हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट

नेपाली सिक्दै विदेशी

मरिहत्ते गरेर अङ्ग्रेजी पढिरहेका नेपालीहरूलाई लाग्न सक्छ– यी विदेशीहरू किन त्यसैगरी नेपाली पढिरहेका छन् हँ!

किरण पाण्डे

युवा नेपालीहरूले मरिहत्ते गरेर अङ्ग्रेजी पढिरहेका बेला नेपाली सिक्न त्यसैगरी लागेका विदेशीहरू पनि भेटिएका छन्। राजधानीको विश्वभाषा क्याम्पसमा अहिले अमेरिका, फ्रान्स, अस्टे्रलिया, स्वीट्जरल्याण्ड, क्यानडा, ब्राजिल, जर्मनी, जापान, कोरियालगायतका देशका १२० जना विदेशी नेपाली भाषा पढिरहेका छन्। विश्वभाषाका निमित्त क्याम्पस प्रमुख यादवराज पन्त भन्छन्, “शान्ति प्रक्रिया अघि बढेदेखि नै नेपाली भाषा पढ्न आउने विदेशीहरूको सङ्ख्या बढेको हो।”

२० देखि ६० वर्षका यी विदेशीहरू आ–आफ्नै कारणले नेपाली भाषा पढिरहेका छन्। संयुक्त अधिराज्य, स्कटल्याण्डका ६० वर्षीय ईयान गिलरोय बाँकी जीवन नेपालमै बिताउने उद्देश्य राखेर नेपाली पढिरहेको बताउँछन्। बेलायतमा ३५ वर्ष अध्यापन गरेर अवकाश पाएका ईयान दुई वर्षअघि घुम्न नेपाल आएका थिए। नेपालीमै बोल्दै उनले भने, “मलाई यहाँको कल्चर मनपर्छ। परम्परा मन पर्‍यो। नेपालीको माया लाग्यो। अब नेपालमै बस्ने इच्छा आयो। त्यसो भएर नेपाली पढेको।” केन्याका जिओफ्रे ओढियाम्बो, फ्रान्सका सेद्रिक फाभ्रे पनि नेपालमै बस्न भनेर नेपाली पढिरहेका छन्।

अमेरिकाका माइकल गेसको चाहिँ नेपाल र नेपाली जनजीवनको सूक्ष्म अध्ययन गर्ने धोको छ। विकट गाउँ–जिल्ला र त्यहाँका बासिन्दाबारे धेरैथोक बुझ्न उत्सुक माइकल काठमाडौँ, पोखराजस्ता शहरमा आफूले कल्पना गरेको नेपाली जीवन नभेटिने बताउँदै भन्छन्, “रुकुम, रोल्पा, हुम्ला, जुम्लामा नेपालीहरूको जीवन बुझ्न सकिन्छ भनेर नेपाली भाषा पढेको। म छिट्टै त्यता जान्छु।”

यही साउनदेखि विश्वभाषा क्याम्पसमा नेपाली पढ्न थालेका अस्ट्रेलियाका मुर्रे योङ र बेल्जियमका ज्याक्स याङ्गेनट नेपाली भाषा सिकेर नेपालको इतिहास जान्न र धेरै नेपालीसँग सम्बन्ध बढाउन चाहन्छन्। मुर्रे भन्छन्, “न्यू फ्रेण्ड बनाउने इच्छा छ।” ज्याक्सको विचार पनि त्यस्तै छ, “नेपाली सिम्पल लाग्छन्। सेल्पि्कस छैनन्। म ल्याङ्ग्वेज पढेर नेपाली साथी बनाउने।”

धेरैजसो विदेशी नेपाल घुम्न र बुझ्न सजिलो हुने ठानेर नेपाली पढ्दैछन्। कोरियाका गङ्ग एलीले नेपालको पहाडी भू–भागको भ्रमण गर्न सजिलो होस् भनेर भाषा पढ्न थालेको बताए भने क्यानडाका साहरोज माउजले पूर्व मेचीदेखि पश्चिम महाकाली भ्रमण गर्न। बेलायतका सानिवा वेनेटलाई चाहिँ नेपालको प्राकृतिक सम्पदाबारे जान्ने र बुझ्ने इच्छा छ। उनी भन्छन्, “नेपाली ल्याङ्ग्वेज पढेर नेपालको नेचर, कल्चर बुझ्न मनपर्छ। मेरो भिजिट गर्ने इन्ट्रेस्ट भएको र पढेको।”

कोही चाहिँ नेपालमा व्यापार–व्यवसाय गरेर यतै बस्ने सुरमा देखिन्छन्। इटालीका दे सान्ति पाओलो नेपालमा स्थायी शान्ति छाउने अपेक्षा गर्दै यतै कुनै व्यापार गरेर बस्ने सोचाइमा छन्। स्वीट्जरल्याण्डका तोर्नेएर पाउलिनको पनि यस्तै योजना छ। उनी भन्छन्, “नेपालको ब्युटिफूल प्लेसमा रिसोर्ट खोल्ने इच्छा छ। ल्याङ्ग्वेज पढेपछि लोकल पिपुलसँग सजिलो हुन्छ।”

विदेशी विद्यार्थीहरूलाई नेपाली भाषा पढ्न त्यति सजिलो भने हुँदो रहेनछ। दुई वर्षदेखि पढिरहेका ईयानको अनुभवमा अङ्ग्रेजी भन्दा धेरै अप्ठ्यारो छ नेपाली। उनी भन्छन् “संस्कृतबाट आएको शब्दले अप्ठ्यारो बनाउँछ।” तर अप्ठ्यारो लागे पनि यी विद्यार्थीहरू अत्यन्तै जिज्ञासु र मिहिनेती भएका क्याम्पसका सह–प्राध्यापक गङ्गाप्रसाद उप्रेती बताउँछन्।

भाषाबाहेक अन्य विषय पढ्न आउने विदेशी विद्यार्थीहरूको सङ्ख्या पनि ठूलै छ– शिक्षा मन्त्रालयका अनुसार ६१० जना। यीमध्ये काठमाडौँ विश्वविद्यालयमा मात्रै २६३ जना छन्। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले माल्दिभ्स, श्रीलङ्का, पाकिस्तान, अमेरिका, बङ्गलादेश र भुटानका ४७ विद्यार्थी नेपालमा एमबीबीएस पढिरहेको बताएको छ। त्यस्तै, माल्दिभ्स, श्रीलङ्का र भुटानका १२ विद्यार्थी नेपालमा एम.टी. पढिरहेका छन्भने एम.डी. गरिरहेका विदेशी चाहिँ १३ जना छन्। यीबाहेक अन्य विविध विषयमा १८ विदेशी विद्यार्थी नेपालमा शिक्षा आर्जन गरिरहेका त्रिवि, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले जनाएको छ।

केन्द्रकै तथ्याङ्कअनुसार विभिन्न विषयमा अनुसन्धान गर्न नेपाल आएका विदेशी विद्यार्थीहरू ५२ जना छन्, जसमध्ये सात जना पीएचडी गर्दैछन्। नेपाली बहिराहरूको विषयमा पीएचडी शोधपत्र तयार गरिरहेका अमेरिकी विद्यार्थी पिटर ग्रेफ भन्छन्, “पढ्न थोरै खर्च लाग्ने भएकोले नेपाल आएको हुँ। अर्को कुरा, नेपाल घुम्ने मेरो इच्छा पनि यही पीएचडी गर्दागर्दै पूरा हुनेभयो।”

सन्तोष बराइली