रमझम
मोड्लिङ 'टाइम पास'
काठमाडौँको मोर्डन
इण्डियन स्कूलमा १२ को पढाइ सिध्याएर मोड्लिङतिर लागेकी दर्शी श्रेष्ठ
यसबाट आफ्नो सानैदेखिको रहर पूरा गरिरहेको बताउँछिन्। मोड्लिङसम्बन्धी
प्रशिक्षण समेत लिएर केही फेशन शोका र्याम्प र म्युजिक भिडियोमा देखा
परेकी ललितपुर कुसुन्तीकी दर्शीेले आफ्नो रहर पूरा गर्न परिवारकोे
साथ पाएकी छिन्। भन्छिन्, “मोड्लिङमा लागेकोमा घरमा सबैले राम्रै मानेका
छन्।”
जस्तो पायो त्यस्तै भन्दा पनि छानेर मात्र म्युजिक
भिडियोमा खेल्ने बताउने उनलाई चलचित्र क्षेत्रमा लाग्ने रुचि भने छैन्।
भन्छिन्, “म्युजिक भिडियोमा भन्दा चलचित्रमा धेरै समय दिनुपर्छ त्यसैले
म त्यता लाग्दिनँ।” भारतको दार्जीलिङमा १० कक्षाको पढाइपछि काठमाडौँमा
अर्थशास्त्र पढिरहेकी दर्शीको ध्याउन्न चार्टर्ड एकाउन्टेड (सीए) बन्ने
छ। मोड्लिङ र सीएको तयारी एकसाथ कसरी त? अहिले फुर्सदको समयको सदुपयोग
गरिरहेको बताउँदै दर्शीले भनिन्, “मोड्लिङ त मेरो 'टाइम पास' मात्रै
हो, लक्ष्य त सीए बन्ने हो नि!”
शब्दः अनुशील
तस्बिरः अनुपप्रकाश
रमझम नाटक
महिला निर्देशक
कुनै बेला महिला कलाकारहरूको अभाव रहेको नेपाली रङ्गमञ्चमा अहिले
महिला निर्देशकहरू नै एकदर्जन पुगिसकेका छन् तर, विविध कारणवश उनीहरूको
सक्रियता भने कमै छ।
एघार वर्षकै उमेरमा रङ्गमञ्चमा पाइला टेकेकी शकुन्तला शर्माले २०
भन्दा बढी नाटकहरू निर्देशन गरेकी छन्। नेपाल प्रज्ञा–प्रतिष्ठान,
नाटक शाखामा निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी शर्माद्वारा निर्देशित
नाटकहरू प्रतिष्ठानद्वारा बर्सेनि आयोजना हुने राष्ट्रिय नाटक महोत्सवमा
मञ्चन हुने गरेका छन्। उनको निर्देशन रहेका नाटकहरूमा पुरानो घर, विष्णुमाया,
लौरै–लौरो, मसान, किराँत–अर्जुन, कृष्ण–अर्जुन आदि राम्रा मानिन्छन्।
उनी भन्छिन्, “नाटक निर्देशन गर्ने धोको अझै मरेको छैन, निरन्तर लागिरहने
चाहना छ।”
सविना लेहमन पनि सक्रिय नाटक निर्देशक हुन्। बज्र होटलको नागा थिएटरमा
नियमितजसो मञ्चन हुने उनका नाटकका लक्षित दर्शकहरू ज्यादातर विदेशी
र उच्च घरानाका हुने गरेका छन्। विगत अढाई दशकदेखि नेपाललाई कर्मभूमि
बनाएकी जर्मनकी सविनाले शेक्सपियर, बर्तोल्त ब्रेख्त, लुईस क्यारोल,
श्यामुअल, बेकेट आदि लेखकका नाटकहरू निर्देशन गरिसकेकी छिन्।
त्यस्तै निशा शर्मा पोखरेल निर्देशित नाटक मायादेवीका सपना ले भारतमा
केही समय अघि सम्पन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत सहभागिता
जनाइसकेको छ। सो नाटक 'आरोहण राष्ट्रिय नाटक महोत्सव–२०६४' मा पुनः
मञ्चन भएको थियो। नाटकमा अभिनय गर्न थालेको २३ वर्षपछि आफैँले निर्देशन
गर्दा फरक अनुभूति भएको बताउने निशा नाटकका समग्र विधामा ध्यान दिनुपर्ने
भएकाले अभिनय भन्दा निर्देशन गर्नु जटिल भएको बताउँछिन्। सहयोग गर्ने
वातावरण नभएर पनि नेपाली रङ्गकर्ममा महिला निर्देशकहरूको सधँै अभाव
रहेको बताउँदै उनी भन्छिन्, “निर्देशन गर्ने कुरामा महिलालाई अझै पनि
पत्याइदैन। एक्लैले गर्नसक्ने कुरा पनि हैन 'ब्याक सपोर्ट' निक्कै
चाहिन्छ। त्यसैले प्रोत्साहनसँगै अनुभवको अभावले पनि महिलाहरू रङ्गमञ्चको
यो विधामा आउन नसकेका हुन्।”
 |
| महिला नाटक निर्देशकहरूः निशा शर्मा पोखरेल, सरिता गिरी, आशा
मगराती, शिवानी सिंह थारु (बायाँबाट क्रमशः)। |
महिला रङ्गकर्मी सरिता गिरी र शोमा अधिकारी निर्देशित नाटकहरू अस्वत्थामा
हतोहतः र कुमारी बलि ले सांस्कृतिक संस्थान काठमाडौँद्वारा आयोजित
क्षेत्रीय नाटक महोत्सवहरूमा क्रमशः उत्कृष्ट अभिनेत्री र उत्कृष्ट
अभिनेताको अवार्ड जितेको थियो। गुरुकुलसँग आवद्ध सरिता भन्छिन्, “नाटक
निर्देशन गर्न रङ्गमञ्चसम्बन्धी गहन अध्ययन र औपचारिक ज्ञानको आवश्यकता
पर्दो रहेछ।” आशा मगराती, लक्ष्मी पाण्डे र समुना के.सी. निर्देशित
नाटकहरूले पनि राष्ट्रिय नाटक महोत्सवहरूमा सहभागिता जनाइसकेको छ।
आशाको निर्देशनमा गुरुकुलमा समेत मञ्चन भएको नाटक देवताकी आमा बाट
उनले निक्कै चर्चा बटुलेकी थिइन्। खर्चिलो हुने नाटकका लागि सहयोग
जुटाउन नसक्दा चाहेर पनि निरन्तर निर्देशन गर्न नसकिरहेको उनी बताउँछिन्।
मोडल तथा टेलिभिजन कार्यक्रम प्रस्तोता शिवानी सिंह थारू र पूजा गुरुङले
पनि नाटक निर्देशन गर्न थालेका छन्। एक्टर्स स्टुडियोबाट शिवानीले
भर्चुअल रियालिटी र पूजाले गरेको म्यारिज ईन मोशन प्रदर्शनपश्चात्
दुवैलाई संभावना बोकेका नाटक निर्देशकका रूपमा लिन थालिएको छ।
सुभद्रा अधिकारी, मिथिला शर्मा, सूर्यमाला खनाल, प्रज्ञा जोशी, संगम
भण्डारी र मीना श्रेष्ठले पनि नाटक निर्देशन गरेका छन्। तर, अहिले
उनीहरू रङ्गकर्मबाट पलायन भइसकेका छन्। सुभद्रा अधिकारी र मिथिला शर्मा
चलचित्र अभिनयतिर छन्। आरोहणका रङ्गकर्मी सुनिल पोखरेलका अनुसार संभवतः
रङ्गमञ्चकी पहिलो महिला निर्देशक बी.पी. कोइराला पत्नी सुशीला हुन्।
पोखरेल भन्छन्, “२००८ सालमा सुशीलाले निर्देशन गरेको नाटक 'ऊ मरेकी
छैन' विराटनगरमा मञ्चन भएको थियो।”
सन्तोष बराइली
शारदाको नाट्य लेखन
हुन त शारदा सुब्बाले
तेइस वर्षअघिदेखि नै नाटक लेख्न शुरु गरेकी हुन्। यो अवधिमा उनले जति
नाटक लेखिन्, ती सबै मञ्चन भएका छन् र उत्कृष्ट पनि मानिएको छ।
नेपाली साहित्यमा व्यङ्ग्य र नाटक लेखनमा महिलाको सङ्ख्या औंलामा
गनिने अवस्था छ। नेपाली साहित्यको इतिहास कोट्याउँदा सुभद्रादेवी दङ्गाल
र विद्या दीक्षितलाई महिला नाटककारको पहिलो पुस्ता मानिन्छ। पछिल्लोकालमा
विशेष गरी रेडियो नाटकका हिसाबले वेदकुमारी न्यौपानेले केही ख्याति
कमाएकी छिन् तर मञ्चनका हिसाबले उत्कृष्ट नाटक लेखे तापनि शारदाको
नाम अहिले छायाँमा छ। भन्छिन्, “शायद म कुनै समूहमा नभएर पनि होला।”
पहिले धरानमा रहँदा पारिजात र अमृता प्रितमको लेखरचना भनेपछि हुरुक्कै
हुने उनी २०४१ सालमा देउरालीमा एक थुँगा फूल लिएर नाट्य संसारमा झुल्किइन्।
धरानमा मञ्चित उक्त नाटकले त्यसबेलै चर्चा मात्र पाएन, लिम्बू भाषामा
कुसङ सेमी (नौलो किरणको नाममा) अनुवाद भयो। प्रताप सुब्बाद्वारा निर्देशित
उक्त नाटक लिम्बू भाषामा मञ्चन भएको पहिलो नाटक हो।
पछिल्लोपटक उनको नाटक अघोषित दुई वर्षअघि गुरुकुलद्वारा आयोजित नाटक
उत्सवमा मञ्चन भएको थियो। यस बीचमा उनले नभेटिएको बाटो, नीलोपीडा,
दुखेका मान्छेहरू, समानान्तर लेखिन्। उनका यी आधा दर्जन नाटक धरान
र काठमाडौँमा मञ्चित भए। तीमध्ये अनाम नाट्य जमातले प्रस्तुत गरेको
समानान्तर नेपाल प्रज्ञा–प्रतिष्ठानका राष्ट्रिय नाटक उत्सव २०४८ मा
उत्कृष्ट घोषित भयो भने आरोहण नाटक मेलामा नीलोपीडा ले राम्रो चर्चा
पायो। उनका दुई नाटकको सङ्ग्रह अघोषित नीलोपीडा प्रकाशित भएको छ। विषयगत
मात्र होइन, रङ्गमञ्चीय हिसाबले पनि उनी नाटकमा राम्ररी जम्ने गर्छिन्।
यसरी नाटकमा राम्रै दख्खल राखेर पनि लेखन यात्रा किन सुस्त? शारदा
भन्छिन्, “बीचमा विद्युतीय माध्यमको चर्काे दबाबका अगाडि नाटक मञ्चन
उतारचढावमा थियो, शायद त्यसैले लेखिनँ।” नारी संवेदनामा डुब्नु उनको
नाट्य–प्रवृत्ति हो। उनी आफू नारी भएकैले नारी संवेदना र त्यसैमा आधारित
पात्रहरूको खोजी गर्ने गरेको बताउँंछिन्। भन्छिन्, “म अझै नारी पात्रहरूकै
खोजीमा छु, चाँडै केही न केही लिएर रङ्गकर्ममा देखा पर्दैछु।”
कुमार सुब्बा
रमझम विविध
हङकङकी रुपसी
आफ्ना अन्तिम ९ प्रतिस्पर्धीलाई
पछि पार्दै सुस्मिता गुरुङ (१८) हङकङकी नयाँ रुपसी घोषित भइन्। उनले
९ भदौमा नेपाली सुन्दरीहरूबीच सम्पन्न ट्यालेण्ट हण्ट मेगा मोडल कण्टेष्ट
२००७ को उपाधि हात पारेकी छिन्। भैरहवा घर भएकी सुस्मिता हङकङमा स्कूल
कर्मचारी तथा दोभाषे पेशामा कार्यरत छिन्।
प्रतियोगितामा पोखराकी सुनिता गुरुङ फष्ट रनरअप र धरानकी नताशा श्रेष्ठले
सेकेण्ड रनरअप सहित वेष्ट ड्रेस तथा मिस क्याटवाकको उपाधि जिते। त्यस्तै
मिस फोटो जेनिकको उपाधि धरानकी संदिपा थापालाई, वेष्ट फिगरको उपाधि
बुटबलकी अञ्जु सिंह थापालाई, मिस पर्सनालिटी संखुवासभाकी रिया राईले
पाइन् भने इण्टरनेटमार्फत् सर्वाधिक भोट पाएकी शोभा घलेले भिवर च्वाइसको
उपाधि पाइन्। विभिन्न नेपाली जातीय पहिरनमा नयाँ नेपाली राष्ट्रिय
धुन सहित र्याम्पमा आएका सुन्दरीहरू करिब अढाइ घण्टासम्म नेपाली,
चिनियाँ दर्शकसामु प्रस्तुत भएका थिए। कार्यक्रममा हङकङका नेपाली कलाकारहरूले
गीत–नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा हङकङमा कार्यरत सङ्गीतकार
दिनेश सुब्बालाई सम्मान गरिएको थियो।
ड्रिम्ज अनलिमिटेडले आयोजना गरेको प्रतियोगिताको कोरियोग्राफी ममिता
गुरुङ र तारा लिम्बूले गरेका थिए।ुस्तक प्रकाशकहरूलाई वातावरणमा कम
क्षति पुर्याउने हिसाबले काम गर्न प्रेरित गराउने क्यानडाली संस्था
मार्केट इनिसिएटिभका अनुसार यो कदमले झण्डै दुई लाख रूख काटिनबाट जोगिएका
छन् भने करिब ८७ सय टन कार्बोन डाइअक्साइड उत्सर्जन हुनबाट रोकिएको
छ। सन् २००३ मा अमेरिकी प्रकाशक स्कोलास्टिकले ह्यारीको छैटौं पुस्तक
रिसाइकल नगरिएका कागजमा छापेकोले क्यानडामा उक्त प्रकाशकका पुस्तक
बहिस्कार गरिएको थियो। छैटौं पुस्तकलाई रेनकोस्ट बुक्स नामक प्रकाशकले
मात्र वातावरण मैत्री ढङ्गमा छापेको थियो भने पछिल्लो पुस्तकलाई विश्वका
१६ प्रकाशकले वातावरण मैत्री ढङ्गमा छापेका छन्। जेके रोलिङ स्वयंले
अग्रसरता लिएपछि यो पुस्तक बृहत् रूपमा वातावरण मैत्री ढङ्गमा आउन
सकेको हो। यसरी ह्यारी पोटरको सातौँ पुस्तकलाई विश्वकै सबैभन्दा 'ग्रीन
बुक' दाबी गर्न थालिएको छ।
देवराज राई, हङकङमा
रातामकैको यो रुप
उमेरले ५० टेके पनि
हास्यकलाकार किरण केसी १६ वर्षे तन्नेरी झैँ फरक–फरक नायिकासँग नाँचिरहेका
छन्। आफ्नै स्वरको लोक–दोहोरी अल्बम ए...रातामकै को म्युजिक भिडियोमा
उनी मोटरसाइकलमा, रूखको फेदमुनि अनि डाँडापाखामा चढ्दो बैँस पोखिरहेको
देखिन्छन्।
नेपाल टेलिभिजनको हास्य टेलिशृङ्खला जिरे खुर्सानी को 'ए...रातामकै'
थेगो लोकप्रिय बनेपछि केसीको यो नयाँ रुप सार्वजनिक भएको हो। रातामकै...
बोलको गीतमा उनले अरुणिमा लम्साल, सिर्जना बस्नेत र प्रिया रिजालसँग
नाच्दा १६ जोर त लुगा मात्रै फेरेका छन्! केसी किरण... बोलको गीतमा
भने उनी जिरे खुर्सानी कै कलाकार सविता गुरुङ (चोथाले) र अञ्जु महर्जन
(हात्ती) को तानातानमा परेका छन्। यसरी प्रस्तुत हुनुको कारणमा उनी
भन्छन् “लोकदोहोरी गीतमा नयाँपन दिउँ भनेर हो।” शम्भुजीत बाँस्कोटा
र सुरेश अधिकारीको सङ्गीत र सुरेन्द्र रानाको शब्दमा सीता थापा र माण्डवी
त्रिपाठीको स्वरले साथ दिएको छ। अडियो र भीसीडीका ४० हजार प्रति बिक्री
भएको बताउँदै उनले भने “१५ दिन लगाएर म्युजिक भिडियो बनाउँदा सवा तीन
लाख त खर्च नै भयो।” २० वर्षे अभिनय यात्रामा ८५ चलचित्र र सय भन्दा
बढी टेलिचलचित्र र सिरियलमा अभिनय र ३८ देशका स्टेज शोमा प्रस्तुत
भएका केसीले आफैँ चलचित्र पनि बनाएका छन्। तर, नायक बन्ने रहर भने
उनमा छैन। भन्छन् “नायक भन्दा पावरफुल भूमिकाहरू गरेको छु, तर चलचित्रमा
यसरी नाच्ने चाहना छैन। गीत चाहिँ स्वरले साथ दिउञ्जेल गाउँछु।”
खेल र कलाको सङ्गम
तेक्वान्दो खेलकी
ब्ल्याकबेल्ट टु डन नन्दा बस्याल जति राम्रो खेल कौशल प्रदर्शन गर्छिन्
उति राम्रो कम्मर मर्काउँदै नाच्छिन् पनि। लोकनृत्य मात्रै हैन, अभिनय
र गायनमा पनि उनी पोख्त छिन्।
खेल र कलामा सँगसँगै अघि बढिरहेकी नन्दाको स्वभाव सानैदेखि जिद्दी
मात्रै होइन झगडालुसमेत थियो। स्कूल पढ्दादेखि नै कसैले हेप्यो या
जिस्क्यायो भने कुटपिटमै उत्रन्थिन्। नभन्दै बाल्यकालको त्यही स्वभावले
नन्दालाई मार्शल आर्टको राम्रो खेलाडी बनायो। सुर्खेत वीरेन्द्रनगरकी
उनी अहिले तेक्वान्दोमा मध्य र सुदूरपश्चिमकै एकमात्र महिला हस्ती
हुन्। उनी भन्छिन्, “हेपेको नसहने र कुटपिटमै उत्रने स्वभावले ख्यालख्यालमै
खेलाडी बनेँ।”
नौ वर्षको उमेरमा २०५० सालमा उनले तेक्वान्दो खेल्न शुरु गरेकी थिइन्।
त्यसको दुई वर्षमै भैरहवामा सम्पन्न राष्ट्रिय प्रतियोगितामा २८ केजी
तौल समूहमा दोस्रो भएपछि उनको खेलजीवनले गति लियो। त्यसपछि पटकपटक
भएका १० वटा राष्ट्रिय र आमन्त्रित प्रतियोगितामा उनले पहिलो स्थान
गुमाउनुपरेन। तर, आठौँ साफमै देशको प्रतिनिधित्व गर्न पाउने अवसर निश्चित
भएपनि 'खेल राजनीति'का कारण अहिलेसम्म साफमा छनौट नभएको तीतो अनुभव
सुनाउँदै उनी गुनासो गर्छिन् “खेल राजनीतिले गर्दा म कहिल्यै साफमा
परिनँ।” तर, क्षमता हुँदाहुँदै अवसर नपाए पनि उनले आफ्नो धर्म छाडेकी
छैनन्। सुर्खेतमा उनले तेक्वान्दोको 'निःशुल्क' प्रशिक्षकको भूमिका
निभाएकी छिन्, दैनिक ६० भन्दा बढीलाई कभर्डहलमै तेक्वान्दो प्रशिक्षण
दिन्छिन्; त्यसबाहेक तीन वटा निजी विद्यालयमा पनि तेक्वान्दो प्रशिक्षक
छिन्।
कलाकारितामा छुट्टै पहिचान बनाएको बागीना समूहकी नन्दाले रेडियो,
स्टेज र सडकसमेत २६ नाटक, टेलिचलचित्र, लोकगीतका म्युजिक भिडियोमा
अभिनय र चलचित्रमा नृत्य गरेकी छिन्। पर्दाभन्दा स्टेजमा बढी भिजेकी
उनी लोकनृत्यको कोरियोग्राफरसमेत हुन्। सुर्खेतमा शिखर क्लब खोलेर
आफैँ औपचारिक नृत्य प्रशिक्षण पनि शुरु गरेकी छिन्।
खेलकुदमा लागेर उनले नामबाहेक केही पाएकी छैनन्। अहिलेसम्म पनि राष्ट्रिय
प्रतियोगिता खेल्न जाँदा आफ्नै पैसा खर्च गर्नुपर्ने उनी बताउँछिन्।
काठमाडौँका खेलाडीले जस्तो सुविधा उनीजस्ता मोफसलका खेलाडीले पाउँदैनन्।
त्यसैले उनि भन्छिन् 'गरिब हुनु छ भने खेलाडी बन्नू'। कलाकारिताबाट
हुने कमाईले उनलाई गुजारा गर्न सघाउँछ। भविष्यप्रति आशावादी उनको भावी
योजना भने अनौठो छ। खेलक्षेत्रमै लागेर थुप्रै आशलाग्दा खेलाडी उत्पादन
गर्ने उनको चाहना छ। उनी भन्छिन्, “राज्यले खेलाडीका लागि केही नगर्ने
रहेछ, तर, म सीप सिकाएर आशलाग्दा खेलाडी उत्पादनमा लाग्नेछु।”
रामेश्वर बोहरा, नेपालगञ्ज
|