हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

फलोअप '१६ भदौ'

जोखिम बढ्दो छ

तीन वर्षअघि इराकमा १२ जना नेपाली मारिएका र त्यसलाई लिएर यहाँ '१६ भदौ' काण्ड भएको धेरैले बिर्सेका छैनन्। तैपनि इराक जाने युवाहरूको सङ्ख्या बढ्दो छ। फर्किनेहरू भन्छन्, “धेरै नेपाली ठूलो दुर्घटना वा जोखिममा परेको खबर कुनै पनि बेला आउन सक्छ।”

डम्बरकृष्ण श्रेष्ठ

१५ भदौ २०६१ मा इराकमा मारिएका १२ जना नेपालीको शव

तीन वर्षअघि इराकमा अपहरणमा परेर मारिएका ललितपुर, लेले–८ का रमेश खड्काका दाजु सुदर्शन (३०) भाइ मारिएको दुई वर्ष नबित्दै काम गर्न इराक गए, त्यो पनि भाइको मृत्युमा सरकारले क्षतिपूर्ति दिएकै पैसा खर्च गरेर। यद्यपि उनी इराक छिर्न नपाएकोले साढे दुईलाख रुपैयाँ डुबाएर घर फर्किसकेका छन्।

शुरुमा सिङ्गापुर र कोरिया जाने प्रयास सफल नभएपछि सुदर्शन घरमा 'माल्दिभ्स जाने' भनेर आफ्नै भाइ मारिएको मुलुकतिर हान्निएका थिए। यसको कारण अरू केही नभएर त्यहाँको 'लोभलाग्दो कमाइ' रहेको स्पष्ट गर्दै उनी भन्छन्, “उसलाई मात्रै सम्झिएर जीवन नबित्ने रहेछ, प्रत्येक पल डर हुने भए पनि केही कमाइन्छ कि भनेर जान खोजेको थिएँ।” दलालले भारतबाट दुबई, कुवेत हुँदै जोर्डन पुर्‍याएर तीन महिना प्रयास गर्दा पनि इराक छिराउन नसकेपछि उनी काठमाडौँ फर्किएका हुन्।

रमेश मारिएकोमा दुःख माने पनि लेलेका युवाहरूको इराकप्रतिको आकर्षण उस्तै छ। अहिले पनि रमेशका ५०–६० जना छिमेकी इराकमै छन्। भरत खड्काले त्यहाँकै कमाइबाट रमेशको घरनजिकै तीनतले पक्की घर बनाएका छन्। अमेरिकी सैनिक शिविरका कुक भरतको मासिक कमाइ रु.१ लाखभन्दा बढी छ। सुदर्शन भन्छन् “काल आएपछि घरैमा पनि मरिन्छ। इराक गएर अरू जस्तै कमाउँला भन्नेथियो, सकिनँ।”

अर्को '१६ भदौ'


डम्बरकृष्ण श्रेष्ठ
तीमध्ये एक रमेश खड्काको परिवारलाई सरकारले दिएको क्षतिपूर्तिबाट घर बनाउँदै दाजु सुदर्शन, जो भाइको मृत्युपछि आफैं पनि इराक जान खोजेर फर्केका हुन्। पृष्ठभूमिमा इराकको कमाइबाट सुदर्शनका छिमेकीले बनाएको सेतो घर।

नेपालीहरू भारत र अरू देश भएर इराक जाने क्रम निरन्तर चलिरहेको छ। सरकारले अफगानिस्तान, इराकजस्ता 'युद्धग्रस्त' देशमा रोजगारीमा जान प्रतिबन्ध लगाएको र त्यहाँ विस्फोट, आक्रमण आदिमा परेर मानिस मारिएका समाचार दिनहुँ आइरहेका भए पनि गैरकानुनी रूपमा ठूलो सङ्ख्यामा नेपाली युवाहरू त्यता गइरहेका छन्। फर्किनेहरूका भनाइमा अहिले त्यहाँ कम्तीमा पनि १० हजार नेपाली छन्।

यसबीच इराकमा नेपालीहरू मारिएका र अङ्गभङ्ग भएका घटना पनि भएका छन्। २ भदौमा सुरक्षागार्डका रूपमा कार्यरत मोरङ, राजघाटका ४६ वर्षीय भक्तबहादुर पोमु माइन विस्फोटनमा मारिए। एक वर्षअघि बगदादमा अमेरिकी सैनिकको गाडीसँगै एम्बुसमा पर्दा गुल्मीका विष्णु घिमिरे मारिएका थिए।

डेढ वर्षअघि मुम्बईबाट दुबई हुँदै इराक पुगेर दुई महिनाअघि मात्र घर फर्किएका झापाका जीवन लिम्बू कुनैपनि बेला त्यहाँ ठूलो सङ्ख्यामा नेपालीको ज्यान जानसक्ने बताउँछन्। उनी भन्छन्, “एउटै क्याम्पमा दुई सयदेखि चार सय नेपाली काम गरिरहेकाले त्यस्ता ठाउँमा अपर्झट हुनसक्ने आक्रमण या विस्फोटमा उनीहरू नपर्लान् भन्न सकिन्न।”

जीवनको भनाइमा अमेरिकी सैनिक शिविरमा काम गर्ने भनिए पनि नेपाली कामदारहरू त्यहाँ निकै असुरक्षित छन्। स्थिति यतिसम्म जोखिमपूर्ण छ, सैनिक शिविर वरिपरि सफाई गर्न निस्कँदा पनि बुलेट–प्रुफ लुगा लगाउनुपर्छ। तर त्यही लुगा पनि सबैलाई नदिइने हुँदा कैयौँ नेपाली जोखिम मोलेर काम गर्छन्। जीवन भन्छन्, “इराक पुगेका सयमा ९५ नेपालीलाई व्यर्थमा आएछु जस्तो लाग्छ। तर तुरुन्तै फर्किन पनि सकिन्न।”

अब इराक नजाने प्रण गरेका लिम्बूले देखेसुनेको अनुभव निकै डरलाग्दो छ। सैनिक शिविरभित्र काम गर्दा पनि कतैबाट बम खस्ने र आक्रमण भइहाल्ने हो कि भन्ने डर हुन्छ। इराक छिरेर क्याम्प नपुग्दा र फर्कने बेलामा इराकको सिमाना नकट्दासम्म बाँच्ने मर्ने ठेगान हुँदैन। एक वर्षअघि दुई सय नेपाली काम गरिरहेको पलाँस भन्ने ठाउँको एउटा अमेरिकी सैनिक शिविरमा बम विस्फोट हुँदा टर्कीका एक नागरिक मारिएका थिए।

जीवन लिम्बूलाई जिउँदै आइपुगिएला जस्तो लागेको थिएन। अमेरिकी सेनाको बुलेट–प्रुफ गाडीले शिविरबाट ५०० किमि टाढा टर्कीको सिमाना छेउमा छाडिदिएपछि आफैँ त्यहाँबाट ३०० किमी टाढाको इराककै कुर्दिस्तानस्थित एरभिल विमानस्थल पुगेर फर्कन पाएको स्मरण गर्दै उनी भन्छन्, “त्यहाँको अमेरिकन् आर्मीले कामदारको सुरक्षाको वास्तै गर्दैन। गरुन् पनि के? उनीहरू नै कतिबेला आक्रमणमा पर्ने हुन्, टुङ्गो हुन्न।” एक पटक अमेरिकी सेना चढेको गाडीमा आक्रमण हुँदा नजिकै काम गरिरहेका नेपालीहरू मुश्किलले बाँचेको सुनाउने जीवन नेपाल सरकारले इराक जान प्रतिबन्ध लगाएर मात्रै पुग्दैन, इराकमा रहेका नेपालीहरूको सुरक्षाका लागि पनि विशेष ध्यान दिनुपर्छ भन्छन्।

कुवेतमा काम गरिरहेका काभ्रेका बालकृष्ण घिमिरे र हेटौँडाका राजेश लामिछानेले हिमाल लाई चार पानाको चिठ्ठी लेखेर कुवेतमा ठूलो सङ्ख्यामा नेपालीहरू इराक जान जम्मा भइरहेका जानकारी दिएका छन्। मुम्बई हँुदै दुबई, कुवेत, जोर्डन भएर इराक जानेहरूको सङ्ख्या ठूलो छ। बालकृष्ण लेख्छन्, “कुवेतबाट इराक आवत–जावत गर्ने गाडीमा काम गर्ने नेपाली चालकको सङ्ख्या ११ सय जति छ भने इराकभित्रै गाडी चलाउनेहरू अझ बढी छन्। गाडी लिएर कुवेतबाट इराक जाँदा केही नेपालीलाई गोली लागेको छ, केहीको अङ्गभङ्ग भएको छ, तर क्षतिपूर्ति पाउन मुश्किल छ।”

धेरैजसो नेपालीहरू दलाललाई तीन लाख रुपैयाँ दिएर महिनामा २५० अमेरिकी डलर (रु.१६–१७ हजार) कमाउन इराक गइरहेका छन्। कुनै छुट्टी नलिई १२ घण्टाको काम र 'ओभरटाइम' गर्नेहरूले समेत ४०० डलर (रु.२६–२७ हजार) भन्दा बढी कमाउन सक्दैनन्। सुरक्षागार्डमा जाने भूतपूर्व सैनिकलगायतका नेपालीको कमाई चाहिँ महिनाको रु.१ लाखभन्दा माथि हुन्छ। तर, धेरै नेपाली राम्रो आम्दानी हुने आशमा सुरक्षागार्डको लागि दलाललाई बढी पैसा बुझाएर त्यहाँ पुगेपछि सामान्य काम गर्न बाध्य छन्।

१५ भदौ २०६१ मा इन्टरनेटबाट इराकमा १२ नेपालीको बीभत्स हत्या गरिएको भिडियो क्लिप प्रसारण भएपछि त्यसको भोलिपल्ट १६ भदौमा काठमाडौँ उपत्यकामा ठूलो विध्वंस भएको थियो। खासगरी वैदेशिक रोजगार व्यवसायीविरुद्ध लक्षित ६ घण्टाको तोडफोड, आगजनी र लुटपाटमा तिनको मात्र रु.७८ करोड बराबरको धनमाल नष्ट भयो। त्यसबाहेक मस्जिदहरूमा पनि तोडफोड र आगजनी भए, कतिपय सञ्चारगृहहरू पनि बचेनन्।

आज त्यो घटनाको तीन वर्षपछि इराकमा नेपालीको सङ्ख्या अरू बढेको छ। सङ्ख्या सँगसँगै जोखिम पनि बढ्ने नै भयो। तर सरकारी होसियारी पटक्कै छैन। इराक जान प्रतिबन्ध लगाएर बसेको सरकार त्यहाँ कार्यरत नेपालीको सुरक्षा अवस्थाबारे अनभिज्ञ छ। त्यसले देखाउँछ– '१६ भदौ' कुनै पनि बेला दोहोरिन सक्छ।


आँगनमा छोराको सालिक


डम्बरकृष्ण श्रेष

इराकमा मारिएका छोरा रमेशको सम्झना आउनासाथ आमा राधिका र बुबा जीतबहादुर खड्काका आँखा आँसुले भरिन्छन्। राधिका सम्झिन्छिन्, “एउटाले राइफल बोकेको थियो, हात बाँधेको रमेशलाई टीभीमा देखायो। यता मन्त्रीले ती मान्छे स्वीकृति लिएर गएका हैनन् भने। धनीका छोराहरू भएका भए खर्च गरेर, माग पूरा गरेर फर्काउँथे होलान्। हामी त गरिब पर्‍यौँ। त्यही भएर हाम्रा छोरा मारिए।”

खड्का दम्पतीले छोराको सम्झनामा घर अगाडि रमेशको अर्धकदको सालिक बनाएका छन्। आँगनमा सालिक राखेदेखि रमेश जिउँदै घरमै भइरहेको जस्तो लाग्न थालेको छ उनीहरूलाई! छोराको सम्झना आँखाभरी झल्झली आइरहने बताउँदै जीतबहादुर भन्छन्, “बिहानै उठछौँ र मुख धोएर सधैँ पानी चढाउँछौँ, रमेश हामीसँगै छ भन्ने लागिरहन्छ। हाम्रो अभाग र उसको काल एकैसाथ आएको रहेछ, परदेशमा अर्काको हातबाट मर्नु रहेछ।” नेपाल सरकारले क्षतिपूर्तिबापत दिएको रु.१० लाखमध्येबाट खड्का दम्पतीले रु.१ लाख खर्च गरेर आँगनमा यो सालिक बनाए। रमेश इराक जाँदा लिएको रु.२ लाख ऋण तिरे। रु.२ लाख ५० हजार अर्को छोरालाई विदेश पठाउन खर्च गरे। केही पैसा जग्गा किन्न र घर बनाउनमा खर्च भएको छ।

पाटन र थानकोटाका रेष्टुराँमा काम गर्दागर्दै साथीहरूको लहैलहैमा लागेर इराक गएका थिए रमेश। जीतबहादुर भन्छन्, “विदेश जान्छु भनेर कर गरेपछि पासपोर्ट बनाइदिएँ। दुई लाख रुपैयाँ ऋण काढेर दिएँ। विदेश गएको चार महिनामै तिर्छु भन्थ्यो।” इराक गएको छोराले घरमा कुवेत र जोर्डन जाने भनेर ढाँटेको रहेछ। दुई महिनासम्म फोन, खबर केही नआएको अवस्थामा छोरासहित १२ जना इराकमा अपहरणमा परेर मारिएको खबर सुन्नुपर्दा उनीहरू छाँगाबाट खसेजस्तै भएका थिए।

यो पीडा खेपेका खड्का दम्पती अर्को छोरा सुदर्शन पनि ढाँटेर इराक गएको थाहा पाउँदा धेरै दुखी भए। जीतबहादुर भन्छन्, “खेतान समूहको गोर्खा ब्रुअरीमा पाएको जागिर छाडेर माल्दिभ्स् जान्छु भन्दै हिँडेको छोरा इराक जान जोर्डन पुगेको सुनेपछि खुब रोयाँै। तर आखिर जान नपाएर घर फर्कियो, हामीलाई खुशी लागेको छ।”