हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१२ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश

सशस्त्र आन्दोलनमा भारतीय अपराधी

पूर्वी तराईमा आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएका भारतको सुपौल जिल्लाका धीरेन्द्र यादव पक्राउ परेपछि तराईमा आन्दोलनरत सशस्त्र एवं निरस्त्र समूहहरूले उनको सहयोग लिने गरेको तथ्य खुलेको छ। विभिन्न अपराधमा सक्रिय यादवलाई १४ माघमा प्रहरीले सुनसरी, इनरुवाको धरानरोडस्थित गोर्खा डिपार्टमेन्टल स्टोर अगाडिबाट समातेको हो।

प्रहरी अनुसन्धानमा रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले २१ माघमा सार्वजनिक गरेको थियो। त्यस अवसरमा यादवले पत्रकारहरूलाई भनेका थिए, “मैले उनीहरू (सशस्त्र समूहहरू) लाई भारतका विभिन्न ठाउँबाट हतियार ल्याइदिएको हुँ। मधेश आन्दोलनमा मधेशी जनअधिकार फोरमका कार्यकर्तालाई समेत बन्दुकलगायत अन्य सामग्री सहयोग गरेको थिएँ।” यादव पक्राउ परेलगत्तै राजधानीबाट प्रकाशित एक दैनिक पत्रिकामा जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) का पोलिटब्युरो सदस्य तथा सुनसरी–मोरङ इञ्चार्ज चित्तनारायण खेरबार 
(सङ्केत) ले 'सिङ्गो तराई आन्दोलनलाई धक्का पुगेको' भनी दिएको प्रतिक्रियाले पनि यादवको दाबीलाई बल पुर्‍याएको छ।

जिल्ल्ाा प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक विक्रम सिंह थापाले पनि यादवले सशस्त्र समूहहरूलाई उनीहरूले भने अनुसारको हतियार आपूर्ति गरेको स्वीकार गरेको जानकारी दिएका छन्। उनी भन्छन्, “यादवले बयानमा मधेशी जनअधिकार फोरम, जनतान्त्रिक तराई मुक्ति मोर्चाका गोइत र ज्वाला सिंह दुवै समूह र पछिल्लो समय मधेशी टाइगर्सलाई समेत सहयोग गरेको बताएको छ।” यादवलाई पछिल्लोपटक ८ माघमा कृषि विकास बैंक, राजविराजका प्रबन्धक विक्रम साहको हत्याको आरोप समेत लागेको छ। 

यादव स्वयंले पनि थुप्रै अपराध स्वीकार गरेका छन्― विराटनगरका व्यापारी पवन राठीलाई सुनसरीबाट अपहरण गरी रु.२५ लाख र राजविराजका चिकित्सक मुरलीप्रसाद साहलाई अपहरण गरी रु.१० लाख फिरौती लिएर छाडेको, भारत, मधुवनीका व्यापारी लाल मियाँलाई इटहरीको बिसनपुर चोकमा हत्या गरेको, भारतकै फारविसगञ्जका व्यापारी अरुण गोल्छालाई अपहरण गरी रु.१ करोड फिरौती नदिएपछि हत्या गरेको। गोल्छाको हत्यापछि आतङ्कित त्यहाँका व्यापारीहरूले यादवको टाउकोको मोल भारु.५ लाख तोकेका थिए।

अञ्चल प्रहरी कार्यालय, सगरमाथाका वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खड्का यादवलाई तराईका अन्य राजनीतिक दलहरूले समेत प्रयोग गरेको हुनसक्ने बताउँछन्। “कुन–कुन दलले आफ्नो राजनीतिक स्वार्थका लागि यादवलाई प्रयोग गरे भन्ने कुरा अब चाँडै खुल्छ”, उनी भन्छन्। प्रहरी स्रोतका अनुसार पहिले गोइत निकट रहेका यादव उनीसँग मनमुटाव भएपछि ज्वाला सिंह र मधेशी टाइगर्सको सहयोगी बनेका थिए। सशस्त्र समूहहरूले गर्ने अधिकांश हत्या, लुटपाट र अपहरणमा यादवकै सक्रियता रहने, त्यसको जिम्मा मात्र ती समूहहरूले लिने गरेको प्रहरीको दाबी छ।

धीरेन्द्र यादवसँगै उनलाई कृषि विकास बैंकका प्रबन्धक साहको हत्या र सो बैंकबाट भएको रु.३० लाखको लुटमा सहयोग गर्ने बैंकका कार्यालय सहायक सप्तरी, बरहीविरपुर–१ का दुर्गानन्द यादव तथा पकरी–१ का सुनिलकुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनका अन्य सहयोगीहरू भारतको सुपौल जिल्ला, त्रिवेणीगञ्जका गुड्डु भनिने बमबम यादव, सुपौलकै हृदयनगर, सीतापुरका दिनेश साह भनिने बौवा मेहता, करजाइन, मन्सापुरका दीपक भनिने धीरु यादव पनि पक्राउ परेका छन्।

तीन साताअघि प्रहरीले यादव समूहकै पप्पु यादव, शम्भु यादव र ओमप्रकाश यादवलाई पनि समातेको थियो। हत्या, डकैती र नक्कली नागरिकताकोे आरोप लगाइए पनि पर्याप्त प्रमाण नपुगेको भन्दै जिल्ला अदालत, सुनसरीले उनीहरूमध्ये पप्पुलाई रिहा गर्ने आदेश दिएको छ भने अन्य दुईलाई मोरङ कारागारमा थुन्ने आदेश दिएको छ। दुई महिनाअघि भारत, मधुवनीका एक आपराधिक गिरोहको नाइके सुभाषझा राजविराजको जनआन्दोलन चोकबाट पक्राउ परेका थिए। सुनसरीको श्रीपुर–४, जब्दीबाट नक्कली नेपाली नागरिकता लिएकाझालाई भने भारतीय प्रहरीको आग्रहमा सुपुर्दगी गरिएको छ।

धीरेन्द्र यादवसहितको भारतीय अपराधी समूहलाई भने अहिले नै भारत सरकारलाई सुपुर्दगी नगरिने प्रहरी वरिष्ठ उपरीक्षक खड्का बताउँछन्। उनले यादव पक्राउ परेलगत्तै भारतको सुपौल, अररियाबाट आएका प्रहरी अधिकृत र भारतीय उच्च सुरक्षा निकायले सुपुर्दगीको माग गरेपनि नक्कली नागरिकता, हत्या र अपहरणमा नेपालमै मुद्दा चलाइने जानकारी दिएका छन्।

भारतमा पनि विभिन्न अपराधमा संलग्न धीरेन्द्र यादवले गाउँको चुनावमा आफ्नी श्रीमतीको विपक्षी उम्मेदवारको हत्या गरेका थिए। सुपौलका एसपी श्यामकुमारका अनुसार त्यसपछि लगातार हत्या, अपहरण, फिरौती र लुटमा लागेका यादवविरुद्ध १२९ वटा मुद्दाको सूची प्रहरीसँग छ। श्यामकुमारले हिमाल सँग भने, “उनी भारतमा सर्वाधिक खोजी गरिएका अपराधी हुन्। प्रहरीलाई उनलाई देख्नेवित्तिकै गोली हान्ने अधिकार थियो।”

बिहारमा मुख्यमन्त्री नितिशकुमार सत्तामा आएपछि आफूलाई असुरक्षित ठानी नेपालको पूर्वी तराई छिरेका यादवले यहाँका सशस्त्र समूहहरूलाई हतियार सहयोग गरेको बदलामा उनीहरूको सहयोगमा दुईवटा नेपाली नागरिकता बनाएका थिए। उनीसँग सुनसरी, पश्चिम कुशाहा–१ का सीताराम यादवको छोरा महेश यादव र सप्तरी, बभनगामाकट्टीका शंकर यादवका छोरा महावीर यादवको नामको नेपाली नागरिकता छ। 

 रविन गिरी र श्रवण देव


निस्कन थाले खुँडा–तरबार

सशस्त्र द्वन्द्वका बेला माओवादीले लैजान्छन् भनेर गाउँघरमा लुकाइएका चाडपर्वमा प्रदर्शन गरिने खुँडा, तरबार, खुकुरीजस्ता परम्परागत हातहतियार निस्कन थालेका छन्। गएको १५ पुसदेखि माघको पहिलो हप्तासम्म बाजुराका जनताले ब्रह्मतोला, कैलाशमाण्डौ, आटिचौर, जुगाडा, जयबागेश्वरी, गुदुखाति, मानाकोट, पन्तालि, फेरेगडा, पैमा, जुगाडा, छतारा, ताँप्रा आदि गाउँमा तरबार र खुँडा प्रदर्शन गरेर माओवादी अवरोधका कारण १२ वर्षदेखि मनाउन नपाइएको 'भुव पर्व' मनाए।

पुसको पूर्णिमाको दिन पाँच पटक चाली खेलेर शुरु गरिने धार्मिक–ऐतिहासिक महत्वको भुव पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटीलगायतका जिल्लामा मनाउने चलन छ। एउटा निश्चित स्थानमा हातमा तरबार र ढाल लिएका व्यक्तिहरू गोलो घेरामा उभिने अनि बीचमा बसेर एक जनाले बजाउने दमाहाको तालमा ढालमा छुवाउँदै तरबार नचाउने खेललाई 'चाली खेल' भनिन्छ। प्रत्येक दुई वर्षमा मनाइने यो पर्वलाई बडादशैँ जत्तिकै महत्व दिने गरिएको ताँप्रा–९ का रामप्रसाद कुँवर बताउँछन्।

बाजुराको सबैभन्दा ठूलो मानिने ताँप्राको 'बड्डि भुव'को प्रमुख आकर्षण हरिनु नाच हेर्न बाजुराका विभिन्न ठाउँका साथै बझाङका मानिसहरू समेत आउने गर्छन्। यसमा स्थानीय भाषाको गीत 'मागल'को तालमा रातो कपडाले छोपिएका तीन जना मानिसलाई निहुराएर नचाउँदै चाली खेलेको ठाउँबाट ताँप्राको चौपाडि ल्याउने गरिन्छ। ताँप्राका मागल प्रमुख धनबहादुर थापा भन्छन्, “हरिनु ल्याउँदा देउताको अछलले बीचबीचमा मर्छ, मन्त्रले जगाइन्छ र फेरि नचाइन्छ। यसका साथै पातर नचाउने, जोगी बनाउने, पल्टन बनाउने,झाँक्री, लाखे, जोगी, घोड्याउतो हिँडाउने कार्यक्रमहरू पनि ग्रिन्छ।”

हरिनु नचाएको भोलिपल्ट चाली खेल्दै भुव गाउँ–गाउँमा पुग्छ। त्यसबेला जसको घरमा पहिलो पटक छोरा जन्मिएको हुन्छ, उसबाट रुपैयाँ, पैसा र पाठा मागिन्छ। भुवमा सामेल नहुनेलाई दण्ड पनि दिइन्छ। त्यसब्ााट उठेको पैसाले सबै बसी खसी–बोका काटेर खुसियाली मनाउँछन्।  

नरेन्द्र रौले, बाजुराबाट फर्केर

चेपाङहरूको नमुना ऊर्जा गाउँ  


जोनाथन केलेन

पृथ्वी राजमार्गबाट त्रिशूली नदीको तुइन तरेर करिब एक घण्टा ठाडो उकालो लागेपछि पुगिन्छ― गोरखाको भुम्लीचोक गाविसका लुप्राङ, हिक्लुङ, थुम्का, भञ्ज्याङ, क्याङटुङ र कौडीफाँट 'नवीकरणीय ऊर्जागाउँ'। आदिवासी चेपाङहरू बस्ने यी गाउँको इन्धनको आवश्यकता वायु ऊर्जा, वायोग्याँस, सौर्य लालटिन, सुधारिएको चुलो र साना जलविद्युत् आयोजनाले पूरा गरेका छन् भने थोपा सिंचाई, जैविक तरकारी खेती, सफा चर्पी, च्यूरी पेल्ने मेसिन जस्ता स्थानीय प्रविधिको प्रयोगबाट सञ्चालित विकास योजना यहाँका थप आकर्षण हुन्। यी कुराले चेपाङहरूको जीवनस्तरमा निकै सुधार ल्याएको छ।

डाँडागाउँकी सुकमाया चेपाङलाई अहिले छोराछोरी पढाउने खर्च जुटाउन त्यति मुश्किल परेको छैन। उनी भन्छिन्, “सोलार लालटिन बाल्न थालेपछि महिनामा चार सयको मट्टीतेल किन्ने पैसा जोगिएको छ। गोलभेडा बेचिन्छ।” गाउँका प्रत्येक जसो घरले वर्षमा डेढ लाखसम्मको गोलभेडा बेच्छन्। उनीहरूले गाउँमा सहकारी पनि स्थापना गरेका छन्, जसले त्रिशूली पारिपट्टि तरकारी जम्मा गर्ने भवन निर्माण गरेको छ। सहकारीमा सङ्कलित तरकारी बजार पठाएर बेच्ने काममा चेपाङहरू पोख्त भइसकेका छन्।

घर–घरमा २२ सय रुपैयाँको सोलार लालटिन जडान भएपछि विद्यार्थीहरूको पढ्ने बानी बसेको बताउँदै स्थानीय तोमनडाँडा प्राविका शिक्षक कुलबहादुर चेपाङ भन्छन्, “यसबाट गाउँका जनताले बिहान–बेलुका बढी काम गर्न थालेका छन्। वायोग्याँसले गर्दा दाउरा टिप्न वन जानु परेको छैन।” अहिलेसम्म सोलार, वायोग्याँस सञ्चालनमा त्यति खराबी आएको छैन, तर हिक्लुङको जलविद्युत् गृह भने ६ महिनादेखि बिग्रेर बत्ती बलेको छैन। गाउँवासीहरू आयोजना मर्मत–सम्भारको लागि प्राक्टिकल एक्सन नेपालको बाटो कुरिरहेका छन्। यी गाउँको विकासमा लागेको प्राक्टिकल एक्सनका इलेक्ट्रिकल इञ्जिनियर राकेश श्रेष्ठ भन्छन्, “यहाँ भएका सबै विकास हाम्रै लागि हुन् र यसको हेरविचार पनि आफैँले गर्नुपर्छ भन्ने चेतना गाउँका जनतामा नजागेसम्म केही अप्ठेरो त हुन्छ।”

पाँच वर्षदेखि प्राक्टिकल एक्सन नेपालले सामाजिक–आर्थिक रूपमा पछाडि परेका चेपाङहरूको जीवनस्तर उकास्न गोरखाको भुम्लीचोक गाविसमा स्थानीय प्रविधिको विकास, तालिम र सामग्रीहरूको व्यवस्था गर्न सहयोग गर्दै आएको छ। 'सानो सुन्दर हुन्छ' भन्ने अवधारणा अनुसार स्थानीय प्रविधिमार्फत गाउँको विकास गर्न सक्दा त्यसबाट गरिबी कम हुनुको साथै वातावरणीय समस्याको खतरा र बढ्दो ऊर्जा सङ्कटबाट बच्न सकिने बताउँछन् इन्जिनियर राकेश श्रेष्ठ। श्रेष्ठ भन्छन्, “अहिले स्थानीयवासीहरू सहकारीको भावना अनुसार गाउँको विकासमा जुटेका छन्।” यसबाट ६७ घरपरिवारका ४७९ जना चेपाङहरू प्रत्यक्ष लाभान्वित भइरहेका छन्।”

 ध्रुब सिम्खडा, भुम्लीचोकबाट फर्केरौं


तीन वर्षदेखि दाम्लोमा

उदयपुरको कटारी–२, च्याँगा गाउँका तुलसी र गीता धमलाले ६ वर्षका छोरा एकराजलाई पशुलाई झै दाम्लाले बाँधेर राखेका छन्। तीन वर्र्षको उमेरमा बिरामी हुँदा पशुको जस्तै व्यवहार देखाएपछि उनलाई यसरी बाँधेर राखिएको हो।

धमला दम्पतीका अनुसार एकराजलाई सबैभन्दा पहिले ज्वरो आउने रोगले निकै दिन सतायो। ज्वरो विस्तारै घट्दै गएपछि निको भयो भनेर खुशी भएका उनीहरू छोराले घाँसपात, फोहोर जे भेटेपनि खान थालेपछि चिन्तित भए।

एकराजले मानसिक सन्तुलन गुमाएको उनीहरूको ठहर छ, तर यो कुरा कुनै चिकित्सकले प्रमाणित गरेका छैनन्। पैसा नभएर अस्पताल नलगी धामी–झाँक्रीबाटझारफुक मात्र गराएको बताउँदै बाबु तुलसी धमला भन्छन्, “उपचार गर्न पनि सकिएन, छाड्यो भने जे पायो त्यही खान्छ। अनि नबाँधेर के गर्नु?” एकराजसँगैका बालबालिका गाउँको चुरिया प्राविमा पढ्न गएको देखेर धमला दम्पती भन्ने गर्छन्, “हाम्रो छोरो पनि सञ्चो भएको भए स्कूल जान्थ्यो।”

  कुम्भराज राई, कटारी