| •
ऋतुराज |
 |
ऋतुविचार
के हो लोकतन्त्र?
मुलुकमा लोकतन्त्र धूमधडाकासँग बहाल भएको एक वर्ष उहिल्यै
बितिसक्यो। अहिले लोकतन्त्र शानदार दोस्रो वर्षमा चलिरहेछ। तैपनि धेरै
यस्ता छन् जसलाई अझै प्रजातन्त्र र लोकतन्त्रबीचको भेद थाहा छैन। त्यस्ता
लाटाहरू खबरपत्रिकाको स्तम्भकार भइटोपलेको यस अकिञ्चनलाई बडो जान्ने–सुन्ने
गाँडोतन्देरी ठान्दै पटक पटक सोधिरहन्छन् दुई तन्त्रबीच वास्तवमा फरक
के छ? कति पटक बुझाउने कोसिस गरियो। प्रजातन्त्र भनेको अङ्ग्रेजी मूल
शब्द 'डेमोक्रेसी' को गलत अनुवाद थियो कसैले नजानेर गरेको। प्रजा भनेको
राजासित जोडिएर आउने शब्द हो। त्यसैले ल्याउनु परेको हो यो लोकतन्त्र।
लोक भनेको दुनियाँ, संसार, जनता अनि लोकतन्त्र भनेको सम्पूर्ण जनताको
तन्त्र हो। अब अनुवाद सही भएको छ। यसो भनेर ती वर्णहरूमा निहित अर्थान्तर,
तिनका ध्वन्यात्मक भिन्नता र अर्थभेद अनेक जुक्तिले बुझाउने प्रयास
गर्दा पनि बूढी त जिउँदै! आकाश पाताल एक गर्यो, आखिरमा फेरि सोध्छन्
फरक चाहिँ के हो?
आफ्नो सीमित र छिपछिपे ज्ञान काम लागेन अज्ञानीहरूलाई
सम्झाउन बुझाउन। त्यसैले देशका मूर्धन्य विद्वान्, दार्शनिक, चिन्तकदेखि
अर्थविद् अनर्थविद्, बुद्धिजीवी, परजीवी, साहित्यकार, बेकार, नेता,
प्रणेता, अभिनेता, रइस, सइस, भाषणकर्ता, टिप्पणीकर्ता, अभिकर्ता, क्रान्तिकारी,
षड्यन्त्रकारीसम्म आदि हरेकको ढोका ढक्ढक्याउन गइयो। उनीहरूका दिमाग
टक्टक्याउन पुगियो। त्यसका आधारमा प्राप्त भए ज्ञानका मोतीहरू। तिनैलाई
सँगालेर पाठकगणको ज्ञानहेतु यहाँ प्रस्तुत गरिएको छ।
ती महान् आत्माहरूको मतमा लोकतन्त्रमा लोक सर्वेसर्वा
हुन्छ। लोककै तोक चल्छ। लोकले टोक भने टोक्नुपर्छ, ठोक भने ठोक्नुपर्छ,
रोक भने रोक्नुपर्छ। यसैले लोकलाई झोंक चले हड्ताल गर्न, बन्द गर्न,
सडक खन्न, टायर बाल्न जहिले पनि पाइन्छ लोकतन्त्रमा। यसबाहेक लोकतन्त्रमा
निम्न काम पनि गर्न पाइन्छः
• कर्मचारीहरूलाई काम गर्न मन नलागे
आफ्नो हाकिमको त के पूरै संस्थामा तालबन्दी गर्न पाइन्छ। नारा लगाएर
अनसन गर्ने धम्की दिएकै भरमा महिनाको अन्तमा तलब थाप्न पाइन्छ।
• दुई–चार जना जम्मा भई घरघरमा गएर वा
बाटैमा चन्दा, शुल्क, महसुल र कर उठाउन पाइन्छ।
• यसो त नगरपालिकाहरूको काम फोहोर सफा
गर्ने, सडक, बिजुली, पानीको व्यवस्था मिलाएर सहरलाई सुविधायुक्त बनाउने
हो। तर सबै काम छाडेर फूटबल टुर्नामेन्ट खेल्न पाइन्छ।
• बिनाजहाज वायुसेवा कम्पनी चलाउन पाइन्छ
र जहाजै नउड्ने कम्पनीलाई राष्ट्रिय ध्वजावाहक भन्न पनि पाइन्छ।
• हरेक विषयमा छानबिन आयोग गठन गर्न
पाइन्छ। तर आयोगको प्रतिवेदन सार्वजनिक नगर्न पाइन्छ। केही गरी सार्वजनिक
भइहाले पनि आयोगको सिफारिस कार्यान्वयन गर्नबाट पन्छिन पाइन्छ।
• ट्राफिक नियम हुँदैन लोकतन्त्रमा।
एकतर्फी सडकमा गाडी हाँके हुन्छ। बसको छानामा यात्रु चढाए हुन्छ। प्राइभेट
नम्बर राखेर भाडामा सवारी चलाए हुन्छ। ट्राफिक प्रहरीले लाइसेन्स मागेमा
गाडी तेर्स्याएर चक्काजाम गर्न पाइन्छ।
• अख्तियारले मुद्दा हालेर के भो? उसैलाई
हराएर झन् साखुल्ले बन्न पाइन्छ।
• योग्यताका भरमा होइन पार्टीको सिफारिस
र चाकरीमा राज्यको ठूलाठूला ओहोदामा नियुक्त हुन पाइन्छ।
• राजनीतिक सङ्गठनको ब्यानर बोकी जुनसुकै
सरकारी कार्यालयको हाकिमलाई कुट्न पाइन्छ। जुन कुनै कार्यालयलाई आफ्नो
कब्जामा लिन पाइन्छ।
• विदेशको राजदूत भएर आएपछि राजनीतिक
कुरामा अर्तिउपदेश, निर्देश खुलेआम दिन पाइन्छ। परराष्ट्रमन्त्रीलाई
पुछिरहनै पर्दैन, सोझै प्रधानमन्त्रीलाई हरेक कुरामा भेट्न पाइन्छ।
• भन्सार, अन्तशुल्क, आयकर हाकाहाकी
छल्न पाइन्छ। समातिए पनि धरौटीमा छुट्न पाइन्छ। त्यस्तो योग्यता हुने
उद्योगपति कहलाइन्छ।
• ब्याङ्कर आफैँले ब्याङ्कको रकम हिनामिना
गरी ब्याङ्क डुबाउन पाइन्छ।
• लाइन लगाई–लगाई मट्टितेल र पानी मिसाएको
पेट्रोल किन्न पाइन्छ। त्यसरी किन्न पाएकामा धन्य धन्य हुन पाइन्छ।
• जनताले नचुने पनि जनप्रतिनिधि, सांसद,
मन्त्री के के हो हुन पाइन्छ। राज्यकोषबाट तलबभत्ता खान पाइन्छ।
• सरकारी जागिर खाने शिक्षक भए पनि पढाउने
काम चाहिँ प्राइभेट स्कूलमा गर्न पाइन्छ।
• संविधानसभाको चुनावको तिथि घोषणा गरे
नि चुनाव साँच्चि नै हुन्छ हुँदैन ठेगान छैन भन्न पाइन्छ।
• गाउँ समिति, जिल्ला समिति, नगरपालिका
केहीको चुनाव गर्नुपर्दैन। सबै पार्टीले भागबन्डा गरेर चलाउन पाइन्छ।
• विद्यार्थीले जाँच दिन पर्दैन। रिजल्ट
आउने बेला शिक्षक कुटेर वा क्लासमा आगो लाएर पास हुन पाइन्छ।
• धर्मनिरपेक्ष राज्य भइसक्दा पनि जनैजाति,
जनजाति, म्लेच्छजाति सबै मिली जनैपूर्णिमाको राष्ट्रिय बिदा मनाउन
पाइन्छ।
• बत्ती नबल्ने अनकन्टारमा स्कुले केटाकेटी
हरेकलाई ल्यापटप दिने योजना ल्याउन पाइन्छ।
विज्ञ पाठकवृन्द! लोकतन्त्रको यस्तो उदात्त परिभाषा पाएर आफ्नो त रहेसहेको
भ्रम पूरै निवारण भयोे प्रजातन्त्र र लोकतन्त्रको भेदबारे। तपाईंलाई
कस्तो लाग्यो नि?
अशुभ आठको अङ्क
आठ र बाह्र फाप्दैन भन्ने मान्यता छ नेपाली समाजमा।
अहिले राजनीतिमा घिचपिच भइरहेछ। लिकबाट रेल खस्ला खस्ला जस्तो भइरहेछ।
त्यो वास्तवमा अहिलेको सरकारमा आठ दल भएकाले हो भन्ने धेरैको सोचाइ
छ। आठ अङ्कको यो योग शुभ हुँदैन भन्ने तर्क छ उनीहरूको। हुन त पहिले
गठबन्धन सात दलको मात्र थियो, पछि अर्को एक थपिएर आठ पुगेको हो। पछि
थपिए पनि अघि थपिए पनि आठ त आठै हो। तर के आठ साँच्चिकै नफाप्ने सङ्ख्या
हो त? यसले साँच्चि नै बिगार गर्छ त? शायद होइन। आठ अङ्कसित परम्परागत
रूपमा जोडिएका अनेक कुरा छन्। लौ हेर्नोस् :
सबभन्दा पहिला― अष्टमातृका, अष्टसिद्धि, अष्टमङ्गल,
अष्टगुण, अष्टदान, अष्टधातु, अष्टलक्ष्मी, अष्टमूर्ति।
अझै― अष्टदिशा, अष्टदिक्पाल, अष्टवसु, अष्टमुनि, अष्टकर्म, अष्टरस,
अष्टपीठ, अष्टमणि।
अनि अझै― अष्टविभूति, अष्टआसन, अष्टमहिषि आदि आदि। आठ
अङ्कसित जोडिएका अरू थोक पनि थाहा पाउने मन छ भने हरिराम जोशीको 'अभिनव
संस्कृति कोष' मा टन्नै भेट्नुहुनेछ। माथिका त केवल नमूना हुन्।
यस्तो सांस्कृतिक र परम्परागत महत्त्वको सङ्ख्या बोकेको
आठ दलको गठबन्धनलाई कसरी अशुभ भन्ने?
|