हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

निष्ठुरीको निष्ठा

नेपालको लोकतान्त्रिक आन्दोलनको प्रसङ्गसँगै प्रेस स्वतन्त्रता आन्दोलनको चर्चा भइहाल्छ। शाही शासनकालको त्यो सङ्घर्षको अगुवाई गरेका नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी (४४) अहिले अन्तर्राष्ट्रिय पुरस्कार पाएर चर्चामा छन्। दक्षिण कोरियाको प्रतिष्ठित मान्हे पुरस्कार पाउने उनी पहिलो नेपाली हुन्। ३० हजार अमेरिकी डलरको पुरस्कारबाट आधा रकम महासंघको पत्रकार कल्याण कोषलाई हस्तान्तरण गरेर उनले उदार भावनाको परिचय पनि दिएका छन्। भन्छन्, “प्रेस स्वतन्त्रताका लागि लड्ने सबै साथीहरूले पुरस्कार पाएको महसूस गरुन् भनेर आधा रकम कोषलाई हस्तान्तरण गरेको हुँ।”

शाही शासन शुरु भएलगत्तै लगातार २२ दिन प्रहरी हिरासतमा बिताएका निष्ठुरी आन्दोलनको क्रममा सहकर्मीहरूसहित १७ पटक गिरफ्तार भएका थिए। दक्षिण कोरियाको मान्हे भिलेजमा पुरस्कार लिँदै गर्दा सङ्घर्षको क्रममा काठमाडौँको भोटाहिटीमा पानीको फोहोराले निथु्रक्कै भिजेको, रत्नपार्कमा सैनिक ट्याङ्क निकालिएको स्मरण गरेका निष्ठुरीले आफ्नो मन्तव्यको क्रममा अझै पनि नेपाली प्रेसमाथि हप्कीदप्की र हस्तक्षेप भइरहेको प्रसङ्ग उठाएका थिए। निष्ठुरी भन्छन्, “चुनौतीहरू मोलेर पनि हामी फरक ढङ्गले लड्यौँ, हाम्रो प्रेस स्वतन्त्रता सङ्घर्षलाई गरिएको अन्तर्राष्ट्रिय सम्मान हो यो।”
२०४३ सालमा देशान्तर साप्ताहिक को इलाम संवाददाता भएर पत्रकारितामा प्रवेश गरेका निष्ठुरीले २०४८ सालमा राजधानी छिरेपछि पत्रकारिता पेशालाई नै निरन्तरता दिए। निष्ठुरीका कविता सङ्ग्रह शीत नओभाएको गाउँ (२०६१) र जनआन्दोलनको डायरी १९ दिन (२०६४) प्रकाशित छन्। विभिन्न विधाका ६ जनालाई दिइने मान्हे पुरस्कार अन्तर्गत स्वतन्त्रता आन्दोलनमा योगदान गर्नेलाई दिइने 'प्राक्टिस' पुरस्कार पाएपछि स्वतन्त्रताप्रति निष्ठुरीको निष्ठा अझै बढेको छ। भन्छन्, “एउटा पत्रकारको रूपमा स्वतन्त्रताको सङ्घर्षमा झन् सक्रिय हुनेछु।”


मिथिलाञ्चलकी अभिलाषा

'गुडमर्निङ मिथिलाञ्चल...' भन्दै जनकपुरको रेडियो मिथिलामा बिहानीपख सुमधुर स्वर सुनिन्छ, अभिलाषा कर्ण (२२) को। शुरुमा रेडियो प्रस्तोता (आरजे) बन्न एफएमको बजार प्रबन्धकको काम समेत गरेकी अभिलाषा अहिले सबैकी प्रिय प्रस्तोता बनेकी छन्। कुनैबेला सञ्चालकले नपत्याएर एफएममा बोल्न पनि नपाएकी उनलाई अहिले कार्यक्रम प्रायोजकले नै खोज्छन्। कामको चाप यति छ कि उनी सातामा १६ वटा रेडियो कार्यक्रम एक्लै चलाउँछिन्। अभिलाषा भन्छिन्, “पहिले अन्तर्वार्ता लिने काम मात्रै दिनेहरू अहिले मेरो कार्यक्रम सुनेर छक्क पर्छन्।”

जनकपुरमा अहिले सात वटा एफएम रेडियो छन्। दक्ष र अनुभवी प्रस्तोता नभएका ठाउँमा 'परेरै' आरजे बनेकी जनकपुर–४ की अभिलाषा भने अहिले अरू सिकारुका लागि पनि प्रेरणाको श्रोत बनेकी छन्। उनी आफूले जानेको कुरा अरूलाई सिकाउन हिच्किचाउँदिनन्। उनीसँग सिकेर राम्रा आरजे बन्नेहरू धेरै भइसके। भन्छिन्, “उनीहरूको कार्यक्रम सुन्दा खुशी लाग्छ।” मिथिलाञ्चलकै चर्चित महिला आरजेका रूपमा ख्याति कमाएकी अभिलाषाको अभिलाषा चाहिँ एयर होस्टेस बनेर आकाशमा उड्ने छ।

रेडियोमा काम अनुसारको दाम अझै पाउन नसकेकोमा खिन्न अभिलाषा श्रोताका मायाले भरिएका पत्र पाउँदा दङ्ग पर्छिन्। उनको आवाजमा लठ्ठिएर भेट्न आउने र पत्र कोर्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ। रेडियोमा स्थानीय बोलीचालीको भाषामा मज्जाले बोल्ने अभिलाषा भन्छिन्, “श्रोताले मन पराएरै होला स्टेशनले मेरो लागि कार्यक्रम थपेको थप्यै छ।”

शब्द/तस्वीरः अजित तिवारी