हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

सीके लाल

विश्लेषण मधेश

विदेशीहरूको बढ्दो अभिरुचि

मधेशमा जागेको विदेशी रुचि तत्काल घट्न सक्ने सम्भावना देखिँदैन। निकट भविष्यमा प्रतिस्पर्धी विदेशी रुचिहरूको प्रभाव विस्तारको क्रीडास्थल मधेश हुने कुरामा शङ्का नगरे हुन्छ।

मनोज श्रेष्ठ

मधेशी जनअधिकार फोरम (मजफो) तथा नेपाल सरकारका बीच १३ भदौमा सम्पन्न २२ बुँदे समझदारीले संविधानसभा निर्वाचनका लागि सकारात्मक सन्देश दिएको छ। तर महिनौँदेखि सम्झौताको साटो सरकारसँग मुकाबिला नै गर्ने मनस्थितिमा रहेका मजफोका नेताहरूमा अचानक सहमतिको राजनीति गर्ने जिम्मेवारीबोध कसरी भयो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। केही दिनअघि मात्र वीरगञ्ज अधिवेशनबाट सङ्घर्षको कार्यक्रम घोषणा गरिसकेको मजफोले सरकारको सामान्य सान्त्वना र आश्वासनको भरमा आफ्नो पूरै राजनीतिक प्रस्तावनामा नै फेरबदल गर्ने कार्यलाई चामत्कारिक परिवर्तन मान्नुपर्छ। र, त्यस्तो परिस्थिति विकसित गराउने परिवेशको राजनीतिक–कूटनीतिक अध्ययन उपयोगी ठहरिन सक्छ।

तराई वा मधेश?
सङ्घर्षको अभिव्यक्तिको रूपमा मधेश शब्दले व्यापकता पाएको भए तापनि सत्तासँग सम्बद्ध व्यक्तिहरूले अझै तराई संज्ञालाई नै रोज्न मन पराउँछन्। सत्ताको 'तराई' शब्दप्रतिको अस्वाभाविक अनुराग तीन–चार कारणले गर्दा हुन सक्छ। राणाकालसम्म बढी प्रचलनमा रहेको 'मधेश' भन्दा सात सालपछिको पुस्ताले 'तराई' शब्दलाई ग्राह्यता दिनु स्वाभाविकै हो। तराई र तराईली अभिव्यक्तिले गोरखाली बोलीको नेपाली भाषामा रुपान्तरण हुने प्रक्रियाको इतिहासलाई समेटेको छ। काठमाडौँको बाजेपुस्ता जाडो छल्न मधेश झर्थ्यो, तर काकापुस्ताका उद्यमीहरू सम्पन्नताको खोजीमा तराई ओर्लिन थालेका थिए। नातिपुस्ताको छनौट के हुने हो, अझै हेर्न बाँकी छ। शायद ती सिङ्गो तराई वा मधेशको कुरा नगरी कोचिला, मिथिला, भोजपुरिया, अवध वा थरुहटका कुरा गर्नेछन्।

तराई शब्दसँग जोडिएको बसोबासका लागि योग्य तर उपयोगमा आउन बाँकी अक्षत प्रदेश (भरजिन टेरिटरी) को अवधारणाले समेत नेपाली उद्बोधन युगका पथप्रदर्शकहरूलाई आकर्षित गरेको हुनसक्छ। फारसी भाषाबाट आएको मानिने 'थरई' शब्दले समेटेको सिमसार अर्थ लाग्ने भाव होस् वा संस्कृत शब्दको 'तरी' ले अर्थ्याउने डुङ्गा, जमेको वा बग्ने पानी तराईसँग नछुट्टिने गरी जोडिएको छ। सप्तरी वा महोत्तरी नामले सात वटा वा साह्रै ठूलो पोखरी भएको क्षेत्रलाई जनाउँछ कि डुङ्गा जस्ता बस्ती भएका जिल्लाहरूलाई भन्ने कुरामा छलफल गर्न सकिन्छ। तर दुवैथरी व्याख्याले तराईलाई अक्षत प्रदेशकै रूपमा प्रस्तुत गर्दछ। तराई अर्थात् एउटा यस्तो भूभाग जहाँ विकसित समुदायले व्यवस्थित बसोबास शुरु गर्ने 'सम्भावना' छ।

भौगोलिक दर्शनमा ल्याटिन भाषाको 'टेराई इनकोगनिटाई' भन्ने अभिव्यक्ति त्यस्तो भूभागका लागि प्रयोग हुन्छ, जहाँ 'सभ्य' मान्छेले पाइला टेक्न पाएका छैनन्; अर्थात् अनन्वेषित भूखण्ड (अनएक्सप्लोर्ड टेरिटरी)। यस अर्थले पनि गोरखाली साम्राज्यका योजनाकारहरूलाई महाभारतकालीन विराटनगर, रामायणको मिथिला, बुद्धको लुम्बिनी तथा कृष्णको ब्रजलाई 'टेराई' भन्दै होच्याउन हौस्याएको हुनसक्दछ। युद्धमा विजयी भएका जातिहरू सामान्यतया विजित प्रदेशलाई भाषिक तवरले होच्याएरै प्रस्तुत गर्न रुचाउँछन्।

मध्यदेशको अपभ्रंश मधेश बन्न पुगेको मान्यता व्यापक रहेको भए तापनि भद्र देश (भलाद्मी बस्ने क्षेत्र) वा मदेश (फरक देश, भिन्न जीवनशैली वा असभ्य व्यवहार चल्ने ठाउँ) जस्ता मर्यादित–अमर्यादित अर्थहरू चलनचल्तीको मधेश अभिव्यक्तिसँग जोड्न गाह्रो छैन। अर्थ जे र जस्तोसुकै भए पनि सरकारले जनआन्दोलनको निरन्तरताको रूपमा स्वीकार गरेको मधेश जनविद्रोहले तराई शब्दलाई कम्तीमा मध्य नेपालको मैदानी इलाकाबाट झण्डै झण्डै विस्थापित गरेको छ। अब तराईली शब्दले पहाडीमूलका मधेशीलाई मात्र जनाउँछ भने सत्ता विमर्शसँग नजिक रहेका सम्पूर्ण मधेशीहरू अझै पनि आफूलाई तराईवासी नै भन्न रुचाउँछन्। तर मधेशी मूलका मधेशीहरूमा मधेश शब्दलाई स्वीकार्य बनाउने श्रेय भने मजफो भन्दा पनि नेकपा (माओवादी) लाई दिनुपर्ने हुन्छ। विडम्बना, आफैँले प्रतिपादन गरेको अवधारणा (मधेशको स्वायत्तता र मधेशीको स्वाभिमान) र प्रतिपालन गरेको नेतृत्व (जयकृष्ण गोइत, उपेन्द्र यादव र नगेन्द्र पासवान) ले माओवादीलाई मधेशमा अहिले रक्षात्मक स्थितिमा पुर्‍याइदिएका छन्। पूर्वी र मध्यतराईमा माओवादीहरूको जनाधार कायमै रहेको भए तापनि मूक सामाजिक समर्थनलाई व्यक्त राजनीतिक सहयोग तथा सक्रिय चुनावी सम्बलमा रुपान्तरण गर्नसक्ने स्थानीय नेतृत्व झण्डै झण्डै अर्धभूमिगत अवस्थामा छ। त्यस्तो स्थिति सिर्जना गर्न सतहमा मजफो क्रियाशील रहेको देखिएको भए तापनि माओवादीलाई मधेशमा अग्राह्य तुल्याउन बढ्दो विदेशी रुचिको भूमिकालाई कम आकलन गर्न मिल्दैन। भारत र अमेरिकालगायतका अन्तर्राष्ट्रिय शक्तिहरूले यथास्थितिवादीहरूको सहमतिमा मधेश जनविद्रोहको आगोमा घ्यू थपेका हुन् भन्ने माओवादीहरूको निष्कर्षमा अतिशयोक्ति भए तापनि यथार्थहीन भने छैन।

विदेशीहरूको 'मड्डेश'
असाम, बनारस, कलकत्ता तथा दार्जीलिङका 'एबीसीडी' पण्डितहरूले निर्माण गरेको नेपालको जातीय राष्ट्रियताको परिभाषाभित्र 'इण्डियन आईडल' बन्न मरिमेटेर लागेका प्रशान्त तामाङ त सजिलै अटाउँछन्, तर त्यसै कार्यक्रमको निर्णायक मण्डलीका सदस्य रहेका उदितनारायण झाको परिचयमा भने बरोबर प्रश्न उठाउने गरिन्छ। बेलायतको 'युनियन ज्याक' र भारतको तिरङ्गा झण्डाको मान र शानका खातिर पुस्तौँपुस्तादेखि रगत–पसिना बगाउँदै आएका पहाडिया नेपालीहरूको देशप्रेम कहिल्यै शङ्काको घेरामा पर्दैन, तर बिहेवारी वा रोजगारीका लागि दशगजा पारि ओहोरदोहोर गर्ने मधेशीहरूको राष्ट्रिय परिचय अद्यापि स्थापित हुनसकेको छैन। केही राणा परिवारहरूमा विश्वास गरिएअनुसार जङ्गबहादुरले अर्ती दिने गर्थे अरेः 'फिरङ्गी बलियो कलले, भोटे बलियो बलले। तर, गोर्खाली बलियो छलले।' यस्तै छलछामको कूटनीतिक खेलले गर्दा विदेशीहरूको मानसपटलमा नेपालको कुरा उठ्दा मधेशीहरूको छवि कहिल्यै अगाडि आउन सकेन।

मधेशसँग साँधसिमाना जोडिएको भारतमा मधेश शब्दले प्रवेश पाएको धेरै भएको छैन र दिल्लीमा तराई शब्दले अझै पनि देहरादून, हरिद्वारतिरको उत्तरखण्डको जङ्गल क्षेत्रलाई जनाउँछ। भारत सरकारको तथ्याङ्क अनुसार भारतीय गोरखाली फौजको तलब र निवृत्तिभरण बापतको विप्रेषण कम्तीमा ८५० करोड रुपैयाँ बर्सेनि नेपाल भित्रिन्छ। भारतको प्रान्तीय प्रहरी, अर्धसैनिक बल तथा अन्य सुरक्षा निकायहरूबाट नेपाल पस्ने आम्दानी जोड्ने हो भने विप्रेषण रकम त्यसभन्दा कैयौँ गुणा बढी हुने निश्चित छ। उल्लेखनीय कुरा के हो भने त्यत्रो ठूलो धनराशीमध्ये फुटिकौडी मधेशीहरूको हातमा पर्दैन। स्वाभाविक हो, भारतीय संस्थापनको लागि मधेश र मधेशी कहिल्यै रुचिको विषय बन्न सकेन। गोरखाली सेनामार्फत् मात्र नेपाललाई चिन्ने बेलायत, हिमाली पर्यटनले गर्दा पहाड धाउने युरोप र चीनको तिब्बत राजनीतिमा अत्यधिक रुचि राख्ने अमेरिकाका लागि समेत मधेश आकर्षक क्षेत्र रहेन। चिनियाँहरूको संस्थापन कूटनीतिमा मधेशले ठाउँ पाउने कुरै भएन। प्रतिव्यक्ति राष्ट्रिय लगानीका हिसाबले धेरै पछाडि रहेको मधेश प्रतिव्यक्ति अन्तर्राष्ट्रिय सहयोग पाउने मामिलामा झनै पछाडि छ।

विदेशीहरूको नजर 'मड्डेश' पुर्‍याएको मुख्य दुईथरी परिघटनाहरूले हुनुपर्दछ। सेप्टेम्बर ११ को त्रासदीपछि संसारका सबै मुसलमानहरू अतिशक्ति अमेरिकाका लागि सम्भाव्य आतङ्कवादीहरू हुन्। र, मधेशमा इस्लाम धर्मावलम्बीहरूको जमात पश्चिम एसियाको कैयौँ स–साना राष्ट्रभन्दा ठूलो छ। मधेशमा अमेरिकी गतिविधि बढ्न थालेको प्रचण्ड माओवादी विरोधीका रूपमा ख्याति कमाएका राजदूत माइकल ई. मलिनोव्स्कीको कार्यकालदेखि नै हो। पहाडको भूबनोटले गर्दा माओवादी विस्तार रोक्न कठिन हुने देखेर मुसलमान र माओवादी दुवैथरी सम्भाव्य 'दुश्मन' को काटका रूपमा अमेरिकाले दक्षिणपन्थी तथा हिन्दुत्ववादी तत्वहरूको फैलावटका लागि भारतीय समझदारीमा गरेको मधेश लगानी कालान्तरमा उजागर हुने नै छ। तर, कुनैबेला मधेशमा पहाडिया समुदायको बसोबासलाई प्रत्यक्ष रूपमा सघाएको र राजा महेन्द्रको निरङ्कुशताको अप्रत्यक्ष साझेदार रहेकाले अलोकप्रिय बन्न पुगेको अमेरिका अहिले अधिकांश मधेशी बुद्धिजीवीहरूमाझ अस्वाभाविक आकर्षणको केन्द्र बन्न पुगेको छ। यस दक्षिणपन्थी मताधारलाई भजाउन राजा ज्ञानेन्द्रले भरमग्दुर प्रयास गरेका हुन्। तर, भारतीय असहयोगले गर्दा त्यो योजना सफल भने हुन सकेन। भारत र अमेरिका बाहेकका अन्य अन्तर्राष्ट्रिय शक्तिहरूले भावी नेपालमा 'मड्डेश' को भूमिकालाई बल्ल ठम्याउन थालेका छन्। समस्या के भइदियो भने मधेशबारे बौद्धिक काम भएकै छैन भन्दा हुन्छ। थाक खोलाको चुल्होको बनौटदेखि अरुण उपत्यकाका पुतलीहरू समेत अध्ययन गर्न भ्याइसकेका पश्चिमा विद्वानहरूलाई तराई र मधेश अभिव्यक्तिहरूका बीच चलिरहेको शब्दको राजनीतिभन्दा बढी खासै केही थाहा छैन भन्दा फरक पर्दैन। त्यसैले होला, तराई विकासबारे पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा आयोजना गरेको कार्यशालामा दातृ समुदायको फौज नै ओर्लिएको थियो।

संयुक्त राष्ट्रसंघ सञ्जालका नेपालस्थित आवासीय प्रतिनिधिको विशेष वायुयानमा प्राविधिक गडबडी देखिएपछि मैथ्यू कहाने विशेष हेलिकप्टर चढेर विराटनगर पुग्न भ्याएका थिए। महासचिव वान कि मूनका प्रतिनिधि र अनमिन प्रमुख इयान मार्टिन भने पूर्वी तराईको आफ्नो पूर्वनियोजित भ्रमणबाट समय निकालेर विराटनगर कार्यशालालाई सम्बोधन गर्न भ्याए। कार्यशालामा विश्व ब्याङ्कका नेपालस्थित आवासीय प्रतिनिधि त थिइन् नै, उनैसँग बसेका थिए बेलायती सहयोग संस्था डीएफआईडी र जापानी सहयोग नियोग जाइकाका वरिष्ठ अधिकारीहरू। कार्यशालामा अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरूको उल्लेख्य उपस्थितिले मधेशीहरूलाई हौस्याएको भए तापनि सीमाक्षेत्रमा आफ्नो सहमतिबेगर अरू कुनै विदेशीको गतिविधि ग्राह्य नहुने एकथरी भारतीय रणनीतिकारहरूलाई भने पक्कै पनि झस्काएको हुनुपर्दछ। कार्यशाला सम्पन्न भएको भोलिपल्ट नै मजफोले सरकारको प्रस्ताव स्वीकार गर्नु संयोग मात्र पनि हुनसक्दछ। तर मधेशमा बढिरहेको अन्तर्राष्ट्रिय गतिविधिलाई कम गर्न प्रत्यक्ष भारतीय हस्तक्षेप भन्दा नेपाली राजनीतिको गतिशीलता बढ्ता प्रभावकारी ठहरिन सक्छ भन्ने कुरा ठम्याउन गाह्रो छैन।

मजफोलाई सरकारसँग सहमतिमा पुग्न अन्य केही राजनीतिक विवेचनाले पनि सघाएको हुनसक्दछ। पूर्ण समानुपातिक निर्वाचन प्रणालीले २४० निर्वाचन क्षेत्रमा स्थानीय उम्मेदवार समेत भेट्टाउन धौ–धौ परिरहेको माओवादीलाई बढी सहयोग गर्ने कुरा उपेन्द्र यादवले २२ बुँदे माओवादी मागपछि राम्ररी बुझे। स्वायत्तताको परिधि र परिभाषा संविधानसभाको निर्वाचन गराउने सीमित वैधानिकता बोकेको अन्तरिम संरचनाले तोक्न सक्दैन भन्ने कुरा मजफोलाई मन्त्री रामचन्द्र पौडेलले महिनौँ लगाएर बुझाउन सकेका थिएनन्। अन्य कसैले त्यही कुरा केही दिन भित्रै गरेर देखाउन सक्नु राजनीतिक चमत्कारभन्दा कम होइन।

कालान्तरमा भारतको कूटनीतिक नागपाशबाट उम्किन मधेशले सुस्तरी शुरु गरेको प्रयत्न प्रत्युत्पादक पनि ठहरिन सक्छ। तर अहिले भने अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सकेकोमा अग्रणी मधेशीहरू मख्ख छन्। अन्तर्राष्ट्रिय समुदायको एकाग्रता अवधि (अटेन्सन स्पैन) असाध्यै अस्थिर र अभिरुचि निकै नै ढुलमूल हुने गर्दछ। त्यसैले पनि मधेशका सबैथरी बासिन्दाहरूले बाहिरिया टेकोमा भर पर्न छोडेर एकआपसको सम्वाद नबढाइ सुखै छैन। तर नेपाल भन्ने वित्तिकै 'हिन्दू राष्ट्र, हिमाली मुलुक' वा 'निरङ्कुश राजा र सर्वसत्तावादी माओवाद' को अनौठो अन्तर्राष्ट्रिय छविलाई मधेश जागरणले चुनौती दिएको छ; 'बहादुर गोर्खाहरूको राष्ट्र' को हेय उपमाबाट मुक्त गरेको छ। जर्मन दार्शनिक नित्सेको एउटा प्रसिद्ध उक्ति छः त्यस्तो विष जसले मलाई मार्न सक्दैन, अन्ततः मलाई बलियो नै बनाउँछ। मधेश विद्रोहले विग्रहको साटो वाद–विवाद–सम्वादको संस्कृतिलाई बढावा दिन सक्यो भने यसले सामेली नेपाली समाज र बृहत् नेपाली परिचयको स्थापनालाई सघाउ पुर्‍याउने छ। नेपालीहरूको नजरमा प्रशान्त झा जस्ता युवा मधेशी अनुसन्धानकर्ता तथा पत्रकारलाई प्रशान्त तामाङभन्दा बढी नजिक ल्याउन यदि मैथ्यू कहाने वा इयान मार्टिनको उपस्थिति तथा गतिविधि बढी सहयोगी हुन्छ भने त्यसमा आत्तिनुपर्ने कुनै कारण छैन। परिचय भन्ने कुरा अरूले कसरी बुझिरहेका छन् भन्ने आशङ्कासँग गहिरो रूपमा जोडिएको हुन्छ। विदेशीहरूले 'मड्डेशी' लाई भलै माओवादी तथा कट्टर मुसलमानहरूको विलोमको रूपमा ठड्याउन खोजेका होउन्; सबै मधेशी न 'फोरम' छन्, न त आतङ्कवादी नै।

मधेशीहरूमा माओवादी पनि छन् र यथास्थितिवादीहरू पनि भन्ने कुरा देखिन स्वच्छ र स्वतन्त्र संविधानसभाको निर्वाचन जरुरी छ। त्यसभन्दा पहिले स्वदेशी वा विदेशी 'विद्वान्हरू' ले मधेश जनविद्रोहलाई आ–आफ्नो सुविधाअनुसार अर्थ्याउन स्वतन्त्र छन्। तर मधेशमा जागेको विदेशी रुचि तत्काल घट्न सक्ने सम्भावना भने देखिँदैन। निकट भविष्यमा प्रतिस्पर्धी विदेशी रुचिहरूको प्रभाव विस्तारको क्रीडास्थल मधेश हुने कुरामा भने शङ्का नगरे हुन्छ। विराटनगर कार्यशालालाई आसन्न विदेशी गतिविधि विस्तारको प्रारम्भिक सङ्केतको रूपमा बुझ्ने हो भने त्यही अनुकूल स्थानीय क्षमता निर्माणमा ध्यान पुर्‍याउने कुरा महत्त्वपूर्ण बन्न पुग्दछ।