हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रतिक्रिया

कुरा समलिङ्गीका

अमृत भण्डारी

नेपालमा पनि समलिङ्गीलाई कानुनी मान्यताबारे बहस हुन थालेको छ (खुल्दैछन् महिला समलिङ्गी, १–१६ भदौ, हिमाल खबरपत्रिका)। कतिलाई यो आश्चर्यजनक लाग्नसक्छ। समलिङ्गीका विषयमा अध्ययन गर्ने 'परिवार अनुसन्धान' नाउँको एउटा अमेरिकी संस्थाका अनुसन्धानकर्ता पाउल कामेरानले भनेका छन्, “साधारण मानिसलाई अनौठो लाग्नु स्वाभाविक हो। किनभने समान लिङ्ग भएकाहरूले पनि यौन आनन्द लिन सक्छन् भन्ने कुरामा जम्मा १४ प्रतिशत पुरुष र १० प्रतिशत महिलाले मात्रै विश्वास गर्छन्।”

युवाहरूको उमेर बढ्दै जाँदा यौन चाहना पनि बढ्छ। तर विपरीत लिङ्गी साथीलाई विश्वास दिलाउन र ऊसँग यौन सम्पर्क गर्न लामो समय लाग्ने हुनाले कतिपय युवाहरू शुरुमा हस्तमैथुन गरेर र पछि समान लिङ्गका साथीसँग जिस्किँदै यौनअङ्ग चलाएर आफ्नो यौन चाहना पूरा गर्ने र विस्तारै समलिङ्गी बन्ने गरेका सामाजिक विज्ञहरू बताउँछन्। यसरी जिस्कने परिपाटी होस्टेल, सेना, प्रहरीजस्ता प्रायः विपरीत लिङ्गी नहुने ठाउँमा ज्यादा हुने गर्दछ। खुला रूपमा विपरीत लिङ्गीसँग बसेर यौनका विषयमा कुरा गर्न पाउने हो भने यस्तो सोचाइ कम हँुदै जान्छ।

पत्रपत्रिकामा उल्लेख गरेजस्तो, हरमोनका कारण समलिङ्गी हुने भन्ने कुरा आजसम्म कुनै अनुसन्धानले देखाएको छैन। परिवार अनुसन्धानका कामेरान हरमोनका कारण मानिस समलिङ्गी हुने होइन भन्छन्। सन् १९४० मा किन्सी नामका अनुसन्धानकर्ताले १७ सय र १९७० मा ९७९ समलिङ्गीमा गरेका अध्ययनले सामाजिक वा वातावरणीय प्रभावका कारण मानिसमा यो प्रवृत्तिको विकास भएको देखाएको थियो। बेलायत र अमेरिकामा गरिएका विभिन्न अध्ययनमा शुरुमा युवाहरूलाई आफूभन्दा जेठा मानिसले समलिङ्गी यौन सम्बन्धका लागि प्रस्ताव गर्ने गरेको पाइएको छ। लण्डनका चार सय समलिङ्गी किशोर–किशोरीमा गरिएको एउटा अध्ययनमा दुई प्रतिशत पुरुष र एक प्रतिशत महिलाले मात्र जबर्जस्ती समलिङ्गी बनेको बताएका थिए।

नेपालमा पनि समलिङ्गीहरूको सङ्ख्या बढेको, विवाह गरेर सँगै बस्न लागेको जस्ता समाचार प्रकाशमा आउन थालेका छन्। तर, यसको सामाजिक असरलाई हामीले बुझ्नु पर्दछ। अरू देशका समलिङ्गीको अवस्था पनि थाहा पाउनु पर्दछ। अमेरिका र बेलायतमा उनीहरूको विवाह अति क्षणिक हुने गर्छ। विवाह गरेका जम्मा १० प्रतिशत पुरुष मात्रै समलिङ्गी (गे) एउटैसँग यौन सम्बन्ध राखेर बस्ने गर्छन्। त्यति हुँदा पनि उनीहरूको सम्बन्ध जम्मा एक वर्ष मात्रै टिकेको पाइन्छ। डेनमार्कको अनुभव पनि यस्तै छ। त्यहाँ सन् १९८९ बाटै समलिङ्गी विवाहलाई कानूनी मान्यता दिइए पनि १९९५ सम्म आइपुग्दा ५ प्रतिशत समलिङ्गीले मात्रै वैधानिक विवाह गरेका र २८ प्रतिशतको अवैध विवाह पारपाचुकेमै पुगेर टुङ्गिएको थियो।

परिवार अध्ययनले समलैङ्गिक विवाह स्वास्थ्यको लागि हानिकारक भएको देखाएको छ। समलिङ्गीहरू अरू मानिस भन्दा धेरै गुणा असुरक्षित यौन सम्बन्ध राख्ने गर्छन्। यसको परिणाम एचआईभी एड्स र यौनरोग चाँडै सर्ने सम्भावना हुन्छ। ५० वर्षदेखि अमेरिकालगायतका देशमा गरिएका अध्ययनले विपरीत लिङ्गीभन्दा समलिङ्गी सम्बन्ध राख्नेलाई यौनसँग सम्बन्धित रोग धेरै लागेको पाइएको छ। उनीहरू विपरीत लिङ्गीको तुलनामा तीन गुणा बढी ट्राफिक दुर्घटनामा पर्छन्। तीन गुणा बढी आत्महत्याको प्रयास गर्ने र पाँच गुणा बढी अरूलाई मार्न तम्सनेमा पर्दछन्। समलिङ्गीहरूको घरायसी झगडा पनि अरूको भन्दा झण्डै २० प्रतिशत बढी हुन्छ।

साधन स्रोत भएका र हामीभन्दा निकै प्रगति गरिसकेका विकसित देशमा त समलिङ्गीहरूप्रतिको सामाजिक धारणामा खासै परिवर्तन आएको छैन भने हामीकहाँ यसको सामाजिक असर कस्तो पर्ला? अझ हाम्रो जस्तो गरिब देशमा त छोराछोरी, श्रीमतीको आशा र भरोशामा जीवन विताउनुपर्ने हुन्छ। समलिङ्गी भएपछि आफ्नै कोखबाट छोराछोरी जन्माउन असंभव छ। अवलम्बन गरेका छोराछोरीसँग परस्पर आत्मीयता कम हुन र उपयुक्त हेरचाह नहुन सक्छ। तसर्थ यो विषयलाई समलिङ्गीले पनि सोचविचार गर्नु जरुरी छ।
यति हुँदाहँुदै पनि नेपालका समलिङ्गीले विश्व परिवेशलाई चुनौती दिँदै आफ्नो अलग पहिचान पनि राख्न सक्दछन्। अन्ततः एउटा निर्विवाद पक्ष, उनीहरूले पनि आफ्नो इच्छाअनुसार बाँच्न पाउनुपर्छ।