हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१२ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ बजार

नयाँ प्याकमा ढाल र प्यान्थर

परिवार नियोजनका विभिन्न अस्थायी साधनहरूको बिक्री वितरण गर्दै आएको नेपाल सीआरएस कम्पनीले नयाँ डिजाइनका प्याकहरूमा ढाल डिलक्स तथा प्यान्थर प्रिमियम कण्डमको बिक्री शुरु गरेको छ। प्रायः सबैजसो औषधि पसलहरूमा उपलब्ध हुने यी कण्डमहरूको प्रयोगले यौन रोगहरूबाट सुरक्षित राख्नुका साथै चरम उत्कर्षको यौन आनन्द पनि दिने विश्वास कम्पनीले गरेको छ।

काष्ठमण्डपको एटीएम सेवा

ग्राहकहरूलाई आधुनिक वित्तीय सुविधा दिने क्रममा काष्ठमण्डप डेभलपमेन्ट ब्याङ्क लिमिटेडले पाको–न्यूरोड, काठमाडौँमा २४ घण्टे एटीएम काउन्टर खोलेको छ। स्तरीय ब्याङ्किङ सेवा दिँदै सङ्कलित निक्षेपलाई शैक्षिक, सामाजिक, औद्योगिक, व्यापारिक एवं स्वास्थ्यलगायतका विविध क्षेत्रमा सुरक्षित लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको जनाइएको छ। सन्ध्याकालीन काउन्टर र लकरको सुविधा समेत प्रदान गर्दै आएको यस ब्याङ्कको अधिकृत पूँजी रु.६४ करोड र चुक्ता पूँजी रु.२२.५ करोड रहेको छ। 

'ग्याजेट प्रेमी' लाई 'डिजिटल' सन्तुष्टि

कम्प्युटर र सञ्चार उपकरणहरूका लागि विश्वमै कहलिएको ब्राण्ड लजिटेकले गोल्छा अर्गनाइजेशनको सूचनाप्रविधि सम्बद्ध संस्था नियोटेरिक प्रा.लि.लाई नेपालका लागि आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ। यसबाट लजिटेकका विभिन्न प्रकारका उपकरणहरू नेपाली बजारमा सहजै उपलब्ध हुने र तिनले 'ग्याजेट' सोखिन नेपालीहरूलाई 'डिजिटल सन्तुष्टि' दिने दाबी नियोटेरिकका प्रबन्ध निर्देशक सञ्जय गोल्छाको छ। 

किर्लोस्कर जेनरेटर बजारमा

अन्तर्राष्ट्रियस्तरको जेनरेटर उत्पादन कम्पनी रिजर्भ किर्लोस्करको नेपालका लागि आधिकारिक बिक्रेता हिमाल रेफ्रिजेरेसन एण्ड इलेक्ट्रिकल इण्डस्ट्रिजले विभिन्न आकारका किर्लोस्कर जेनरेटरहरूको बिक्री शुरु गरेको छ। एक वर्ष वारेन्टीसहित दुई केभीएदेखि २००० केभीए क्षमताका यी जेनरेटरहरूको वातावरण अनुकूल आवाज भएका कारण उपभोक्ताहरूको मन जित्ने दाबी कम्पनीको छ। 

लोरेन्जो फर्निचर्स बजारमा

घर तथा कार्यालयका लागि फ्यूजन ब्राण्डका फर्निचरहरू उत्पादन गर्दै आएको गोल्छा अर्गनाइजेशनअन्तर्गतको फर्निचर २००० प्रा.लि.ले लोरेन्ज ब्राण्डका फर्निचरहरूको बिक्री शुरु गरेको छ। आकर्षक डिजाइन र स्तरीय इटालियन छाला र काठबाट बनेका यी फर्निचरहरूले नेपालको फर्निचर उद्योगमा नयाँ आयाम थप्ने विश्वास कम्पनीको छ।  

ब्याङ्किङ सेवामा नौलो समझ्दारी

ब्याङ्किङ व्यवसायको प्रबर्द्धन गर्ने उद्देश्यसहित हिमालयन ब्याङ्क लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) बीच समझ्दारी भएको छ। जसअनुसार यी दुई ब्याङ्कका ग्राहकहरूले न्यूनतम शुल्कमा कुनै पनि शाखाबाट एकपटकमा रु.५० हजारसम्मको भुक्तानी लिन सक्नेछन्। यस अतिरिक्त दुवै ब्याङ्कले विभिन्न स्थानमा रहेका आ–आफ्ना शाखाहरूबीच नगद व्यवस्थापन, आफूसँग रहेको बढी रकम जम्मा गर्ने र आवश्यकताअनुसार रकम झ्िक्न सक्ने समझ्दारी गरिएको छ। साथै दुवै ब्याङ्कमध्ये एक ब्याङ्कको कुनै पनि शाखाबाट अर्को शाखा वा स्थानीय एजेन्टमार्फत ग्राहकहरूले आफ्नो रकम स्थानान्तरण गर्न सक्ने जानकारी दिइएको छ।