| •
कमल दीक्षित |
 |
मपुपुका
कुरा
जनताको तागतको कुरा
'नेपाली'
त्रैमासिकले पूर्णाङ्क १९० (२०६३ माघ–चैत) को 'म.पु.पु.को पाना'
भन्ने स्तम्भमा एउटा किताबलाई निकै महत्त्व दिएर उल्लेख गरेको छ। त्यहाँ
त्यस किताबको तारिफ गर्नुभन्दा पनि किताबले उजिल्याएको एउटा प्रवृत्तिको
प्रशंसा गरिएको बुझिन्छ। किनभने किताब त साधारणै हो– 'आरोहण' गजल सङ्ग्रह
भन्ने। तर नामको विशेषण भइआएको 'प्रवासबाट विलयन लेखन' र त्यसका लेखकको
नामभित्रको 'आरोहण' मा एउटा महान् भावना लुकेको देखेछ 'नेपाली' ले।
त्यो नाम त्यस किताबभित्र भएका गजलहरूको 'तखल्लुस' अर्थात्
कविको उपनाम हो। तर त्यहाँ कवि शब्द एकवचनमा भनेर हँुदैन, बहुवचनको
प्रयोग गर्नुपर्छ, किनभने त्यस उपनाममा पाँच जना नेपाली नवयुवकहरूका
ढुकढुकीको बेनी परेको छ। त्यस नामभित्र पाँच जना होनहार नेपाली युवाहरू
'विलयन' भएका छन् र ठूलो कुरा के भने त्यसरी विलयन हुने युवाहरूको
जात, धर्म, जन्मस्थल केहीमा पनि एकरुपता छैन। कुनै कुरा मिल्दैनन्
उनीहरूका।
देशप्रेम र मानववादको अनुपम उदाहरण हुनपुगेको नितान्त
नौलो काम गर्ने ती पाँच भाइहरू हुन् सिन्धुली सुनखानीका चन्द्र तामाङ
'चन्द्र', सुनसरी पकलीका जैकी 'मोजाहू', रामेछाप गुप्तेश्वरका दलवीर
सिंह बराइली 'घायल', झापा दमकका भानु दुलाल 'भानु' र काठमाडौँ कलङ्कीका
शान्तराम थापामगर 'शान्त'। त्यस किताबभित्र चित्र कोर्ने काम गरेका
छन्, यस्तै अर्का सहृदयी तन्नेरी, काठमाडौँका प्रकाश तुलाधरले। अनि
सम्पादनको अझ महत्त्वपूर्ण जिम्मा लिइदिए, युएई (युनाइटेड अरब इमिरेट्स),
सारजाहका नेपालगञ्ज निवासी (कवि) गजलकार आदिल सरवरले।
अचम्म लाग्छ। बालुवामा आगो बल्ने अरबको मरुभूमिबाट पनि
राम्रा–राम्रा फूलहरू पाउला नेपाली भाषाले भनेर कसले कल्पना गरेको
थियो र! तर भएको छ त्यो नपत्याउने कुरा। यस्ता फूलहरू फुलेछन् त्यहाँ!
तिनको बास्ना मगमगी यहाँ स्वदेशसम्म आइपुगेका छन्।
“ती आमालाई दूधको घुट्कोले गला रसाऊँ
उनको एउटा पाटी र धारा इच्छाको पुर्याऊँ
रिनले थोत्रो घरको जग बलियो बनाऊँ”
भनी ल्हासा जाने महाकविको मदन जस्तै भविष्य उज्वल बनाऊँ
भनेर ज्यानको बाजी लगाई अरब पुगेका पौरखी नेपाली युवाहरूले मातृभूमि
सम्झेर मनको बह पोख्न पनि थालेछन् र यसबाट त्यहाँ एकप्रकारको साहित्यिक
वातावरण सिर्जना भएछ। साउदी अरेबियाको आधेलियामा चौतारी समूह र अखिल
नेपाल साहित्य समाज, साउदी च्याप्टर अनि युएईको आबुधावी र सारजाहमा,
नेपाली साहित्य परिषद्, युएईजस्ता संस्था खडा गरेछन्। त्यहीँबाट जन्मेका
साहित्यिक संस्थाहरूले नेपाली पुस्तकहरू पनि प्रकाशित गरेर बिक्रीवितरण
गर्दै एक आपसमाझ कसिलो ऐक्यबद्धता कायम गरेछन्।
ती संस्थाहरूले प्रकाशित गरेका एकदर्जनभन्दा बढी पुस्तक
र नेपाली पत्रपत्रिका मदन पुुरस्कार पुस्तकालयमा आई दर्ता भएका देखिन्छन्।
तिनैमध्ये पर्छ माथि चर्चा गरिएको अरबको भूमिमा फूलेको एउटा फूल 'आरोहण'
गजल सङ्ग्रह। तर भनिहाल्नुपर्छ प्रकाशित हुनु नै त्यस पुस्तकको महत्त्व
होइन, महत्त्वपूर्ण कुरा हो, एकता र राष्ट्रिय निष्ठाको या अझै भनौँ
सामूहिकताको र स्वार्थत्यागको!
माथि नै भनिसकियो जाति, धर्म, भाषा या जिल्ला केही नमिल्ने
ती पाँचजना एकाकार भएछन्, छुट्याउनै नसक्ने गरी मिलेछन्! प्रवासिँदाको
पीडामा सहभागी भएका यी पाँच जना, सहपीडित मित्रहरूले स्वार्थत्यागको
नमूना स्वरुप आ–आफ्ना नामलाई सामूहिक एउटा नामभित्र विलयन गरी उनीहरू
भएछन् केवल 'आरोहण'। त्यही उपनाम (तखल्लुस) मा उनीहरू समाहित भएछन्।
त्यसभित्र अटाएछन् र जन्माएछन् प्रवासबाट एउटा विलयन लेखन– 'आरोहण'
गजल सङ्ग्रह, ५५ वटा गजलहरूको सँगालो। ती पचपन्नमध्ये ५४ गजल प्रत्येकमा
पाँच–पाँच वटा शेर छन्। पाँच जनाले एकेक ओटा शेर दिएका छन् हरेक गजलमा
तर कुन शेर कसले लेख्यो नखुलाई। सबैजसो गजलको आखिरी शेर मक्तामा तखल्लुस्
छ 'आरोहण' भन्ने। ५५ मध्ये एउटा गजल भने आठ वटा शेरले बनेको छ, च्याङ्वा
र मैचाङको दोहोरीजस्तो। त्यसमा 'आरोहण' को तखल्लुस पनि छैन। त्यो होस्।
अरबको मरुभूमिमा पुग्ने नेपालीहरू कोही पनि सम्पन्न
छैनन्, आफ्नो हातमुख जोरेर केही पैसा बचाई नेपाल फर्किने उद्देश्यले
त्यहाँ पुगेका छन्। उनीहरूमा यस्तो देशप्रेम र समर्पण भाव उदय हुनु
आफैँमा प्रशंसनीय कुरा हो। तर अचम्म लाग्छ सिन्धुलीको तामाङ र सुनसरीको
मुसलमान, रामेछापको बराइली र काठमाडौँको मगर एक भएको देख्दा। सम्पन्नताको
शिखरमा पुगेको अमेरिका या जापान पुगेका अलि हुनेखाने नेपाली नेवार,
तमु, लिम्बू र अनेकथरी हुँदै भिन्नाभिन्नै एशोसिएसन र संघसस्था बनाउँदै
जानु तर अरबको मरुभूमिमा रगतपसिना बगाउने मजदुरहरूले नेपाली जातीयतालाई
अक्षुण्ण राख्नु! उदेकै हो। यिनको त प्रशंसा मात्र गरेर पुग्दैन, अभिवादन
गर्नुपर्छ!
अब यो लेख टुङ्ग्याउनुभन्दा अघि यी 'पाँच भाइ' ले लेखेका
गजलको केही रसस्वादन गरिहालूँ। पहिले यस किताबभित्रको पहिलो गजल–
“मेची–काली सिंगार्ने त्यो रोजाइलाई सलाम
सबै देख्ने बराबरी खोजाइलाई सलाम
जन्मभूमि रुँदै थिइन् एयरपोर्टमा पुग्दा
घूस खाई नअघाउने भोकाइलाई सलाम
मुरी आँसु दिएर चिम्टी खुशी बटुल्नुपर्ने
प्रवासको यो जीवन भोगाइलाई सलाम
परदेशीको पीडा आफ्नै हुन्छ आफ्नै ठाउँमा
आफ्ना साथीभाइको सोचाइलाई सलाम
सलाम घायल चन्द्र र भानुलाई सलाम
नम शान्त मोजाहुको लेखाइलाई सलाम!”
पहिलो गजल जस्तै सँगालोको अन्तिम गजल पनि हेरिहालौँ। लेखेको छ–
“छुरी कसले चलायो मोजाहु घायल भए
शान्त मनमा भानु, चन्द्र भावविह्वल भए
भानु त्यसै शान्त देख्छु चन्द्र उदाउँदामा
घायल भए पनि मोजाहु अब सबल भए
घायल विलय लेखन शान्त रुप भयो
खुशीले भानु चन्द्र मोजाहु पागल भए
शान्त काँ घायल हुन्छ र 'आरोहण'को बेला
शिखर टेक्न भानु चन्द्र मोजाहु चञ्चल भए!”
अब चाहिँ साँच्चै टुङ्ग्याउनीमा जाऊँ यी पाँच भाइले नेपाली नेताहरूलाई
चेताएको सुनेर–
“जनताको कुरा आज सुनिँदैन कतै नि,
भुलेर हो कि जनसागर तागतको कुरा”
के भन्छन् उनीहरू? नबिर्स जनताको तागतको कुरा! १ भदौ, २०६४
|