हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१२ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

लक्कीको लगाव 


शब्द/तस्बिरः कुमार सुब्बा/किरण पाण्डे

कुवेतको अदालतले सिन्धुपाल्चोककी डोल्मालाई मृत्युदण्डको फैसला सुनाएलगत्तै उनको ज्यान जोगाउन आग्रह गर्दै महिलाहरूको एउटा लस्कर परराष्ट्र मन्त्रालय पुग्यो। 'डोल्मा बचाऊ अभियान'मा अहिले ती महिलाहरूलाई दुई दर्जनभन्दा बढी मानवअधिकार संस्थाहरूले साथ दिइरहेका छन्। फलतः डोल्माको जीवनरक्षाका लागि पहल गर्न सरकार अग्रसर भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला सञ्जालको व्यानरमा शीतलनिवास पुग्ने ती महिलाहरूको नेतृत्व गरेकी थिइन्, सञ्जालकी अध्यक्ष लक्की शेर्पा (३३) ले। उनी भन्छिन्, “विदेशमा नेपाली महिलालाई मृत्युदण्ड दिन लागिएको सुनेर हामी स्तव्ध भयौं र उनको बचाऊ अभियानमा लागिहाल्यौं।”

लक्की सामाजिक अभियानमा संलग्न भएको एकदशक बित्न लाग्यो। यस्ता गतिविधिमा संलग्न हुनुलाई उनी एउटा शिक्षित महिलाको कर्तव्य ठान्छिन्। उनले यो कालखण्डका धेरै समय आदिवासी जनजाति महिलाहरूको अधिकारका लागि खर्चेकी छिन्। अधिकारकर्मीको रूपमा होस् वा विषयविज्ञ भिजिटिङ प्रोफेसरको रूपमा; उनीहरूको अवस्थालाई थुप्रै अन्तर्राष्ट्रिय मञ्चहरूसम्म पुर्‍याउन सफल लक्की नेपालबाट एसिया प्रशान्त क्षेत्रको आदिवासी जनजाति महिला सञ्जालमा प्रतिनिधित्व पनि गर्छिन्। 

शेर्पा समुदायका पहिलो प्राध्यापक श्यामसुन्दर शेर्पाकी छोरी लक्की अध्ययनको हिसाबले अर्थशास्त्री हुनुपर्ने हो। अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर उनी आफ्नो परिचय महिला अधिकारकर्मीको रूपमा स्थापित हुनु परिस्थितिको बाध्यता ठान्छिन्। भन्छिन्, “उत्पीडनमा परेका आदिवासी जनजाति महिलाहरूको आवाजलाई माथि उठाउन यो क्षेत्र रोजेकी हुँ।”                                   

राजुको लोकभाका 


शब्द/तस्बिरः देव पचभैया

लोकदोहोरी गाएर नाम र दाम कमाउने दौडमा प्रशस्तै कलाकार छन्। तर कमै मात्र त्यो दौडको अग्रपङ्क्तिमा छन्। तिनै मध्येमा पर्छन् अहिलेका व्यस्त लोकगायक राजु परियार (२७)। दिनहुँ जसो गीत रेकर्डिङमा व्यस्त रहने राजु एकै दिनमा १२ वटासम्म गीतमा आवाज दिएको बताउँछन्। २०५७ सालमा डोरी बाटेर लोकदोहोरी अल्बम निकालेर साङ्गीतिक यात्रामा लागेका परियार भन्छन्, “अहिलेसम्म ८ हजारभन्दा धेरै लोकदोहोरीमा आवाज दिइसकेँ।” लोकदोहोरी अल्बमको बारेमा कुनै अनुसन्धान प्रतिवेदन फेला नपरे पनि अहिलेसम्म बजारमा आएका मध्ये ७५ प्रतिशत अल्बममा राजुको आवाज रहेको मानिन्छ।

 राजुको व्यस्तता देश–विदेशमा हुने सांस्कृतिक कार्यक्रमले पनि बढाएको छ। नेपालका अधिकांश जिल्ला र धेरै देशमा पुगेर उनले दोहोरी गाएका छन्। परियारले हरेक गीतबाट रु.३ हजारदेखि रु.५ हजार र विदेशमा एक शोको रु.१ लाखसम्म पारिश्रमिक लिने गरेका छन्। लाहुरे बन्ने लक्ष्यका साथ स्कूल छाडेर २०५५ सालमा लमजुङबाट काठमाडौँ आएका राजु लोकगीततर्फ लाग्नुलाई कर्मको खेल ठान्छन्। सामाजिक सद्भाव जगाउन हिमाल, पहाड र तराईलाई समेट्ने नयाँ गीत गाउने तयारीमा रहेका राजु आफ्नो भाकाबाट छुवाछूत विरुद्धको सन्देश पनि दिने गर्दछन्। उनको पछिल्लो अल्बम सुनपानी र रुमाल धोको छु मा पनि यस्तै सन्देश छ। भन्छन्, “छुवाछूत र भेदभाव अन्त्यका लागि दलित शब्द नै हटाउनुपर्छ, गीतबाट मैले त्यो सन्देश दिन खोजेको छु।”