हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१२ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण स्थलगत
 
जनयुद्धको उद्गमथलो सुनसान

रामेश्वर बोहरा,रोल्पामा 

माओवादीले १ फागुन २०५२ मा रोल्पाको होलेरी प्रहरीचौकी आक्रमण गरेर शुरु गरेको 'जनयुद्ध'ले १० वर्ष मुलुकलाई हिंसा–प्रतिहिंसामा धकेल्यो। त्यसबेला 'राज्यसत्ता बन्दुकको नालबाट निस्कन्छ' भन्ने विश्वासका साथ सशस्त्र सङ्घर्षमा होमिएको माओवादी नेतृत्व अहिले शान्तिपूर्ण राजनीतिमा सामेल भएको छ। 'क्रान्तिको मोडेल बदलिएको' बताउँदै संविधानसभाको निर्वाचनबाट एक नम्बरको पार्टी हुने दाबी उसले गरिरहेको छ। तर, जनयुद्धको उद्गमथलो र माओवादीको गढ ठानिने रोल्पा भने यति उत्साहित र आशावादी देखिँदैन।

माघको चौथो साता रोल्पाका नुवागाउँ, सखी, झेनाम, डुवरिन, दुविडाँडा गाविस पुग्दा माओवादी र अन्य दलका नेता–कार्यकर्तामा मात्र होइन, अधिकांश जनतामा समेत निराशा देखियो। माओवादी शान्ति–प्रक्रियामा सामेल भएपछि केही आशावादी बनेको रोल्पा उनीहरूकै विरोधाभासपूर्ण कार्यशैली र अविश्वासी व्यवहारले निराश बन्दै आएको भेटियो। संविधानसभा निर्वाचन पटकपटक स्थगित गर्ने सातदलीय सरकारको रवैयाले त्यो निराशालाई झ्नै बढाइदिएको थियो। दसवर्षे युद्धले थला पारेको रोल्पा पछिल्ला राजनीतिक घटनाक्रमप्रति आशावादी बन्न नसकेको प्रस्ट तस्बिर देखिन्थ्यो, रोल्पाका यी गाउँहरूमा।

हरेक वर्ष १ फागुनमा विशेष महत्व र चहलपहलका साथ जनयुद्धको वर्षगाँठ मनाउने गरेको माओवादी 'गढ' रोल्पा यसपालि सुनसान थियो। दहवनस्थित माओवादी 'जनसेना'को पाँचौँ डिभिजन मुख्यालयभित्र बाहेक रोल्पा जिल्लाभर वर्षगाँठको कुनै तडकभडक देखिएन। माओवादी नेता–कार्यकर्ताले नै वर्षगाँठको कुनै तयारी गरेका थिएनन्। यसैबेला मनाउने भनिएको 'होलेरी महोत्सव' पनि एकाएक रद्द गरियो। 

निराशाको कारण
जनयुद्ध शुरु गर्दा जनताको मन जित्न माओवादीले रोल्पामा अनेकन 'क्रान्तिकारी' नारा दिए, लोभलाग्दा मुद्दा उठाए र आश्वासन बाँडे। अशिक्षा, गरिबी, बेरोजगारी, अविकास, राज्यको विभेद र थिचोमिचोले सताइएका रोल्पालीमा माओवादीका नयाँ नाराले के के न होला भन्ने आश जाग्नु अस्वाभाविक थिएन। सुखद भविष्यको कल्पना गर्दै रोल्पालीले माओवादीलाई आफ्नो पेट काटेर खुवाए, आफू अप्ठ्यारोमा परी–परी सहयोग गरे। रोल्पामा माओवादीको पकड बलियो बन्नु र धेरैजसो रोल्पाली युवा बन्दुक बोकेर जनयुद्धमा सामेल हुनु त्यसकै परिणाम थियो। तर जनयुद्ध शुरु हुँदा रोल्पालीले जे आश गरेका थिए, व्यवहारमा त्यो पाएनन्। त्यसकै असर हो, अहिले रोल्पालीमा देखिएको कुण्ठा र निराशा।  

आफ्नो सत्ता आएपछि कृषि र अन्य प्रयोजनमा लिएको बैंक ऋण मिनाहा हुने माओवादीको आश्वासनबाट ढुक्क भएका रोल्पालीहरू अहिले बैंकको ताकेतामा परेर साँवाभन्दा दोब्बर बढी रकम बुझाउन बाध्य भएका छन्। कतिको घरखेत लिलाम हुँदैछ। दुविडाँडा–४, जसपुरका स्थानीय अगुवा तथा महेन्द्र मावि व्यवस्थापन समिति अध्यक्ष रुद्रमणि सुवेदी माओवादीका मुद्दा र १२ वर्षको यथार्थ तुलना गर्दै भन्छन्, “कुरा र काम उल्टो भएपछि विश्वास गर्ने आधारै रहेन।”

शान्ति–प्रक्रिया शुरु भएको एकवर्ष बितिसक्दा पनि रोल्पामा माओवादीको बन्दुकदम्भ हट्न सकेको छैन, कार्यकर्ताको मनोमानी र जोरजबर्जस्ती कायमै छ। युद्धको पीडाले दिक्क सर्वसाधारण शान्ति–प्रक्रियापछि माओवादीको व्यवहार नसुध्रेकोले पनि माओवादीविरुद्ध आक्रोशित छँदैथिए, केही ठाउँमा माओवादी नेता–कार्यकर्ता जनताबाटै कुटिन समेत थाले। व्यवहार नसुधि्रए आफ्नै गढको जनाधार खस्कँदै जाने खतरा देखेपछि स्थानीय नेतृत्वले जनता र अन्य दलसँग सम्बन्ध बढाउने र व्यवहार सुधार्ने प्रयास थाल्यो। यसको परिणामस्वरुप पछिल्लो समय अन्य दल र सर्वसाधारणमाथि माओवादीको शत्रुतापूर्ण व्यवहार केही रोकिएको छ। तर, कोही पनि माओवादीप्रति ढुक्क र विश्वस्त हुनसकेका छैनन्। अझैपनि उनीहरूविरुद्ध कोही खुलेर बोल्न चाहँदैनन्। रोल्पा काङ्ग्रेसका सदस्य देवेन्द्र बोहरा एकथोक भन्ने र अर्कोथोक गर्ने माओवादी रवैयाले जो पनि माओवादीबारे टिप्पणी गर्न हच्किने बताउँछन्।

खेर गो बलिदान


तस्बिरहरूः रामेश्वर बोहरा

रोल्पामा जनयुद्धका नाममा यसका योद्धा र 'विरोधी' मात्रै होइन, युद्धसँग सरोकार नराख्ने सयौं रोल्पालीसमेत मारिएका थिए। भोलि सुखका दिन आउने आशामा आफन्त गुमाउँदाको पीडा बिर्सन खोजेका ती परिवारजन पनि यतिखेर आफन्तको बलिदान खेर गएको बताउन थालेका छन्। छोरा गुमाएका डुवरिन–१ का भैरव र गीता विकको निराशा र अविश्वासले त्यसकै प्रतिनिधित्व गर्छ। माओवादी र युद्धसँग कुनै सम्बन्ध नभएका उनका छोरा वामदेव विकलाई ११ चैत २०६० मा सादा पोशाकका सैनिकले माओवादी भएको आरोपमा गोली हानी हत्या गरेका थिए। “हाम्रोजस्ता छोरा धेरैका मरेका छन्, भोलि राम्रो होला भन्ने आशमा आँशु दबाएर बस्यौं”, भैरव भन्छन्, “माओवादीले कुर्सीका लागि मात्रै यत्रो रगत बगाएका रहेछन्।”

दसवर्षे युद्धमा मारिने करिब ११०० रोल्पालीमध्ये ७४४ जना राज्यबाट मारिएका थिए। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार, राज्यबाट बेपत्ता ६३ र माओवादीले अपहरण गरेका १८ जनाको अवस्था अझैअज्ञात छ। विस्थापित २,०२५ जनामध्ये करिब १४०० घर फर्केका छैनन्। युद्धले पुर्‍याएको भौतिक, आर्थिक र मानसिक क्षतिको भने लेखाजोखा छैन। युद्धबाट यति ठूलो क्षति व्यहोरेको रोल्पाले के पायो? होलेरीका पाका समाजसेवी ऋषिराम श्रेष्ठ भन्छन्, “रोल्पाले केही पाएन, रोल्पालीले पाउनु दुःख पाए।” नुवागाउँ–३, रामपुरका ६२ वर्षीय धनबहादुर वली थप्छन्, “अहिले कुर्सीकै लागि लुछाचुँडी गर्नुथियो भने किन गरेको यत्रो मारकाट?”

रोल्पाबाट जनयुद्ध शुरु गर्दा माओवादीले राज्यबाट हुँदै आएको विभेद, थिचोमिचो र यहाँको पछौटेपनलाई मुख्य मुद्दा बनाएका थिए। रोल्पाली जनताले जनयुद्धबाट रोल्पाको मुहारै फेरिने सपना देखेका थिए। तर, शुरु भएका विकास निर्माणका कतिपय काम समेत रोकिए। सुरक्षाकर्मीलाई भोकभोकै पार्न पूरै जिल्लाभर लगाइएको नाकाबन्दीको मारमा जनता नै परे। दुविडाँडा–४ का रुद्रमणि सुवेदी भन्छन्, “जनयुद्धले रोल्पाको विकासलाई दशौं वर्ष पछाडि धकेल्यो।”

माओवादी विद्रोह शुरु नहुँदै होलेरीसम्म मोटरबाटो पुगेको र बिजुलीको पोल गाडिएको थियो, तर बत्ती बल्न युद्धको अन्त्य कुर्नु पर्‍यो। होलेरी हुँदै दहवन र तिलामा रहेका जनसेनाका शिविरसम्म बिजुली पुर्‍याइएको छ, तर बाटैमा पर्ने प्रहरी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, व्यापारी र सर्वसाधारणले बत्ती बाल्न पाएका छैनन्, पोल र तार हेरेरै चित्त बुझाउनु परेको छ। २० वर्षदेखि रोल्पामा अध्यापनरत महेन्द्र मावि, होलेरीका शिक्षक कुलराज आचार्य भन्छन्, “माओवादीकै कारण विकास रोकियो। बल्लतल्ल हुनथालेको विकास र राज्यबाट प्राप्त सुविधा पनि जनताका लागि छैन।” स्थानीय जनताको खानेपानीको मुहान सुकाएर माओवादी सैन्य शिविरमा पानी पुर्‍याइएको छ। शिविर छेउछाउका वनजङ्गल सिद्धिँदै छन्। झेनाम गाविसका सचिव ईश्वरबहादुर कुँवर भन्छन्, “सास्तीजति जनतालाई, विकास र सुविधा चाहिँ माओवादीलाई रहेछ।”

जनता र नेता–कार्यकर्तासँगै क्यान्टोनमेन्टभित्रका माओवादी जनसेनामा पनि निराशा र उकुसमुकुस बढ्दैछ। पछिल्लो राजनीतिबाट उनीहरू पनि आशावादी देखिँदैनन्। रोल्पा, दहवनस्थित माओवादी सेनाको पाँचौँ डिभिजन कमाण्डर शरद यतिसम्म भन्छन्, “छिटो राजनीतिक मुद्दाको छिनोफानो नहुने र यही अवस्था रहिरहने हो भने हाम्रो धैर्यको बाँध टुट्न सक्छ।”

रोल्पाको राज्यप्रतिको निराशा र असन्तुष्टिलाई हिजो माओवादीले भजाएका थिए भने राज्यको चर्को दमनले बढाएको थियो। अहिले पनि यथावत् निराशा र असन्तुष्टि माओवादीतिर समेत सोझिएको छ। जनयुद्धले रोल्पामा कहिल्यै नमेटिने घाउ छाडेर गएपनि रोल्पालीमा राजनीतिक चेतना र सुझ्बुझ् भने बढाइदिएको छ। राजनीतिक चेतना र सुझ्बुझ् भएका रोल्पालीहरू अहिलेसम्म राष्ट्रिय राजनीतिप्रति आशावादी बन्न नसक्नु र निराश बन्दै जानु पक्कै सुखद होइन।


चुनावः चहलपहल छैन

माओवादीसहितको सातदलीय सरकार २८ चैतमा संविधानसभा निर्वाचन गरिछाड्ने रटानमा छ, तर रोल्पामा अझ्ैसम्म चुनावी चहलपहल देखिँदैन। निर्वाचन आउन दुई महिना मात्रै बाँकी रहँदा पनि गाउँमा कुनै दलले केही ठाउँमा सङ्गठन विस्तारबाहेक चुनावी माहोल बनाउने काम गरेको देखिँदैन। माओवादी अध्यक्ष प्रचण्डले चुनाव लड्ने घोषणा गरेको रोल्पाको दुई नम्बर क्षेत्रमा समेत चुनावी माहोल त परै जाओस्, सामान्य राजनीतिक चहलपहलसम्म देखिँदैन। सोही क्षेत्रको नुवागाउँ–३, रामपुरका धनबहादुर वली भन्छन्, “रेडियोले मात्रै चुनावका कुरा गर्छ, हामीलाई चुनाव हुन्छ भन्न कोही आउँदैनन्। कसरी होला चुनाव?” झेनाम गाविस सचिव ईश्वर कुँवर थप्छन्, “गाविस पुनर्स्थापित भएको एकवर्ष भयो, एउटा नेता पनि गाउँ आएका छैनन्।”

जनतामा संविधानसभा निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे यतिविघ्न निराशा छाउनुको मुख्य कारण दलहरू गाउँ नछिर्नुले हो। एमाले र काङ्ग्रेस मात्रै होइन, आफ्नै 'गढ'मा माओवादीका गतिविधि समेत गाउँकेन्द्रित हुनसकेका छैनन्। रोल्पा एमालेका सदस्य गोपाल डाँगी चुनावबारे दलहरू नै विश्वस्त हुन नसकेको स्वीकार्दै भन्छन्, “हामी मात्रै होइन, कसैले पनि गाउँ पुगेर चुनावी माहोल बनाउने काम गरेका छैनन्।”

दुईपटकसम्म निर्वाचन स्थगित हुनु र शान्तिप्रक्रियामा सामेल माओवादीले हरेक अवसरलाई रणनीतिका रूपमा प्रयोग गर्नुले रोल्पालीमा यतिविघ्न निराशा छाएको बुझन सकिन्छ। रोल्पा एमालेका डाँगी भन्छन्, “माओवादी आफ्नो भनाइ र प्रतिबद्धतामा इमान्दार नबनेसम्म र सातैदल एकजुट भएर गाउँ नपसेसम्म रोल्पा र रोल्पालीको आशा फिर्ने छैन।”