![]() |
| पूर्णाङ्क २१२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
इतिहासमा अस्तित्व
सङ्कटमा दुल्लु • विनोद धौलागिरि, दुल्लु, दैलेखमा
कुनै समय पश्चिम नेपालको विशाल राज्य रहेको कर्णाली–दुल्लुकोे राजधानी जुम्लामा हिउँ पर्न थालेपछि दैलेखको दुल्लुमा हिउँदे राजधानी बस्दथ्यो। दुल्लु र वरपरका गाउँमा हुनेखानेका घर ढुङ्गाले छाएका थिए। 'सपादलक्षशिखरी' (लाखौं पर्वतको राज्य) भनिने १३–१४ औँ शताब्दीको कर्णाली–दुल्लु त्यसबेला उत्तरपट्टि चीनको तिब्बत र दक्षिणपट्टि भारत (उत्तर प्रदेश) को अधिकांश भागसम्म फैलिएको तथा विभिन्न समयमा भारतका मुस्लिम शासकहरूलाई समेत हराएर स्थापित भएको थियो। यति शक्तिसम्पन्न राज्यको दोस्रो राजधानीको रूपमा स्थापित दुल्लुको राजनीतिक इतिहास काठमाडौँ र गोर्खाको भन्दा कम महत्वपूर्ण थिएन। जुम्ला, कालीकोटलगायत भोटसम्मको व्यापारिक मार्ग समेत थियो दुल्लु। कर्णाली–दुल्लुको तर्फबाट पृथ्वी मल्लको सेनाले अहिले भारतमा पर्ने काराचल पर्वतमा आक्रमण गरेका टर्किस मुस्लिम शासक समसुद्दिनका छोरा फिरोज साह तुगलकलाई हराएको थियो। त्यसपछि फेरि उनैले गरेको, सम्भवतः नेपालको प्राचीन इतिहासको सबैभन्दा ठूलो युद्धमा पनि पृथ्वी मल्लले नै विजय हासिल गरेपछि त्यसको अभिलेखको रूपमा सन् १३५७ मा दुल्लुमा कीर्तिखम्बहरू खडा गर्न लगाइएको बताउँछन् दुल्लुको राजनीतिक इतिहासको खोज गरिरहेका भूपालविक्रम शाह। युद्धमा बाह्य शत्रुलाई जितेको कर्णाली–दुल्लुको अन्ततः आन्तरिक विद्रोह र पारिवारिक अंशवण्डाले गर्दा पतन शुरु भयो। सन् १३६२ ताका विद्रोह गरेर डोटीका निरपालले छुट्टै डोटी र तिब्बतका चङ्च्व ग्यालत्स्यानले छुट्टै तिब्बत राज्य बनाए। बचेको राज्य पनि पछि राजा मलय बमले आफ्ना २२ छोराबीच भागवण्डा लगाइदिए, जुन पृथ्वीनारायण शाहको नेपाल एकीकरणअघि 'बाइसे राज्य'का रूपमा चिनिन्थे। यो विभाजनबाट खासगरी दैलेख र दुल्लु अलग राज्य भएपछि दैलेखले पाएको महत्वका सामु दुल्लु ओझ्ेलमा पर्दै गएको बताइन्छ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानको विवरण लेख्ने इतिहासकारहरूले कर्णाली–दुल्लुको इतिहास लेख्नमा पनि कञ्जुस्याइँ गरेका छन्। “इतिहासमा अङ्कित हुनका लागि केन्द्रबिन्दुमा हुनैपर्ने रै'छ”, अध्येता भूपालविक्रम शाह भन्छन्, “काठमाडौँ खाल्डोलाई चार टुक्रा पारेर राज्य गर्नेहरूको इतिहास लेखियो, तर विशाल दुल्लुको गौरवशाली इतिहास लेखिएन। शक्तिको पूजा गर्नेहरूले जित्नेकै र शक्तिशालीहरूकै इतिहास लेख्दा्क रहेछन्।” दुल्लुका वृद्ध हीरासिंह क्षेत्री योगी नरहरिनाथले आफूहरूलाई 'दुल्लुको गौरवशाली इतिहासलाई जोगाउन सक्नुभएन भने केही समयमै लोप भएर जाने' भनेको सम्झ्न्छन्। वि.सं. १८११ मा काशीको मणिकर्णिकामा गोर्खाली शाह राजा र दुल्लुका राजा रामदत्त शाहीबीच धर्मसन्धि भएको थियो। द्रोणाचल शिक्षा क्याम्पसमा इतिहास प्राध्यापन गर्ने डम्बर केसी सो सन्धि पनि शाहहरूको आफू शक्तिशाली हुने र शत्रु घटाउँदै लैजाने नीति अनुसार भएको दाबी गर्छन्। “यही सन्धिका कारण वि.सं. १८४६ मा बहादुर शाहले दैलेखमा विजय प्राप्त गरेपछि पनि दुल्लुमाथि आक्रमण गरेका थिएनन्”, केसी भन्छन्, “त्यतिबेला बहादुर शाहको फौजका अगाडि दुल्लुको फौज पनि कमजोर थियो।” काशीमा गरिएको धर्मसन्धि पनि दुल्लुको इतिहास लुकाइनुको एक प्रमुख कारण भएको मान्छन् भूपालविक्रम शाह। “अहिलेसम्म शाहहरू नै शक्तिमा रहे”, उनी भन्छन्, “उनीहरूले कहिल्यै दुल्लुसँग लड्नु परेन। अनि आफू नलडेकासँगको इतिहास किन लेख्न लगाउँथे?” वि.सं. १८४६ मा काजी कालु पाण्डेसहितको गोर्खाली फौजले तत्कालीन विलासपुर राज्य(हालको दैलेख) माथि आक्रमण गरी राजपरिवारका सबै सदस्य, नातेदार र धेरै दैलेखीहरूलाई तरबारले छप्काए। त्यसबेला विलासपुरका राजा सङ्ग्राम शाहीले सहयोगका लागि अनुरोध गर्दा बालक राजा उत्तिम शाहीका भाइभारदारले गोर्खालीसँग धर्मसन्धि गरिसकेकोले सहयोग गर्न नसक्ने जवाफ दिएका थिए। “त्यसबेला दुल्लुको सहयोग पाएको भए धेरै दैलेखीहरूको ज्यान जोगिन्थ्यो”, डम्बर केसी भन्छन्। २०१७ सालमा राजारजौटा उन्मूलन भएपछि दुल्लुको त्यो हैसियत पनि गुम्यो। १ वैशाख २०१८ देखि हुनलागेको नयाँ जिल्ला विभाजनको मौका पारेर २८ चैत २०१७ का दिन दैलेखीहरूले बन्दूक, तरबार र खुँडासहित दुल्लु पुगी सम्पूर्ण कार्यालयका कागजपत्र दैलेखबजारमा लगे र त्यसअघि बडाहाकिम बस्ने गौँडा पनि रहेको दैलेखबजार नै जिल्ला सदरमुकाम बन्यो। “त्यसबेला कागजपत्र यहीँ राख्न निकै कोशिश गरियो, तर हतियारले सुसज्जित दैलेखीहरूका अगाडि हाम्रो केही लागेन”, स्थानीय शिक्षक मानबहादुर थापा भन्छन्, “सदरमुकाम सार्नका लागि चैत मसान्तभित्र काठमाडौँ पुग्नुपर्थ्यो, त्यो समय हामीसँग थिएन।”
८ वैशाख २०५९ साँझ् माओवादीहरूले दुल्लुको राजदरबार जलाएर ध्वस्त पारिदिएपछि कुनै समयको विशाल राज्यको बाँकी सग्लो चिनो पनि बचेन। “हामीले दरबार जोगाउन खोजेका थियौं”, स्थानीय हरिबहादुर थापा भन्छन्, हामीमाथि पनि आक्रमण हुने डरले अघि सरेनौं।” कर्णाली–दुल्लुको इतिहास बोकेका ठूला–साना कलात्मक कीर्तिखम्बहरू पनि संरक्षणविहीन छन्। बरु वि.सं. १८४५ मा इटालीका जोसेफ टुचीले तिब्बत र दुल्लु आएर केही कीर्तिखम्बको उत्खनन् गरी अनुसन्धान गरेका थिए। यो क्षेत्रको इतिहासका धेरै तथ्यविवरण तिब्बत, ताक्लाकोटको गुम्बामा पनि पाइने अध्येताहरू बताउँछन्। “तिब्बतमा यस्तै, यहाँकै व्यहोरामा लेखिएका खम्बा भेटेका टुचीले सो लिपिको अध्ययन गरी दुल्लु खोज्दै आएर यहाँका खम्बाको पनि अध्ययन गरेका थिए”, भूपालविक्रम शाही भन्छन्। उनको यो भनाइ योगी नरहरिनाथको इतिहासप्रकाश सँग पनि मेल खान्छ। २०१२ सालमा खाल्डो खनी अड्याएर राखिएका केही कीर्तिखम्बमध्ये मूल खम्बलाई पछि सिमेण्टको जगमा अड्याइएको थियो, जसको दक्षिणपट्टिपालहरूको र उत्तरपट्टि मल्लहरूको वंशावली उल्लेख छ। वरिपरिका साना खम्बहरू ऐतिहासिक दृष्टिकोणले झ्नै महत्वपूर्ण छन्। दुल्लुको बीच बजारमा देखिने सबैभन्दा सानो कलात्मक खम्बमा मुस्लिम शासक फिरोज साह तुगलकसँगको भिडन्तमा प्राप्त विजयको विवरण उल्लेख छ। तर, अधिकांश कडा ढुङ्गाबाट बनाइएका यस्ता खम्बहरू स्थानीय बासिन्दाका आँसी, बन्चरो र दाव (फलामे हतियार) उद्याउने काममा प्रयोग भएका छन्। केही कसैका भाँडा माझने जुठ्यानमा परेका देखिन्छन् भने केही ढिस्को भत्केर पुरिएका छन्। खम्बहरूको संरक्षणमा किन कसैले चासो देखाएन? डम्बर केसी भन्छन्, “पढेका र इतिहासको महत्व बुझ्ेका युवाहरू यहाँ कोही बस्दैनन्।” कर्णाली राजमार्ग नबनेसम्म सुर्खेत–कालीकोट–जुम्ला हुलाकी मार्गले काटेर जान्थ्यो दुल्लुलाई। “वर्ष दिनअघिसम्म पनि कालीकोट र जुम्लाको व्यापारिक मार्ग थियो, तर अहिले स्थानीय बजारमात्र बनेको छ”, दुल्लुका कलम वादी भन्छन्। कर्णाली राजमार्गलाई दुल्लु हुँदै लैजान स्थानीयबासीले गरेको अनुरोधलाई पनि सरकारले टेरेन। “खोलाको तीरैतीर २१० किलोमिटर बाटो लगियो”, बसन्त क्षेत्री भन्छन्, “दुल्लुहुँदै लगेको भए कम्तीमा आधै छोटो र सजिलो हुन्थ्यो, बीच–बीचमा पर्ने गाउँका बासिन्दाले पनि सुविधा पाउँथे।” डुङ्गेश्वरबाट दुल्लुहुँदै कालीकोटको सदरमुकाम मान्म पुग्न ४१ किमि मात्र लाग्नेमा ११० किमि बढी खनेर त्यहाँसम्म बाटो पुर्याइएको छ। अहिले तल्लो डुङ्गेश्वरदेखि दुल्लुसम्म कच्ची बाटो खनिएको र दुई महिनादेखि एउटा जीप चल्न थालेको त छ, तर धेरै ठाउँमा धकेलेर पार गराउनुपर्छ। २०३२ सालसम्म दुल्लुमा एउटा माध्यमिक विद्यालय पनि थिएन। “त्यसबेला मावि सञ्चालन गरिनुपर्छ भनेर आन्दोलन गर्दा हामीलाई अराष्ट्रिय तत्व भनी जेल हालियो”, सेवानिवृत्त शिक्षक मानबहादुर थापा सम्झ्िन्छन्। के चाहन्छन् त दुल्लुबासी? “अरु केही चाहिँदैन”, मानबहादुर थापा भन्छन्, “हामीलाई दैलेखले शत्रुको रूपमा नहेरिदिए मात्र पुग्छ।” दीप्तप्रकाश शाह थप्छन्, “समान व्यवहार, समान अवसर र ऐतिहासिक धरोहरको संरक्षण गरे मात्र हाम्रो संस्कृति बच्नेछ र विकासको बाटो खुल्नेछ।” |