आवरण अन्तर्वार्ता
'क्रान्तिमा बाईप्रोडक्ट पनि निस्कन्छन्'
प्रचण्ड, अध्यक्ष, नेकपा माओवादी
 |
सशस्त्र विद्रोह शुरु गर्दाको अवस्थाबाट माओवादी नयाँ ठाउँमा आइपुगेको हो?
जनयुद्ध शुरु गर्दा विचार र रणनीतिसम्बन्धी जस्तो बुझ्ाइ थियो यसको विकास हुँदै जाँदा हामी नयाँ ठाउँमा पुग्दै गयौँ। जनयुद्ध थालेको पाँच वर्षपछि दीर्घकालीन जनयुद्ध भनेर मात्रै आन्दोलनलाई अगाडि बढाउन सकिँदैन भन्ने टुङ्गोमा पुग्यौँ। र, आफ्नो रणनीतिमा केही नयाँपन दियौँ। पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनद्वारा आधिकारिकता दिएर त्यसलाई समायोजनको कार्यदिशा भन्यौँ। त्यस अन्तर्गत हामीले शान्तिवार्ता, सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको निर्वाचनको एजेण्डा अगाडि सार्यौँ। त्यसको दुई वर्षपछि २१ औँ शताब्दीमा जनवादको विकास भनेर हामीले जुन दस्तावेज पारित गर्यौँ त्यसमा बहुदलीय प्रतिस्पर्धालाई अनिवार्य रूपमा स्वीकार गरिएको छ।
लेनिनका दस्तावेजहरू अध्ययन गर्दा पनि म के निष्कर्षमा पुगेको थिएँ भने उहाँ अरू केही वर्ष बाँचेको भए बहुदलीय प्रतिस्पर्धामै पुग्नुहुन्थ्यो। लेनिनको नयाँ आर्थिक नीति बुर्जुवा नीति नै थियो। उहाँले त्यतिबेलै समाजवादी आर्थिक प्रतिस्पर्धा सङ्गठित गर भन्नुभएको थियो। २० औँ शताब्दीको क्रान्ति र प्रतिक्रान्तिसँगै विश्वभरिको घटनाक्रममा आएको परिवर्तनको विश्लेषणपछि हामी पछिल्लो चरणमा समाजवादको नाममा जे प्रयोग भइरहेको छ त्यसमा गम्भीर विचलन छ भन्ने निष्कर्षमा पुग्यौँ। त्यसपछि चुनवाङ बैठकबाट नेपालमा सामन्तवादको विरुद्ध नयाँ शिराबाट सङ्घर्ष अगाडि बढाउने टुङ्गोमा पुग्यौँ र १२ बुँदे समझ्दारी हुँदै अहिलेको शान्ति प्रक्रियातिर प्रवेश गर्यौँ।
विद्रोह शुरु गर्दाको बुझ्ााइ नै गलत रहेछ भन्ने निष्कर्ष हो त?
जनयुद्धको पहिलेको सोचकै विरुद्धमा हामी गयौँ भन्न त म चाहन्न। त्यो सत्य पनि होइन। सत्य के हो भने त्यो बेलाको बुझ्ाइ र १० वर्षको जनयुद्धकोविकासको क्रममा भएको बुझ्ाइमा धेरै अन्तर छ। त्यसलाई हामीले विचारको विकास र बुझ्ाइको विकास भन्ने गरेका छौँ।
त्यसोभए, १०–१० वर्षको सशस्त्र विद्रोहको औचित्य के त?
ग्रामीण क्षेत्रका गरिब, किसान, मजदुर वर्गमा जागरण आयो। उत्पीडित जाति र महिलाहरूमा पनि जागरण पैदा भयो। नेपालको इतिहासमा पहिलो पटक समाज परिवर्तनको निम्ति हजारौँ महिला बन्दुक बोक्न तयार भए। परिवर्तनका लागि २५ सय महिलाले बलिदान गरेका छन्। कर्णाली, सेती, महाकालीमा क्षेत्रीय जागरण आयो। १० वर्षको जनयुद्ध र दशौँ हजारको बलिदानपश्चात् मुलुक अहिले संविधानसभा, संघीय गणतन्त्र, समानुपातिक प्रतिनिधित्व र राज्यको पुनर्संरचनासम्म आइपुगेको छ।
तर अहिले हिंसारत विभिन्न सशस्त्र समूहहरूलाई माओवादीबाटै हिंसाको हस्तान्तरण भएको हैन र?
त्यसो भन्नु उचित हुँदैन। दुनियाँमै सर्वस्वीकार्य कुरा के हो भने हिंसा पहिला राज्यले नै शुरु गर्छ। जनता विरुद्धको अत्याचार, शोषण, उत्पीडन, दमन सबै हिंसा हो। नेपालमा पनि राज्यले हिंसा थोपर्दै आएको थियो। काठमाडौँमै शान्तिपूर्ण जुलुस निकाल्दा मान्छे मारिएका छन्। हामीले राज्यहिंसाको प्रतिरोध गर्यौँ र शान्तिको वातावरण बनायौँ। माओवादीले हिंसाको प्रतिरोध गरेर राज्यलाई पनि शान्तिको बारेमा सोच्न बाध्य पार्यो। ज्ञानेन्द्रले धेरै वर्षको लागि भनेर सत्ता लिएका र त्यसलाई जोगाउन हिंसालाई बढाएका थिए। धेरैदिन सोचेपछि एकतर्फी युद्धविराम नै ज्ञानेन्द्रको हिंसाको जवाफ हुन्छ र यसले जनतामा शान्तिको आश पनि जगाउन सक्छ भन्ने निर्णयमा म पुगेको थिएँ। यो शान्तिको ठूलो हतियार थियो, जसले ज्ञानेन्द्रको राष्ट्रसंघमा जाने कार्यक्रम रद्द गर्यो। उनको निरङ्कुश शासनमा गम्भीर धक्का पुग्यो र १२ बुँदे समझ्दारीको वातावरण पनि बन्यो। तर शान्तिको यो हतियार प्रयोग गर्ने तागत १० वर्षे जनयुद्धबाटै आएको हो।
त्यसोभए, अहिले भइरहेको हिंसालाई पनि प्रतिरोध नै ठान्नु पर्यो?
एउटा राजनीतिक दर्शनसहित लाखौँ–करोडौँ जनताको प्रतिनिधित्व गर्दै हिंसाको प्रतिरोध गर्नु एउटा पक्ष हो भने हिंसाबाट सबै पाइँदो रहेछ भनेर आपराधिक समूह खडा गरी त्यतातिर लाग्नु अर्को पक्ष। हामीसँग आएका मान्छेले बम कसरी पड्काउने, बन्दुक कसरी चलाउने भन्ने कुरा सिके। तर बन्दुक चलाउन जानेकै भरमा मधेशमा हिंसा मच्चाउनेहरूसँग न दर्शन छ, न राजनीतिक कार्यदिशा छ, न जनतालाई समेटेर लैजाने कार्यक्रम। त्यसैले मधेशमा हिंसा मच्चाउनेहरूलाई रोक्नुपर्छ। विद्रोही शक्ति भएको नाताले त्यो रोक्ने नैतिक र भौतिक दायित्व माओवादीकै बढी हुन्छ। हामीलाई राज्यको नेतृत्व गर्न दिए हामी त्यसलाई वैधानिक ढङ्गबाटै रोक्छौँ।

तस्बिरहरू मीनरत्न बज्राचार्य
|
अहिले मधेशमा भइरहेको हिंसामा जुन बर्बरता देखिएको छ, त्यो माओवादीकै देन होइन र?
माडी जस्ता एकाध दुःखद घटनाले १० वर्षे जनयुद्धको नकारात्मकतालाई व्यक्त गरेकोे कुरा पार्टीको बैठकमा पनि उठेको हो। पुलिसको प्रतिरोध गर्न नसकेको अवस्थामा सीआइडी गर्नेहरूलाई सफाया गर्नुपर्छ भन्ने चर्चा चल्थ्यो। मैले त्यसबेला जारी गरेको ११ बुँदे दस्तावेजमा पनि भौतिक यातना दिनुहुँदैन भनेको छु। नमारी नहुने, सफाया गर्नैपर्ने अवस्थामा पनि यातना नदिएर सजिलै मार्ने भनिएको थियो। त्यति गर्दा पनि पूर्वमा एकाध त्यस्ता घटना घटे। काभ्रेमा एमालेका एकजना कार्यकर्तालाई गलत तरिकाले कारबाही गरियो। आलोकको नेतृत्वमा आफ्नै पार्टीका कार्यकर्तामाथि पनि त्यस्ता कारबाही हुनथालेपछि उनलाई कारबाही गरियो। त्यसपछि त्यस्ता घटनामा धेरै कमी आयो। तर संसारको कुन क्रान्तिमा हिंसा हुन्न र? इतिहासका जुनसुकै विद्रोहमा पनि नकारात्मक घटना भएका छन्। यस्ता नकारात्मक घटनाबाट शिक्षा लिनुपर्छ भन्ने कुरामा म सहमत छु, तर समग्र जनयुद्ध नै त्यही थियो भन्यो भने महाभूल हुनेछ।
तपाईंले जस्तो निर्देशन दिएपनि त्यसको उल्लङ्घन गरेर हिंसात्मक कारबाही त निकै भएका छन् नि!
विद्रोह एउटा ऐतिहासिक आवश्यकता हो, तर मान्छेप्रति त्रू्कर हुनुहुँदैन। गल्तीबाट पाठ सिकिएको छ र दोषीलाई कारबाही गरिएको छ। कार्यकर्ता मात्रै होइन आलोक जस्तो नेतालाई समेत कारबाही गरियो। माडी घटनाका दोषीलाई पनि उतिबेलै कारबाही गरिएको हो। केही दोषीहरू चाहिँ विदेशमा गएर बसेका छन्।
माओवादीबाट छुट्टिएर पनि हिंसालाई नै अगाडि बढाउने समूहहरू प्रशस्तै निस्किए, यसलाई के भन्नुहुन्छ?
नेपालमा २००७, २०१८ र २०२८ सालमा पनि राजनीतिक उद्देश्य राखेरै हतियार उठाइएको हो। शुरुमा कसले हतियार उठायो भनेर खोज्दै हिँड्ने हो भने पृथ्वीनारायण शाहसम्म पुगिन्छ। खोज्दै जाँदा हिन्दू धर्मले पनि काटमार गर्न सिकायो भन्न सकिन्छ। तर यसरी तर्क गर्न मिल्दैन। क्रान्तिको प्रक्रियामा बाईप्रोडक्ट पनि निस्कन्छन्।
अहिले मधेशमा हिंसा मच्चाइरहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका विभिन्न समूहहरू त माओवादीकै बाईप्रोडक्ट हुन्!
ज्वालासिंह लेखन्दास र हाम्रो पार्टीको जिल्ला कमिटि सदस्य थिए। उनी सिडियोसँग मिलेर हाम्रै कार्याकर्ताहरूलाई पनि सताउने गर्थे। शङ्कास्पद गतिविधिगरेको कारण उनलाई पहिला नै कारबाही गरिएको हो। अहिले पनि कहीँ न कहीँ उनको कनेक्सन छ। गोइत चाहिँ त्यति धेरै अराजनीतिक मान्छे ठान्दिनँ। उनी अलि बढी भावुक छन्। युद्धविरामको बेलामा रोल्पामा जनपरिषद्को सम्मेलनमा बोलेर निकै प्रभाव पारेका थिए। मासलाई जगाउन सक्ने मान्छे भनेर उनलाई मधेशी मुक्तिमोर्चाको अध्यक्ष पनि बनाइयो। तर पटनामा भएको मोर्चाको सम्मेलनले मातृकालाई अध्यक्ष बनाएपछि उनको मनमा चोट परेछ। त्यसलगत्तै सङ्कटकाल लाग्यो र दुई चार महिना सम्पर्क विच्छेद भयो। त्यो बेलामा उनी आत्तिएछन् र त्यतातिर लागेछन्। उनी अझैपनि राजनीतिक रूपले सोच्न सक्ने मान्छे हुन्। तर ज्वालासिंहको चरित्र गैरराजनीतिक खालको छ।
पृथ्वीनारायण शाहदेखिका सशस्त्र सङ्घर्ष राज्य एकीकरण वा सत्ता कब्जाका लागि थिए, अहिले त विखण्डनकै कुरा उठ्यो नि!
हामीले जातीय उत्पीडनको कुरा उठायौँ। तर १० वर्षको युद्धमा कहीँ पनि साम्प्रदायिकता देखिएन। अहिले जातिवादको कुरा अमेरिका र ज्ञानेन्द्रले बढाएका हुन्। संयुक्त राष्ट्रसंघले पनि बेकारमा जातिको कुरा गरेर हिँडेको छ। बिहारका विधायकहरूले पनि मधेशमा साम्प्रदायिकता ल्याउन चाहेका छन्। त्यसैले साम्प्रदायिकता माओवादीको देन होइन। माओवादीले नयाँ राष्ट्रिय एकता ल्याउन चाहेको हो, पृथ्वीनारायण शाहको जस्तो होइन।
नेपालको भावी राजनीतिमा हिंसाको स्थान कहाँ होला?
नेपाली जनताले युद्ध जिते तर ब्याटल चाहिँ बाँकी छ। अन्तिम धक्का नदिएसम्म सामन्ती वर्गले छोडेर जाँदैन। संविधानसभाको निर्वाचनपछि अस्तित्व सकिन्छ भनेर उनीहरू सलबलाएका छन्र त्यसलाई भाँड्ने अन्तिम प्रयास गर्दैछन्। सामन्ती तत्वको प्रतिनिधित्व गर्ने ती तत्व असाध्यै निर्विवेकी भएकाले हिंस्रक घटना घटाउन सक्छन्। उनीहरूको आपराधिक घटनाको विरुद्ध जनताले बल प्रयोग गर्नुपर्ने हुनसक्छ। जनता सडकमा आउनुपर्ने हुन सक्छ। त्यस्तै नेपालमा बढ्दै गएको वामपन्थी लहरको विरुद्धमा विदेशीहरू कुनै न कुनै बहानामा हिंसा थोपर्न चाहन्छन्। यसको सङ्केत मधेशमा देखिएको छ। मधेशमा हिंसा बढ्दै गयो भने जनताले बल प्रयोग गर्नुपर्ने हुनसक्छ। यी दुई ठाउँमा हिंसाको सम्भावना देख्छु।
|