![]() |
| पूर्णाङ्क २१२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
संविधानसभा टिप्पणी सात दलले बुझन नसकेको जनभावना सात दलले सात शहरमा आयोजना गरेका सातवटा आमसभाले जनताका अपेक्षा पूरा गरेनन्। • हस्त गुरुङ राजधानीको खुलामञ्चबाट शुरु भएको सात दलको संयुक्त आमसभा, नेपाली नागरिकले ५७ वर्षदेखि प्रतीक्षा गरिरहेको संविधानसभाको चुनाव साकार बनाउने महाभियानको थालनी थियो, तर तिनले जनताले राखेको अपेक्षा पूरा गर्न सकेनन्। यो महाभियान सातै दल मिलेर आसन्न संविधानसभा चुनावबारे जनतालाई शिक्षा दिने, उनीहरूसँग राजनीतिक परामर्श लिने र जनताको समग्र आकाङ्क्षा र दृष्टिकोण सङ्कलन गर्ने अवसर थियो। यी तीन प्रक्रिया संविधानसभाको निर्वाचनका लागि अत्यन्त महत्वपूर्ण थिए। असुरक्षा र सङ्कट हुँदाहुदै सबैजसो सभामा नागरिकहरूको ठूलो उपस्थिति थियो। ३० पुसमा काठमाडौँमा भएको महाभियानको सुरुआत गर्ने आमसभामा संविधानसभालाई सफल बनाउने कसम खाएका र त्यसको सबै अभिभारा बोकेका मुख्य सारथि गिरिजाप्रसाद कोइराला नै उपस्थित हुन सकेनन्। उनी बिरामी परे। तैपनि आफू संविधानसभाको चुनाव सम्पन्न गराउन प्रतिबद्ध रहेको सन्देश दिन त सक्थे। तर असावधानीवश, यो महाभियानको पहिलो पाइलो नै फितलो र खल्लो हुन पुग्यो। तैपनि नागरिकहरू निराश भएका थिएनन्, तर यो पहिलो आमसभा उनीहरूले अपेक्षा गरेजस्तो महाभियान होइन, महासङ्ग्रामको सुरुआतजस्तो हुन पुग्यो। माओवादी अध्यक्ष प्रचण्डले प्रधानसेनापति रुक्माङगद कटवाललाई हकार्ने क्रममा नेपाली काङ्ग्रेस र नेकपा एमालेजस्ता मुख्य सहकर्मीलाई समेत अनेकन लाञ्छना लगाएर सहकार्यको संस्कारलाई तीतो बनाए। माओवादी छापामारलाई नेपाली सेनामा समायोजन गर्नैपर्छ भन्ने प्रचण्डको जोडप्रति विमति जनाउँदै माधव नेपालले आफूहरू माओवादीको लहैलहैमा हिँड्न नसक्ने आक्रोश पोखे। शेरबहादुर देउवाले हुटिङ्ग खानु पर्यो। यसरी एउटा महाभियानको थालनीको दिन नेताहरूको आफ्नै अपरिपक्वताका कारण महाजुहारी र महावाक्सङ्ग्रामको उद्घोषको दिन बन्न पुग्यो। ७ माघमा भैरहवामा आयोजना गरिएको आमसभामा अन्य सभामा भन्दा बढी मानिस जम्मा भएका थिए। आमसभामा बम पड्किएन, यो निष्कण्टक सम्पन्न भयो। पश्चिम तराईको मधेशमा यति ठूलो र शान्त जमघट हुनुको अर्थ पनि ठूलै थियो। तर दुर्भाग्य, यहाँ पनि वक्ताहरूले एकअर्काप्रति रोष पोखे। यस्तो अपूर्व जनसहभागिताको बेला के गर्नु वा बोल्नुपर्ने थियो भन्ने नेताहरूले ख्याल राखेनन्। नेताहरूको वाणी बमभन्दा बढी घातक हुने गरी पड्कियो। १२ माघमा जनकपुरमा भएको आमसभामा लगातार बन्द, झ्डप र सशस्त्र अवरोधका बाबजूद पनि उत्साहप्रद र प्रशंसनीय थियो। तर बाह्रबिघाको बाटो छेक्न आएका सशस्त्र समूहको पर्वाह नगरी सभामा आएका नागरिकहरूलाई नेताहरूले सम्मान दिन सकेनन्। रामचन्द्र पौडेलले मधेशीहरूलाई संविधानसभा भाँड्न खोजेको आरोप लगाए। मातृका यादवले मधेशका नयाँ राजनीतिक पार्टीहरूलाई कुनाबाट सञ्चालित भएको आरोप लगाए। अरुले पनि मधेशको घाउमा मल्हम लगाएनन्। बमका आवाजहरूले जनकपुर थर्क्यो। नेताहरू जनतालाई महतो, ठाकुर र गोइतकै पोल्टामा छाडेर हतार–हतार काठमाडाँै फर्किए। परिणामतः सात दलप्रति सद्भाव लिएर आएका मधेशका नागरिक खिन्न भए। १७ माघमा वीरगञ्जमा सम्पन्न अन्तिम आमसभामा राजेन्द्र महतो अड्डा जमाएर बसेका थिए। त्यहाँ अवरोधको प्रशस्त तयारी गरिएको थियो। तर पनि मानिसहरूको असाधारण भीड रङ्गशालातिर बढ्यो। सातदलका नेताहरूका लागि योभन्दा ठूलो सम्मान के हुन सक्थ्यो― पर्सा र बारा जिल्लावासीको। कार्यक्रमको अन्त्यतिर बम विस्फोट भयो र सभास्थलमा भागदौड मच्चियो, तैपनि एउटा विशाल भीड जमेर भाषण सुन्न बसेको थियो भने नेताहरूको चाहिँ होस हराएको थियो। उनीहरूले थप अहङ्कार बोले। फलत सहृदयी र जिज्ञासु श्रोताले केही बुझन पाएनन्। |