हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१२ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

आफ्नै बन्दो छ भ्यालेन्टाइन डे  


केही वर्ष अगाडिसम्म पश्चिमाहरूको नक्कल भनेर आलोचना खेप्ने गरेको 'भ्यालेन्टाइन डे' ले विस्तारै नेपाली समाजमा मान्यता पाउन लागेको आभास हुन थालेको छ। भ्यालेन्टाइन डे अहिले धेरैको 'आफ्नै' बन्दो छ। लाग्छ यसलाई नेपालीहरूले आफ्ना मौलिक चाड जस्तै गरी मनाउन थालेका छन्– जस्तो दशैं, तिहार र अन्य पर्वहरू। अविवाहित युवायुवती मात्र होइन विवाहित जोडीहरू समेत यसलाई भव्य बनाउन तयारीमा जुट्ने गरेका छन्। 

मोडलिङ तस्बिरः
नायिका पूजना प्रधान र पपगायक जविक।

डम्बरकृष्ण श्रेष्ठ


किरण पाण्डे

भूमण्डलीकरणको प्रभाव राजधानीमा आयोजित  एक डान्स पार्टीमा रमाइरहेका युवाहरू।

अमेरिकी नागरिक क्यारोल कोकरानसँग प्रेम विवाह गरेका शोभाकर बुढाथोकी (३३) यस पटक पनि 'भ्यालेन्टाइन डे'लाई आफ्नै चाड मानेर मनाउने तयारी गर्दैछन्, उनी भन्छन्, “दशैँ दाङ, धनौरामा बुबा–आमाका साथ मनाएँ, अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस अमेरिका रहेका सासू–ससुराका साथ मनाइयो, अब 'भ्यालेन्टाइन डे' एकअर्कालाई कार्ड र फूल दिएर नेपालमै मनाउँदैछौँ।”

बेलायती नागरिक जेन्स विकनसँग प्रेमविवाह गरेकी बूढानीलकण्ठ, काठमाडौँकी सुमन खड्का (३०) ले पनि बुढाथोकीले जस्तै यी चाड र उत्सव नेपाल र बेलायतमा मनाइन्। उनी भन्छिन्, “उहाँ (श्रीमान) ले नेपाली चाडपर्व मान्नुहुन्छ, म पनि विदेशी मान्छु।”  

विदेशीहरूसँग विवाह गरेका नेपालीहरू विदेशी संस्कृतिसँग घुलमिल हुनु सामान्य कुरा हो। तर, यी बाहेकका अधिकांश नेपाली पनि पश्चिमा संस्कृतिहरूमा रम्ने क्रम बढ्दो छ। 

१४ फेब्रुअरीलाई प्रणय–उत्सव मानेर पश्चिमा देशहरूमा मनाइने 'सेण्ट भ्यालेन्टाइन डे' मा शहरिया मात्र होइन ग्रामीण भेगका मानिसहरू पनि रमाउँदै छन्। ठूला शहर एवं आसपासका होटेल, रिसोर्टहरू धमाधम बुक भइरहेका छन्। होटेल, रेस्टुरेन्टहरूमा डान्स पार्टी, पेय पदार्थ कम्पनीका सेल्स पार्टीहरूको तयारी भइसकेको छ। फूल, ग्रिटिङ्स कार्ड र गिफ्ट सपहरूमा भीडभाड बढेको छ। 

पश्चिमा संस्कृतिको देनको रूपमा नेपाली तन्नेरीहरू माझ् बढी लोकप्रिय 'भ्यालेन्टाइन डे' मात्र हैन, अङ्ग्रेजी नयाँ वर्ष, क्रिसमस जस्ता विदेशी उत्सव र चाडहरूमा पनि नेपाली समाजको ठूलो हिस्सा यसरी नै रमाइरहेछ। यसले नेपाली समाजमा प्रवेश पाएको निकै  भएपनि दुई तीन वर्षयता देशमा बन्दै गएको शान्तिको वातावरणले यसको व्यापारिक महत्वव पनि ह्वात्तै बढेको व्यवसायीहरू बताउँछन्। भर्खरै गएको अङ्ग्रेजी नयाँ वर्ष, क्रिसमसको समयमा राजधानीको दरबारमार्ग, ठमेल र अधिकांश होटेल रेस्टुरेन्ट, रिसोर्टहरूमा देखिएको चापले पनि यस पटक  झ्न व्यापार बढ्नेमा व्यापारीहरू आशावादी छन्।

होटेल एसोसिएसन अफ नेपाल (हान) का पूर्व अध्यक्ष नरेन्द्र बज्राचार्य यस्ता विदेशी उत्सव र चाडहरूमा आयोजना हुने पार्टीमा प्रवेश गर्ने रु.३ हजारदेखि रु.८ हजारसम्मको 'कपल टिकट' सजिलै बिक्री हुन थालेको बताउँछन्। अहिले हरेक शुक्रबार, शनिबार विदेशमा झैँ 'डेटिङ्ग पार्टी', 'डान्स पार्टी'हरूमा रमाउनेहरूको सङ्ख्या समेत बढेको छ, डिस्को थेक, बारहरू प्रशस्तै खुल्न थालेका छन्। बज्राचार्यका अनुसार 'भ्यालेन्टाइन डे' जस्ता उत्सवमा राजधानीमा मात्रै एक दिनमै करोडौंको कारोबार हुन्छ। राजधानीका करिब ८०० साना, मध्यम होटेल रेस्टुरेन्टदेखि तारे होटेलहरू, करिब २०० कार्ड र गिफ्ट सपहरूले यसबाट लाभ लिइरहेका छन्। उपत्यका बाहिरका बजारले समेत यसबाट लाभ उठाइरहेको छ। 

  'भ्यालेन्टाइन डे' लाई  प्रेमभाव बढाउने माध्यमका रूपमा तन्नेरीले मात्र होइन अधबैंसेले पनि मनाउँछन्। विगत ९ वर्षदेखि राजधानीमा ग्रिटिङ्ग कार्डको व्यापार गर्दै आएका कुणाल अग्रवाल भन्छन्, “पसलमा स्कूले विद्यार्थीदेखि ६० वर्षसम्मका प्रौढहरू समेत कार्ड किन्न आउँछन् मेरो जावलाखेलस्थित हलमार्क कार्ड सेन्टरमा बिक्रीका लागि रु.१२ देखि रु.१२०० सम्मका 'भ्यालेन्टाइन' कार्डहरू छन्।” कार्डसँगै उपहार दिने चकलेट, गरगहना, घडी, पर्स, रेडिमेड कपडाहरूको बिक्री बढ्ने व्यापारीहरू बताउँछन्। काठमाडौं कोटेश्वरकी रश्मि थापाले (२९) विद्यालय तथा क्याम्पसमा साथीहरूबाट धेरै 'भ्यालेन्टाइन' कार्ड पाएको बताउँछिन्,। उनी भन्छिन्, “नयाँ पुस्ताले यस्ता उत्सव मनाउनु सामान्य हो। यो उत्सवका सम्बन्धमा थुपै किम्वदन्तीहरू छन्। इ.सं. २७० तिर रोमका एक पादरी सेण्ट भ्यालेण्टाइनको नामबाट यो दिवस अस्तित्वमा आएकोे मानिन्छ। जसले  नेपाली समाजमा विस्तारै जरो गाड्दैछ। 

अहिले विश्वव्यापीकरण र सूचनाप्रविधिका कारण पश्चिमा संस्कृतिको प्रभाव बढ्दो छ। यससँगै विकृति भित्रियो भनी चिन्ता गर्नेहरू पनि छन्। तर, अङ्ग्रेजी शिक्षामा हुर्किएका, इन्टरनेटको सञ्जालमा हराएका, रोजगार र अध्ययनका लागि विदेश पुगेर प्रविधि र संस्कृतिकोे स्वाद लिएर फर्केका आधुनिक पुस्ताको रोजाइ र चाहनाले यसलाई मलजल गरेको छ। त्यसैले पनि होला, आजसम्म नेपालका कुनै शहरमा भारतको भोपालमा जस्तो 'भ्यालेन्टाइन डे' को विरोधमा प्रेमी जोडीहरू लखेट्न लाठी लिएर बजरङ्ग दल जस्ता कुनै समूह सडकमा निस्किएको छैन।

प्रभावः 'रोकेर रोकिन्न'


सुरेशराज न्यौपाने

'न्यू इयर इभ' सन् २००७ लाई विदाई गर्न ठमेलको सडकमा उर्लेको भीड।

सांस्कृतिक उत्सव, चाड–पर्वसँगै सङ्गीत, पहिरन, भाषा, कला–साहित्य, विकास–प्रविधि, औषधि, हरेक कुरा आयातित भएकाले पनि पश्चिमा प्रभावलाई रोक्न सकिने अवस्था छैन। 

त्रिभुवन विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक सञ्जीव उप्रेतीनेपाली समाजमा पश्चिमा सांस्कृतिक प्रभावको पकड बढी देखिनुमा विज्ञान, प्रविधि र अर्थतन्त्रमा आएको परिवर्तनको महत्ववपूर्ण प्रभावसँगै उपनिवेशवादको प्रभाव समेत रहेको बताउँछन्। उप्रेती भन्छन, “यस्तो प्रभाव स्वाभाविक हो तर त्यसको नेपाली विकल्प छैन, के रोक्ने? प्रविधि, औषधि, लुगा? पश्चिमा प्रभावलाई अस्वीकार गर्ने हो भने इन्टरनेट, प्रविधि त्यागेर महाभारत पढेर बस्ने अनि आधुनिक औषधि उपचार छाडेर आयुर्वेदको मात्र प्रयोग गरेर बस्ने?” यस्ता प्रभाव चाहेर पनि रोक्न सकिने अवस्था नभएको बरु राम्रो पक्ष स्वीकारेर खराब पक्षलाई अस्वीकार गर्दै जान सकिने उनी बताउँछन्।  उनले भने, “यत्रो बम पड्केको, देशमा प्रेमको उत्सव मनाउँदा के हुन्छ र?” विदेशी पर्व मानेपनि आफ्नो मौलिकता र संस्कृति खराब हो भन्ने मनस्थिति विकास गर्न नहुने उनको सुझाव छ।  

विदेशी संस्कृतिको अन्धाधुन्द नक्कल गर्दा हाम्रो संस्कृति जरैदेखि अलग हुनसक्ने खतरा उपे्रती औंल्याउँछन्। युवापुस्तालाई मौलिक संस्कृति र संस्कार, नेपाली गीत–सङ्गीत, चलचित्र, नाटक, कला–साहित्यलाई बढावा दिँदै गर्व गर्ने बनाउन जरुरी रहेको उनको ठम्याइ छ।

उसो त नेपाली परम्परागत तथा जातीय संस्कृति र संस्कारमा युवायुवतीहरूले एकअर्काप्रति प्रेम–भाव प्रकट गर्ने सन्दर्भ र माध्यमहरू प्रशस्तै नभएका भने हैनन्। गुरुङ जातिको रोदीघर, लिम्बूहरूको धाननाच, राईको साकेला, मगरको हुर्रादेखि विभिन्न चाडपर्वमा आयोजना हुने मेला र उत्सव मनोरञ्जन गर्ने र प्रेमभाव आदानप्रदान गर्ने थलोको रूपमा चिनिएका छन्। यसरी प्रेमी–पे्रमिकाका लागि हाम्रै संस्कारले धेेरै चाडपर्व र अवसरहरू दिए पनि नयाँ पुस्तालाई त्यस्ता परम्परा र संस्कार बुझाउन नसक्दा वा ती संस्कृतिको व्यवसायीकरण तथा सामयिकीकरण हुन नसक्दा विदेशी संस्कारतर्फ झ्ुकाव बढेको मान्न सकिन्छ।


किरण पाण्डे

रोजाईः काठमाडौं जावलाखेलको  एक गिफ्ट सप।

कवि विक्रम सुब्बाको बुझाइमा नेपाली समाज पश्चिमा प्रभावमा बजारमुखी बन्दै गएकाले यहाँ 'सेलेवल' कुरा हावी हुँदै गएको हो।  “पालाम, रोदी, हुर्रा जस्ता मौलिक जातीय संस्कृति सेलेवल भएनन् त्यसैले 'भ्यालेन्टाइन', 'डान्स पार्टी' जस्ता विदेशी संस्कृति हावी हुँदै गएको छ।” सुब्बा भन्छन्, “आफ्नो संस्कृतिप्रति ढुलमुल भएका मान्छे र तिनका परिवार बढी पश्चिमा संस्कृतिप्रति आकर्षित देखिएका छन्।  तर, विदेशी संस्कृति मनाए पनि आफ्नो मौलिकता बुझ्ेर यसैलाई बढी महत्वव दिनु आवश्यक छ।”

सबै जातिको संस्कृति संरक्षणका लागि राष्ट्रिय योजना आयोगले भर्खरै तीनमहिने अन्तरिम योजना बनाउँदा विभिन्न जातजातिहरूको  रेखाङ्कन (म्यापिङ) गरेको थियो। सो कार्यमा संलग्न मध्येका एक सुब्बाले भने, “दुर्गम गाउँमा कम्प्युटर, सञ्चार पुर्‍याएर महावीर पुनले म्यागासेसे पुरस्कार पाउनु राम्रो कुरा हो तर सँगै रैथाने संस्कृति जोगाउन टड्कारो आवश्यकता रहेको कुरा बिर्सनुहुन्न।” सिङ्गापुरले आफ्नै मौलिक संस्कृतिको प्रचार र प्रवर्द्धन गरेर प्रगति गरिरहेको उदाहरण दिँदै नेपालले पनि त्यसको सिको गर्नुपर्ने उनको सुझाव छ।  आफ्नो मौलिक संस्कृति प्रवर्द्धन गर्न कुनै सरकारी नीति अहिलेसम्म बनेको छैन। विदेशी प्रभावलाई समयमै रोक्न नसके देशलाई नै परिचयको सङ्कट पर्ने बताउँदै उनले भने “संसार हेर्ने आँखाको लागि आफ्नै जमिन र पहिचान त चाहिन्छ नि!”

“दुई हजार वर्षअघि पूर्वीय सभ्यता धनी भएकाले यसको प्रभाव विश्वव्यापी रहेपनि सत्रौँ शताब्दीपछि बढेको पश्चिमी प्रभावकै कारण आज पश्चिमा संस्कृति हावी भएको हो, त्रि–चन्द्र कलेजका समाजशास्त्रका उप–प्राध्यापक होमराज दाहाल पश्चिमा प्रभावको विगत सुनाउँछन्।  'भ्यालेन्टाइन डे' जस्ता पर्व पश्चिमा देशले मानेकै कारणले विश्वव्यापी भएकोले यो रोक्छु भनेर रोकिने अवस्थामा छैन, दाहाल भन्छन्, “हामी विश्वको सानो गाउँको सानो टोलका बासिन्दा भएका छौं, त्यसैले यस्ता अरू गाउँ, टोलका संस्कृति, संस्कारलाई आफ्नो समाजलाई हानि नहुने गरी लिए हुन्छ।”