जनाउ।

स्थानीय निकाय पुनर्गठन नभएको भन्दै माओवादीद्वारा जनपरिषद् पुनर्गठन गरिएको घोषणा।


२४ माघ ०६४ः नर्वेका प्रधानमन्त्री जेन्स स्टोल्टेनवर्गको नेपाल आगमन।

प्रहरीसँगको भिडन्तमा वल्ही चपेना गाविस सप्तरीमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला) का शेरसिंह भनिने चन्देश्वर कामत र रञ्जित भनिने राजकुमार मण्डलको मृत्यु। 


२५ माघ ०६४ः नेपाल बार एसोसिएसनको ३० औं कार्यकारिणी परिषद्को उद्घाटन।

काङ्ग्रेसद्वारा पुर्चौडी बैतडीमा आयोजित आमसभामा माओवादीद्वारा हमला। काङ्ग्रेस सांसद नरेन्द्रबहादुर बम, पूर्वसांसद कृष्णकुमार जोशी, बैतडी काङ्ग्रेस सभापति नरेन्द्र विष्ट र स्थानीय कार्यकर्ता कर्णबहादुर धानुक घाइते।


२६ माघ ०६४ः तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम र राजेन्द्र महतोपक्षीय नेपाल सद्भावना पार्टी सम्मिलित संयुक्त मोर्चाद्वारा छ सूत्रीय माग प्रस्तुत गर्दै फागुन १ गतेदेखि अनिश्चित आमहडताल गर्ने घोषणा। 

नेपाल व्यवस्थापन संघद्वारा डा. भगवान कोइराला वर्ष २००७ का उत्कृष्ट व्यवस्थापक घोषित। 


२७ माघ ०६४ः मन्त्रिपरिषद बैठकद्वारा राज्यका सबै अङ्गमा समावेशी सिद्धान्त अनुरुप नियुक्ति गर्ने सैद्धान्तिक निर्णय। नेपाली सेनालगायत सबै सार्वजनिक संस्थानहरूमा समावेशी सिद्धान्त लागू हुने।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश अनुपराज शर्माको अध्यक्षतामा तीन सदस्यीय संविधानसभा अदालत गठन।


अनियन्त्रित झ्िल्को
 

एक जना सांसद फेरि कुटिए। यसपटक बमको पालो रहेछ। यसअघि पूर्व मन्त्री बडूको पालो हुँदो हो। थाहा छैन अर्कोपल्ट कसको पालो हो। संविधानसभाको निर्वाचन चैतमा हुने भएकोले सांसदहरू आ–आफ्ना क्षेत्र जाँदैछन्। त्यहाँ उनीहरूलाई कुट्न तयार छन्– नेताज्यू, तपाइँको कुटाइ क्षेत्रमा स्वागत छ। कुटाइ खानुहोस् र उपचारको लागि हेलिकप्टर चढेर काठमाडौँ जानुहोस्। अनि गएर सञ्चारमाध्यमलाई प्रतिक्रिया व्यक्त गर्नुहोस्– फलानाले मलाई कुटे। हाम्रा नेता पनि प्रतिक्रिया दिन तयार छन्– कुटपिट हाम्रा कार्यकर्ताले गरेका होइनन्। आफैँ लडेर घाइते भएका हुन्।

तर यहाँ मन्त्रीको, सांसदको कुरा छ। घाइते बडू अस्पतालमा थिए। यता बाबुराम भट्टराई रेडियोमा अन्तर्वार्ता दिँदैथिए, “बडू भाग्दाखेरि लडेर घाइते भएका हुन्।” बडूलाई भाग्न आउँदैन। भाग्ने तरिका उनले माओवादी अझ् खासगरी बाबुराम भट्टराईसँग सिक्नुपर्छ। उनले क्रान्तिकारी तरिकाले भाग्न सिकाइदिन्छन्। भाग्नमा उनी पोख्त छन्। मसालदेखि माओवादीसम्म उनी पुगिसकेका छन्। प्रचण्डले माओवादीबाट भगाउन खोजेको कुरा सबैलाई थाहा छ। थाहा छैन अब कहाँ पुग्छन्। भट्टराईले ठीकै भनेका हुन् बडू भाग्दा लडेका हुन्। 

केही समयअघि प्रचण्डले योङ कम्युनिष्ट लिगलाई ब्युँताएर आफू सर्वेसर्वा भए। माओवादीले प्रचण्डलाई नेपालको पहिलो राष्ट्रपति घोषणा गर्‍यो। ज्ञानेन्द्रले पनि जापानी सञ्चारमाध्यममार्फत आफ्नो  पक्षमा जनमत रहेको  धारणा व्यक्त गरे। माओवादी पार्टीका दोस्रो नेता बाबुरामले पनि केही न केही त पाउनै पर्ने हो। उनी पनि क्रान्तिकारी जनपरिषद् गठन गरेर सर्वेसर्वा भए। ०५८ सालमा यसले समानान्तर सरकार चलाएको थियो। त्यो सरकारले कारबाही गर्दथ्यो। बाबुराम चढ्ने बलेरो गाडीको पाङ्ग्राको मोल जति हुन्छ त्यति नै जेथा भएकाहरू पनि शोषक सामन्तीका नाममा त्यतिखेर  मारिएका थिए। यसबारे बाबुराम सजिलैसँग भन्ने गर्छन्, “युद्धका बेला यी सामान्य कुरा हुन्।” भूमिगत हुनुअघि पनि उनी कम क्रान्तिकारी थिएनन्। विद्युत् प्राधिकरण अघिल्तिर उनले ठूलो क्रान्तिकारी काम गरेका थिए। अनेरास्ववियुले प्राधिकरणको पर्खालमा नारा लेखेको देखेर उनीभित्र क्रान्तिकारी भावनाको लहर यति धेरै उठ्यो कि दलबलका साथ त्यहाँ पुगेर आतङ्कै मच्याइदिए। एकजना बटुवा पनि उनको क्रान्तिको रापमा परेको थियो। त्यतिबेला कसैले सोचेको थिएन त्यो जनयुद्धको पूर्वाभ्यास थियो। र, जनयुद्धको क्रममा अवलम्बन गरिएको 'लालआतङ्क'को झ्लक थियो।

कुनैबेला उनी 'झ्िल्को' प्रकाशन गर्दथे। झ्िल्कोले डढेलो लगाउन सक्छ भन्ने माओको उक्तिलाई उनले कसरी बुझ्े कुन्नि उनको झ्िल्कोले आज जात–जातिलाई यसरी सल्काएको छ कि त्यसले वर्ग सङ्घर्ष खरानी पारिदिएको छ। संयोग उनकी सहयात्री हिसिला यमीले पानीको काम गर्ने मन्त्रालय पाएकी छन्। तर मेलम्चीको पानीले त्यो आगो निभाउन सम्भव छैन।          

    योगीशकृष्ण