![]() |
| पूर्णाङ्क २१२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
टिप्पणी भ्यालेन्टाइन डे
'भ्यालेन्टाइन डे' आउनु र सांस्कृतिक शुद्धता र अशुद्धता विषयमा तर्क वितर्क गर्नु दुई–तीन दिनको मसला जस्तो भएको छ। 'भ्यालेन्टाइन डे' शहरी नेपाली युवा–युवतीका लागि पश्चिमी संस्कृतिको सुन्दर देन हो र यिनीहरू यस पर्वमा ज्यादै रमाउँछन्। एक दिनको प्रेम पर्व प्रेमको 'सेलिब्रेसन' उत्सव हुन जान्छ। यसको प्रभावलाई नकार्न सकिँदैन। 'भ्यालेन्टाइन डे'को वर्णसङ्कर (हाइब्रिड) रूप र नेपालीकरण त्यसबखत देखा पर्छ जब युवा–युवती ठमेलमा रमाउँदै घडी हेर्न थाल्छन् र केटीले भनेको शब्द कल्पना गर्न सकिन्छ, “भ्यालेन्टाइन डे भएकोले प्यारेन्टले नौ बजेसम्म अलाउ गरेका छन्, नत्र ६ बजे नै फर्कनुपर्थ्यो।” सेक्सविहीन 'भ्यालेन्टाइन डे' पश्चिमा संस्कृतिमा सोच्न गाह्रो हुन्छ। तर नेपाली संस्करणमा यसको आफ्नै रुप देखापर्छ। आजको नेपाललाई बुझन पूर्वीय परम्परागत र पश्चिमा आधुनिक संस्कृति मिसिएर बनेको यसको वर्णसङ्कर संस्कृतिलाई चिन्न सक्नुपर्दछ। यस्तो अवस्थाको सिर्जनामा पश्चिमा संस्कृतिको ठूलो प्रभाव छ। पश्चिमा संस्कृतिले नेपालमा तीब्र परिवर्तन ल्याएको छ। अर्थतन्त्र, विज्ञान र प्रविधिमा आएको परिवर्तनले नेपाली संस्कृतिमा बढी प्रभाव पारेको छ। नेपाली समाज र यसको संस्कृतिमा आएको परिवर्तन मुख्यतः सांस्कृतिक भूमण्डलीकरण (कल्चरल ग्लोबलाइजेसन) को परिणाम हो। भूमण्डलीकरण आम आप्रवासन र विद्युतीय सञ्चारमाध्यमजस्ता दुई जुम्ल्याहा शक्तिले गर्दा भएको हो। मोडर्निटी एट लार्ज मा अर्जुन अप्पादुराई भन्छन्, “आम आप्रवासन र विद्युतीय सञ्चारमाध्यमले हाम्रो बुझ्ाइमा प्रभाव पार्छन् र हामीमा एकरुपता तथा पृथकता ल्याउँछन्। यिनले एकातिर राष्ट्र र संस्कृतिहरूलाई नजिक ल्याउँछन् भने सँगसँगै नयाँ र भिन्न संस्कृति पनि तयार पार्छन्।” क्रमशः पश्चिमा संस्कृतिको निकट हुँदै गएको नेपालको संस्कृति न पूर्ववत् 'नेपाली' रहन सकेको छ, न विशुद्ध पश्चिमा संस्कृतिमै परिणत भएको छ। र, एउटा नयाँ किसिमको, पश्चिमीकरण भएको, नेपाल बनेको छ। यस्तो प्रवृत्ति शहरी जनजीवनमा बढी देखा पर्दछ। तर गाउँको कल्पनामा पनि परिवर्तन आएको छ। होमी भावा भन्छन्, “पश्चिमा संस्कृति र रहनसहनलाई हामी बढी अनुकरण गर्छौं। पश्चिमले पूर्वलाई सयौँ वर्षसम्म उपनिवेश बनाएकोले नै यस्तो हुन गएको हो।” हुन त विभिन्न कालखण्डमा युरोपमा चिनियाँ दर्शन र कन्फुसियसको तथा वेदान्त र बुद्ध दर्शनको पनि प्रभाव देखा नपरेको होइन, तर यस्तो प्रभाव युरोपको बौद्धिक क्षेत्रमा मात्र परेको छ, समग्र संस्कृतिमा होइन। स्ाांस्कृतिक भूमण्डलीकरणको प्रभावका अगाडि स्थानीय संस्कृतिको शुद्धतालाई जोगाउनु भनेको असम्भव कार्य जस्तै भइसकेको छ। उसै पनि सांस्कृतिक शुद्धता भन्ने कुरा आफैँमा कमजोर सोचाइ हो र भूमण्डलीकरणले यसलाई झ्न् कमजोर बनाएको छ। उदाहरणको लागि अन्तर्राष्ट्रिय वाणिज्य–व्यापार, बहुराष्ट्रिय सहयोग, संयुक्त राष्ट्रसंघ, विश्व व्यापार सङ्गठनजस्ता संघसंस्था, एचआईभी एड्ससम्बन्धी सचेतना र मानवअधिकारको रक्षा एवं सम्मानको सबाल अनि फेसन, खेलकुद, सङ्गीतजस्ता धेरै कुराले नेपाली संस्कृतिलाई तीब्र गतिमा प्रभाव पारेका छन्। वस्तु, पूँजी, मान्छे, ज्ञान र फेसनदेखि अपराध, प्रदूषण, लागूऔषध र आतङ्कवादको विश्वव्यापी विस्तारले राष्ट्रको सिमानालाई धुमिल बनाइदिएको छ। नेपाल यस्तो अन्तरसांस्कृतिक प्रभावबाट मुक्त छैन र हुन सक्दैन पनि। आजको नेपाली समाजमा देखिएको आधुनिकता सांस्कृतिक भूमण्डलीकरणकै देन हो। नेपाली समाज वर्णसङ्कर, तरल, बहुआयामिक र रुपान्तरित भएको छ। स्ाांस्कृतिक भूमण्डलीकरणको प्रभावले 'नेपालीपन' के हो भन्ने कुरा वा विचारमा परिवर्तन आएको छ। उदाहरणको लागि, नागरिकताले मात्रै नेपालीपन जनाउँदैन, नागरिकता बाहेकका कुरासँग पनि नेपालीपन जोडिन सक्छ। प्रशान्त तामाङ 'नेपाली' भनेर चिनिए, जबकि उनको नागरिकता नेपाली होइन। उनको भाषा, विगत, संस्कृतिको जरोले उनमा नेपालीपन देखाए। यस्तै अर्को उदाहरणको रूपमा तेस्रो पुस्ताका अमेरिकी–नेपालीहरूलाई लिन सकिन्छ, जसले नेपाल देखेकै छैनन् र नेपाली नागरिकता पनि लिएका छैनन्; तर उनीहरू पनि नेपाली हुन्, उनीहरूको जातीय उत्पत्ति, विगत, पारिवारिक सम्बन्ध सबै नेपाली हुन्। बहुसांस्कृतिक अन्तरसम्बन्धले नेपालीको पहिचानलाई पनि बहुआयामिक बनाएको छ। सांस्कृतिक भूमण्डलीकरण एक प्रकारको अमेरिकीकरण वा पश्चिमीकरण पनि हो। सांस्कृतिक भूमण्डलीकरण बढी मात्रामा एकपक्षीय छ। मार्क्सवाद र लोकतन्त्रदेखि खेल र फेशन सबै पश्चिमा हुन्। उत्तर–औपनिवेशिक सिद्धान्तहरूले लोकतन्त्र र विकासलाई पूर्वमा पनि आफ्नै स्थानीय स्वरुपमा देखाउन खोजेका छन्, कतै कतै यो प्रयास यथार्थमा परिणत भएको पनि छ। तैपनि लोकतन्त्र र विकासका युरोपेली वा पश्चिमी मान्यताहरूलाई विस्थापित गर्न या कमजोर पार्न सकेका छैनन्। हिमाल र ठमेल दुवै तीब्रगतिमा पश्चिमलाई आमन्त्रण गर्छन् र त्यो पनि केही घण्टा र दिनमा नै सम्भव छ। 'भ्यालेन्टाइन डे' पनि त्यही वर्णसङ्कर रुप हो। यसको राम्रो नराम्रो पक्षका बारेमा विचार गर्नु आवश्यक असहायपना हो। • (डा. गुप्तो सांस्कृतिक सिद्धान्तविद् हुन्।) |