हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पर्वतारोहण

चोयु चढ्ने नयाँ बाटो

८२०१ मिटर उचाइको चोयु हिमाल चढ्दा सँगैको ७७४३ मिटर अग्लो ङजुम्बाखाङ हिमाल चढ्न छुट्टै दस्तुर तिर्नु नपर्ने सरकारी निर्णयले विदेशी पर्वतारोहीहरूलाई नेपालतिरबाट चोयुको आरोहण गर्न लोभ्याउने सम्भावना बढाएको छ।

कोइचिरो ओमोरी / ओभर द हिमालय

खुम्बू हिमशृङ्खलामा नेपाल र चीनको सिमानामा पर्ने चोयु विश्वको छैटौँ अग्लो हिमाल हो। आठ हजार मिटरभन्दा अग्लो भइकन पनि चढ्न सजिलो हुनु, आरोहणको उच्च सफलता दर र व्यावसायीकरणका कारण पछिल्लो दशकमा चोयु हिमालको लोकप्रियता बढ्दै गएको छ। यसलाई सगरमाथा आरोहणको पूर्वतयारी गर्न उपयुक्त हिमालको रूपमा पनि लिइने गरेको छ। तर, अहिलेसम्म चोयुको यो लोकप्रियता नेपालसँग भन्दा चीन (तिब्बत) सँग गाँसिएको र चोयु भन्ने वित्तिकै विश्वभरि नै तिब्बती छाप बसेको छ।

सन् १९८४ देखि १९९४ को दशकमा नेपालको बाटो भएर तीन वटा टोलीले मात्र आरोहण गरेका चोयुमा सन् २००६ को वसन्तमा मात्रै चीनको बाटोबाट ५५० भन्दा बढी पर्वतारोही चढेका थिए। चोयुलाई नेपालले धेरै पहिलेदेखि नै खुला गरेपनि आरोहणको दक्षिणी मार्ग तिब्बतको तुलनामा केही कठिन र त्यसमा अन्य अवरोध पनि भएकाले नेपाली मार्ग खासै चल्न नसकेको मानिन्छ। नेपाली भूभागबाट चोयु आरोहण गर्दा क्याप्राक भनिने करिब एक सय मिटर चिनियाँ भूभाग प्रयोग गर्नुपर्दछ। उक्त भूभागमा पछि आएर चीनले आफ्नो सुरक्षा पोष्ट खडा गरेकोले नेपालबाट जाने पर्वतारोहीहरूलाई कठिनाई हुँदै आएको थियो।

चोयुप्रति आकर्षण बढाउन सरकारले पहिले नै यसको अगाडि पर्ने ङजुम्बाखाङ हिमालको बाटो पनि खुला गरेको थियो। तर त्यसरी जाँदा दुई वटा हिमालको दस्तुर तिर्नुपर्ने भएकोले नयाँ मार्गप्रति पनि आरोहीहरू आकर्षित भएनन्। त्यसैले यस्तो अवस्थामा सुधार ल्याउन सरकारले चोयु हिमाल चढ्नेलाई ङजुम्बाखाङ हिमाल चढ्न अलग्गै दस्तुर तिर्नु नपर्ने निर्णय गरेको पर्यटन मन्त्रालय, पर्यटन उद्योग महाशाखाका सहसचिव खडानन्द ढकाल बताउँछन्। पर्वतारोहणमा रुचि राख्ने विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि रिचर्ड रेगन भन्छन्, “विदेशीहरू हिमाल चढ्नका लागि लामो छुट्टी लिएर र धेरै खर्च गरेर आउने हुनाले उनीहरूको लक्ष्य जतिसक्यो बढी हिमाल चढ्ने हुन्छ। त्यसैले एउटा हिमालको दस्तुर तिरेर दुई वटा हिमाल चढ्न पाउनु पर्वतारोहीहरूका लागि आकर्षक प्रस्ताव हो।”

नेपालले नयाँ व्यवस्था गरेपनि पर्वतारोहीहरूलाई आकर्षित गर्न चोयुलाई प्रवर्द्धन गर्ने नयाँ उपायहरू अपनाउन बाँकी नै छ। चोयुमा तिब्बतसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने बताउने नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पा नेपालबाट चोयुका लागि अर्को सजिलो मार्ग खोल्न पनि सकिने सम्भावना देख्छन्। उनी भन्छन्, “यसका लागि धेरै खर्च होला, तर जति बढी विकल्प दिन सक्यो पर्यटनका लागि फाइदा पनि त्यति नै बढ्छ।”

चोयु चढ्ने नेपालको पुरानै मार्गका समस्या सुल्झाउन सके पनि राम्रो हुने व्यवसायीहरूको भनाइ छ। उक्त मार्गमा चिनियाँ भूभाग पार गर्नु परेजस्तै चीनबाट मकालुको आरोहण गर्दा पर्वतारोहीहरूले दुई सय मिटर जति नेपाली भूभाग भएर ओहोरदोहोर गर्नुपर्छ। यस्तो अवस्थामा सीमावर्ती हिमालहरूको आरोहणको क्रममा छिमेकी मुलुकले आपसी हितका लागि एकअर्काको भूभाग प्रयोग गर्न सक्ने व्यवस्था गर्नु उचित हुने खडानन्द ढकाल बताउँछन्। “तर यस्तो निर्णय राजनीतिक तहमा हुनुपर्छ र नेपालले नै यस विषयमा अग्रसरता लिनुपर्ने देखिन्छ”, ढकाल भन्छन्।

एउटा हिमालको दस्तुरमा दुईवटा हिमाल चढ्न पाइने नयाँ आकर्षण त छँदैछ; नेपाली पर्यटन संस्थाहरू, सरकार, सञ्चारमाध्यम, पर्यटन बोर्ड लगायत विदेशस्थित नेपाली राजदूतावासहरूले चोयुलाई सजिलो नभई चुनौतीपूर्ण हिमालको रूपमा स्थापित एवं प्रचार–प्रसार गर्न सके पर्वतारोहीहरू झन् आकर्षित हुने व्यवसायीहरू बताउँछन्। आउँदो वसन्तमा तिब्बती मोहडाबाट चोयु आरोहण र त्यस क्रममा 'स्नो बोर्डिङ' गर्ने योजना बनाएका रिचर्ड रेगन भन्छन्, “चोयु भन्ने वित्तिकै तिब्बतबाटै चढ्ने सोचिन्छ। वास्तवमा चोयु मात्र नभई नेपालका अन्य हिमालहरूको पनि लोकप्रियता बढाउन पर्वतारोहीहरूका लागि सजिलो हुने कानूनी औपचारिकता र अन्य व्यवस्था हुनुपर्छ।”

विभिन्न समस्या भएपनि नयाँ बाटोले नेपालको पर्वतारोहणमा नयाँ संभावना पहिल्याएको छ। आङछिरिङ शेर्पाका अनुसार पर्वतारोहीहरूले चासो देखाउन थालिसकेका छन्। सात वर्षदेखि तिब्बती मोहडाबाट चोयु हिमाल आरोहणमा सेवा प्रदान गर्दै आएको काठमाडौँस्थित आङरिता टे्रक्सका कार्यकारी निर्देशक शशिधर समदर्शी भन्छन्, “ग्राहकहरूमा जानकारी पुग्न र त्यसको प्रतिक्रिया आउन दुई–चार वर्ष त लाग्छ नै, तर पनि नयाँ बाटो खुलेपछि चोयु हिमाल पहिले जस्तो नेपालतिर सुनसान नै चाहिँ रहँदैन होला।”

शैली बस्नेत