हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद

अर्को ऐतिहासिक जित

कान्तिपुर

१२ भदौमा मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न फाइनलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाली युवा क्रिकेट टोलीले उपाधि त जित्यो नै, अण्डर–१९ विश्वकपमा पनि आफ्नो स्थान पक्का गरेको छ। उक्त खेलमा कप्तान पारस खड्काको नेतृत्वमा नेपाली टोलीले ४९.४ ओभरमा सबै विकेट गुमाएर बनाएको १७२ रनको लक्ष्य पछ्याउँदै अफगानिस्तान ४५.४ ओभरमा मात्र १२४ रनमै समेटिन पुगेको थियो।

अपेक्षा गरेअनुरुप फाइनलमा स्पिनर शशि केसरीले विपक्षीको महत्त्वपूर्ण तीन विकेट लिए भने आकाश गुप्ता र सागर खड्काले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। यो ऐतिहासिक विजयसँगै फेरि एकपटक नेपाली युवा क्रिकेटरहरूले टेष्ट नखेल्ने राष्ट्रहरूमध्ये आफू उत्कृष्ट रहेको प्रमाणित गरिदिएका छन्। प्रतियोगितामा सिङ्गापुरलाई ७ विकेटले पराजित गर्दै शुरु भएको नेपालको विजययात्रा, सेमिफाइनलमा आयोजक मलेशियालाई ४ विकेटले र फाइनलमा अफगानिस्तानलाई ४२ रनको गतिलो अन्तरले पराजित गरेर टुङ्गिएको थियो। प्रतियोगितामा ९ विकेट लिँदै ९७ रन बनाएर अलराउण्ड प्रदर्शन गरेका नेपाली कप्तान पारस खड्का 'म्यान अफ द सिरिज' बन्न सफल भए। नेपालको यस ऐतिहासिक जितमा खड्कासँगै राज श्रेष्ठ, सागर खड्का, शशि केसरी, अन्तिम थापा, ज्ञानेन्द्र मल्ल, अमृत भट्टराई र राज श्रेष्ठको पनि महत्त्वपूर्ण योगदान रहेको थियो। एसीसी अण्डर–१९ क्रिकेट प्रतियोगितामा नेपालको यो लगातार चौथो सफलता हो। यसअघि एसीसी अण्डर–१९ क्रिकेट प्रतियोगिताको सन् २००१, २००३ र २००५ को संस्करणमा पनि नेपाल विजेता रहिसकेको छ। रोय डायसको प्रशिक्षणमा रहेका युवा क्रिकेटरहरूको यही जोश र मेहनतले निरन्तरता पाएमा आगामी वर्ष मलेशियामा हुने अण्डर–१९ विश्वकप पनि नेपाली क्रिकेटका लागि ऐतिहासिक हुने सम्भावना प्रबल छ।


रौनकविहीन प्रतिस्पर्धा

पोखरामा सम्पन्न तेस्रो अन्तरनगरपालिका फूटबल प्रतियोगिता खेलस्तर र आयोजन; दुवै हिसाबले आकर्षक बन्न सकेन। शहीद स्मारक लिगपछिको सबैभन्दा बढी पुरस्कार राशी भएको फूटबल प्रतियोगिता आशा गरेअनुरुप नहुनुमा आयोजकहरूलाई नै मुख्य दोषी मान्न सकिन्छ। तर, प्रतियोगिता तयारीका लागि पर्याप्त समय नभएको अपत्यारिलो कारण देखाउँछन् आयोजकहरू।

आयोजक र सहभागी टीमहरूको मुख्य ध्यान प्रतियोगितालाई रोचक र प्रतिस्पर्धात्मक बनाउनुभन्दा पनि पुरस्कार राशीतर्फ बढी केन्द्रित रहेको थियो। त्यसमाथि, राष्ट्रिय खेलाडीहरूले सुसज्जित काठमाडौँ महानगरपालिका जस्तो सशक्त टीमलाई कमजोर समूहमा राखिनुले पनि प्रतियोगिता खासै प्रतिस्पर्धात्मक नहुने अनुमान अधिकांशले गरेका थिए। पोखराका खेल पत्रकार धन बस्नेत भन्छन्, 'खेल अति असन्तुलित भयो, मैदानमा सशक्त टीम र कमजोर टीमलाई जुधाइदिँदा धेरै गोलहरू भए।' प्रतियोगिताका अधिकांश खेलहरू कम रोचक र एकपक्षीय थिए। पुतलीबजार नगरपालिकाले अमरगढी नगरपालिकाविरुद्ध गरेको १५ गोलले पनि त्यसलाई पुष्टि गर्दछ। प्रतिस्पर्धात्मक खेलको अभावका कारणले नै होला, फाइनल नजिकिँदै जाँदा दर्शकहरू पनि क्रमशः घट्दै गएका थिए। त्यसमाथि आयोजक पोखरा र पुतलीबजार नगरपालिकाको पराजयले त दर्शकहरूको सङ्ख्या घटाउन थप मद्दत गर्‍यो।

प्रतियोगिताका दौरान नगरपालिकास्तरको खेल नभएको गुनासो अधिकांश दर्शकले गरेका थिए। सशक्त काठमाडौं महानगरपालिका र पहिलोपटक उपस्थिति जनाएको मलंगवा नगरपालिकाबीचको प्रतिस्पर्धालाई सबैले अस्वाभाविक नै मानेका थिए।

कमजोर खेलस्तरसँगै मैदानभित्र र बाहिर भएका भिडन्तहरूले प्रतियोगितालाई रौनकविहीन बनाउनुका साथै लामो समयपछि उत्कृष्ट खेल हेर्न अपेक्षाका साथ रङ्गशाला पुगेका पोखरेली फूटबलप्रेमीहरूलाई समेत निराश पारेका थियो।