हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१२ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक

नेपाली समाजको अर्थ–राजनीतिक विश्लेषण

नेपाल कहिल्यै पनि कसैको उपनिवेश रहेन भन्ने कुराको समाजशास्त्रीय महत्व नरहेको प्रा. चैतन्य मिश्रको ठहर छ। 

एस्सेज अन दि सोसियोलोजी अफ नेपाल
लेखकः प्रा. चैतन्य मिश्र
प्रकाशकः फाइन प्रिन्ट, अनामनगर काठमाडौं
पृष्ठः ३६६, मूल्यः रु.४५०

प्राध्यापक चैतन्य मिश्रका विचारसँग परिचितहरू उनलाई मार्क्सवादी दृष्टिकोण राख्ने समाजशास्त्री भनेर चिन्दछन्। नेपालमा पूँजीवादको प्रवेश र विस्तारका सम्बन्धमा उनी संभवतः सबैभन्दा आधिकारिक विश्लेषण प्रस्तुत गर्न सक्छन्। उनको ठहरमा विगतसँग विच्छेदित र भविष्यसँग नगाँसिएको वर्तमानको शोध, व्याख्या वा शास्त्रको खास महत्व रहँदैन। यिनै समाजशास्त्रीद्वारा करिब २५ वर्षको अवधिमा लेखिएका शोधमूलक निबन्धहरूको सँगालो एस्सेज अन दि सोसियोलोजी अफ नेपाल प्रकाशित भएको छ। यस किताबमा व्यापक र फराकिलो सन्दर्भमा लेखिएका १९ वटा निबन्ध सङ्ग्रहित छन्। 

किताबमा नेपालमा समाजशास्त्र र सामाजिक अनुसन्धानको विधागत विशिष्टतादेखि नेपालको वर्तमान राजनीतिक सङ्क्रमण, माओवादी सङ्घर्ष, अपविकास (अण्डरडेभलप्मेण्ट), वैदेशिक सहायता, नेपाल–भारत सम्बन्ध, आधारभूत आवश्यकता, पञ्चवर्षीय योजना, आर्थिक उदारीकरण र निजीकरण, गोर्खा भर्तीको सुरुआत, पर्वतीय विकास र जनसङ्ख्याको पुनर्वितरण आदिबारे सैद्धान्तिक विश्लेषण गरिएको छ। तीमध्ये नेपालको वर्तमान सङ्क्रमणको चरित्र, माओवादी सङ्घर्षका कारण र नेपालको अपविकासका बारेमा लेखिएका तीन निबन्ध यी विषयका मानक विश्लेषण 
नै लाग्दछन्। तसर्थ, तिनीहरू नै किताबमा मिश्रका प्रतिनिधि निबन्ध पनि हुन्।

यी तीनमध्ये पहिलो निबन्धले अझैपूर्ण हुन बाँकी नेपालकोे राजनीतिक सङ्क्रमणलाई विश्लेषण गर्ने खाका प्रदान गरेको छ। नेपालको समकालीन इतिहासमा सर्वाधिक महत्व राख्ने माओवादी सङ्घर्षको विश्लेषण माओवादी स्वयंले गर्नेभन्दा विषद र व्यापक छ। त्यस्तै, तेस्रो निबन्ध चाहिँ नेपालको अपविकासबारे मौलिक तथ्यहरूसहित गरिएको अर्थ–राजनीतिक विश्लेषण हो। यी तीनवटै निबन्धलाई लेखकले कुशलतापूर्वक गरेका साहसिक प्राज्ञिक कार्य भन्न सकिन्छ।

मिश्रले आफ्नो लेखाइमा निस्सन्देह मार्क्सवादी विश्वदृष्टिकोण र अध्ययन–पद्धति अँगालेका छन्। तर शब्दाडम्बरका भरमा आफ्ना आग्रहलाई मार्क्सवादको खास्टोे ओढाउने आम प्रचलनविरुद्ध उनले सामाजिक यथार्थहरूको विश्लेषण गर्न मार्क्सवादी दृष्टिकोणलाई अँगालेका छन्। मार्क्सवादी र नवमार्क्सवादी चिन्तन–प्रणालीमाथि गरिने आलोचना किताबका कतिपय प्रबन्धमाथि पनि लागू होलान्, तर शास्त्रका कतिपय स्थापित मान्यतालाई उनले स्थिर धर्म–सन्देशको रूपमा ग्रहण नगरी वर्तमान विश्व–प्रणालीमा सान्दर्भिक तुल्याएका छन्।

विशिष्ट कालखण्ड र विविध विषयवस्तुमा लेखिए पनि इतिहास, रुपान्तरण र प्रक्रियाको प्रतिबिम्वन सबै निबन्धका साझ्ा चरित्रका रूपमा देखिएका छन्। तसर्थ यिनको दीर्घकालीन सान्दर्भिकता छ। सबै निबन्धमा उनका केही मौलिक प्रस्थापना भेटिन्छन्। वर्तमान सङ्कट वा सङ्क्रमणका लागि यसका कर्ता र आन्तरिक कारणहरूभन्दा संरचना र बाह्य विश्व व्यवस्थाजनित कारणहरू प्रबल रहेको उनको तर्क छ। नेपाल कहिल्यै पनि कसैको उपनिवेश रहेन भन्ने कुराको समाजशास्त्रीय महत्व नरहेको उनको ठहर छ। नेपाल अर्धसामन्ती अवस्थामा छ भन्ने वा त्यसको कालखण्डको निरुपण गर्ने सम्बन्धमा उनको धारणा नेपाली वामपन्थी जगतको भन्दा भिन्न छ। नेपाल सन् १९५० को दशकभन्दा पहिले नै पूँजीवादी विश्वको संसर्गमा परिसकेको र यहाँ असम्वद्ध पूँजीवादले प्रवेश गरिसकेको थियो भन्ने उनको मान्यता छ।  

पछिल्लो कालखण्डमा लेखिएका दुई निबन्ध र किताबको प्राक्कथनमा उनी पहिलेका आफ्नै केही प्रस्थापनाभन्दा फरक रहेर बुर्जुवा लोकतन्त्र प्राप्तिका लागि पूँजीवादको विस्तार र सघनता अनिवार्य रहेको ठान्दछन्। उनका अनुसार, पूँजीवादतिर नेपाली समाजको सङ्क्रमणले जनविद्रोह र लोकतन्त्रीकरणलाई घाटा हैन बल नै पुर्‍याउँछ। तसर्थ पूँजीवादको सघनीकरणले व्यक्ति समेतको विश्वास–परम्परादेखि व्यवहारसम्मलाई लोकतन्त्रीकरण गर्न मद्दत गर्दछ। नेपालजस्ता देशहरूले आफ्नो अपविकासलाई उल्ट्याउन पूँजीवादी केन्द्रहरूबाट आफूलाई विच्छेद गर्नुपर्छ भन्दै समाजवादको वकालत गरिएका आफ्ना पहिलेका निबन्धहरूमा निहित मान्यताभन्दा भिन्न पछिल्ला निबन्धहरूमा उनले त्यस्तो मान्यताले सम्भावित विकास, राष्ट्र र विश्वको उत्पादक शक्तिलाई बाधा पुर्‍याउँछ भन्ने निष्कर्ष दिएका छन्। यसले स्थानीय र विश्वका बीचमा समाधान नै गर्न नसकिने अन्तरविरोध सिर्जना गरिदिन्छ र यस्तो अन्तरविरोध स्थानीयका लागि बढी महँगो पर्न जान्छ भन्ने उनको ठम्याइ छ।

अन्त्यमा, पँूजीवादको विस्तार र सघनताले वर्तमान नेपालका कतिपय अन्तरविरोध समाधान गर्न सहयोग त पुर्‍याउला, तर जनहितकारी लोकतन्त्र कसरी सुनिश्चित गर्ला? त्यसपछि उनको समाजवादसम्मको यात्राको स्वरुप कसरी निर्धारण होला? प्रा. मिश्रका सैद्धान्तिक विश्लेषणमा यस्ता केही अस्पष्टता पनि छन्। त्यस्तै, सङ्कट वा सङ्क्रमणका लागि आन्तरिकभन्दा बाह्य कारण प्रबल छन् भन्ने उनको धारणालाई पनि सापेक्षतामा हेर्नुपर्ने हुन्छ। नेपालको जातीय, भौगोलिक, लैङ्गिक विविधता र विषमता अनि आन्तरिक गतिशीलतालाई पर्याप्त ध्यान नपुर्‍याएको कारण कतिपय विषयमा उनका विश्लेषण अझैअपूर्ण लाग्दछन्।

एस्सेज अन दि सोसियोलोजी अफ नेपाल का सबै निबन्धमा मिश्रको दृष्टिकोण निरन्तर र अविचलित छ। तसर्थ विषय, सन्दर्भ र आयतनको विविधता हुँदाहुँदै पनि यो एउटा सग्लो किताब बनेको छ। समाजशास्त्रका अध्येता, प्राज्ञ र विकासविद्हरूका लागि यो एउटा महत्वपूर्ण स्रोत–सामग्री हुनेमा द्विविधा छैन। विषय र विश्लेषणको प्राधान्यलाई विचार गर्दा किताबको शीर्षक चाहिँ 'एस्सेज अन दि पोलिटिकल इकोनोमी अफ नेपाल' बढी सान्दर्भिक हुनेथियो। 

 सुरेश ढकाल