पुस्तक परिचय
मार्क्सवादमा सैद्धान्तिक
प्रश्न
किताबः आजको मार्क्सवाद र नेपाली क्रान्ति
लेखकः घनश्याम भूसाल
प्रकाशकः नेपाल अध्ययन केन्द्र
पृष्ठः ३१६+३२, मूल्यः रु.२००
पञ्चायतकालको उत्तरार्द्धका विद्यार्थी नेता घनश्याम भूसालको दोस्रो
किताब आजको मार्क्सवाद र नेपाली क्रान्ति प्रकाशित भएको छ। उनको पहिलो
किताब नेपालको अर्थराजनीतिः सङ्कटको पुनरुत्पादन र रुपान्तरणको दिशा
(२०५९) ले केही मौलिक बहस सृजना गरेको थियो।
नयाँ पुस्तकमा मुुख्यतः रूसमा लेनिनदेखि नेपालमा प्रचण्डसम्मले
अघि सारेका सैद्धान्तिक निष्कर्षहरू माथि विवचेना गर्दै गम्भीर प्रश्न
उठाइएको छ। यस हिसाबले यो पुस्तक–विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेका
सैद्धान्तिक मान्यताहरूको सिंहावलोकन हो। यसले विभिन्न देशका 'क्रान्तिका
प्राधिकार' हरूका सैद्धान्तिक निष्कर्षमा रहेका खोट औंल्याएको छ। एङ्गेल्स,
लेनिन, स्टालिन, माओ आदिका सैद्धान्तिक योगदानमाथि मार्क्सवादी खेमाभित्रैबाट
प्रश्न उठाएर सच्चाइको आग्रह गर्नु यस पुस्तकको मौलिक पक्ष हो।
लेखकले कम्युनिष्ट आन्दोलनभित्र विद्यमान अध्ययनको सुगारटाई
शैलीलाई उदाङ्गो पार्ने प्रयत्न गरेका छन्। खासगरी लेनिनको मार्क्सवादका
तीन स्रोत र तीन संघटक अङ्ग, स्टालिनको लेनिनवादका आधारहरू र माओको
नौलो जनवादबारे जस्ता रचनाहरू पढेर दुनियाँको क्रान्तिलाई तिनैले मात्र
निर्देशित गर्ने हिसाबले घोकाउने जुन सनातन प्रयत्न छ, त्यसमा लेखकको
प्रश्न छ 'अब स्वयं मार्क्सवादको सार्वभौमिकताको पनि पुनर्व्याख्या
गर्नु आवश्यक छ कि छैन?' (पृष्ठ १५) पुस्तक नौ वटा अध्यायमा बाँडिएको
छ। पहिलो अध्यायमा नेकपा (एमाले), नेकपा (माओवादी) र नेपाली कम्युनिष्ट
आन्दोलनसँग जोडिएका प्रश्नहरू छन्। यस खण्डमा ३० वर्षअघि हतियार उठाएको
एमाले र १० वर्षदेखि हतियार उठाएर हाल शान्ति प्रक्रियामा सामेल माओवादीलाई
सैद्धान्तिक रूपमा आफ्ना काम र व्यवहारको पुष्टि गर्न चुनौती दिइएको
छ। मुख्यतः एमालेको 'जनताको बहुदलीय जनवाद' र माओवादीको 'एक्काइसौं
शताब्दीको जनवाद'को सैद्धान्तिक पृष्ठभूमि र अन्तर्राष्ट्रिय सन्दर्भतर्फ
सङ्केत गर्दै मार्क्सवादलाई एक्काइसौं शताब्दीको दर्शनका रूपमा अद्यावधिक
नगरी कुनै नामको जनवादको कुरा गर्नु कल्पना मात्र हुने लेखकको तर्क
छ। यी दुई पार्टीबीचको मतभिन्नतालाई पुस्तकमा तिनकै दस्तावेजमा उभिएर
भनिएको छ– 'अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन स्वयं नै अनेकौं विवादहरूमा
जेलिएको हुँदा नेपालको कम्युनिष्ट आन्दोलनका विवादित अडान, दृष्टिकोण
र व्याख्याहरूको अध्ययनका लागि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका
मुख्य प्रश्नहरूको अध्ययन आवश्यक हुन्छ।'
एमाले र माओवादीले आफ्नो मौलिक निष्कर्षका रूपमा चर्चा
गर्दै आएका जनवादहरूको अन्तर्राष्ट्रिय पृष्ठभूमितर्फ ध्यानाकर्षण
गराउँदै पुस्तकले ती मौलिक हुन् कि होइनन् भनी सैद्धान्तिक विकासक्रमको
जगमा उभिएर दुवै पार्टीका मुख्य नेता र प्राधिकारबाट स्पष्टीकरण खोजेको
छ। खासमा लेखकले दुवै पार्टीले मान्छेभन्दा बढी 'मत' र 'बन्दूक' को
पूजा किन गरिरहेका छन् भन्ने विश्लेषणमा जोड दिएका छन्।
राज्य, सर्वहारा अधिनायकत्व, क्रान्तिको बाटो, जनवादी
केन्द्रीयता, नयाँ जनवाद र सर्वहारा सांस्कृतिक क्रान्ति जस्ता विषयमा
विश्व कम्युनिष्ट आन्दोलन विवादित छ। यसमा लेखकले सर्वहारा अधिनायकत्व
सम्बन्धी 'लेनिनको व्याख्याले सामाजिक सत्ता, राजनीतिक सत्तामा र राजनीतिक
सत्ता, पार्टी सत्ता हुँदै व्यक्ति सत्तामा साँघुरिँदै गएको,' जनवादी
केन्द्रीयताको नाममा 'एकपटक पार्टी सत्तामा पुगेपछि कुनै पनि नेता
तल झर्न नपर्ने, झार्नै नसकिने स्थिति भोग्नुपरेको' र त्यसले 'व्यक्तिपूजा,
पार्टीको सम्पूर्ण संरचनामा नेतृत्वको सानो गुट र धेरै जसो त महासचिवको
सर्वसत्तावादलाई रोक्न नसकेको' जस्ता तीतो अनुभव प्रस्तुत गरेका छन्।
कतिपय कम्युनिष्ट पार्टीले विधानबाट साम्यवाद सुटुक्क
हटाउन र नेताहरूले लेनिनवाद परित्याग गर्न खोजेका प्रसङ्गहरू बेलाबखत
देखिन्छ, सुनिन्छ नै। तर, सैद्धान्तिक मान्यताको विकासक्रमलाई अध्ययन
विश्लेषण नगरी गर्न खोजिने त्यस्ता प्रयत्न खासै अर्थपूर्ण हुन सकेका
छैनन्। यस पुस्तकले पार्टी प्रशिक्षणहरूमा नेताहरूको तहमा विद्यमान
ज्ञानको सीमाको भण्डाफोर र कार्यकर्ता जनताको तहमा तुलनात्मक अध्ययनको
सहज स्थिति सिर्जना गर्न सक्छ।
नेपाली समाजको वर्ग विश्लेषण गर्दा मुख्य रूपमा पाँचवटा
वर्ग देख्न सकिने पुस्तकको जोड छ– दलाल पूँजीपति, राष्ट्रिय पूँजीपति,
मध्यम, श्रमजीवी र सीमान्त श्रमजीवी वर्ग। चालु राज्यको पुनःसंरचनाको
बहसको सन्दर्भमा स्पष्ट औंल्याइएको छ– 'राज्यसत्ताको पुनर्संरचनाको
आधार कोरा राजनीतिशास्त्रीय वा विधिशास्त्रीय होइन, मूलतः अर्थराजनीतिक
हो। त्यसैले उत्पादन प्रक्रियाको अथवा साधन र स्रोतको पुनर्वितरण–पुनर्संरचना
नगरिकन राज्यको पुनर्संरचनाबारे गरिएका चर्चाहरू केवल लोकप्रिय होहल्ला
मात्रै हुन्।'
पुस्तकमा लेखकको स्वमूल्याङ्कनलाई ठीकै भन्न सकिन्छ–
'आज हामी जब आफ्नै समाजवादी इतिहासका विसङ्गतिहरू उधिन्ने प्रयत्न
गर्छौं भने हाम्रो उद्देश्य यो मोर्चाबाट भाग्नु होइन बरु हाम्रा अग्रजहरूका
के कमी–कमजोरी थिए जसले गर्दा हामी पराजित भयौं भनेर बुझ्ने प्रयत्न
हो। त्यसैले इतिहासका कमजोरीको खोजीलाई आत्मभर्त्सना ठान्नुहुँदैन।
हाम्रो प्रयत्न इतिहासका वासी स्मृतिहरूको धङधङीपूर्ण निस्लोट आत्मवञ्चनाबाट
व्यूँझने प्रयत्न हो।'
सन् १८८३ मा मार्क्सको मृत्यु हुँदा संसारभरी जम्मा
२ सय जति मार्क्सवादी थिए (पृष्ठ १२) अहिले त्यसको सवा एक सय वर्षपछि
मार्क्सवादलाई निर्देशक सिद्धान्त मान्ने कम्युनिष्ट पार्टीहरू सयौं
छन् र करोडौं मानिसहरू मार्क्सवादी आन्दोलनमा संलग्न छन्। स्वयं पूँजीवादी
आमसञ्चारहरूले गरेको सर्वेक्षणमा कार्लमार्क्सलाई 'सहश्राब्दी पुरुष'
घोषणा गरिएको छ। नेपालमा झण्डै एकदर्जन कम्युनिष्ट पार्टी छन्, जसले
मार्क्सवादी सिद्धान्त घोकेको दाबी गर्छन् तर उनीहरू 'संसारका मजदुरहरू
एक होऊ' भन्ने नारा उराल्दै 'नेपालका कम्युनिष्टहरू एक दर्जन टुक्रा
होऊ' भन्ने व्यवहार गरिरहेका छन्।
पुस्तकलाई टङ्क कार्की र खगेन्द्र प्रसाईका भूमिका एवम्
परिचयले बुझ्न सहज बनाएका छन्। अखबारका शीर्षक पढेर राजनीतिको जीविका
चलाउन अभ्यस्त भइरहेका आजका कम्युनिष्ट कार्यकर्ता र एक समय पढेको
सीमित ज्ञानका आधारमा निर्वाह गरिरहेका तिनका नेताहरूलाई यस पुस्तकले
थोरै मात्र उद्वेलित पार्न सक्यो भने मार्क्सवादी कित्तामा ठूलो योगदान
हुनेछ। मूल्य, साजसज्जा र गुदीका हिसाबले पनि पुस्तकको प्रस्तुति र
संयोजन मिलेको छ। अलिक सरल भाषामा प्रस्तुत गरेको भए अझ राम्रो हुन्थ्यो।
सूर्य थापा
संविधान निर्माणको अनुभव
कृतिः डेमोत्रे्कटिक कन्स्टिच्यूसन
मेकिङ्ग (एक्स्पेरियन्स फ्रम नेपाल, केन्या, साउथ अफ्रिका, श्रीलंका)
सम्पादकः हरि भट्टराई र झलक सुवेदी
प्रकाशकः नेपाल साउन एसिया सेन्टर (नेसाक)
पृष्ठः १४६
संविधानसभा चुनावसम्बन्धी बहस भइरहेको बेला चार वटा
देशका अनुभव समेटिएको पुस्तक डेमोत्रे्कटिक कन्स्टिच्यूसन मेकिङ्ग
(एक्स्पेरियन्स फ्रम नेपाल, केन्या, साउथ अफ्रिका, श्रीलङ्का) प्रकाशित
भएको छ। जसले संविधानसभालाई कसरी सहभागितामूलक र बहुलवादी बनाउन सकिन्छ
भन्ने प्रश्नको राम्रो जवाफ दिन्छ। संविधानसभाको सफलता र असफलता चुनावअघि
र संविधानसभा बनेपछि गरिने सहभागितामूलक छलफलमा निर्भर हुन्छ भन्ने
कुरा यस पुस्तकमा उल्लेख गरिएका अन्तर्राष्ट्रिय अनुभव र प्रसङ्गहरूले
पुष्टि गर्दछन्।
पुस्तकको दुई वटा खण्डमा सात वटा अनुसन्धानमूलक कार्यपत्र छन्। पहिलो
खण्डमा महेन्द्र लावती, हरिप्रसाद भट्टराई, झलक सुवेदी र भीमप्रसाद
भुर्तेलका लेख छन् जसमा २०४७ को संविधान र त्यसपछिका राजनीतिक घटनाक्रम
तथा २०६३ को शान्ति सम्झौता र अन्तरिम संविधानको चिरफार गरिएको छ।
दोस्रो खण्डमा निकोलश हेसम, यश घई र रोहन एड्रीसिन्हाका संविधानसभा
सम्बन्धी अन्तर्राष्ट्रिय अनुभवहरू रहेका छन्। निकोलश हेसमले दक्षिण
अफ्रिकाको संविधान निर्माण प्रक्रियाको विश्लेषण गरेका छन् भने यश
घईले केन्यामा संविधान निर्माणको क्रममा देखिएको राजनीतिक जटिलतालाई
केलाएका छन्। त्यस्तै रोहन एड्रीसिन्हाले श्रीलङ्काको संविधानको लोकतान्त्रिक
तथा समावेशी चरित्रमाथि टिप्पणी गर्र्दै संघीयता र संविधानसभासम्बन्धी
मुद्दा ओझेलमा पर्नुका कारणहरू खोतलेका छन्। संविधानसभा र संविधान
निर्माण प्रक्रियाको बारेमा चासो राख्नेहरूका लागि यो पुस्तक निकै
उपयोगी छ।
सुरेश
अधुरो
दस्तावेज
कृतिः चलचित्रका सारथि
प्रकाशकः यम चौलागाई
मूल्यः रु.१०००
पत्रकार यम चौलागाईकै भनाइमा 'डेढवर्षे शोध अवधि' पछि
प्रकाशन गरेको महङ्गो पुस्तक चलचित्रका सारथि नेपाली चलचित्रको एक
महत्त्वपूर्ण दस्तावेज त बनेको छ तर यसले सबै पक्षलाई समेट्न सकेको
छैन। चलचित्र क्षेत्रसँग आवद्ध कलाकर्मी, निर्माता, लेखक, निर्देशक,
सङ्गीतकार, गायक–गायिका, द्वन्द्व–निर्देशक, नृत्य–निर्देशक, छायाँकार,
सम्पादक गरेर ३४९ जनाको परिचय तथा जानकारी समावेश गरिएको ३७२ पृष्ठको
यस पुस्तकमा चलचित्रको सङ्क्षिप्त इतिहास पनि समेटिएको छ। यति हुँदाहुँदै
पनि धेरै कलाकर्मी, निर्देशक, सङ्गीतकार, गीतकारको बारेमा पुस्तकमा
केही उल्लेख छैन। पुस्तकमा सिन्दुर, जीवनरेखालगायतका पुराना चलचित्रका
गीतकार कालीप्रसाद रिजालदेखि सङ्गीतकार मनोहरी सिंह (कन्यादान, तिलहरी),
सचिन सिंह (लहना, आगो आदि), समिर हिमाल (ए मेरो हजुर), शम्भु राई (भाग्यरेखा,
माझीदाइ आदि), निर्देशकहरू अनिष कोइराला (के भो लौन नि, सुपरस्टार),
विजय केरुङ (माझीदाइ, आमाको काख) गगन विरही
(सङ्कल्प, बादल, मितेरी गाउँ), गायक दीपक लिम्बू (हिम्मत) लगायतका
धेरै कलाकर्मीको नाम समेत पुस्तकमा छैन।
पुस्तक गहकिलो भएपनि पर्याप्त शोध नपुगेको देखिन्छ।
चौलागाईले “सबै विधाका चलचित्रकर्मीहरूलाई समेट्ने प्रयास गरेपनि स्वयम्
चलचित्रकर्मीकै असहयोग र कतिपय आफ्नै कमजोरीका कारणले सबैलाई समेट्न
नसकिएको र अर्को संस्करणमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्छु”
भनेर जोगिने प्रयास गरेका छन्। पत्रकार/गीतकार रमण घिमिरेले भनेझँै,
पुस्तक नेपाली चलचित्रकर्मी र तिनका कर्मलाई चियाउने एउटा आँखिझ्याल
त बनेको छ तर त्यसभित्र सबै अटाउन सकेका छैनन्।
अनुशील
विद्यार्थी
आन्दोलनका साठी वर्ष
किताबः संघर्षका साठी वर्ष
लेखकः शिवकुमार डागी
प्रकाशकः सरस्वती पोखरेल
पृष्ठः १०२३+४५, मूल्यः रु.६००
वामपन्थी विद्यार्थी आन्दोलनमा लागेका शिवकुमार डागीको नेपालको विद्यार्थी
आन्दोलनको इतिहास संघर्षका साठी वर्ष प्रकाशित भएको छ। शैक्षिक आन्दोलनबाट
शुरु भएको विद्यार्थी आन्दोलनले राजनीति तथा समाजमा पार्ने प्रभावबाट
किताब शुरु हुन्छ र ठूलो अंश विद्यार्थी आन्दोलनका विभिन्न धाराहरूको
इतिहास तथा भूमिका केलाउन खर्च गरिएको छ।
दस्तावेजहरूको सङ्कलन मेहनतसाथ गरिएको भएपनि विश्लेषण
र सम्पादनको अभावले किताब विद्यार्थी सङ्गठनका प्रतिवेदनहरूको सँगालो
जस्तो भएको छ। किताबमा प्रतिवेदनहरू जस्ताको तस्तै राखिएका छन् तर
त्यसबारे केही उल्लेख गरिएको छैन। विद्यार्थी सङ्गठनले प्रतिद्वन्द्वी
सङ्गठनलाई लगाउने आरोप र गाली पनि जस्ताको तस्तै परेको छ। नेपालको
विद्यार्थी आन्दोलनबारे जानकारी लिन चाहने र प्रजातान्त्रिक तथा वामपन्थी
आन्दोलनबारे रुचि राख्नेहरूका लागि यो किताब सन्दर्भ सामग्री हुनसक्छ
तर यसले नयाँ विश्लेषण केही दिएको छैन।
|