हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१२ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार


 

समावेशी बिदा


मीनरत्न बज्राचार्य

धेरै वर्ष भएको थियो माघे–सङ्क्रान्तिमा राम्रोसित घिउ–चाकु, तिलको लड्डु र तरुल नखाएको। यो वर्ष जुर्‍यो लोकतान्त्रिक सरकारका कृपाले गर्दा।

पहिले–पहिले त अफिस जानुपर्ने बाध्यता। लापारलुपुर खायो, हिँड्यो। कताको घर–तरुल, कताको वन–तरुल, कताको कालो र सेतो तिलको लड्डु, कताको शुद्ध घिउको टिको हालेको चाकु! भन्छन् माघे–सङ्क्रान्तिदेखि जाडोले पनि बिदा लिन्छ। घाममा ढाड सेकाएर धीत मर्नेगरी जाडोलाई बिदा गर्न पनि नपाइने। 

यसपालि ती सबै थोक गरियो, जसको तिर्सना धेरै समयदेखि मनमा गुम्सेर बसेको थियो। पेटलाई मात्र होइन तताइयो उमेरदार ढाडलाई पनि, यद्यपि यस पटक घामले चाहिँ केही भाउ खोजे जस्तो थियो।

यो सबै सम्भव भयो माघे–सङ्क्रान्तिका दिन सरकारले यसपालि बिदा गरिदिनाले।

त्यस्तै खुशी गएको शुक्रबार पनि भयो। तामाङ र शेर्पा साथीहरूको ल्होछार परेको थियो त्यस दिन– मुसा वर्षको पहिलो दिन। तिब्बतीहरूले पनि मनाउने ठूलो पर्व। 

त्यस दिन टुँडिखेलमा नाचगान भएको थियो। क्या रमाइलो भयो। मन उसै पनि अफिस जान नपरेकामा हर्षले उडिरहेको थियो। सरकारले ल्होछार मनाउन बिदा दिएकाले सप्ताहान्त दुई दिनको भएको थियो। त्यो अतिरिक्त हर्षको विषय थियो। शुक्रबार र शनिबार गाँसिएर बिदा पर्नु त चिट्ठा परे जस्तो हुन्छ जागिरेलाई। त्यसरी शनिबारमाथि खप्टिएर बिदा पर्दा आफूलाई पनि कतै अनमिनमा जागिरे पो भएछु कि भन्ने भ्रम पर्छ। आफूले पाउने मासिक सिधाको रकमले त्यो भ्रम टुटाइदिन्छ त्यो बेग्लै कुरा हो।

नेपाललाई सकेसम्म समावेशी बनाउन प्रतिबद्ध रहेको हाम्रो सरकारले जो खोजी खोजी चाडवाड र नयाँ वर्षहरूको बिदा दिन थालेको छ त्यो ज्यादै स्वागतयोग्य छ। यस कदमलाई जागिरेहरूले मात्र होइन बेरोजगारहरू लगायत तमाम नेपालीहरूले दिल खोलेर स्वागत गर्ने छन्।

माथि उल्लिखित बिदाहरू त थारू, तामाङ र शेर्पाका नाममा भए। अझैपचास–पचपन्न जनजातिहरूको चाडबाडहरू र नयाँ वर्षहरूको बिदा दिन डल्लै बाँकी नै छ। ल्होछारमा मात्रै दुई पटक बिदा हुनेछ अब। तराईका कति समुदाय छन्। छठको बिदा दिएर मात्र कहाँ पुग्छ? जैन छन्, शिख छन्। उनीहरूका चाडबाडको बिदा पनि हुनुपर्‍यो। मुस्लिमहरूको ईदमा त बिदा तोकियो, बकरिदको बिदा खोई? क्रिसमसमा पो बिदा हुनेभयो, इष्टरको बिदा बाँकी छ। फेरि येशुको जन्मदिनमा त बिदा हुनेभयो, गुरु नानकको जन्मदिनमा परेन? बुद्धको मनाएपछि महावीरको जन्मदिन मनाउन परेन? पहिलो जनवरी अन्तर्राष्ट्रिय नयाँ वर्ष, त्यसमा बिदा हुन बाँकी छ। साउने–सङ्क्रान्ति पनि कम ठूलो चाड होइन। नयाँ आर्थिक वर्षको पहिलो दिन हो साउने–सङ्क्रान्ति। त्यसलाई पनि बिदामा पार्न बाँकी छ।

हिसाब गर्दा त बिदाको कुनै कमी नहुने भयो। शनिबारमा एकदिन बिदा खप्टिँदा नै मन कस्तो फुरुङ्ग हुन्छ। अरू हप्तामा दुई–तीन दिन बिदा परिदिए कस्तो हुँदो हो? त्यसको कल्पनाले नै मन पुलकित हुन्छ। काम गर्न कसलाई मन पर्छ? घर बसी–बसी तलब पकाउन पाउँदा कसलाई खुशी लाग्दैन र? समावेशी हुनाको कति फाइदा रहेछ कति! समावेशी भनेको बेसी बिदा रहेछ। कस्ता उल्लु हामी, अहिलेसम्म दशैँ र तिहारको बिदामा सन्तोक गरेर बसिरहेका?  

खलासीको गुरुजी को?
तिनका कपाल र दाह्री तिलचामले छन्। शिरमा सधैँ भादगाउँले टोपी हुन्छ। पहिरन प्रायः सेतो रङको कुर्ता र खकुलो मोहोताको सुरुवाल हुने गर्छ। निकै पाका उमेरका लाग्ने ती बुज्रुग काठमाडौंका सडक, चौबाटा र चोकहरूमा बेलाबखत देखा पर्छन्। यस्तो हुलियाको व्यक्ति त लाखौं हुन सक्छन्। तर यी खास बुज्रुगको विशेषता के छ भने उनको छाती र पिठ्युँमा भ्रष्टाचारविरोधी र देश निर्माण विषयक नाराहरू लेखिएको कपडाको खोल हुन्छ। तिनी आफूलाई नेपालको खलासी बताउँछन् र त्यही परिचय तिनले ओढ्ने खोलमा पनि लेखिएको हुन्छ।

नारा र परिचयसहितको खोल ओढेर सडकमा हिँड्नु बाहेक तिनले बाइस–पच्चीस हात लामो तुलमा अनेक सन्देश लेखेर राजधानीका सडकको वारपार झ्ुण्ड्याउने काम पनि गर्छन्। त्यस्ता तुल प्रायः विदेशी राष्ट्रहरूको राष्ट्रिय दिवसका अवसरमा वा राजकीय पाहुनाको भ्रमणका बेला शुभकामना जाहेर गर्दै नेपाली र अङ्ग्रेजी दुवै भाषामा सम्बन्धित राजदूतावासहरूका अघिल्तिर टाँगिएका पाइन्छन्। शुभकामना व्यक्त गर्ने भनी नेपालको खलासी लेखिएको हुन्छ र साथमा तस्बिर पनि दिइएको हुन्छ।

खलासी भनेको बस, ट्रक जस्ता सार्वजनिक सवारी साधनका चालकको सहायक भई काम गर्ने व्यक्ति हो। खलासीले चालकलाई ढ्याङ ढ्याङ गरी गाडीको भित्तामा हातले ठोकेर वा सुई सुई गरी सिठी बजाएर सवारी हाँक्न मद्दत गर्छ। उसले साइड हेर्छ, ओट हाल्छ, पानी हाल्छ र रेडियोको एउटा विज्ञापन अनुसार गाडीको मोबिल पनि फेर्छ। चालक उसको गुरुजी हुन्छ। जहाँ खलासी हुन्छ त्यहाँ गुरुजी हुनै पर्छ। 

आफैंले नेपालको खलासी नाम दिएर नारा लेखेको पहिरनमा हिँड्ने ती बुजु्रगले खुब परिश्रम गरेका छन्। बडे बडे कपडाका तुल बनाउन लगाई तिनलाई प्रदर्शन गरेर आर्थिक लगानी पनि गरेका छन्। तिनको दुःख सास्ती देख्दा उदेक लाग्छ र उत्सुकता पनि जाग्छः यदि यिनी खलासी हुन् भने यिनका गुरुजी त हुनै पर्‍यो। को होला यिनको गुरुजी? 

जहाँ पार्टी त्यहाँ प्यालेस
धेरै ठान्छन् दल र दरबारको कुनै सम्बन्ध छैन। ती दुई परस्पर विरोधी कुरा हुन्। दुवै एकठाउँमा बस्न सक्दैनन्। गलत!

दुवैको अन्तरङ्ग सम्बन्ध छ र यी दुवै अन्योन्याश्रित छन्। यो तथ्य लोकतन्त्रको आगमनपछि जताततै खुलेर हुर्केका 'पार्टी प्यालेस'हरूबाट स्वतः उजागर भएको छ। दल माने 'पार्टी' र दरबार माने 'प्यालेस'– पार्टीप्यालेस! जहाँ पार्टी छ त्यहाँ प्यालेस छ, जहाँ प्यालेस छ, त्यहाँ पार्टी छ। कसरी भए यिनीहरू छुट्टै र अलग? पार्टीप्यालेस हुनु त अब नेपालीको संस्कार, संस्कृति जे भन्नोस् त्यो बनिसकेको छ। यसलाई नेपालीको जीवनबाट अलग गर्नै सकिन्न।

त्यसैले राजतन्त्रलाई कसैले सांस्कृतिक धरोहर भन्छ भने त्यसो भन्नेको के गल्ती!