हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

फलोअप जोगीमाराका ज्यूँदाको पीडा

'बिर्सौं भन्यो सम्झिइहाल्छ'

जोगिमाराको मामिला बेपत्ता भएका एकहजार भन्दा बढी नेपालीको जस्तो जटिल छैन। त्यसैले ती १७ भाइ गल्तीले मारिए भनेर स्वीकार गर्न र क्षतिपूर्ति दिन सरकारले लम्बेतान कसरत गर्नुपर्दैन। यसो गर्दा परिवारले व्यर्थको पर्खाइको पीडा खप्नुपर्ने र खबर सोध्नुपर्ने व्यथाबाट मुक्ति पाउने थिए।

मोहन मैनाली

तस्बिरहरू मोहन मैनाली
व्यर्थको पर्खाइः धनमाया चेपाङ

धादिङको जोगिमारा गाउँका १७ जना मान्छे झण्डै ६ वर्षदेखि 'बेपत्ता' छन्। साढे पाँच वर्षदेखि उनीहरूका आफन्त दोमनमा बाँचेका छन्।

उनीहरूको एक मनले भन्छ– मरे होलान्। पल्टनमा भर्ना भएका भए पनि अलि वर्षपछि आउँछन् भन्नु। चार महिनामा आउँछु भनेर कुल्ली गएका, काम लम्बियो होला, एक दुई महिनापछि आउलान् भनौँ भने पौने ६ वर्ष भइसक्यो। एकजना थियो, बहकिएर कतै गयो होला भनौँ भने १७–१७ जना थिए। एउटा न एउटा त आइपुग्नुपर्ने। त्यसैले, अब जिउँदो शरीर आउँदैन।

अर्काे मनले भन्छ– बाँचेकै हुनुपर्छ। कसरी मरे होलान् त? बिरामी थिएनन्, सद्दे थिए। कतै आपतविपत पर्दा भाग्नका लागि खुट्टा थिए। अरूले मारेका हुन् भनौँ भने मान्छेले मान्छेलाई कसरी मार्नसक्छ? आफ्ना आँखाले उनीहरू मरेका/मारिएका देखिएन। लास पनि भेटिएन। झाँक्रीलाई हेर्न लगाउँदा 'भोटतिर गएको छ, आउँछ' भन्यो। त्यसैले, उनीहरू बाँचेकै छन्। एकदिन न एकदिन घरै फर्केलान्।
“ए भगवान, के भयो त ए? मेरा छोराहरू हुन्, मरेका छैनन् भनेको छु”, जोगिमारा, गोइराङ–बेँसीका शंखबहादुर गुरुङले भने।

शंखबहादुरका १७ वर्षको साइँला र १६ वर्षको काइँला छोरा गएका थिए। ६१ वर्षको लोग्ने गुमाएकी जोगिमारा, ह्याक्राङकी सुकमाया चेपाङले भनिन्, “श्रीमानले कमाएर ल्याउँछ कि भनेर फोक्सो यत्रो पारेर बसेका छौँ।” जोगिमारा, थानसिंका ज्ञानबहादुर विकलाई कमाएर ल्याउँछु भनेर गएका आफ्ना दुई छोरा कतै छँदैछन् जस्तो लागेको छ। उनको आशङ्का छ, “माओवादीले अपहरण गरेर लगेको छ कि? आर्मीले अपहरण गरेर राखेको छ कि? कतै गएका पो छन् कि?”

जोगिमाराका १७ भाइ कामदार २०५८ मङ्सिरमा विमानस्थल बनाउन कालीकोट गएका थिए। २०५८ फागुनको दोस्रो हप्ता कालीकोटको कोटबाडामा सेनाले उनीहरू समेत ३५ जनालाई मारेको थियो। सेनाले उनीहरूलाई त्यसको हप्तादिन अघि अछामको सदरमुकाम आक्रमण गरेर भागेका माओवादी 'आतङ्ककारी' को आरोप लगाएको थियो।

जोगिमाराका १७ भाइका १५ परिवारमध्ये १३ परिवारले काजकिरिया गरिसके, तर इच्छाले होइन करकापले। किरिया खर्च जुटाउन सकेको भए बाँकी दुई परिवारले पनि गरिसक्थे। आफ्ना छोरा जिउँदै छन् भनेर बसेका बेला शंखबहादुरकी दिदी मरिन्। छोराको किरिया गरेको छैन भनेर आफन्तले उनलाई दिदीको लास छुन र किरिया कर्ममा भाग लिन दिएनन्। उनका हातको पानी खाएनन्। “किरिया गर्नु मन थिएन, छातीमा मुड्की राखेर गरिदिएँ”, उनले भने। छोरा गुमाएकी धनमाया चेपाङले भनिन्,“सबै जनाले किरिया गर्नुपर्छ, नभए पानी चल्दैन भनेर कराउन थाले। अनि बाहुन बोलाएर किरिया गरिदिएँ।”

एकापसमा बाझिने कुरा लामो समयसम्म दिमागमा बसेपछि जोगिमाराका यी १५ परिवारको झन् बेहाल भएको छ। पाँच वर्ष पहिले उनीहरू शोकाकूल थिए(लास पनि पाएनन्, हिमाल, १–१५ साउन २०५९)। अहिले उनीहरूलाई उकुसमुकुस भएको छ। त्यसैले, अरूले हेर्दा कसैकसैले 'अव्यावहारिक' निर्णय पनि गरेका छन्।

छोरा मारिएका मानबहादुर विक छोरो हुर्केको घर, छोराले काम गरेको जग्गाजमिन र छोरो खेलेको गाउँले लगातार उसको झझल्को दिएर सताएकोले घरजग्गा बेचेर बसाइँ हिँडे। यो काम अरू त अरू उनकै भाइ ज्ञानबहादुलाई पनि चित्त बुझेको छैन। उनले भने, “त्यसो भए उसले भात खाएको थाल के गर्ने? पानी खाएको अंखोरा के गर्ने? त्यसमा छोराको हातको डाम छ। फाल्दिने?”

आफन्तको सम्झनाले अरूलाई पनि त्यत्तिकै सताएको छ। “मेरा छोराहरू कमाएर आएर आमा भनेर बोलाउँछन् कि भन्ने आश थियो”, बुद्धिसरा विकले भनिन्। बुद्धिसराकै छिमेकी धनमाया थापाले थपिन्, “बिहान पनि आएर घरमा बसेको छ कि जस्तो लाग्छ। बेलुका पनि घरमा टुप्लुक्क आइपुग्छ कि जस्तो लाग्छ।”

राहतको पर्खाइः सुखमाया चेपाङ छोरीका साथ।

पाँच वर्ष पहिले यहाँका मानिसहरू छिमेकी होस् कि नौलो मान्छे जो आउँदा पनि बिलौना गर्थे, रुन्थे। अहिले पनि पीडा त उत्तिकै छ। तर उनीहरूले त्यसलाई दबाउने आफ्नै खालका उपाय निकालेका छन्। ज्ञानबहादुर विकले बाटो हिँड्ने जो कोहीलाई आँशु नदेखाउने निश्चय गरेका छन्। भन्छन्, “रातभर आँशुले सिरानी भिजाउने। बिहानभरि काम गर्ने। सम्झिए रोइदिने। बिर्सिए काम गर्ने। डोरीले मुटु बाँधेर भएपनि काम चाहिँ गर्ने।” ज्ञानबहादुरकी श्रीमती बुद्धिसरा आफ्नो मनको बिलौना आफैँभित्र राख्ने पक्षमा छिन्। धनमाया थापा भन्छिन्, “जति रोए पनि, जति कराए पनि छोरा नआउने भएपछि आ–आफ्नो मनको कुरा आ–आफैँ चेप्यो, बस्यो।”

जोगिमाराका १५ परिवारको सबैको माग एकै खालको छैन। कोही भन्छन्– सरकारले क्षतिपूर्ति दिए थाप्ने, नदिए चूप लागेर बस्ने। कोही भन्छन्– सरकारले राहत दिए पनि सन्तोष गरेर बस्न हुन्थ्यो। कसैले मागेका छन्– कि त घरबाट जस्तो गएको त्यस्तै मान्छे चाहियो कि त क्षतिपूर्ति। कसैकसैको माग अलि कडा पनि छ– ज्यानको बदला क्षतिपूर्ति दिनुपर्‍यो। दोषीलाई कारबाही गर्नुपर्‍यो।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले नेपालमा बेपत्ता भएका एक हजार जना भन्दा बढी मानिसको नामावली सार्वजनिक गरेको छ। यी सबैको परिवारको अवस्था जोगिमाराका १५ परिवारको अवस्थासँग मिल्दोजुल्दो छ।

जोगिमाराको केस बेपत्ता भएका एकहजार भन्दा बढी नेपालीको जस्तो जटिल छैन। बेपत्ता मानिसहरू सम्बन्धी आयोगलाई पर्खनुपर्दैन। उनीहरू मारिएको र उनीहरू पहिले भनिएजस्तो 'आतङ्ककारी' नभएको कुरा सेनाले अनौपचारिक रूपमा स्वीकार गरिसकेको छ। राष्ट्रिय मानवअधिकार आयोगले लामो समय लगाएर भेला गरेका प्रमाणहरूले पनि यही कुरा बताएका छन्।

त्यसैले, जोगिमाराका १७ भाइ गल्तीले मारिए भन्ने कुरा स्वीकार गर्न र क्षतिपूर्ति दिन सरकारले लम्बेतान कसरत गर्नुपर्दैन। यसो गर्दा कमाउने मान्छे मारिएका यी गरिबहरूलाई केही मात्रामा भए पनि आर्थिक राहत पुग्छ। आफन्त आउलान् कि भन्ने व्यर्थको पर्खाइको पीडाबाट उनीहरूले मुक्ति पाउँछन्। हरेक नयाँ मान्छे भेट्दा हाम्रा छोराहरूको खबर के छ भनेर सोध्नुपर्ने व्यथाबाट मुक्ति पाउँछन्।
तर दबाब विना कुनै काम नगर्ने र दबाब आएपछि नहुने काम पनि गर्ने बानी भएको अन्तरिम सरकारबाट जोगिमाराका परिवारले गरिबी र मानसिक पीडाबाट राहत पाउलान् भन्ने आशा गर्न सकिन्न। त्यसैले होला, सुकमायाले भनेकी छन्, “बरु संघसंस्थाहरूले दया गरेका छन्; आफूले भोट दिएको सरकारले त आतङ्ककारी भन्छ।”