![]() |
| पूर्णाङ्क २१२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
सम्झना बन्द भयो 'चंखे'को हाँसो वरिष्ठ हास्यकलाकार गोपालराज मैनालीको ६५ वर्षको उमेरमा २६ माघमा निधन भयो।
पाँच दशकदेखि हास्यकलाकारको रूपमा क्रियाशील चंखे अर्थात् गोपालराज मैनालीको निधनले नेपाली चलचित्र क्षेत्रले एक अग्रज गुमाएको छ अनि दर्शकले एउटा हास्यकलाकार। मैनाली हामीबीच भौतिक रूपमा छैनन्। तर, उनले अभिनय गरेका ६५ चलचित्र, १०० भन्दा बढी नाटक तथा करिब ७० भिडियो तथा टेलिचलचित्र अनि उनले कलाक्षेत्रका लागि छाडेर गएका प्रेरणाहरू हामीबीच छन्। निमोनियाबाट ग्रस्त मैनालीको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको थियो। २०२४ सालमा हिजो आज भोलि नामक चलचित्रमा अभिनयसँगै उनी कलाक्षेत्रमा प्रवेश गरेका थिए। निर्देशक प्रकाश थापाले सिन्दुर मा बसुन्धरा भुसालसँग 'चंखे' र 'नक्कली'का रूपमा उनको जोडी बाँधिदिएपछि दुवैजना हास्यकलाकारका रूपमा छाएका थिए। यो जोडीको लोकप्रियता निकै जमेको थियो। यतिसम्म कि त्यो जोडी पहिलेका जीवनरेखा, सन्तान, कन्यादान देखि अहिलेका दाजुभाइ, लक्ष्मणरेखा आदि चलचित्रसहित आधा दर्जन टेलिचलचित्रमा पनि दोहोरिएका थिए। उनका जोडी बसुन्धरा भुसाल मैनालीको कलाको उच्च मूल्याङ्कन गर्छिन्। भन्छिन्, “घमण्ड नभएको, ठूलालाई सम्मान र सानालाई माया गर्ने र लेखनमा समेत दख्खल राख्ने उहाँ गर्भमै कला सिकेर आएजस्तै थिए। यो जीवनमा अब उहाँ जस्तो सहकर्मी पाउँछु भन्ने लाग्दैन।” हास्यव्यङ्ग्य विधाको साहित्यमा पनि दख्खल राख्ने मैनालीले २०२८ सालमै 'खर्पन' नामक साहित्यिक पत्रिको सम्पादन/प्रकाशन गरेका थिए। एक कुशल सरकारी कर्मचारीका रूपमा पनि परिचित मैनाली कलाकारितामा भने चुर्लुम्मै डुबेका थिए। काठमाडौंको गुच्चाटोलमा हुर्किएका उनी ४ वर्षकै उमेरमा राजधानीका डबलीमा हुने नाटकको नक्कल गर्थे। २००८ सालमै छात्रकला मण्डल, बानेश्वरमार्फत मञ्चमै प्रस्तुत भएका थिए। केही अघि हिमाल सँगको भेटमा उनले त्यसबेला महिला कलाकारको अभावमा नारी पात्रको भूमिकामा आफू प्रस्तुत हुने गरेको बताएका थिए। २०१४ सालमा आमा नामक नाटकमा नारी पात्र 'हेलेन'को भूमिका गरेको स्मरण उनले यसरी सुनाएका थिए– “रातभर दबु प्याखः भन्दै डबलीमा नाटक, प्रहसन, नृत्य, ठट्यौली गर्नुपर्थ्यो।” त्यसबेला राजधानीको एकमात्र चलचित्र भवन जनसेवा हलमा आलोपालो हिन्दी र अङ्ग्रेजी चलचित्र प्रदर्शन हुन्थे। मैनाली राणा शासकका पालाका जागिरेका छोरा भएकाले हलमा चलचित्र हेर्न गाह्रो थिएन। आन, बाबुल, वर्षात, सवनम, बादल लगायतका हिन्दी चलचित्र हेरेका मैनाली भन्थे “मैले २०१४ सालमै अङ्ग्रेजी चलचित्र वार एण्ड पीस हेरेको थिएँ।” त्यसबेलै उनले डीबी परियारले बनाएको पहिलो नेपाली चलचित्र सत्य हरिश्चन्द्र पनि हेरेका थिए। 'नाच पार्टीमा लागेर, डबलीमा हिँडेर छोरा बिग्रियो' भन्ने परिवारको खप्की सहेर उनी कला मण्डलीका पछि लागेर उसबेलै दार्जीलिङ–सिक्किमसम्म पुगेका थिए। २०२२ सालमा नेपाली चलचित्र आमा को लागि कलाकार चाहियो भनेर गोरखापत्र मा विज्ञापन छापिँदा उनले दरखास्त हाले पनि अभिनयको अवसर भने २०२४ सालमा हीरासिंह खत्रीले बनाएको हिजो आज भोलि मा जुर्यो। गोपालराज मैनाली नेपालको पहिलो विज्ञापन चलचित्रका पनि नायक थिए। उनले जनकपुर चुरोट कारखानाले २०२५ सालमा निर्माण गरेको आशा चुरोटको विज्ञापनमा काम गरेका थिए। त्यो विज्ञापन चलचित्र हलहरूमा प्रसारण भएपछि उनको ख्याति चुलियो। विज्ञापनमा उनी डाँका लागेर घरको सम्पूर्ण सामान लुटिँदा जोगाउन सफल एक बट्टाको १८ पैसा पर्ने चुरोटको एक पेटी बोकेर रोदीघरमा नाच्न पुग्छन्। र, आशामा आशा राखेर माया गाँसिदेऊ, लौ मेरी माया, मुसुक्क हाँसिदेऊ... भन्दै चुरोटको सर्को तानेर गीतमा मस्त हुन्छन्। मानिसहरू हलमा चुरोटको यही विज्ञापन हेर्नकै लागि मात्र पनि जान्थे। पछिल्लो समयमा ५२ घुस्सा ५३ ठक्कर, लौ मार्यो जस्ता टेलिचलचित्र र पकेटमार, शङ्कर, पराइघर, घर संसार जस्ता चलचित्रमा समेत उनले अभिनय गरेका थिए। मैनालीका दुई छोरी, एक छोरा र श्रीमती छन्। छोरी सञ्जा मैनाली नेपाली चलचित्रकी नायिका हुन्। • अनुशील |