हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१२ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण रिपोर्ट

जेलवाङको बलिदान र पीडा

माओवादी सशस्त्र विद्रोहमा ठूलो पीडा भोगेको रोल्पाको जेलबाङप्रति न सरकारले चासो देखाएको छ न त माओवादीकै ध्यान गएको छ। 

कियोको ओगुरा


तस्बिरहरूः कियोको ओगुरा

माओवादी सशस्त्र विद्रोहमा रोल्पाको सबैभन्दा अग्लो पहाड जलजलाको फेदीस्थित जेलबाङ गाउँको विशेष स्थान छ। करिब ३५०० जनसङ्ख्या भएको यो गाउँबाट माओवादीले ६० जनालाई 'जनयुद्धका शहीद' घोषणा गरेका छन्। माओवादी विद्रोहमा एउटै गाविसबाट शहीद हुनेहरूको सम्भवतः यो सबैभन्दा ठूलो सङ्ख्या हो। जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका जेलबाङका २० विस्थापित परिवारको सङ्ख्या पनि रोल्पाका ५१ गाविसका विस्थापितमध्ये सबैभन्दा ठूलो थियो।

जेलबाङका माओवादी एरिया इञ्चार्ज 'रक्तिम'का अनुसार, गाविसका झ्ण्डै ४५० घरमध्ये २५० वटामा या त माओवादीका कार्यकर्ता छन् या शहीद परिवार। असोज २०६४ सम्ममा जेलबाङमा माओवादीका ६५ जना सदस्य थिए भने विभिन्न शिविरमा बसिरहेकामध्ये एक डिभिजन कमाण्डर, एक ब्रिगेड उप–कमाण्डर र दुई बटालियन कमाण्डरसहित ९० जना छापामार पनि यही गाउँका थिए। स्थानीय माओवादीहरू कुनै समय छापामार दस्तामा गाउँका १८० जनासम्म रहेका बताउँछन्। यसले माओवादी सशस्त्र विद्रोहमा जेलबाङले सबैभन्दा बढी योगदान गरेको र पीडा भोगेको देखाउँछ। 

जेलबाङमा कम्युनिष्ट सङ्गठन विस्तार हुनुमा थवाङको प्रत्यक्ष प्रभाव देखिन्छ। २०३६ सालमा थवाङ माध्यमिक विद्यालय स्वतन्त्र विद्यार्थी युनियनको पहिलो सभापति बनेका हाल माओवादीका सांसद सन्तोष बुढामगरले जेलबाङमा पनि विद्यार्थी सङ्गठन विस्तार गरे। २०३६ सालमा जेलबाङ माविका हेडमास्टर रहेका हाल माओवादी मगरात राज्य समितिका सदस्य चन्द्रबहादुर बुढामगर 'शेष' ले नेकपा (चौथो महाधिवेशन) को सदस्यता लिए जो जेलबाङकै पहिलो कम्युनिष्ट हुन्। थवाङ्गीहरूले राष्ट्रिय पञ्चायतको चुनाव वहिष्कार गरेपछि कात्तिक २०३८ मा सरकारले त्यहाँ सैनिक कारबाही सञ्चालन गर्‍यो। त्यसबाट जोगिन सन्तोष बुढामगरसहितका केही कम्युनिष्ट कार्यकर्ताहरूले चन्द्रबहादुर बुढामगरको घरमा सेल्टर लिएका थिए।


३५०० जनसङ्ख्याको जेलवाङबाट माओवादीले ६० जनालाई 'जनयुद्धका शहीद' घोषणा गरेको छ। एकै गाविसबाट शहीद हुनेको सम्भवतः यो सबैभन्दा ठूलो सङ्ख्या हो। 

उत्तरपूर्वी रोल्पाको जेलबाङका अधिकांश वासिन्दा खाम भाषा बोल्ने मगरहरू छन्। माओवादी सशस्त्र विद्रोहको केन्द्रबिन्दु रहेको यो क्षेत्रमा विद्रोह शुरु हुनु तीन महिनाअघि कात्तिक २०५२ मा तत्कालीन देउवा सरकारले माओवादी गतिविधि नियन्त्रण गर्ने चर्चित प्रहरी कारबाही 'अपरेसन रोमियो' सञ्चालन गरेको थियो। रोल्पाका अरू गाउँमा झै जेलबाङमा पनि राजनीतिक मूठभेड चर्कंदै गएको २०४६ को राजनीतिक परिवर्तनपछि नै हो। त्यसबेला चन्द्रबहादुर 'शेष' र उनका समर्थक संयुक्त जनमोर्चा नेपालमा, जेलबाङका अन्तिम प्रधानपञ्च पूर्णबहादुर रोका राष्ट्रिय प्रजातन्त्र पार्टीमा तथा सर्वजित बुढा र उनका समर्थक भरत रोका नेपाली काङ्ग्रेसमा लागे। माओवादी छापामारका तेस्रो डिभिजन कमाण्डर शरदका अनुसार, २०४८ सालको आमचुनावमा जेलबाङबाट जनमोर्चाले १८९०, राप्रपाले ८७ र काङ्ग्रेसले ५६ मत ल्याएका थिए। जनमोर्चाविरुद्ध उठेको एक मात्र पार्टी काङ्ग्रेसले अन्तिम घडीमा आएर उम्मेदवारी फिर्ता लिएपछि २०४९ को पहिलो स्थानीय निर्वाचन विना प्रतिस्पर्धा जनमोर्चाले जित्यो।

यी तीन पार्टीका समर्थकहरूमा बेलाबखत सानातिना मूठभेड भइरहे पनि जनमोर्चा र काङ्ग्रेस समर्थकहरूबीच पहिलो ठूलो भिडन्त मध्यावधि निर्वाचनपछि २ मङ्सिर २०५१ मा जेलबाङको एउटा स्थानीय मेलामा भएको थियो, जसमा सर्वजितका भाइ सुखे बुढा मारिए। यो घटनापछि जेलबाङको रुलबाङमा पहिलो प्रहरी चौकी स्थापना भयो। घटनाको बेला घोराहीमा रहेका चन्द्रबहादुरसहित जनमोर्चाका २५ भन्दा बढी समर्थकलाई हत्याको आरोपमा पुर्जी काटियो। रोल्पाको उत्तरपूर्वी भेगमा चलाइएको रोमियो अपरेसनका बेला समातिएका १७ मध्ये आठ जना यही मुद्दाका आरोपित थिए। त्यतिबेला साढे चार वर्ष जेल राखिएका दिलबहादुर बुढा भन्छन्, “सुखे बुढालाई मार्ने साँच्चिकै हत्याराहरू भारततिर भागिसकेका थिए, हामीलाई चाहिँ झुठ्ठा मुद्दा लगाइयो।” यो कारबाहीपछि गाउँका धेरै मानिस प्रहरी गिरफ्तारीबाट जोगिन भूमिगत भएका थिए।

सशस्त्र विद्रोह शुरु भएको केही दिनमै माओवादीले सर्वजित बुढा र गाविस सचिव लालबहादुर बुढासहित जेलबाङका १६–१७ जनामाथि आक्रमण गरेर सात जनालाई निर्घात पिटेका थिए। त्यसको ६ महिनापछि २४ साउन २०५३ मा माओवादी लडाकु दलका स्क्वाड कमाण्डरसहित गाउँका पाँच जनालाई प्रहरीले डाम्फूमा समातेर रुलबाङ चौकीमा लगी हत्या गर्‍यो। माओवादीले यो हत्याको 'बदला' लिँदै २०५४ को स्थानीय चुनावमा काङ्ग्रेसबाट गाविस उपाध्यक्ष र वडा अध्यक्ष बनेका अमिर पुन र केरसिंह पुनको हत्या गर्‍यो। माओवादीले यसैगरी अर्का एक जनाको हत्या गरेको चार दिनपछि ११ चैत २०५४ मा रुलबाङ प्रहरीले कोर्बाङमा चार जना माओवादी समर्थकलाई मार्‍यो।

यी मूठभेडकै बीच भदौ २०५४ मा जेलबाङको ठूलोगाउँस्थित भरत रोकाको घरमा र फागुनमा जैमकसाराको नर्बाङमा थप प्रहरी चौकीहरू स्थापना गरिए। प्रहरीले जेलबाङमा करिब २० जनालाई मारेपछि माओवादीले १९ वैशाख २०५६ मा एकैपटक तीनवटै चौकीमा आक्रमण गर्‍यो। पछि माओवादीले पश्चिम रोल्पाको घर्तीगाउँको प्रहरी चौकीमा हमला गर्दासम्म जेलबाङका सबै चौकी खाली भइसकेका र माओवादीका विपक्षी गाउँ छोडेर अधिकांश सदरमुकाम लिवाङमा विस्थापित हुनपुगेका थिए।

जेलबाङका ६० शहीदमध्ये एकतिहाइ विद्रोहको शुरुका साढे तीन वर्षभित्र स्थानीय प्रहरीद्वारा मारिएका थिए। नौ महिलासहित १० जनाको एउटा समूहलाई ४ चैत २०५८ मा गुमचालस्थित माओवादी छापामारको शिविरमाथि भएको सुरक्षा फौजको कारबाहीमा मारियो। त्यसको ५० दिनपछि २४ वैशाख २०५९ मा गामस्थित सुरक्षा शिविरमा भएको आक्रमणमा भाग लिएर आफ्नो गाउँतिर फर्किरहेका नौ जना 'स्वयंसेवक'लाई सुरक्षाकर्मीले गाममै घेरेर मारे। “शत्रुहरूले कठोर दमन नगरेका भए जेलबाङमा यति धेरै माओवादी जन्मिने थिएनन्, दमनको आक्रोश र पीडाले नै हामी माओवादी बनेका हौँ”, डाम्फू हत्याकाण्डमा प्रहरीद्वारा कान्छो भाइ मारिएका एक माओवादी छापामार भन्छन्। 

२०५६ सालमा प्रहरी बल फिर्ता बोलाइएपछि 'प्रहरीमुक्त गाउँ' बनेको जेलबाङमा त्यसैबेलादेखि माओवादी खुला रूपले घुम्न थालिसकेका थिए। यस वर्षको मङ्सिरमा मानवअधिकारवादी सङ्गठनहरूको सहयोगमा धेरैजसो विस्थापितहरू पनि गाउँ फर्केका छन्। भदौमा जेलबाङमा प्रहरी चौकी पुनःस्थापना गर्न खोज्दा माओवादीले अवरोध खडा गरेका थिए तर १९ माघदेखि एउटा प्रहरी टोली त्यहाँ बस्न थालेको छ। 

माओवादी विद्रोहबाट यो गाउँ किन यति प्रभावित भयो भन्ने बुझन भदौमा म जेलबाङ जाँदा १० दिनदेखिको भारी वर्षाले सुरीचौरबाट हिँडेर जेलबाङ जाने साँघुरो गोरेटो बाटो ठाउँठाउँमा भत्किएको थियो। जबकि जेलबाङसँगै जोडिएको विद्रोहको बेलाको 'माओवादी राजधानी' थवाङ गाविसमा जर्मन प्राविधिक सहयोग संस्था जीटीजेड र माओवादी स्वयंले दुई–दुईवटा मोटर बाटो निर्माण गरिरहेका थिए। तर गाउँले र स्थानीय माओवादीहरूको पहलमा सानो जलविद्युत् परियोजना सञ्चालन भएपनि जेलबाङमा पुनर्स्थापनाको कुनै कार्यक्रम आएन। यहाँको एक मात्र स्वास्थ्यचौकीमा औषधि नदेख्दा मलाई आश्चर्य लाग्यो। थवाङले नेपाली र विदेशी सञ्चारमाध्यमसँगै माओवादी पार्टीको पनि ध्यान आकर्षित गरेपछि त्यहाँ स्थानीय विकासलगायतका कार्यक्रम पनि आए। तर माओवादी विद्रोहमा ठूलो त्याग गरेको र पीडा भोगेको जेलबाङलाई कसैले पुछेका छैनन्। सशस्त्र द्वन्द्वका पीडितहरूले शान्ति प्रक्रियामार्फत उचित न्याय पाएनन् भने द्वन्द्वको तुष रहिरहन्छ।

टोकियोस्थित एसिया प्रेस इन्टरन्यासनलकी संवाददाता ओगुरा नेपालको माओवादी आन्दोलनसम्बन्धी अध्ययन गर्दैछिन्।