टिप्पणी
शिक्षा
एक कक्षादेखि अङ्ग्रेजी!
सानैदेखि पढाएर केटाकेटीले राम्रो अङ्ग्रेजी
सिक्छन् भन्नु भ्रम मात्रै हो। भाषाको ज्ञान छिटो सिकाएर मात्र होइन,
कसरी सिकाइन्छ वा सिकिन्छ भन्नेमा निर्भर गर्दछ।
•
टीका
भट्टराई
 |
| किरण पाण्डे |
शिक्षामन्त्री प्रदीप
नेपालले कक्षा १ देखि सामुदायिक स्कूलमा अनिवार्य अङ्ग्रेजी पढाउने
निर्णय गरेपछि भाषा शिक्षणको बहस शुरु भएको छ। कक्षा १ देखि पढाइयोस्
वा ४ देखि, अङ्ग्रेजी भाषा नेपालका अधिकांश विद्यार्थीलाई स्कूल बाहिर
राख्ने कारण बनेको छ। बरु प्राथमिक तहमा मातृभाषालाई पढाइको माध्यम
बनाउने मन्त्री नेपालको भनाइले चाहिँ शिक्षामा केही सार्थक बहस अघि
बढाएको छ।
म चाहिँ देशको भाषिक बहुलता र अर्थ–सामाजिक पृष्ठभूमिमा
कक्षा १ देखि अङ्ग्रेजी अनिवार्य गर्नु स्रोत, शक्ति र समयको अनुपयोगी
खर्च ठान्दछु। बच्चालाई जन्मेपछि आमाको दूध चुसाइन्छ र ६ महिना लागेपछि
अरू खाना दिइन्छ– गाईबस्तुको दूध, लिटो, भात, आदि। जतिसुकै सम्पन्न
भए पनि हामीले आमाको दूध खुवाउन छाडेर पहिल्यै अरू खानेकुरा दियौँ
भने बच्चा ख्याउटे र रोगी हुन्छ। मातृभाषाका अभियानकर्ता अर्जुन लिम्बू
भन्छन्, “बच्चाको दिमागका लागि मातृभाषा आमाको दूध जस्तै हो।” यो शिक्षण
विधिको सवाल मात्रै नभएर आफ्नो भाषामा आधारभूत शिक्षा पाउने मातृभाषीको
अधिकारको पनि कुरा हो। यो अधिकारलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय
कानूनी संयन्त्रहरूले अनुमोदन गरेका छन्।
सानैदेखि पढाएर केटाकेटीले अङ्ग्रेजी राम्रोसँग सिक्छन्
भन्नु भ्रम मात्रै हो। भाषा छिटो सिक्न थालेर मात्र राम्रो जानिँदैन।
कक्षा ४ देखि अङ्ग्रेजी पढेर त्यसमै एमए गरिसक्दा पनि दुई वाक्य बोल्न
र एउटा चिठी लेख्न नसक्ने जनशक्ति हाम्रै आँखा अगाडि छन्। भाषा सिक्ने–नसिक्ने
कुरा सिकाउने विधि, भाषिक वातावरण र आफूले बोल्ने भाषाको ज्ञानमा भर
पर्छ। यसको अनुभव म आफैँले पनि गरेको छु।
मैले एसएलसीसरह मानिने संस्कृतको पूर्वमध्यमा गरिसकेपछि
मात्र ए, बी, सी, डी चिनेर ६ महिनामै प्रमाणपत्र तहको एक विषय अङ्ग्रेजी
पास गरेँ। म एक सरदर विद्यार्थी थिएँ, तर पनि मलाई भाषाको माध्यमका
रूपमा अङ्ग्रेजी कहिल्यै बाधा भएन। बेलायतमा अध्ययन गर्दा सुनेर बुझ्न
र बोल्न केही अप्ठ्यारो भएको थियो, तर लेख्न–पढ्न खासै समस्या परेन।
अहिलेका कायममुकायम परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यले पनि मभन्दा
केहीअघि मात्र अङ्ग्रेजी सिक्न शुरु गरेका थिए।
नयाँ भाषा सिक्दा त्यही भाषिक वातावरणले पनि फरक पार्दछ।
मातृभाषा फरक–फरक भएका आसपासका समुदायका मानिसले एकअर्काको भाषा सजिलै
सिक्छन्। संसारका अरू बहुमातृभाषी देशका उदाहरणले पनि यी कुरा प्रमाणित
गर्छन्। बेल्जियम, डच भाषा (फ्लेमिस्) बोल्ने नेदरल्याण्ड्स र फ्रेञ्च
भाषा बोल्ने फ्रान्सको बीचमा रहेको दुईभाषी देश हो। त्यहाँ दुवैलाई
कामकाजी भाषा बनाइएको छ। दुवै मातृभाषीले एकअर्काको भाषा पढ्नुपर्छ।
तर दुवै भाषामा सँगसँगै पढाइ शुरु हुँदैन। प्राथमिक शिक्षा डचभाषीले
डचमै र फ्रेञ्चभाषीले फ्रेञ्चमै लिन्छन्, अनि त्यसपछि मात्र एकले अर्को
भाषा पढ्न थाल्छन्। हाईस्कूल नसकिँदै अर्को एक युरोपीय भाषा पनि पढिसक्छन्
र कमसे कम तीन भाषामा काम चलाउन सक्ने हुन्छन्। भारतका धेरैजसो राज्यका
सार्वजनिक स्कूलमा पनि यस्तै व्यवस्था छ, यद्यपि त्यहाँ अङ्ग्रेजी
निकै चाँडै पढ्न शुरु गराइन्छ। यसको परिणामका बारेमा गहिरो अध्ययन
हुनु जरुरी छ।
शुरुमै पराइ भाषा नपढाउनुको मुख्य कारण अङ््ग्रेजी भाषाको
महत्त्वलाई कम आकलन गर्न खोजेर होइन, केटाकेटीले सूचना प्रशोधनको ढाँचा
मातृभाषामा बनाउन र मस्तिष्कको प्रयोग दक्षतापूर्ण रूपमा गर्न सकुन्
भनेर हो। यस्तो भएमा विद्यार्थीले अङ्ग्रेजी वा अरू कुनै भाषा अझ राम्ररी
सिक्न सिक्छन्। अहिले अङ्ग्रेजी भाषाले महत्त्व पाउनुको कारण अङ्ग्रेजी
जान्ने जनशक्ति पर्याप्त नभएर मात्रै हो। भोलि हाम्रा विद्यार्थीहरूलाई
अरू भाषाहरूको ज्ञान बढी आवश्यक हुनसक्छ। लोकन्थलीकी एक अभिभावक मञ्जु
कँडेल भन्छिन्, “आज अङ्ग्रेजीका भरमा अगाडि बढेका हाम्रा केटाकेटी
भोलि वास्तविक प्रतिस्पर्धामा पछारिन्छन्। यो कुरा देख्न धेरै पर्खिनुपर्दैन।”
अहिले उच्च शिक्षा हासिल गरेका हाम्रा युवाहरू समेत
युरोप–अमेरिका गएर त्यहाँकाले भरसक गर्न नचाहने काम गरेर बसेका छन्
भने त्यहाँका चाहिँ विशेषज्ञ भएर दुनियाँभर कुद्छन्। सामान्यतः युरोपेलीहरू
दुई–तीन महिना नेपाल बसे भने नेपाली बोल्न थालिहाल्छन्। किनभने उनीहरूमा
भाषा सिक्ने धारणा र सीप बनिसकेको हुन्छ। धारणाको कारणले शायद अमेरिकीहरू
युरोपेली भन्दा पछि छन्।
छिट्टै अर्को भाषा पढ्नुको एउटा फाइदा हुन्छ, त्यसको
सही उच्चारण सिक्न सक्ने सम्भावना। यस हिसाबले १७–१८ वर्षको उमेरअघि
नै नयाँ भाषा सिक्न शुरु गरिसक्नु पर्छ। तर जहाँ अङ्ग्रेजीलाई लोकगीत
जस्तो घोकाएर पढाइन्छ त्यहाँ छिटो पढाएर मात्रै विद्यार्थीले उच्चारण
सिक्न सक्दैनन्। त्यसैले कक्षा १ देखि अङ्ग्रेजी पढाउनु भनेको राज्यको
स्रोत र विद्यार्थीको समयलाई सिक्नुपर्ने आवश्यकता कम भएका ठाउँमा
लगानी गर्नु मात्रै हो। यो लगानी मातृभाषाको शिक्षामा गर्ने हो भने
देशको शिक्षाको परिणाम निकै उन्नत हुनेछ।
अहिले पनि नेपालका अधिकांश विद्यार्थी एसएलसीमा अङ्ग्रेजीमै
फेल हुन्छन्। यो कुरालाई मातृभाषासँग जोडेर हेर्ने हो भने गैरनेपाली
मातृभाषीहरू प्राथमिक कक्षामै नेपालीमा फेल हुनुको एउटा कारण थाहा
हुन्छ। हुन त मातृभाषा पढ्न लगाएर गैरनेपाली मातृभाषी समुदायलाई झन्
पछाडि धकेल्न खोजेको भन्ने कुरा पनि यदाकदा सुन्न पाइन्छ। तर यो अनभिज्ञताको
उपज मात्र हो। आफ्नै औपनिवेसिक मानसिकताका कारण पनि मातृभाषी समुदाय
यसतर्फ आकर्षित हुन नसकेका हुन्। अझै पनि हाम्रो मानसिकता 'एक भाषा–एक
भेष' बाटै ग्रस्त छ, जसले भाषिक–सांस्कृतिक विविधितालाई उन्नतिको बाधकको
रूपमा हेर्छ।
हाम्रो देशको राजनीति सधैँ कुन कुरा बहुसङ्ख्यक जनताको
दीर्घकालीन हितमा हुन्छ भन्दा पनि तत्काल के गर्दा जनता खुशी हुन्छन्
भन्ने तुष्टीकरणको आधारमा चलेको छ। कक्षा १ देखि नै अङ्ग्रेजी राख्नु
पनि यस्तै तुष्टीकरणको परिणाम हो।
|